सधैं रेसकोर्सका ट्रयाकहरूमा
पिस्तोलका आवाज पर्खिबस्छन्
युगीन रेसका सोझा घोडाहरू
दौड नै घोडा हुनुको अस्तित्व बन्दकी राखेर
जाबो पिस्तोलको घोडामा नियन्त्रीत हुन्छ
तिनीहरूको अस्तित्व।
सधैं आफ्नै अस्तित्वको दौड कुदेको ठान्छन्
समयका अरबी घोडाहरू
तर
जब मैदानमा पिस्तोल पड्किन्छ
घोडाले जीतेको रेसमा
सधैं आफ्नो अस्तित्वको रेस हारिपठाउँछ
घोडाले आफ्नो गति कहिले कुद्न पाएन
लगाम र जकी बिना कुद्नै आएन
प्याभिलियनमा बस्नेहरूको बाहेक जीत कहिले उसको भएन।
ज्यानको बाजी लगाएर
कुदेको फालतोड रेसमा
घोडाले जीतको जीतौरी बाडेको इतिहास कही छैन
फगत घोडाहरूले कुदिदिइरहेका छन्, जीतिदिइरहेका छन्
बोकेर मुटुभरि जितेर पनि हार्नुको घाउ
जित्नै पर्छ उसले प्याभिलियनमा बस्नेहरूको स्वार्थी दाउ।
हरेक पल्ट घोडाको अस्तित्व माथि दाउ लाग्छ
जतिपल्ट जित्छ उति भाउ लाग्छ
तर अरूको निम्ति जित्ने घोडाको
दुःखाईमा नत कसैको मुटुमा घाउ लाग्छ,
तर पनि सधैं
घोडाले इमान्दार भएर
कुदिदिनु र जितिदिनुमात्र सोच्छ
तर कहिले सोच्दैन आफ्नै रेस जितेर जितौरी बाड्ने
अनि कुदिरहन्छ, कुदिरहन्छ
प्याभिलियनको इशारामा,
अनि केही घोडाहरू जीतेको एक्टिङ गरिरहन्छन्
प्याभिलियनबाट हुने म्याच फिक्सिङ नबुझेर
स्वतन्त्र कुदेको भानमा परिरहन्छन्
सधैं हार्ने हाम्रा अविजित घोडाहरू।
गान्तोक, पूर्व सिक्किम