19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गिर्खो

कथा बिजय सापकोटा September 22, 2010, 11:17 am

राजधानी सहरमा आएको एक वर्षपछि एकैपटक म दुईवटा नयाँ काम गर्दैछु, एउटा म कुनै पत्रिकाको उपसम्पादक पदका निम्ति अन्तर्वार्ता दिन जाँदैछु र अर्को यो सहरमा आएदेखि पहिलोपटक नयाँ जुत्ता र मोजा लगाएको छु ।

सामान्यतयाः यी दुवै कामलाई नयाँ भनिनु उपयुक्त होइन । किनकि बेरोजगारहरूको यति ठूलो भीडमा जागिरका लागि दौडधुप, लिखित–मौखिक परीक्षा आदि इत्यादि नयाँ र उल्लेखनीय काम होइनन्, दैनिकजसो जागिरका धुनमा हिँड्नेले जागिर पाए भने बरु त्यो गणना हुन सक्दछ । त्यस्तै नयाँ जुत्ता वा यस्तै कुनै पहिरन पनि । तर मलाई आफ्नै सापेक्षतामा तुलना गर्दा भने यो महानगरमा आएपछि मेरा निम्ति यी दुवै काम नयाँ र उल्लेखनीय भएका छन् ।

म यो नगरमा विगत १ वर्षदेखि छु । राजधानीभन्दा निकै टाढाको तर अलिक सुगम कुनै जिल्लाको सदरमुकाम नजिकको एउटा गाउँबाट राजधानी यात्रा गर्नुका पछाडि मीठा सपनाहरू लुकेका थिए । एउटा थियो डिग्रीको पढाइ पूरा गर्नु र अर्कोचाहिँ राष्ट्रियस्तरको पत्रकार बन्नु । किन हो पत्रकारितामा मैले अनौठो ‘चार्म’ देखेको थिएँ । यी दुवै सपनाहरूका आधार के थिए भने सदरमुकामको एउटा टुहुरे क्याम्पसबाट मैले स्नातक तह पास गरेको थिएँ । त्यसैले दिलाइदिएको मध्यमस्तरको सर्टिफिकेटमा टेकेर म विश्वविद्यालय जान चाहन्थेँ । पत्रकारिताका लागि पनि आफ्नो राम्रै अनुभव रहेको मलाई लाग्दथ्यो । किनभने मेरो जिल्लामा दुईपाने साप्ताहिक पत्रिका निकाल्ने चलन थियो र तिनमा पत्रकारिता वा पर्चाकारिता जे गरेपनि त्यसलाई पत्रकारिता भन्ने चलन थियो । जिल्लामा पत्रकारको राम्रै भाउ थियो । मसँग जिल्लामा एकाध महिना निस्केर बन्द हुने त्यस्ता चार पाँचवटै पत्रिकामा काम गर्नुको अनुभव थियो । भन्नलाई सबै पत्रिकामा सम्पादक भनेर काम गरिएकै थियो । तर सम्पादकको काम प्रुफरिडिङ् गर्नुलाई बुझिन्थ्यो । चारवर्ष अरूका काइते भाषालाई यताउति गरेर मिलाइदिएको भरमा जिल्लाको ‘पत्रकारितावृत्त’ मा मैले राम्रै ‘नाम’ कमाएको थिएँ, दाम नकमाए पनि । तर यही ‘पत्रकारिता’ ले जगाएको आत्मविश्वासले म ‘कान्तिपुर’ या यस्तै अरू कुनै नाम चलेका पत्रिकामा काम गर्न चाहन्थेँ र नाम चलेका पत्रकारहरूसँग मनमनै आफूलाई दाँज्ने हिम्मत पनि गर्ने गर्दथेँ ।

त, म यही आत्मविश्वासको लठ्ठी टेकेर अन्तर्वार्ता दिन जाँदैथेँ । आजसम्म अन्तर्वार्ता कतै दिने सौभाग्य मिलेको त थिएन नै, सँगसँगै यति लामो अवधि ‘पत्रकार’ बनेपनि आजसम्म कसैको अन्तर्वार्ता लिनु परेको पनि थिएन ।

मैले आफ्नो हातमा आजै विहान दशरूपियाँ तिरेर किनेको ‘क्लियर ब्याग’ बोकेको थिएँ जसभित्र थियो स्नातक तहको मार्कसिट, नागरिकता । अनि त्योसँगै थियो मेरो जागिरका निम्ति आधार प्रदान गर्ने प्रमाण । अनि थिए दैनिक अखबारका कुनै ठूला लेखकको लेखलाई नक्कल गरी वस्तुवादीभन्दा भावनालाई बढी घोलेर लेखिएका आफैँलाई उत्कृष्ट लागेका केही लेखका फोटोकपी ।

मेरो हिँडाइ त्यसदिन त्यत्तिकै फूर्तिलो थियो जति पहिलो दिन विश्वविद्यालयको परिसरभित्र पाइला टेक्दा थियो । मनमा सानोतिनो हलचल पनि थियो । किनभने पत्रकार बन्ने सपना देख्ने म पहिलो निवेदनमै अन्तर्वार्ताको लागि छनोट भएको थिएँ । यो घटनाले मलाई निकै जागरुक तुल्याएको थियो । मेरो सामान्य वायोडाटाले त अन्तर्वार्तामा छानिएँ भने मेरो सिङ्गो कर्म नै पेश गर्दा त मैले जागिर किन नपाऊँला ? यही विश्वासले मध्यान्हको टन्टलापुर घाममा पनि मलाई पिचरोडमा फटाफट हिँडाइरहेको थियो । मन घरिघरि अन्तर्वार्तामा सोधिने प्रश्न र मेरो ‘पफर्मेन्स’ कस्तो होला भन्नेमा पुगेको थियो । कहिलेचाहिँ ठूलै पत्रकार बनेर नाम, दाम र इज्जत सबै पाएको कल्पना गर्न थालिसकेको थियो मनले । यसो गर्दा मन खुसी र भारी दुबै किसिमको भइसकेको थियो । घरमा दुःखपूर्ण जीवन बिताइरहेकी विधवा आमा र भाइलाई सम्झिन्थेँ । आमाको अनुहारमा सन्तोष र प्रफुल्लताको मुस्कान पोतिएको अनि घरबाटै सदरमुकामसम्म धाएर क्याम्पस पढ्ने तयारीमा रहेको भाइका गर्वले चौडा भएका आँखाको कल्पना गर्थेँँ । मन कस्तो कस्तो अवर्णनीय आनन्दले भरिभराउ हुन्थ्यो ! भावनाकै वयेलीमा लहरिएर म हिँडिरहेको थिएँ । जिउ पसिनाले लछप्पै भिजाइदिएको थियो, भित्री गन्जीसमेत भिज्ने गरी ।

मभित्र अनौठो आत्मविश्वास पैदा भइरहेको थियो । यसका पछिल्तिर केही कारण पनि थिए । कुरो के थियो भने आफूलाई म आफ्नो उमेरभन्दा पाको ठान्थेँ । किशोर उमेरमै बाको मृत्युपछि स्वतन्त्र र परिवारमा शक्तिशाली बन्न पुगेको अनुभूति, यसले सिर्जना गरेको अस्थिर स्वभाव र कतै टिकिखान नसक्ने बानीले मलाई २५ वर्षे उमेरकै अन्तरमा धेरैवटा पेशाको अनुभव गराइसकेको थियो ।

पहिलो कुरा त घमण्डसाथ भन्नुपर्छ म जिल्लामा सबैभन्दा बढी पत्रिकाको सम्पादक थिएँ । त्यही समयमा म कुनै अमूक सानो तर ‘क्रान्तिकारी’ पार्टीको जिल्लास्तरको कार्यकर्ता समेत थिएँ । त्यो पार्टीमा पनि मैले करिब तीन वर्ष नेता र कार्यकर्ता दुवै किसिमको कर्म गरेँ । पत्याउन असजिलो पर्ला, त्यो पार्टीमा थोरै पढेलेखेको र फुर्सदिलो जो आउँथ्यो ऊ एकैपटक नेतामा दरिन्थ्यो । जिल्लामा पार्टीसँग आबद्ध जो कोही पनि कार्यकर्ता भएर बसिरहनु पर्ने झन्झट थिएन । त्यहाँ पार्टी, त्यसका वर्गीय संगठन र अन्य फ्रयाक्सनहरू यति धेरै हुन्थे कि पार्टीमा आउने जो कोही मान्छेले पनि नेता नबनिकन धरै पाउँदैनथ्यो । हामी क्रान्तिभन्दा एक इन्ची तलका कुरा गर्दनथ्यौँ । क्रान्तिको कुन मोर्चामा को कसरी जुट्ने, क्रान्ति सफल भएपछि जिल्लामा कुन–कुन काम गर्ने सबै योजना बनिसकेका थिए ।

तर क्रान्ति कहिले सुरु हुने थाहा थिएन । हामी नेताहरूले भनेजस्तो ‘आत्मगत र वस्तुगत’ तयारी कहिले हुने हो त्यो पनि थाहा थिएन । त्यसैले हामी क्रान्ति नगरी सबभन्दा ठूलो क्रान्तिकारी भएका थियौँ । रमाइलो कुरा त क्रान्तिचाहिँ अर्कैले सुरु गरिसकेको थियो । हामीले क्रान्ति गर्नै परेन । हामी धन्य थियौँ क्रान्ति गर्ने दुःख पनि गर्नु परेन, तर क्रान्तिकारिता पनि बाँचिरहेको थियो ।

हामीले स्पष्टरूपमा भनिसकेका थियौँ कि क्रान्तिका लागि बेला भइसकेको छैन । सबैसँग हाम्रो यही कुरा हुन्थ्यो–क्रान्ति गर्नेसँग पनि, क्रान्ति गर्नेहरूलाई मन नपराउनेहरू सँग पनि । हामी खुब पढ्थ्यौँ । रातभरि माक्र्स, लेनिन र माओका किताबका ठेली पढेर र नेताका लेखका राम्रा वाक्यहरू कण्ठ गरेर राजनीतिक बहस चलाउने समय थियो त्यो । यस्तोक्रममा कहिलेकाहीँ कुनै स्रोताले झोक्किएरै सोधिदिन्थ्यो,‘क्रान्ति गर्ने बेलाचाहिँ कहिले हुन्छ त ?’

हामीचाहिँ यस्तोमा खासै उत्तेजित नबनी शान्तसँग उत्तर दिन्थ्यौँ ‘आत्मगत र वस्तुगत दुवैरूपले क्रान्तिको आधार बनिसकेको छैन । त्यो परिस्थिति आफसेआप निर्माण हुनेछ । त्यो समयमा हामी सबै क्रान्तिमा अनिवार्यतः लामबद्ध हुनै पर्नेछ । त्यो क्रान्तिमात्रै सफल हुनेछ ।’

गजब भयो, क्रान्ति अर्कैले सुरु ग¥यो । सबभन्दा बढी क्रान्तिकारी हामी थियौँ, तर क्रान्ति गर्ने ‘मुड’ बनिसकेको थिएन हाम्रो । अर्कैले क्रान्ति गरेकाले आफूले गर्नै परेन, यसमा हामी धन्य थियौँ । किनभने विना कुनै क्षति हाम्रो क्रान्तिकारिता बढिरहेकै थियो ।

एकदिन मैले यही क्रान्तिकारीै मुडमा पार्टी छाडिदिएँ । त्यसको बेग्लै कथा छ । राजनीतिसँग प्रेम निरपेक्ष रहन नसक्ने रहेछ । आफूले असाध्यै मनपराएकी पार्टीकै महिला संगठनकी एउटी केटी बन्दुक बोकेर जङ्गल पसेपछि मेरो प्रेम जस्तै राजनीति पनि अलपत्र बनिदियो ।

अब पत्रकारिता गर्ने ‘मुड’ भयो । संयोगले क्रान्तिकारी कुरा गर्नुपर्ने पत्रिकामा काम पाएँ, रमाइलै भयो । टेबुल छाडेर बाहिर कतै फिल्डमा जानु परेन ।

सँगसँगै कुनै निजी स्कुलमा चौवन्नी शिक्षकको जागिर पाएँ । तलब त नामैको थियो । ठीकै थियो अनुभव । पत्रिका–सत्रिकामा काम गर्ने भनेपछि गाउँमा इज्जतै बढी मिल्छ । इज्जत पनि कति धेरै मिलिदियो भने मेरो क्षमताले थेग्न नसक्ने गरी । कता–कताबाट त्यही स्कुलको प्रिन्सिपलको पद हात लागी भयो । यद्यपि म त्यहाँ धेरै टिकिनँ ।

यसकारण म आफूलाई आफ्नो वृत्तमा अनुभवी भनी गमक्क पर्न रुचाउँथेँ । यिनै अनुभवको पाइला टेकेर म यो मध्यदिनमा अन्तर्वार्ता दिन फूर्तिले हिँडेको थिएँ, पूर्ण आत्मविश्वासका साथ । मेरो आत्मविश्वासलाई प्रश्रय दिएको थियो नयाँ जुत्ता र मोजाले ।

तरङ्गै तरङ्गमा हिँड्दै गर्दा अचानक मलाई आफ्नो दाहिने गोडामा केही बिझाएको अनुभूति भयो र तत्काल गोडा टट्टाइरहेको आभास पनि भयो । क्रमशः जति पर गयो त्यति नै दुखेको महसुस हुन थाल्यो । त्यो बिझाउने वस्तु मेरो गोडाको कुर्कुच्चामा पुगिसकेको थियो । अब मलाई हिँड्न कठिनाइ उत्पन्न हुन थाल्यो । म असमाञ्जस्यमा परेँ । एक मन त लाग्यो जुत्ता फुकालूँ र हेरूँ त्यो वस्तु ¤ तर सहरको घुइँचोको बीचमा त्यसो गरी बस्नु मलाई उचित लागेन । म गोडा घिस्याउँदै भएपनि हिँड्न थालेँ । छाला उकुचिएर चह¥याउन थालेको अनुभव भइहाल्यो ।

झण्डै पन्ध्र मिनेट जतिको बाटो हिँड्नु थियो मैले । समयको ख्याल राखेको थिइन । घडी हेरेँ, तोकिएको समय भइसकेको थियो । मन हतासियो । तर्कनामा सोम शर्माको बाबुलाई जित्न खोज्ने आफ्नो स्वभावले आफैँलाई रिस पनि उठायो । अन्तर्वार्ताकै दिन ढिलो पुग्नेलाई कुन दृष्टिले हेरिएला ?

अघिसम्म बनाएको सपनाको संसार अब भताभुङ्ग हुने स्थिति देखाप¥यो । मन एक्कासी अँध्यारियो ।

अब लगभग कुदेको स्थितिमा हिँड्नुबाहेक विकल्प थिएन । ट्याक्सी चढ्ने वर्गको परिएन । फर्किन पनि सकिएन । अब त अन्तर्वार्ताजस्तै डरलाग्दो बन्दै भित्रभित्र सरिरहेकोे सानो गिर्खो जस्तो वस्तुले पनि सताइरहेको थियो ।

म अन्तर्वार्ताको कुरो सम्झिएर भित्र भित्रै गहिरिँदै गइरहेको घाउलाई छोप्ने प्रयत्नमा केन्द्रित भएँ । तर कसैगरी सकिनँ । हिँड्नु पनि थियो चाँडो, घाउ दुखिरहेको पनि थियो । आफूलाई सभ्य भलाद्मी भनाउनु पनि थियो । र त, जुत्ता खोलेर त्यसलाई झिकी फाल्न सकिरहेको थिइनँ । म अन्तर्वार्ताकै कल्पनामा केन्द्रित हुन चाहेँ । तर मेरो आँखाअघिल्तिर अन्तर्वार्ता लिने मान्छेको सम्भाव्य स्केचभन्दा बढी छाला उकुचिएर देखिएको रातो घाउ र त्यो टट्टाएको आभासमात्र आयो । एक मन त लाग्यो फर्कूँ कोठातिरै पत्रकार बन्ने सपनालाई धोती लगाइदिएर ।

पीडाले निचोरिएको अनुहार बोकेर म सकेसम्म आफ्नो गोडालाई चाल्न थालेँ । तर दाहिने गोडा उचालिएपछि टेकिन नमान्ने भइसकेको थियो । लगभग गोडा घिसारेको अवस्थामा म पत्रिकाको अफिसको गेटनिर पुगेँ र लामो सास तानेँ ।

म अलमल नगरी सकेसम्म आÇनो हिँडाइलाई भलाद्मी बनाउने प्रयत्न गरेर भित्र पसेँ । कार्यालय कोठामा पुग्न घुमेको सिँढी चढ्नुपथ्र्यो । सिँढीको पहिलो खुड्किलो उक्लिएर रुमालले पसिनै पसिना भएको अनुहार पुछेँ । असरल्ल भएको कपाल मिलाएँ र घाँटी सफा गर्ने प्रयत्न गर्दै अफिस कोठाको ढोकाअगाडि उभिएँ ।

मैले सोचेको थिएँ, अफिस कोठामा पस्न जुत्ता फुकाल्नुपर्नेछ र मैले जुत्ताभित्रकोे गिर्खोबाट मुक्ति पाउनेछु । टट्टाएको मेरो दाहिने गोडाले चिसो बतासको मलम पाउनेछ । तर त्यसो भएन । अफिस कोठाको ढोका अघिल्तिर एक जोर जुत्ता पनि फुकालिएको थिएन । मैले कोठाभित्र चियाएर हेरेँ– तीनजना युवक सोफामा बसिरहेका थिए । ढोकाको छेउमै रिसेप्सनिष्ट केटी निहुरिएर केही लेखिरहेकी थिई । मैले उसको अनुहार भने देखिनँ ।

म एकैछिन ढोकामा अलमलिएँ । भित्र बसेका तीनैजनाले मलाई पुलुक्क हेरे । म सरासर भित्र पसेँ र रिसेप्सनिष्ट केटीको अघिल्तिर गएर उभिएँ ।

म आएको चाल पाएर उसले टाउको उठाई र आँखा नचाउँदै मतिर फर्कँदै भनी– ‘एस प्लिज ।’

सिंगार प्रशाधनले बत्तिएकी त्यस केटीको शरीरबाट आइरहेको सुगन्ध नाकबाट ह्वास्सै भित्र छि¥यो । म हड्बडाएँ र गला बसेको आवाजमा भनेँ–‘अन्तर्वार्ता ..........।’

‘ए बस्नुहोस् न । अन्तर्वार्ता सुरु भइसकेको छ । तपाईँको पालो आएपछि बोलाइने छ ।’ उसले टेपरिकर्डर खोलेझैँ गरी एकै सासमा सबै कुरा भनी अनि पुनः निहुरिएर लेख्न थाली ।

म आफू अघिल्तिर चूपचाप बसिरहेका युवकहरूलाई हेर्दै बसँे । बस्नु त के थियो , म आफ्नो पीडालाई सकेसम्म दबाउने प्रयत्नमा बसेँ । मनभित्र कतै अन्तर्वार्ताको कुरो पनि खेलिरहेकै थियो । तर यसको शृङ्खला भने बेलाबेलामा गोडाको पीडाले टुटिजाने स्थितिमा पुग्थ्यो ।

त्यसैबेला भित्रबाट एउटा तम्तम्याइलो अनुहार निस्कियो र कतै नहेरी बाहिरियो । मेरो टुहुरो आत्मविश्वास पनि पीडालाई दबाउने गरी एकपटक जाग्यो । लाग्यो, अनुभव केही रहेनछ जस्तो छ, हिँड्यो केटो । आफ्नो अनुहार किंचित उज्यालो भयो कि त झैँ भयो । लगत्तै भित्रबाट बाहिरकी भन्दा अझै बत्तिएकी लगभग जापानी गुडियाजस्ती केटी बाहिर निस्किई र कुनै नाम बोलाई । ऊ यस्ती बेदागकी थिई कि त्यो मान्छे कम गुडिया बढी लागी । उसलाई हेर्ने धुनमा उसले कुन नाम लिई त्यो त मैले बुझ्न सकिनँ, तर त्यो नाम मेरो भने पक्कै थिएन । ठिक मेरो अघिल्तिर बसेको एउटा युवक उठेर त्यो केटीको पछि–पछि भित्र छि¥यो ।

भित्रकोठाबाट बेलाबेलामा आउने फरक फरक स्वरको भुनभुन बाहेक यतापट्टि कोठामा मौनता मात्र थियो । रिसेप्सनिष्ट केटी निहुरिएर लेख्नमा मात्रै व्यस्त थिई । उसको ठीक अघिल्तिरको लामो सोफामा म बसिरहेको थिएँ, मेरो अघिल्तिरको सोफामा बसिरहेका दुई युवक पनि अन्तर्वार्ता दिनुभन्दा अगाडिको अनुहार प्रदर्शन गरेर बसिरहेका थिए । कोठामा यति धेरै मौनता थियो कि भित्तामा झुण्ड्याइरहेको घडीको एकनासको टिकटिक आवाज आइरहेको थियो । मैले कि त्यसलाई सुनिरहेको थिएँ कि टट्टाइरहेको आफ्नो घाउको काल्पनिक स्केच कोरिहेथेँ । मैले पटकपटक अन्तर्वार्ताको मोर्चामा डट्नका लागि आफ्नो मनस्थितिलाई तयारी हालतमा राख्न खोजिरहेको थिएँ तर जुत्ताभित्रको गिर्खोले त्यसो गर्न दिइरहेको थिएन । पीडा बढ्दो थियो, म बलपूर्वक त्यो पीडालाई थिचेर आँसु झर्न र दाँत कटट्ट हुनबाट जोगाइरहेको थिएँ । अनि भगवानलाई पुकारिरहेको थिएँ – “प्रभु, जागिर भए होस्, नभए नहोस् तर मलाई चाँडै उम्काइदेऊ ।’” सदैव नास्तिक बनिटोपलेको मसँग भगवान पनि खुशी थिएन शायद, पालो अन्तिममा मात्रै आउने देखियो । न जुत्ता फुकाल्न पाइयो । ट्वाइलेटभित्र पसेर कम्तिमा एकपटक आफ्नो घाउ सुमसुम्याउन पाएदेखि अलिक शितल हुन्थ्यो कि भन्ने पनि मनमा थियो । तर यताउति हेर्दा ट्वाइलेट देखिएन, एउटी केटी मान्छेलाई ‘ट्वाइलेट’ सोध्न आफ्नो भद्रताले पनि दिएन । पिरिएको मन र पिर्पिरिएका आँखा बोकेर शताब्दीजस्तो लामो आधी घण्टा समय छटपटीमा बिताइसकेपछि भित्रकी केटीले बाहिरी ढोकामा आएर ओठ परक्क बटार्दै भनी– ‘सुमनकुमार धिताल’ र भित्र पसी हाली ।

जीवनको पहिलो अन्तर्वार्ताको मोर्चामा उभिनुभन्दा अगाडि मैले आफूलाई नराम्ररी अतालिएको पाएँ । त्यो अत्याहटले मभित्र टट्टाइरहेको घाउलाई भुलाइदिएको थियो एकपटक । म हड्बडाउँदै भित्र पसेँ, मेरा कान तात्तिएका थिए । म त्यत्तिकै भित्र पसेछु, सामान्य औपचारिकता समेत ननिभाई । तत्कालै थाहा भयो, त्यसलाई सच्याउन हत्त न पत्त नमस्कार गरेँ अघिल्तिर बसिरहेको मान्छेलाई । अनि त्यही हड्बडाहटमा नमस्कार गर्न पुगेछु अघि नाम बोलाउने केटीलाई पनि । यो उसका निमित्त पनि अप्रत्यासित थियो सायद, अलमलिँदै उसले हात उठाई, जबकि अघिल्तिर घुम्ने कुर्सीमा बसिरेहको मान्छेले खाली बस्न मात्र इशारा गरेको थियो । मेरो क्रियाकलापले होला त्यसको अनुहारमा हँस्सी पोतियो तर त्यसलाई त्यो मान्छेले आफ्नो ओठको दुई कुनामैँ जवर्जस्ती थिचेर राख्यो । मलाई फेरि अर्को भूल महसुस भयो, यो गल्तीले भित्रबाट छट्पटाहट ल्याइदियो । तर म के गर्न सक्थेँ र निन्याउरो अनुहारलाई सकेसम्म फूर्तिलो बनाउन खोज्दै त्यो मान्छेले इशारा गरेको कुर्सीमा बस्न पुगेँ ।

त, मेरा अघिल्तिर चश्मा लगाएको एउटा दीव्य मुहार घुम्ने कुर्सीमा बडो गम्भिर भएर बसिरहेको थियो । उसको सामुन्ने म निचोरिएको अनुहार लगाएर बसिरहेको थिएँ । जापानी गुडियाजस्ती त्यो केटी जसले मेरो नमस्कार फोस्सामा पाएकी थिई त्यो कोठाको कतातिर थिई, अब मलाई लज्जाबस पनि चासोको कुरा थिएन । मेरा आँखा अब सकिनसकी अन्तर्वार्ताकारको मुख ताकिरहेका थिए अनि त्यसबाहेक सबै इन्द्रिय कहिले जुत्ताभित्रको गिर्खोमा त कहिले भगवानको आराधनातिर गइसकेका थिए । तर म विकेन्द्रित भइरहेका आफ्ना इन्द्रिय सारालाई अन्तर्वार्तामा केन्द्रीकृत गर्न चाहन्थेँ ।

कुर्सीमा बस्नेले मेरो नाम, ठेगाना सोध्यो, बताएँ । पढाइ, अनुभव र रुचिका कुरा सोध्यो, सकेसम्म बढाइचढाइ गरेरै बताएँ । यति भूमिका बाँधेपछि बल्ल अन्तर्वार्ताको पारा चढ्यो । त्यो मान्छेले प्रकाशोन्मुख पत्रिकाको पृष्ठभूमि बताउन सुरु ग¥यो , त्यसको आवश्यकता र महŒवमाथि प्रकाश पा¥यो । पत्रिकाले भोलि बोकेर अघि बढ्ने पृथक् विशेषताको पनि कुरा ग¥यो । गर्दै जाँदा विषय यति लामो बनाइदियो कि ऊ अन्तिम क्यान्डिडेटसँग बाँकी सबै कुराकानी सिध्याउने मुडमा देखियो । तर ती सबै कुरा टट्टाइरहेको गोडाको पीडा छिचोलेर मेरा कानसम्म आइपुगेनन् । ऊ मसँग केही कुरा नसोधी आफ्नो पत्रिकाको मिसन मात्रै बताउन थाल्यो । ऊ जति–जति आफ्नो वर्णनकुशलतामा कल्पनाशीलता प्रदर्शन गरिरहन्थ्यो, त्यति त्यति मेरो गोडाको घाउ टट्टाउँदै जान थाल्थ्यो । पीडाले तम्तम्याइलो बनेको मेरो अनुहारमा खोपिएका एकजोडी आँखा पनि उसको दीव्य मुहारलाई हेर्न नसकी चिम्स्याइला बनिसकेका थिए । तर अह,ँ त्यो मान्छेले आफ्नो स्वप्नवर्णनलाई समाप्त गर्ने छाँटा देखाइरहेको थिएन ।

क्रमशः गोडाको पीडा टन्कँदै टन्कँदै टाउकोसम्म पुग्ने स्थिति आयो । मेरो मथिङ्गल घुम्दै गयो फन्फन्ती । मलाई रिस पनि उठ्न थाल्यो । जाऊँ र जुरुक्क उठेर त्यसलाई कुर्सीबाट तल जमिनमा गाडिदिऊँ जस्तो भावले हानी पठाउन खोजेँ तर मेरा पीरा आँखामा त्यो किसिमको तेज नै बाँकी थिएन । उल्टो ‘रूँ, रूँ’ को स्थिति पो आउला भन्ने डर भयो अब । अब मलाई जागिरको कल्पनाभन्दा पनि त्यहाँबाट मुक्त हुने इच्छा तीव्ररूपले जागृत हुन थाल्यो ।

“मूलरूपमा टेबुलवर्क भएतापनि कहिलेकाहीँ आवश्यक पर्दा फिल्डमा पनि जानुपर्ने हुन्छ । अन्तर्वार्ता लिन जानुपर्ने हुनसक्छ । विदेशी नियोगका विशिष्ट व्यक्तिहरूसँग कुराकानी गर्नुपर्ने हुन्छ । यसका निम्ति इङ्लिस राम्रो चाहिन्छ । कस्तो छ तपाईँको ल्याङ्वेज स्किल ?” मलाई के थाहा उसको पट्याइलाग्दो कुरामा यो प्रश्न मिसिएर आउने छ । कुराको अन्त्यमा प्रश्न सोधिएको आभास पाएर म अक्मकिएँ । हाजिरी जवाफ प्रतियोगितामा जस्तो दोहो¥याएर प्रश्न सोध्न पनि मिलेन । अलमलाहटमैँ मैँले प्वाक्क भनिदिएँ,“ठीकै छ ।”

“ठीकै छ.......मतलब ?” अन्तर्वार्ताकार न ठहरियो, केरकार गर्ने स्थितिमा उत्रियो ।

अब भने एकछिनलाई मैँले आफ्नो गोडा टट्टाएको बिर्सिनुपर्ने अवस्था सिर्जना भयो । घाउले हैन अर्कै कुराले मलाई रन्थन्यायो । अनि लगभग भकभकाएको आवाजमा बोलदिएँ–“मेरो इङ्लिस अन्तर्वार्ता लिने स्ट्यान्डर्डको छैन ।”

तर ऊ यो प्रसङ्ग छोड्न इच्छुक देखिएन । उसले फेरि सोध्यो– “स्नातक तह पढेको मान्छेले यति पनि गर्न सकिँदैन त ?”

यो भने जङ चल्ने कुरा थियो । उसका हर प्रयास मलाई कमजोर र हीन सावित गर्न केन्द्रित छन् भन्ने मेरो अभिमानमा प¥यो । जिल्लाभरि पत्रकारितामा नाम चलेको मेरो क्षमतामाथि प्रश्नचिन्ह उठाउने धृष्टतामा त्यो उत्रिसकेको थियो ! तर मैँले केही गर्न सकिन , हिस्स परेको नीलो अनुहार लगाएर बसिरहेँ । मलाई अबचाहिँ साँच्चै आफू कमजोर, निरीह यस्तै यस्तै पदहरूले सम्बोधन गर्न सुहाउने हदसम्मको भइसकेँ जस्तो लाग्न थाल्यो । अनि गोडाको टट्टाइ पनि दुगुना पो हुन थाल्यो ।

“लोकल पत्रिकामा काम पनि गर्नुभा’रहेछ । अन्तर्वार्ता लिनुभएको छ ?” गोडाकै घाउमा केही तीखो वस्तुले घोचेझैँ आभास गराउने गरी आएको आवाजले मलाई फेरि होशमा ल्याइदियो । मैँले सकेसम्म आफ्नो आवाजलाई ठूलो पार्ने प्रयास गरेर बोलेँ– “छु ।”

“कस्ता व्यक्तिसँग लिनुभएको छ ?” उसले प्रश्न त सोध्यो तर मसँगै थिएन यसको उत्तर । किनभने म लामो अनुभव भएको त्यस्तो पत्रकार थिएँ जसले जीवनमा कुनै एउटा नेताधरीको अन्तर्वार्ता लिएको थिएन ।

त्यो मान्छे मेरो अहम्लाई नै च्यात्ने ठेक्का लिएर आएको पौराणिक कालका विष्णु, इन्द्र अथवा कृष्णको कुनै बहुरूपीजस्तै देखिन थालिसकेको थियो र ममाथि एकपछि अर्को प्रश्नपात गरिरहेको थियो । मलाई अब यो अन्तर्वार्ताले जागिर खुवाउँछ भन्ने विश्वास उठिसकेको थियो, त्यसैले मेरो चेतनाले पनि सम्पूर्ण संवेग गोडातिरै केन्द्रित गरिरहेको अवस्था थियो । उसले सोधेको प्रश्नको उत्तर दिन मिल्ने किसिमको कुरो नभएर म एकपटक लिच्चडै भइदिएँ, केही बोलिनँ ।

“तपाईँले त मेरो प्रश्नको उत्तर नै दिनुभएन ?” त्यो मान्छे मभन्दा धैर्यवान सावित भयो । उसले आफ्ना आँखा मैँतिर झट्टी मिर्कायो । त्यही प्रहारले हो कि मेरो भास्सिएको आवाज निस्केको हो कि होइन कि जस्तो गरी निस्कियो– “हजुर, छु ।”

“त्यही त कस्ता व्यक्तिसँग........?”

“स्कुलको प्रिन्सिपल हुँदा शिक्षक छनोट गर्दा.........।” कहाँबाट यो उत्तर आयो, मैँ आफैँलाई पत्तो भएन । तर मेरो उत्तर त्यतिखेर रोकियो जब जापानी गुडियाजस्ती त्यो केटीको रोक्दा रोक्दैको ‘कुच्च’ हाँसो गुन्जियो । तर्सिएर अन्तर्वार्ताकारलाई हेरेँ उसको अनुहारमा पनि हँस्सी पोतियो । मलाई आफ्नो भुल तत्कालै अनुभव भयो । लाजले म पानी पानी भएँ, मलाई त्यहाँ आफू निर्वस्त्र उभिइरहेको छु जस्तो लाग्योे । चिटचिट पसिना आयो । तत्क्षणै यो लज्जा पीडामा परिणत भयो । एक झलक अघिल्तिर हेरेँ, त्यो मान्छेका खुलेका ओठ र आँखामा व्यङ्ग्य अनि तिरस्कारबाहेक करुणाको सानो झिल्को समेत पनि भेट्न सकिनँ । म जुरुक्क उठेँ र टाउको निहु¥याएर फटाफटी बाहिर निस्किएँ । मूल ढोकाबाट बाहिरिँदै गर्दा नारी र पुरुषको खिसीमय उन्मुक्त हाँसोको ठूलो ध्वनि मेरो कानभित्र पनि छि¥यो । त्यो हाँसोले हिर्किँदै म तल आँगनमा झरेँ । सिँढीबाट आँगन झरिसकेपछि पो थाहा भयो मेरो गोडा त टेक्नै नहुने गरी दुखिरहेको रहेछ ।

गोडा असजिलो टेक्दै म गेटबाट बाहिरिएर मूल सडकमा निस्किएँ । बसपार्कसम्म जसरी पनि पुग्नैँ थियो, नहिँडी धरै थिएन । त्यसैले म गोडा खोच्याउँदै हिँड्ने प्रयत्नमा लागेँ । तर अलिक पर पुगेपछि मलाई जुत्ता फुकालेर हेर्ने मन भयो । एउटा पर्खालको आडमा उभिएर मान्छेहरूको भीडबाट जोगिँदै म जुत्ता खोल्ने तरखरमा लागेँ । यतिखेर मलाई केही कुराको धक लागिरहेको थिएन । मैँले मेरो आडम्बर, मेरो अहम्लाई पत्रिकाको त्यो अफिसमा, त्यो खाइलाग्दो अन्तर्वार्ताकार र उसकी जापानी गुडियाजस्ती सहायककै अगाडि च्यातेर आइसकेको थिएँ । अब त म एउटी गरिब विधुवा आमाको छोरोमात्रै थिएँ, अरू केही थिइनँ । त्यसैले जुत्ता खोलेर घाउ हेर्न मलाई कुनै असजिलै भएन ।

नयाँ मोजा रगतले च्यापच्यापी भएको रहेछ । गोडाबाट निकालेँ ढुङ्गाको सानो तर तीखो गिर्खो तल झ¥यो । कुर्कुच्चाको अघिल्तिरको भागको छालाको पत्र लामै गरी ताछिएको थियो र त्यहाँबाट रगत पनि रसाइरहेको थियो । गिर्खो घोटिँदा घोटिँदा छालाको सबै पत्र छिचोलिई सकेछ । चिसो हावाले गुम्सिएको घाउमा सरर्र हान्यो, मरुन्जेल दुख्यो एकफेर । सहन नसकेर पीरा आँखाबाट आँसु तप्प खस्यो भ्वाङप्वाल भइसकेको मोजामा ।

× × × ×

सानोमा जाडो गर्मी जुनैबेला पनि म स्विटर लगाएर पढ्न जान्थेँ । मोटो उनको त्यो स्विटरले मेरो च्यातिएको कमिजलाई छोप्ने काम गथ्र्यो । एकदिन हेडसरकी छोरीले यस्तो गर्मीमा पनि स्विटर लगाएर आउने भनेर जिस्क्याई । उसको लहलहैमा कक्षाभरिका सबैले मलाई जिस्क्याए । कतिले मेरो स्विटरै फुकालेर फालिदिन पनि खोजे । म जसोतसो उम्किएर घर आएँ र आमासँग गुनासो पोखेँ । आमाले मलाई स्विटर फुकाल्न लगाउनुभयो अनि स्विटर आफ्नो हातमा लिएर त्यसमा भएका मसिना प्वालहरूलाई देखाउँदै भन्नुभयो, “के–को गर्मी हुनु नि । यी यसमा हावा छिर्नलाई प्वाल छँदैछ नि । बरु तिनेर्को कमिजमा पो हावा छिर्ने प्वाल छैन त ।” गरिबीको कठिनतम् घडीबाट गुज्रिनुभएकी आमाको त्यो चतु¥याइँले त्यतिखेर मेरो हीन मनमा उच्चता भरिएको थियो ।

आज पिल्सिएको गोडा खोच्याउँदै गन्तव्यतिर लाग्दा त्यही घटना सम्झिनँ पुगेँ, जसलाई अक्सर दुःखका क्षणहरूमा म स्मरण गर्ने गर्दथेँ ।

रयाले, काभ्रे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।