सूर्यको अग्निगर्भमा
पग्लिएर लाभा समयको
जब खस्छ आकाशको छानाममूनि
ती समयका पहेंला रेखाहरु
छिप्पिएर एकैछिनमा
मान्छे कँज्याउने जादुमय मायाजाल बन्छन्
समयको निरंकुश राज्यमा ।
निर्वाध प्रवेश गर्दछन् तिनीहरु
सखारै मान्छेका शयन कक्षमा
र बजाईदिन्छन्
समय सूचक घडिमा अलार्म ।
त्यसपछि हेर्नुपर्दछ
कसरी नियन्त्रित हुन्छन् मानिसहहरु
आगो निभाउन दौडेका
बारुणयन्त्र जस्तै ।
चारदिवारी कोठाभित्र
सुरु हुन्छ मान्छेको भागदौड
बाथरुम, किचेन, लिभिङरुम....
त्यही भागदौडबीच
इज्जत जोगाउने खोल ओढेर
हतारमा निस्कन्छन् मूल सडकमा
आफ्नै छाती भित्रैबाट
आफै बजाउँछन्
एम्वुलेन्सको साइरन
स्वाँ... स्वाँ...फ्वाँ...फ्वाँ....
र दौडन्छन् बेस्सरी
समय अघि नै पुगेर
समयलाई जित्न ।
स्वाट्ट प्रवेश गर्दछन्
समयको झ्यालखानामा
र आफूले आफैलाई कैद गर्दछन् ।
त्यसपछि के चाहियो ?
जब्बर समय
मान्छेलाई जोतिरहन्छ
श्रमशिविरमा ।
ती शिविरका मान्छेहरुको
कसैसँग प्रेम छैन
मात्र छिनछिनमा हेरिरहन्छन्
आफ्ना प्रिय घडीमा
कैद भुक्तानको समय ।
घडी नुहुँदो हो त
कति पिसिन्थे होलान् मान्छेहरु
समयको जाँतोमा ?
ब्रसेल्स, बेल्जियम
'मधुपर्क' असोज २०६७ बाट