16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अनुभूतिको महासागर : अन्तर्मनको यात्रा

कृति/समीक्षा डा.ज्ञानू पाण्डे September 24, 2010, 6:43 pm

अन्तर्मनको यात्राको पाण्डुलिपि मैले अद्योपान्त पढेँ । यो पाण्डुलिपि पढ्न मैले अलि बढी नै समय लगाएँ । अघिअघि अरू लेखकहरूको पाण्डुलिपि पढ्नुपर्दा मैले कहिले पनि यतिविधि समय लगाएको थिइनँ । दुईतिन बसाइमा नै पढिसक्थेँ र त्यसमाथिको आफ्नो टिप्पणी सरर्र लेखेर दिई जिम्मेवारी सकिदिहाल्थेँ । त्यसो गर्दा म आफैलाई हल्का हुन्थ्यो । त्यसैले म त्यसो गर्थेँ । तर यो अन्तर्मनको यात्रा मैले छिट्टै पढ्न सक्दैसकिनँ । त्यसो त कुनै पनि किताब पढ्न बढी समय लाग्नुका पछाडि विभिन्न कारणहरू हुन सक्छन् । जस्तो कि किताब निकै मोटो हुनु, किताबको विषय नीरस हुनु, अभिव्यक्ति शैली झर्कोलाग्दो हुनु, भाषा क्लिष्ट हुनु, भावमा ओज नहुनु आदिआदि । तर यीमध्ये कुनै कारणले पनि होइन मलाई पढ्न बढी समय लागेको । ए फोर साइजको कागजमा जम्मा १३० पृष्ठ (मात्र) ओगटेको यो पाण्डुलिपि पढ्न मलाई बढी समय लाग्नुको मुख्य कारण थियो यस कृतिको विशिष्टता । वास्तवमा यो सामान्य लेखन होइन, एउटा स्थापित लेखकले आफू अत्यन्त जटिल मनःशारीरिक अवस्थामा गुज्रिरहेको घडीमा लेखेको एक अति विशिष्ट भावको कृति हो यो ।

यस कृतिभित्र एक्कैचोटि थुप्रै कुराले उच्च बौद्धिक वाणी पाएका छन् । जीवनजगत्बारेका कुरा, पूर्वीय–पाश्चात्य दर्शनका कुरा, धर्मपरम्परा अनि समाजशास्त्रबारेका विश्वास र अन्धविश्वासका कुरा, पौराणिक कुरा, आधुनिक कुरा, भोग अनि योगका कुरा, नातासम्बन्धका पत्रपत्रको कुरा, पारिवारिक–सामाजिक जिम्मेवारीबोधका कुरा, जन्मस्थलप्रतिको चरमनिष्ठा र समर्पणको कुरा, लेखक हुनाको गर्वको कुरा, देशको भित्री तहदेखि बाहिरी सतहसम्म असरल्ल परिरहेका हिजो अनि आजका अनेक सङ्गति–विसङ्गतिका कुरा, राजनीतिका कुरा, छलनीतिका कुरा, दरबारियादेखि जनसाधारणसम्मका कुरा, सुखका कुरा, दुःखका कुरा, जीवनजगत्प्रतिको आसक्ति र वैराग्यका कुरा आदिआदि थुप्रै पक्षले साहित्यिक ओजका साथ अभिव्यक्ति पाएका छन् यस अन्तर्मनको यात्राभित्र । यस्तो कृतिको पाण्डुलिपि पढ्दा स्वभावतः अलि बढी समय त लाग्ने नै भयो ।

यहाँ म समग्रमा यस कृतिले मभित्रको पाठकमनमा पारेको प्रभाव मात्र व्यक्त गर्न चाहन्छु र त्यो पनि अत्यन्त अनौपचारिक भाषामा, अनौपचारिक शैलीमा ।

अन्तर्मनको यात्राको पाण्डुलीपि पढ्दापढ्दै बिचबिचमै म धेरै ठाउँमा टक्कटक्क अडिएँ, स्तब्ध भएँ । उतिबेलै लिलाम (२०२७) र साबिती (२०३२) जस्ता गहकिला उपन्यास र अरू पनि थुप्रै रचनाहरू प्रकाशित गरेर नेपाली साहित्यमा ख्याति कमाइसकेका साहित्यकार जगदीश घिमिरे यतिबेला नेपाली साहित्य मन्दिरलाई फेरि अर्को यो अझै गहकिलो कृति चढाउँदै छन्, तर साहित्य क्षेत्रमा यिनको यो पुनरागमनको साइत कुनै सहज र प्रियकर घटनाले जुराएको होइन, एउटा घातक संयोग हो यो । भर्खरै जीवनको ६० औँ वसन्त मात्र पार गर्दै गरेका यी अति उच्च बौद्धिक व्यक्तित्वका धनी स्रष्टा अचानक आफूलाई माइलोमा नामको घातक क्यान्सर रोगले छोएको थाहा पाउँछन् २०६३ साल वैशाखमा । त्यो पनि जीवनको एक अति विशिष्ट घडीमा । अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान ग्रहण गर्न भनेर अमेरिका पुगेको बेला पुरस्कार थाप्न समेत जान नसक्ने गरी त्यहाँ पुगेकै दिन ढाडको हाड चर्किएर ढल्नु प¥यो यिनले । अनि स्वास्थ्य परीक्षणपछि थाहा भयो क्यान्सर भएको भनेर । कति ठुलो विसङ्गतिबोध भयो होला त्यो क्षण यिनलाई ! सहजै अनुमान गर्न सक्छौँ हामी ।

तर त्यस्तो विपत्को घडीलाई पनि यिनले जसरी आफूलाई जित्न सके त्यो भने सामान्य मान्छेको वशको कुरा होइन । अरू सामान्य मान्छे भएका भए सम्भवतः त्यही घडीदेखि चरम निराशाबोधले ढाकिएर पुरै निष्व्रिmय जीवनको बन्दी बन्न पुग्थे होला । तर जगदीश घिमिरेले भने एउटा सच्चा स्रष्टा भएको कारण आफ्नो जीवनमा अत्यन्त आकस्मिक र असामयिक ढङ्गले आइपरेको त्यो चरम विपत्तिलाई पनि उल्टो एक अवसरको रूपमा ग्रहण गरे र अन्तर्मनको यात्राजस्तो यति गहकिलो कृतिको सिर्जना गरे । धन्य स्रष्टा !

म जगदीश घिमिरेको स्रष्टा व्यक्तित्वप्रति हार्दिक अभिवादन गर्दै अन्तर्मनको यात्राबारे कवितात्मक अभिव्यक्ति प्रस्तुतु गर्न चाहन्छु ः

लेखक हुनुको गर्वबोध हो यो अन्तर्मनको यात्रा

लेखक जो आँसुमा पनि कविता पढ्न सक्छ

लेखक जो पीडामा पनि खुसी खोज्न सक्छ

विध्वंसको ताण्डवनृत्य आफ्नै आँखाले हेरिरहेको क्षणमा पनि

लेखक पाठकमनमा आशाको सुन्दर फूल फुलाउन सक्छ ।

लेखक जो कहिल्यै दुख्दैन

किनकि ऊ घाउ होइन मलम हो

लेखक जो कहिल्यै सुक्दैन

किनकि ऊ खहरे खोला होइन

अनुभूतिको महासागर हो ।

मृत्यु अवश्यम्भावी छ हरेकको जीवनमा

जीवनको यो तत्वबोधले उज्यालिएर

अँध्यारो सबै निल्न सक्छ

लेखक कृतिहरूमा आफ्नो आयुलाई लम्ब्याएर

मृत्युलाई पनि छल्न सक्छ

हो, लेखक अजम्बरी हुन्छ

आफ्नै प्रतिभाको बलमा

लेखक जुगजुगसम्म जनमानसमा बाँचिरहन सक्छ ।

आफ्नै प्रतिभाको बलमा

लेखक जुगजुगसम्म जनमानसमा बाँचिरहन सक्छ ।

अन्तर्मनको यात्राको पाण्डुलिपि पढिरहँदाका क्षणमा यसभित्र समेटिएका विविध पक्षको आकर्षणले मेरो मन यथेष्ट मात्रामा छोएकै हो, तर पनि जीवनसम्बन्धी एउटा प्रश्नले भने म अलि बढी नै हुँडलिन पुगेँ । आखिर के हो यो जीवनको अर्थ ? यसमा पाउनु र गुमाउनुको तात्विक भिन्नता कसरी खुट्याउने ?

अन्तर्मनको यात्रा आद्योपान्त पढिसकेपछि मैले यसको चुरोमा वा सारवस्तुका रूपमा केवल एउटा कुरा मात्र सम्झेँ — ‘माइलोमा’ ।

वीपी कोइरालाको उपन्यास मोदिआइनको बालक ‘म’ पात्र जब दरभङ्गा घुमेर घर फर्कन्छ, उसलाई घरमा सबैले घेर्छन् र एकै स्वरले प्रश्न गर्छन् — ‘दरभङ्गामा तिमीले के देख्यौ ?’ बालक स्वतःस्फूर्त रूपमा जवाफ दिन्छ — ‘मोदिआइन ! मैले दरभङ्गामा मोदिआइनलाई देखेँ ।’ स्मरणीय छ, त्यस उपन्यासभित्र मोदिआइन केवल एउटी नारीको नाम मात्र होइन, सिङ्गो उपन्यासको सार हो । अन्तर्मनको यात्रा पाण्डुलिपि आद्योपान्त पढिसकेपछि यसबारेको आफ्नो टिप्पणीमा मलाई पनि यहाँ त्यस्तै शैलीमा भन्न मन लागिरहेको छ — ‘माइलोमा ! हो, अन्तर्मनको यात्राभित्र मैले माइलोमा देखेँ, मात्र माइलोमा !

माइलोमा प्रतीक हो जटिल जीवनको । मानवजीवनको गहिराइमा व्याप्त विषाद, वेदना र छटपटीको साक्षात् रूप हो ‘माइलोमा’ । अपराधै नगरे पनि दण्डित हुन विवश मानव नियतिको अभिलक्षण पनि हो त्यो ‘माइलोमा’ । हरेकको जीवनमा यो वा त्यो घटना बनेर, यो वा त्यो रोग बनेर, यो वा त्यो दुःख, पीडा वा अभाव बनेर ‘माइलोमा’ व्याप्त छ । ‘माइलोमा’ ले आव्रmान्त छ यहाँ हरेकको जीवन ।

‘माइलोमा’ पीडा हो जीवनको । पीडा शक्ति हो क्षणको । क्षण सम्भावना हो अस्तित्वको । अनि अस्तित्व आधार हो मृत्युको । जर्मनी दार्शनिक मार्टिन हाइडेगरले उतिबेला उसै भनेका होइनन् ‘लाइफ इज द लाइफ अफ डेथ’ भनेर ।

‘माइलोमा’ ले अहिले जगदीश घिमिरेलाई मात्र होइन, हरेक व्यक्तिलाई लखेटिरहेको छ । फरक यत्ति हो कि जीवनको माइलोमाप्रति सजग जगदीश घिमिरेजस्ता थोरै मानिसहरू मात्र आफ्नो जीवनका बाँकी क्षणहरू (पनि) अनेक रचनात्मक–सिर्जनात्मक उपलब्धिमा साट्न हतारिएर लागिरहेका हुन्छन्, तर अधिकांश मानिसहरू भने ‘माइलोमा’ को त्यो लखेटाइप्रति पुरै अनभिज्ञ बाँचिरहेका छन् र आफ्ना जीवनका बाँकी क्षणहरूको मूल्य पनि त्यत्तिकै खेर फालिरहेका छन् ।

क्यान्सर रोग लाग्यो भनेर सुनेपछि लेखकप्रति धेरैले सहानुभूति दर्शाएछन् । धेरैले आफूले जानेका सुनेका सबै उपायहरू पनि बताएछन् । हुनत कसैको पीडामा सहानुभूति देखाउनु त्यो मानवीय संवेदना हो । आफूले जानेकोठानेको उपायबारे पीडितलाई बताउनु त्यो पनि उसभित्रको मानवीय संवेदनाकै अभिव्यक्ति हो, तर आफू स्वयम् पनि पीडामा डुब्नबाट जोगिएको छुइनँ भन्ने यथार्थबाट अनभिज्ञ रहेर बाँच्नु चाहिँ ठुलै अज्ञानता हो । आफैप्रतिको ठुलो छल हो । आफैप्रतिको ठुलो व्यङ्ग्य हो । दुःखको कुरा के भने यस जगत्मा अधिकांश मानिस आफूलाई ढाँटेरै बाँचिरहेका छन् । अन्तर्मनको यात्राभित्र स्रष्टा जगदीश घिमिरेले पाठकलाई जीवनको तितो यथार्थप्रति ध्यानाकर्षण गराउन मनग्गे प्रयास गरेका छन् । जीवनप्रति तिनलाई अत्याउने ध्येयले होइन, कर्मप्रति ती जागरूक बन्न उत्प्रेरित होऊन् भन्ने आशयले ।

निश्चय नै, यो कृति पढिसकेपछि कोही पनि एउटा प्रबुद्ध पाठक लेखकप्रति मात्र होइन, स्वयंप्रति पनि सहानुभूतिशील बन्ने छ । त्यति मात्र होइन, ऊ समस्त मानवीय अस्तित्वको निरीहताप्रति करुणाले भरिने छ । बुझ्न खोज्दा कहिल्यै बुझ्न नसकिने, तर सम्मुखमा जेजस्तो विकट परिस्थिति आइलागे पनि त्यो भोग्नबाट तर्कन नपाइने यो जीवनको रहस्यप्रति ऊ खुब घोत्लिनेछ र अन्तमा ऊ यो निष्कर्षमा पुग्नेछ कि आखिर यो जगत्मा बाँचिरहेका सबै मानिसको जीवनको अन्तिम गन्तव्य भनेको मृत्यु नै हो । यो जीवन आधा सत्य मात्र हो । पुरा सत्य भनेको मृत्यु नै हो, मृत्यु मात्र पुरा सत्य हो, अन्तिम सत्य हो, शाश्वत सत्य हो । त्यसैले मानिसले मृत्युसित डराउनुपर्ने कुनै आवश्यकता छैन । बरु मृत्युसत्यप्रति सजगता राख्दै कसरी यो जीवनलाई पूर्ण सार्थक बनाएर बाँच्न सकिन्छ भनेर पो सोच्नुपर्छ त !

यद्यपि प्रस्तुत अन्तर्मनको यात्रा कृतिले एक्कैचोटि धेरै विषयमा थुप्रै सूचनाहरू पस्केको छ पाठकका लागि, तर पनि मूल रूपमा यो कृति सार्थक जीवनको खोजी गर्नमै केन्द्रित पाइन्छ । कर्मप्रतिको प्रतिबद्धतामा नै सार्थक जीवनको प्राप्ति सम्भव छ भन्ने दर्शनलाई उच्च स्वर दिनसक्नु नै यस कृतिको मुख्य उपलब्धि हो भन्ने म ठान्छु ।

पाठकलाई घरी कविताको स्वाद पस्कने, घरी निबन्धको रूप दर्शाउने, घरी दर्शनको व्याख्या पो हो कि जस्तो पनि पारिदिनसक्ने अनि घरी–घरी कुनै एक विचारप्रधान उपन्यास पढिरहेकोजस्तो आनन्दमा डुबाउन सक्ने यस कृतिको स्वरूप साँच्चै नै नौलो छ ।

संरचना, शैली र प्रस्तुतिको ढाँचा तथा सम्प्रेषित विचारको सारलाई दृष्टिगत गर्दै भन्न सकिन्छ — वास्तवमा अन्तर्मनको यात्रा स्रष्टा जगदीश घिमिरेको आत्मवृतान्त (मात्र) होइन । यो निबन्ध कृति (मात्र) पनि होइन । यथार्थमा यो एक आत्मन्यास हो । नेपाली साहित्यका पाठकका लागि यो एक नितान्त नौलो उपहार हो ।

विशालनगर, काठमाडौँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।