कति लाचार छन्
मेरा आँखाहरू
आफ्नै मृत्युलाई बिर्सेर
अर्काको मृत्युमा
समावेश देखिरहेछु
कति लाचार छन्
मेरा मुखहरू
आफ्नै अन्याय
सहिरहेछु
एक वचन राम्रो
बोली दिँदा
के हुन्थ्यो मुखलाई
मुख आफ्नै मृत्युसँग
दोस्ती गरिरहेछ ।
कति लाचार छन्
मेरा हातहरू
आफ्नै इष्टमा
बन्दुक तेस्र्याइरहेछ
आफ्नै आयु कम गरिरहेछ
कर्म गर्नलाई बनेका
यी हातहरू
चुरा र पोते चँुडालेर
आफ्नै चेलीको
सिउँदो उजाडिरहेछ
अनि
जिउँदा हातहरू
आफ्नै मृत्युको
कामना गरिरहेछन्
कति लाचार छन्
यी खुट्टाहरू
उन्मुक्त मातेको बेलामा
अझ मातिन सक्छ
आफ्नै मृत्युमा उभिन सक्तैन
देश विदेशको
गुणगान गाउन सक्छ
आफ्नै संगिनीलाई सिटामोल
दिन सक्तैन
किनकि
उसको खुट्टा लाग्दैन रे !
अर्काको मुत्यु साँच्न सक्ने
यी खुट्टाहरू
आफ्नै मृत्युसँग सम्झौता गरिरहेछ
कति निरीह बने यी कानहरू
आफ्नै मृत्युको खबर सुन्दैनन्
अर्काको मृत्युसँग शोकमग्न छन्
उसले पनि कति सुन्नु
आफ्नै मुत्युको समाचार
विवश छन् कानहरू
कान ठडिरहेछन्
बन्दुकको आवाज
सुनिरहेछ
आफ्नै मुत्युको रोल क्रममा
आफ्नै मृत्यु पर्खिरहेछन् ।