19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नदी र मान्छेहरू

कविता रामप्रसाद प्रसाईं 'आशुतोष आंशु' September 25, 2010, 6:18 pm

हामी नदीहरूको

त जातै यस्तो

तल तल बग्नु पर्ने

ओरालो झर्नु पर्ने

भड्खालो भर्नु पर्ने

तिमी मान्छेहरू

हामी नदीहरूलाई

नपछ्याओ

अब हामी

नदीहरूको त

जातै यस्तो

तल तल बग्नै पर्ने

ओरालो झर्नै पर्ने

अनि

भड्खालो भर्नै पर्ने

सभ्यतामा

जय पराजयका

सँगीत गुन्गुनाउँदै

हाम फालिरहेका हामी नदीहरू

अब

रोक्नेछौं

मान्छेहरूलाई—

हाम्रा बगाइका छङछङ मात्र

अनुकरण गर्न,

हाम्रा निर्वस्त्र अस्तित्वमाथि

सौन्दर्यता जोख्न,

नग्नताका अवयवहरूमा

भाव, राग र समय

नामाङ्कन गर्न

किनकि

हामी नदीहरू क्रान्ति हौं—

निर्माण र विनिर्माणका लागि

त्यसैले

अब

दायाँ किनारका मान्छेहरूले

बायाँ हेरून्

नदीलाई

बायाँ तीरका मान्छेहरूले

दायाँ हेरून्

नदीलाई

अनि

बाध्य हुनेछ नदी

मान्छेहरूलाई

बहावको दिशानिर्देश गर्न

अनि भन्न थाल्दछ

तिमीहरू दुई किनार भएर

अब

नचुम मेरा नग्नताहरू

ननाप नग्नताभित्रका समय टङ्कणहरू

र नसुन जिजीविषाका क्रन्दनहरू

नलेख मेरा नागबेली र शिरवन्दीहरू

बस् लेखे हुन्छ

खोला-खोल्साका मिलनहरू

शाखा-प्रशाखामा भएका

‘नोमाडिक’ आवृतिकरण

अनि

प्रतिबद्ध बन

र बग हामीसँगै

मोतीहरू र नागमणिहरू खोज्न

आत्महत्या र आमहत्याले

खेलेका परेडमा

आदिमानवका मनहरूजस्तै

स्मृतिमय संग्रहालयभित्रका टुँडिखेलहरूमा

जहाँ सभ्यता

कुर्लन्छ

कथा ब्यथा विरेचन हुन

अनि

निषेधक-निरपेक्ष-निष्प्राण

एक लौटी ठेकेदारीका

चुत्थापनहरू घोल्न।

कालीखोला-२(तेम्बोक), ताप्लेजुङ्ग; हाल: अबुधाबी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।