19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मृत्युको पाश्र्वछायामा लोलाइरहेका जगदीशसँग एक रात

व्यक्तित्व / कृतित्व प्रा. डा. गोविन्दराज भट्टराई October 1, 2010, 10:00 am

It hath often been said that it is not death

but dying that is terrible.

टल्सटायले एउटा कथामा भनेका छन् ईश्वरले मानिसलाई तीनवटा रहस्यको ज्ञानबाट वञ्चित गरेका छन् । ती हुन् — मानिस जन्मेपछि कसरी सुरक्षित हुन्छ भन्ने कुरा, उसको आयु कति लामो छ भन्ने कुरा र मृत्युको घडी कसरी आउँछ भन्ने कुरा । सृष्टिको आरम्भदेखि यी रहस्य यथावत् छन् । यी खुल्ने भए यो सृष्टिको स्वरूप भिन्नै हुन्थ्यो होला । अनेक प्रकारको आडम्बर र अन्धताले छोपेको बेला ता मानिसलाई लाग्छ सधैँ यत्तिकै पुग्छ होला, मर्नेहरू मरिरहून् म अमर छु । त्यतिबेला यो शरीरको नश्वरता र क्षणभङ्गुरता पनि बिर्सेकै हुन्छौँ । ती तिन रहस्यबारे थाहा पाउने भए हाम्रो जीवन गति अर्कै हुन्थ्यो होला, किनकि हामी सधैँ मृत्युचिन्तनमा हुन्थ्यौँ ।

तर ती ज्ञान वर्जित छन् । ईश्वरले भनेन, विज्ञानले सकेन । विज्ञानले बरु अनेक हिसाबकिताब गरेर अन्य परिस्थिति सामान्य रहेमा यो रोग लागेको व्यक्तिले उपचार गरेमा यति वर्ष आयु थप्न सक्छ भन्ने रहस्य खुलाइदियो । पेसमेकर राख्ने यति वर्ष, मृगौला फेर्ने यति वर्ष, क्यान्सरको उपचार गर्ने यति वर्ष, एड्सको उपचार गर्ने यति वर्ष । तथ्याङ्क बोल्दछन्; अनुमान बोल्दछन् । मृत्युलाई जित्न नसके पनि मानिसले जितेको यति नै हो, तर मलाई लाग्छ यसरी मानिसले अलिकति कोट्याएर त्यो वर्जित फल चाख्न थालेको छ । परिणामस्वरूप आज ऊ फेरि वर्जित फल चाख्ने आदम जस्तै हुन थालेको छ । आदमले त्यो वर्जित फल नचाखेको भए ऊ स्वर्गलोकमै हुन्थ्यो ।

यस्तो थाहा पाउँदा मानिसको मनमा उत्पन्न हुन जाने भय, पीडा, एकप्रकारको निराशा र एकप्रकारको आत्मज्ञानको अनुभूति बडो हृदयस्पर्शी, मर्मस्थल छुने हुँदो रहेछ । म सम्झन्छु, अब यो पृथ्वीमा मेरा दिनहरू सकिए भन्ने लक्षणहरू प्रस्ट भएपछि हाम्रा पिताजीले आमालाई बाकस खोल्न लगाउनु भयो, केही सुनचाँदीका टुव्रmा र कपडाहरू झिक्न लाउनु भयो र दाजुलाई अह्राउनु भयो, “यसबाट प्रतिमा बनाउनू, एउटा कोदालो, हलाको आकार, यी दसौँ दिनमा काम लाग्नेछन्, यी एघारौँमा । यी कपडाहरू यति छन्, गाग्री र अन्य बर्तन छन्, गाई र बाच्छीहरू यसरी तेह्रौँमा दान गर्नू... ।” हामीलाई असह्य भयो । मनमा भय, पीडा, वैराग्य र आतेसले छोप्यो । अरू अमलाको वृक्ष ढालेर दाउरा चिर्न लगाउनुभयो, तुलसीका बोटहरू छानामा सुकाउन लाउनु भयो । हामी सातै भाइ भेला भएर बुबाको उपचार गराउँदै थियौँ ।

आज मलाई एक दशकपछि फेरि त्यस्तै भइरहेको छ । मलाई एकप्रकारको वेदना मिश्रित भावुकताले छोपिरहेको छ । श्री जगदीश घिमिरेको अन्तर्मनको यात्रा पढिसकेपछि मलाई एकप्रकारको अँध्याराले छोपिरहेको छ । एक मन लाग्छ, यो कृति पढ्नु नपरेको भए हुन्थ्यो, आफ्ना दिनहरू सकिन लागेको कुरा यस कृतिका लेखकलाई थाहा नभएको भए हुन्थ्यो । अब त्यो हुन सक्दैन, ह्वाट ह्याज बिन डन, क्यान्नट बि अन्डन । लेखकले वर्जित फल चाखिसकेका छन् । उनले उताको अँध्यारो देखिसके, त्यसबाट उत्पन्न हुने सन्ताप, भय र दुःखानुभूतिले उनलाई छोइरहेको छ, हामीलाई पनि छोइरहेको छ ।

मृत्युको पाश्र्वछायामा

पाश्र्वछाया माने सिलुएट । सन्ध्यामा अथवा जुनेली रातमा धेरै टाढा, डाँडामाथि देखिने वृक्ष वा वनस्पतिका आकार, पर्वतका आकार, कुनै वस्तु वा व्यक्तिका आकार । अस्पष्ट र भयप्रद । आज यस्तै लेख्छन् लेखक जगदीश — टाढा उभिएको मृत्युको पाश्र्वछाया नजिकै देखिरहेछन्, यो भयप्रद मुद्रा अघिल्तिर आफ्ना केही कथाव्यथा लेखिरहेछन्, सारा मनोभाव पोखेर, घोप्ट्याएर । चेखबको एक पात्रले आफ्नो हृदय अनेक पीडाले भरिएपछि अरू कोही नपाएर आफ्नै घोडासँग आफ्ना दुःख र वेदना कहेजस्तो, तर त्यस्तो मात्र होइन । आँधीहुरीले छोपेको बेला कुद्दाकुद्दै केही शब्दहरू कसैलाई चिच्याएर भन्दै कुदे जस्तै । कृतिमा लेखक आफै बोल्छन् — कसैको जीवनको टुङ्गो छैन, तर मेरो जीवनको टुङ्गो छ ।

अचानक ब्लड क्यान्सर भएको थाहा पाएपछि उपचारको व्रmममा ज्ञान भयो — यस रोगको उपचारपछि ८­–१० वर्ष आयु लम्बिन सक्छ । कसैले त अरू घटाएर पनि बोले ।

ईश्वरले नखोलेको रहस्यलाई जान्ने भएर मान्छेले उधिन्यो, विज्ञानले त्यसो ग¥यो, यो ज्ञानबाट मानिसलाई आनन्द थपिएन, पीडा थपियो । इग्नोरेन्स इज ब्लिस त्यसै भनिएको होइन । यो ज्ञानबाट उत्पन्न हुने पीडा भोक्तालाई अत्यधिक छ; अरूलाई पनि छ — परिवारलाई, स्वजनलाई, हामी सबैलाई, म भूमिका लेखकलाई । टल्सटायले ठिकै भनेका थिए, यी रहस्यको ज्ञानले मानिस अझै दुःखी हुनेछ भन्ने बुझेर नै ईश्वरले वर्जित गरेका थिए ।

म यसरी जोडिएँ

आजभन्दा तिन दशक अघि साहित्यिक पत्रिका रचना (२०३४) मा साबिती बारे मैले लेखेको एउटा समीक्षा प्रकाशित भएको थियो । त्यसको शीर्षक थियो — विषाक्त भोगाइको मूर्तरूपः साबिती । साबिती जगदीश घिमिरेको दोस्रो उपन्यास थियो । त्यस बेला साबिती पढेपछि मेरो मनमुटु हल्लिएको थियो, भर्खर स्नातक गरेको युवा म उद्वेलित भएको थिएँ । लेखकलाई नदेखी/नचिनी साबिती पढेर त्यो समीक्षा लेखेको थिएँ । साबितीले एकपल्ट यहाँको साहित्यिक वृत्तमा ठुलो तहल्का मच्चाएको थियो । जगदीश नयाँ सम्भावना र शक्ति लिएर उदाएका थिए । पछि त्यो कुरा बिर्सिएँ । उनको र मेरो साहित्यिक जीवन अलिक फरक कालखण्ड र भूभागमा मौलाएछ; फरक चेतनाले जागृत भएछ; हामी भाग्यको लहरामा आआफ्ना पिङ खेल्दै हिँडेछौँ । मेरो उनीसँग भेटघाट­ परिचय भएको थिएन ।

धेरै वर्षपछि, भनौँ त्यसको तिन दशकपछि भाइ देवेन्द्रले कान्तिपुरमा खबर छापेपछि, दाइ नगेन्द्रले मेरो भाइ यसरी सङ्व्रmमित छन् भनेपछि म झस्किएँ । प्रेमले जगदीश दाइसित भेट गर्ने इच्छा भयो । अनि रोचक र नगेन्द्र दाइहरूसित लागेर पहिलोपल्ट उनकै आवास चोभारमा पुगेर भेटेँ । यी हाम्रा प्रथम भेटका कुरा साबितीको दोस्रो संस्करणमा छाप्नको लागि मैले लेखेको त्यसको भूमिकामा खुलाएको छु जसको भूमिकाको शीर्षक अहिले मात्र थाहा भयो साबितीमा यस्तो दादावादी छाया परेको थियो रहेको छ । यसरी एकै जनाको कलमले तिन दशकको फरकमा पहिले समीक्षा र पछि भूमिका लेख्ने काम नेपाली साहित्यमा कतै भएको छजस्तो लाग्दैन ।

त्यसैबेला हो, हालैको प्रथम भेटघाटको व्रmममा उनले आफ्ना पुराना कृतिहरू पुनर्मुद्रित गर्ने; साथसाथै नयाँ पनि प्रकाशित गर्ने अठोट गरेको कुरा सुनाएका थिए । हामीले उत्साह थप्यौँ । यस वर्षको तिहार सकिएपछि हामीले उनीसँग दोस्रोपल्ट भेट ग¥यौँ — नगेन्द्र शर्मा, रोचक दाइ र म । त्यही उपव्रmममा मलाई यो पाण्डुलिपि दिँदै उनले भने — ‘मैले लगभग पुरा गरेँ; पढेर यसमाथि तपाईंले भूमिका लेखिदिनु होला ।’ बिस्तारै हामीले दाजु­भाइको नाता ठहर ग¥यौँ ।

यो कृति मैले कहिल्यै नपढेको भए हुन्थ्यो

हिउँद लाग्ने याम थियो । घाम प्यारा भइसकेका थिए । फराक आँगनमा, उदाङ्गो आकाशमुनि, सल्लेरीतिर हेर्दै ललितपुर सामुन्ने पारेर हामी न्याना घाममा धेरै बेर बस्यौँ, चियाखाजा सेवन ग¥यौँ र बिस्तारै बिदा भयौँ । हिँड्ने बेलामा मैले अन्तर्मनको यात्रा शीर्षक पाण्डुलिपि डिकीमा हालेँ अनि एउटा अभिभाराजस्तो गह्रौँ चिज बोकेर बाटा लागेँ ।

रातदिन सम्झिन्छु; एउटा कर्तव्यबोधले निरन्तर थिचिइरहेको जस्तो ठान्दछु । रातोदिन यो महानगरीमा सास फेर्नसम्म समय नपुगेजस्तो हुन्छ फेरि अन्तर्मनको यात्राको टाइपलिपि देख्यो कि झस्किन्छु । मेरो सुरले भए एक वर्षपछि मात्रै पालो आउँथ्यो होला, तर घरमा पुगेर पाण्डुलिपि पल्टाउनासाथ सुरुकै पृष्ठमा आँखा पुगे ः

आँखा कि अचानक प्रचण्ड अन्धकारबाट प्रचण्ड उज्यालोमा पुग्दा तिरमिराउँछन्, कि प्रचण्ड उज्यालोबाट प्रचण्ड अन्धकारमा पुग्दा । म जीवनको प्रचण्ड उज्यालोबाट एकाएक प्रचण्ड अन्धकारमा पुगेको थिएँ । मेरा आँखा जोडले तिरमिराएका थिए । दिव्य ज्ञानतुल्य त्यो तिरिमिरीले मलाई नयाँ दृष्टि दियो । अन्तर्मनको यात्रा मैले मेरो जीवन र मृत्युको दोसाँधबाट तिनै तिरमिराएका आँखाले देखेको त्यही नयाँ जीवनदृष्टि हो । आफ्नै ओछ्यानमा पल्टेर गोडामुनिको टेलिभिजनमा हातैले छुँलाजस्तो नजिकै मैले देखेको मृत्युको तस्बिर हो, साक्षात्कार हो, साउती हो ।

यसपछि म वशीभूत भएँ । आफ्नो महायात्राको मिति तय भएको थाहा पाउने एक पात्रको मनस्थिति, त्यसका उद्वेलनहरू, भग्न आकाङ्क्षा अनि सहानुभूति र प्रेमको खोजी देख्ता मैले सारा कर्महरू त्यागेँ, कार्यालयमा ढाँटेँ, पन्छाएँ अनि फुलब्राइटको निमित्त तयारी गर्ने छुट्टी लिएर अन्तर्मनको यात्रा भित्र पसेँ । एक दिन र एक रात आसन नडगमगाई, आँखा नचिम्ली बसेँ, हाइलाइटरले, मार्करले, रातो र निलो मसीले पृष्ठहरू रँगाएँ । अन्त्यमा पुगेपछि मलाई लाग्यो — जगदीश घिमिरेसँग मेरो भेट नभएको भए हुन्थ्यो, यो कृति मैले कहिल्यै नपढेको भए हुन्थ्यो । यी पङ्क्तिमा पोखिएका भावनाले हृदय छुँदा तपाईंलाई पनि त्यस्तै लाग्ला ः

क्यान्सर भएको थाहा हुनुभन्दा केही महिनाअघि जागिर छोड्ने निधो गरेको थिएँ । जागिर छोडेपछि साहित्य सिर्जनाबाट थालेको जीवन साहित्य सिर्जनामा नै बिसाउने योजना थियो । त्यसका लागि चाहिने सबभन्दा ठुलो कुरा थियो स्वास्थ्य । त्यो थियोजस्तो लागेको थियो, रैनछ । जाँगर थियो । साहित्यमा केही गरौँ भन्ने चाहना अधूरै थियो । त्यो पुरा गर्ने लालसा थियो । उत्साह थियो । आँट थियो । अरू चाहिने संसाधनहरूको पनि जोहो गरेको थिएँ । तर यहाँ मेरो समय समाप्त भैसकेको रहेछ ।

एक अविच्छिन्न बसाइमा पढिसिध्याएपछि आज म यस कृतिबारे केही लेख्न बाध्य भएको छु, अन्तःप्रेरित पनि छु । औषधि विज्ञानले दिएको वचन ८­–१० वर्ष ता थुप्रै हो, तरपनि मलाई लाग्छ — मचाहिँ मेरो हजुरबुबाको उमेरसम्म बाचौँला, उहाँ मिति तय भइसकेका पात्रको (व्यक्तिको) यो भूमिका झट्टै लेखिहालौँ । कस्तो मूर्खताले नित्य छोपिरहेको थियो यो मनलाई ! अनि म यो लेख्न बसेँ ।

अधुरा धोकाहरूको एउटा बिस्कुन

त्यसो त इतिहासपुराणमा आफ्नो अन्त्यकाल थाहा पाउने कति पात्रहरूले पुनर्जीवनको याचना गरेका कथा छन्, यौवन सापटी मागेका कथा छन् । आयु मागेका छन्, केही धोका पुरा गर्ने अवसर मागेका छन् । आधुनिक साहित्यमा पनि कति पात्रहरू छन्; जस्तै डाक्टर फाउस्ट । सेक्सपियरका समकालीन व्रिmस्टोफर मार्लोले एउटा नाटक लेखे फाउस्ट (पछि गेटेले पनि यसमा आधारित काव्य लेखे) । त्यो पात्रले यमदूतहरूलाई आफ्नो आत्मा बिव्रmी गर्दछ र त्यसको सट्टा सृष्टिका समस्त आनन्द उपभोग गर्न पाउने निश्चित कालावधि प्राप्त गर्दछ । ऊ ग्रिसकी हेलेनलाई भेट्छ, महान् सागरको पिँधमा पुग्छ, तारा, ग्रह र नक्षत्र छुन्छ । सृष्टिको सारा अगम्य रहस्य पत्ता लगाउँछ, तर मृत्यु जति नजिक आउँछ, त्यति ऊ आत्तिने, रुने, कराउने, भयभीत हुने र अमर आत्मा बेचेर यो ज्ञान प्राप्त गरेकामा पश्चात्ताप गर्ने गर्छ, अनेक अनुनय विनय गर्दछ । तर काल निष्ठुर हुन्छ, आत्मा बिव्रmी भइसकेकाले उसलाई स्वर्गको मार्ग निषिद्ध छ, ऊ नर्कलोक जाने अवस्थामा छ । त्यत्रो रोदन, व्रmन्दन, चीत्कार र वेदना आजसम्म कुनै कृतिमा सुनिएको छैन, यथार्थ होस् वा काल्पनिक । विश्वसाहित्यमा त्यो ‘लिजेन्ड’ को अमर सन्देश पुगेको छ — मानिस र कालको प्रत्यक्ष भेटघाट कति भयावह हुन्छ; मृत्युचेतनाले कसरी हाम्रा सारा सुखहरू समाप्त गरिदिन्छ ।

प्रस्तुत कृतिलाई लेखकले आत्मालाप विधा अन्तर्गत राखेका छन् । आत्मालाप विधा हुन्छ हुँदैन त्यो ठहर गर्नै छ, नेपालीमा यो नौलो भएर आएको छ । अन्तर्मनको यात्रा पनि यात्रा नै हो बाह्य जगत्को जस्तै । यात्रावृत्तान्तलाई ट्राभेलग भनिन्छ — ट्राभेलग र मोनोलग्स; अर्थात् यात्रा र (मनसँगको) एकालाप भन्नु पनि उपयुक्त देखिन्छ । यसका तिनवटा विशेषता छन् — आफ्नै आँखाले गरेको निरीक्षण, आफ्नै हृदयको अनुभूति र तीबारे आफ्नै वाणीको प्रकाशन । त्यस्तै नियात्रा अथवा निजी यात्रा । बाह्य जगत्को भैmँ यसमा भित्री जगत्को यात्रानुभूति छ, आत्मालाप वा एकालाप भन्नु उपयुक्त ।

त्यसो त यो कृति विधाको हिसाबले आख्यानेतर गद्य हो, अनेक अनुभूति र चिन्तनले भरिएको आत्मवृत्तान्त । फेरि एक प्रकारले यो गद्याख्यानजस्तो पनि लाग्दछ अलिक नौलो । अनेक निबन्धात्मक आलेखहरूको सङ्कलन । यहाँ लेखकको मन फाउस्टको जत्रै भय र निराशाले भरिएको जस्तो लाग्छ, त्यो दिन सबैको लेखान्तमा अवश्यम्भावी छ, तर पनि लाग्छ — मेरो दिन अरू टाढा छ । लेखकलाई यो समय यस्तै रहिरहला, मनका अनेक इच्छा र आकाङ्क्षा पुरा गरौँला भन्ने थियो ः

मलाई यस्तो साँघुरो मनको बह लेख्न मन थिएन । म फराकिलो आख्यान साहित्य लेख्न चाहन्थेँ । म नेपाली समाजका अनेकौँ बिर्सिनसक्नु ऐतिहासिक, सामयिक र काल्पनिक समेत पात्रहरू र अनेकौँ जटिल र महत्वपूर्ण परिस्थितिहरूको आख्यानमा पुनर्निर्माण गर्न चाहन्थेँ । कुनै पनि समाजले गुज्रिनुपरेको समयको साँचो अभिलेख तत्कालीन यथार्थपरक साहित्य नै हुन्छ । संसारका धेरै देश र समुदायले भोगेका पीडाहरू नेपाली समाजले पनि भोगिसकेको छ । ती फेरि नदोहोरियून् ! म त्यस यथार्थको अभिलेख गर्न चाहन्थेँ, अभैmँ चाहन्छु । तर समयको योजना त्यस्तो रैनछ । यो आत्मानुभूति र यो आत्मालाप मेरो भन्दा बढी समयको योजना हो ।

यस्तो अवस्थामा पुग्दाको मनस्तापको चित्र चेखबको एउटा कथाको पात्रमा पनि छ ।

सेसिल रोड्सले मर्ने बेलामा भनेका थिए, यति मात्र गरियो, कत्रो धेरै बाँकी रह्यो (so little done, so much to do):

मृत्युको पूर्वाभासले मानिसको भावनामा ठुलो परिवर्तन ल्याइदिन्छ । हामीले समाजमा यो कुरा अनुभव गरेकै छौँ । दान, धर्म, पुण्य गर्ने, यश­कीर्तिका कार्यपट्टि लाग्ने काममा चित्त जान्छ । हाम्रोमा चल्ने दशदान, वैतरणीसँग सम्बन्धित चेतनाको विश्लेषण गर्दा टमस मानको भनाइ याद आउँछ ः

The only religious way to think of death is part and parcel of life.

मृत्युको बारेमा धार्मिक दृष्टिले चिन्तन गर्नु जीवनको अभिन्न पक्ष हो ।

यस्तो अनुभूति अरूमा

त्यसो त मैले यसअघि यस्तो मानसिक अवस्थामा पुगेका सर्जकको कृतिमाथि भूमिका नलेखेको हुइनँ; तीनवटा लेखेँ । तीमध्ये दुईवटा उल्लेख्य छन् । पहिलो हो डा. कुमारबहादुर जोशीको द अवेकनिङ्ग अफ सेकेन्ड लाइफ । एकपल्टको मृगौला प्रत्यारोपण असफल भएपछि दोस्रोपल्ट प्रत्यारोपण गर्ने डा. जोशीले जीवन र मृत्युको दोसाँधमा लामो सङ्घर्ष गरे । उनले मृत्युसँग साक्षात्कार हुँदाका ती दिनको र फेरि पनि कति बाँचिएला भन्ने निराशाबोधले भरिएको बेला लिखित सो कृतिमा मैले एउटा भूमिका लेखेँ । अर्को भूमिका लेखेँ पर्खाल (नाटक) माथि । पर्खालका लेखक हुन् अग्रज मित्र श्री दामोदर घिमिरे । अनेक रोगव्याधले च्यापेर गलित र निराश घिमिरे आज पनि मृत्युसँग सङ्घर्ष गरिरहेका छन् । त्यसो त मैले मृत्युशय्याबाट हात उठाएर मोहन कोइरालाले सुम्पेको काव्यकृति सिमसारको राजदूत माथि पनि भूमिका लेखेँ, तर सो जिम्मा लगाउन जाँदाजाँदै बागबजारमा पुग्दा उनी आर्यघाट पुगिसकेको समाचार आयो । त्यो चोटले म अभैmँ विह्वल र पश्चात्तापपूर्ण मनोदशामा छु ।

अघिल्ला दुई कृतिमध्ये पर्खालमा मृत्युबोधको कुनै तरङ्ग छैन, तर लेखक स्वयं अन्त्यकाल पर्खिरहेका छन् । उनले भजन, स्तोत्र र भक्ति गीतका सङ्ग्रह अलग्गै निकालेका छन् । उनले निरन्तर प्रभुस्मरण गरेका छन् । उनले स्रष्टासामु आफूलाई पूर्णरूपले समर्पित गरेका छन् । सामुन्नेको महान् अन्धकार उनलाई स्वीकार छ भने डा. जोशीका सिर्जनामा चाहिँ आफ्ना अनुभव, मृगौला उपचारपद्धति र मनस्तापका अनेक मुस्ला छन्, यसको सुरु खण्डमा जीवन र मृत्युविषयक अनेक चिन्तन, धर्मग्रन्थ र दर्शनका वाणी, मृत्युको स्वरूप चिन्ने प्रयत्न र असफलता अनि लेखान्तमाथि वा प्रभुइच्छामाथि पूर्ण समर्पण भाव छ । हाम्रा धेरै सर्जक­चिन्तकले महाकविकै दर्शनको शरण लिएका छन् — आखिर श्रीकृष्ण रहेछ एक ।

अर्का पूर्वीय अध्यात्म ज्योतिले हृदय झलमल्ल भएका महात्मा थिए कवि शिरोमणि लेखनाथ पौड्याल । उनले मृत्युशय्यामा सुतेर लेखेको अन्तिम श्लोकको सम्झना भयो ः

यो दुःख भोग्ने परमेश्वरै हो

यो देह उसको रहने घरै हो ।

यो भत्कँदा दुःख अवश्य मान्छ

सुटुक्क सामान लिएर जान्छ ।।

त्यसैगरी जगदीश घिमिरेज्यूको प्रस्तुत कृतिमा एकखाले क्यान्सरको आधुनिक उपचारपद्धतिको पनि विवरण छ, तर कृतिको आत्मा त्यो होइन । कृतिको आत्मा हो — मृत्युबोध, मृत्युचिन्तन, मृत्युभय, मृत्युप्रतिको समर्पणभाव र त्यसका साथसाथै त्यही गहिराइमा प्रच्छन्न जीवनबोध, जीवनचिन्तन, प्रबल जिजीविषा र जीवनप्रतिको समर्पणभाव । जीवन र मृत्युचिन्तनका दुवै घनीभूत भावहरू सँगसँगै पढ्दा, अनुभूत गर्दा भयप्रद लाग्छन् । जुन कुरा अवश्यम्भावी छ, त्यसैप्रतिको भय कति त्रासद ! यसरी प्रबल जिजीविषायुक्त लेखकले आफ्नै सामुन्ने मुत्यु उभिएको छर्लङ्गै देख्ताको मनोभाव कस्तो होला, म कल्पना गर्न सक्तिनँ ।

लेखक भन्छन् — अन्तर्मनको यात्रा हालका छिनछिनको तीव्र अनुभूति हो । साँच्चै हो, यसमा उनले जीवनभरि सोचे­गरेका भन्दा अर्कै कुरा छन् ।

अन्तर्मनको यात्रा चिनाउने एक प्रयत्न

अब अन्तर्मनको यात्रा शीर्षक यो कृतिलाई कसरी चिनाऊँ जस्तो भएको छ ।

आफू असाध्य रोगको वशमा परेछु भन्ने जानकारी भएपछि लेखकले आफ्ना मनमा लागेका कुराहरू भन्न थाले । ती पनि अस्पतालको बेडमा ब्याङ्ककमा, उपचारकै व्रmममा । ओछ्यानमा ढल्केर ल्यापटपमा युनिकोड हिर्काउँदै । यन्त्रयुग धन्य छ ।

लेख्ने कुरा धेरै थिए । सम्भावना पनि धेरै थिए । क्षमता पनि धेरै थियो । उनको पूर्वाद्र्धको जीवनले त्यही भन्दछ । हृदयभित्र लुकिरहेको तृप्त हुनेगरी साहित्य पढ्ने र लेख्ने धोको छँदै थियो ।

त्यो सीमित भएको देखेर एउटा अँध्याराको सामु उभिँदै बडो मनोयोगले उनले यो लेखे । अँध्यारामा बलेको झिल्कोभैmँ, राँकोभैmँ । तर यो डिस्टर्बड् मुडमा अनेक विच्छिन्नतामा प्रबल इच्छाशक्तिले तानेर लेखाएको कृति हो; लेखिएको कृति हो । यसमा लेखकभित्र उम्लेर आएका कुरा भक्कानो फुटाएर निस्केका छन् ।

अन्तर्मनको यात्रा लेखकको बाल्यकालदेखिको जीवनयात्राको व्रmम हो । यो बाह्य जीवनको यात्रा पनि हो । यसमा उन्नाइसवटा शीर्षक र कुनैमा केही उपशीर्षक पनि छन् । तर छ दशक लामो जीवनलाई फड्का मार्दै केही बाल्यकाल, केही युवाकाल, केही जागिरे जीवन र बाँकी उत्तराद्र्धकाल र रोगको आव्रmमणमा गएर कृति टुिङ्गन्छ ।

यो एक प्रकारको आत्मकथा हो, आत्मकथ्य वा आत्मालाप । लेखकले स्वगत भनेका थिए । हामीले अलि सरल शीर्षक राख्यौँ अन्तर्मनको यात्रा ।

यो दशकले नेपाली साहित्यलाई अनेकौँ विशिष्ट प्रकृतिका अन्तर्मनका यात्राहरू उत्पादन गरिदिएको छ । तिनचार वर्षभित्र प्रकाशित कृष्णचन्द्रसिंह प्रधानको जिन्दगीका टिपोटहरू, अम्बर गुरुङको कहाँ गए ती दिनहरू, ध.च.गोतामेको आरोह अवरोह, रमेश विकलको अविरल मेरो जीवनगीत, गणेश रसिकको दसगजामा उभिएर, दयानन्द वज्राचार्यको वैज्ञानिक गोरेटोमा उत्कृष्ट कृति हुन् ।

प्रस्तुत अन्तर्मनको यात्रा पनि तिनै उत्कृष्टताभित्र पर्ने यो वर्षको पठनीय कृति हो । यो अरूभन्दा पनि अधिक पठनीय छ; कारण अरूमा लेखकका अतीत छन्, केवल दुःखसुखले बितेका दिन छन्, तर यसमा आफ्नो सामुन्ने मृत्युको भयप्रद पाश्र्वछाया उभिएको देखेका लेखकले त्यस बेलाको मनोभाव प्रकट गरेका छन् । अज्ञात भविष्यको बारेमा केही चिन्तन छ ।

यसमा अलिकति जीवनी छ, अलिकति जीविकाका सङ्घर्षहरू, अलिकति परिवारजन, अलिकति साहित्यिक अभिरुचि, योगदान र सङ्घर्ष, अलिकति समाजसेवाको विवरण, अलिकति राजनीतिमा आफ्नो भूमिका, अलिकति जनयुद्धको चित्र अनि उपचारव्रmम । धेरै कुरा पुरा गर्न नभ्याएका इच्छाहरू छन् ।

स्वजनहरूको मृत्यु अवश्यम्भावी देखेर द्रवीभूत कति लेखकले तिनको बयान गरेका छन् । अनेक शोककाव्यहरू छन् । विश्वमा शोकसाहित्यको ठुलो भण्डार छ । लर्ड टेनिसनको इन मेमोरिअम जस्तै माधव घिमिरेको गौरी, डा. डिल्लीराम तिमसिनाको शोभा (छोरीको नाम), राममणि रिसालको छोरी र आमाको सम्झनामा लेखिएका — तिनीहरूका अधुरा इच्छा र आकाङ्क्षाबारे सम्झिँदै, तड्पिँदै लेखिएका अनेक कृति छन् । तर यो कृति भिन्न छ — यसमा अनुभावक र लेखक उनै हुन् जगदीश घिमिरे । अर्काको होइन आफ्नै स्थिति र परिस्थितिको चर्चा छ । त्यसैले यो आत्मालाप वा मोनोलग हो ।

यसमा जनकपुर खण्डले जनकपुरको पृष्ठभूमिमा गरिएका सङ्घर्ष र योगदानको वृत्तकथा प्रस्तुत गर्दछ । काठमाडौँले लामो खण्ड ओगट्छ, त्यहाँ नेपालदेखि अमेरिकासम्मका यात्रा छन् । परिवारमा मानिसले परिवारबाट अपेक्षा गर्ने र पाउने सुखदुःखका क्षणका सहयोगहरू छन्, मानव प्रवृति छ । कुनैमा खण्ड नै पूर्ण छन् जस्तो आप्नो कुरा । कुनैमा आवश्यकता अनुसार उपखण्ड पनि जोडिएका छन्, जस्तो काठमाडौँ, घर­स्वर्ग आदि । स्वास्थ्य; धर्म, अर्थ, काम, मोक्ष; भाव, स्वभाव र स्ववास्तविकता; घरस्वर्गजस्ता अत्यन्तै सुन्दर वस्तुपरक निबन्धात्मक सिर्जना पनि छन् । केही तामाकोसी सेवा समितिजस्ता विकास र राजनीति जोडिएको विवरण पनि छन् भने कायाकल्प, समयजस्ता अत्यन्तै उच्चकोटिका दार्शनिक ­चिन्तनपरक निबन्ध रचना छन् ।

यसको विषयवस्तु राजनीति, साहित्य, दर्शन, समाजसेवा र औषधिविज्ञान रहेको छ । कुनै रचना अत्यन्तै सुललित शैलीका, गहन विचारका, चिन्तनमूलक पनि छन् भने अन्त्यतिरका तीनवटा रचनाचाहिँ दैनिकी शैलीमा रचित छन् । औषधीविज्ञानमूलक रचना प्राविधिक शब्द र अपरिचित प्रव्रिmयासँग जोडिएका छन् ।

अन्तर्मनको यात्रामा प्रतिबिम्बित लेखक

कृति अध्ययन गरिसक्ता लेखकको व्यक्तित्वका अनेक पक्ष उद्घाटित हुन्छन् — जगदीश घिमिरे एक सामान्य नागरिक, सम्पन्न कुलपरिवारको, पहाडबाट मधेस (जनकपुर) झरेको, पछि काठमाडौँ सरेको, अनेक सङ्घर्ष खपेको­ खेपेको, जीवन ­जगत्का हन्डर र ठक्करले नगल्ने, अलि हठी, अलि साहसी, अलि स्वाभिमानीजस्तो लाग्ने । एउटा लेखक बन्न समर्पित, तर भाग्यले धेरै थोक बनाएको, अवसरले धेरै थोक बनिएको । यस कृतिको ऐनामा हेर्दा जगदीश एक साहित्यकार, एक विद्रोही, एक राजनीतिज्ञ, एक योजनाकार, एक भिजिनरी, एक प्रबन्धक, एक समाजसेवी, एक पत्रकार अनि एक चिन्तन, दर्शन, अनुभव, अध्ययनका विविधताले उज्यालिएका, सङ्गतिला व्यक्तित्व देखिन्छन् । देशबारे चिन्तित रहने, कर्तव्यमा विश्वास गर्ने व्यक्तित्व देखिन्छन् ।

वर्तमान सिर्जनामा लेखक एक्लो हुँदैन । समीक्षक, टिप्पणीकार, पाठक सबैको सम्पादकीय चेतनाले त्यो परिमार्जित र परिष्कृत हुने गर्छ । हाम्रोमा त्यो चलन छैन तथापि प्रस्तुत कृतिले ती अनेक चरणमा प्रवेश गर्ने अवसर प्राप्त गरेको कुरा मलाई थाहा छ । सुरुको पाण्डुलिपि पढेर मैले लेखेको थिएँ, ‘कृति पढ्दै लाँदा कति ठाउँमा फड्किएको लाग्ने छन्’ वास्तवमा लेखकको बाल्यकालको त्यसमा झलक मात्र थियो । अन्तिम पटक परिष्कृत भएको प्रेस कपी फेरि पढेँ; पृष्ठहरू थपिएका छन्, कुनै हटाइएका छन्, कुनै सारिएका छन् । यसरी अनेक पल्टको पुनर्लेखन र परिमार्जनपछि पढ्दा सलल बगेको कृति अर्कैजस्तो भएछ । म छक्क परेँ । नेपालीमा लेखकहरूले पूर्वपाठकहरूमा यस्तो विश्वास गर्ने चलन छैन, कृतिलाई जन्मिनुपूर्व सकेसम्म ‘पर्फेक्ट’ बनाउने चलन छैन ।

खण्ड ४ को मन्थली, प्रवास र फेरि मन्थलीले, अनि पूर्ण संशोधित जनकपुरले यात्रालाई सुसङ्गतिपूर्ण बनाउँछ ।

यस कृतिबाट यी सबै कुरा खुल्दछन् । लेखकका प्रकाशन र पुनःप्रकाशनले उनको साहित्यिक क्षमता र स्थान तय गर्नेछन् ।

यस कृतिबाट हेर्दा जगदीशको जीवनमा भेट भएका, सम्पर्क र सङ्गतमा रहेका अनेक व्यक्तिसँग पाठकको भेट हुन्छ । जस्तो कि जनकपुरमै छँदाको साहित्यिक वृत्तमा मनु ब्राजाकी, डा. धीरेन्द्र, लीलासिंह कर्मा, राप्रउ, कमल गजमेर, दिनेश गिरी, आदि । व्रmमशः थपिँदै गएका बिर्सन नमिल्ने अरू नामहरू छन् — रोचक घिमिरे, नारायणबहादुर सिंह, भैरव अर्याल, नगेन्द्रराज शर्मा, भवानी घिमिरे, मञ्जुल, वासु शशि, बालमुकुन्ददेव पाण्डे, उत्तम कुँवर, भूपि शेरचन, महेशचन्द्र रेग्मी, मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतम, ईश्वरवल्लभ, मोहन कोइराला, अम्बर गुरुङ, हरिभक्त कटुवाल, केदारमान व्यथित, नीर शाह, धुस्वाँ सायमी, अगमसिंह गिरी, इन्द्रबहादुर राई, कृष्णभक्त श्रेष्ठ, गणेश रसिक, नीरविव्रmम प्यासी, मदन रेग्मी, रमेश विकल, ग्रेटा राणा, चव्रm बाँस्तोला, चाँदनी जोशी, तुलसीलाल श्रेष्ठ, पुष्पलाल श्रेष्ठ, नरहरि आचार्य, पद्मरत्न तुलाधर आदि । यी नेपालका आफ्नो समयका विशिष्ट व्यक्ति हुन् । यिनीहरूको वृत्तमा चल्नु सानो कुरा होइन, यति परिचय नै साहित्यकारको लागि पर्याप्त छ । त्यसैगरी उनको विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, राजा वीरेन्द्र, नारायणप्रसाद श्रेष्ठ, चिरन थापा लगायतका व्यक्तित्वसँगको सम्पर्क र परिचय देखिन्छ । भारतका साहित्यकार, बेलायती र अमेरिकी विशिष्ट नागरिकहरूसँग पनि उनको सङ्गत देखिन्छ ।

लिलाम र साबिती (उपन्यास) लेखेताकाको उनको भाषा, बोली र गर्जनमा उग्रता छ, एउटा अन्कम्प्रोमाइजिङ रिबेल (सम्झौता नगर्ने विद्रोही) को चित्र आउँछ । आज छापामार युद्धको मोहनीबाट मुक्त भएपछिका दिनहरूमा उनी अहिंसावादी अराज्यवादी भएँ र हुँ भन्दछन्, तर समयले किचेर ल्याउँदा ती आदर्शहरू कति भाँचिए, ढले र कति सग्लै रहे म भन्न सक्तिनँ । यद्यपि लेखनमा चाहिँ अघिको गर्जन छ । त्यो स्वाभिमानको छाप प्रस्तुत ग्रन्थमा पनि टड्कारो छ । मैले साबितीको दोस्रो पल्ट अध्ययन गर्दा नेपाली साहित्यमा दादावादी चिन्तनको प्रभाव परेको यो प्रथम कृति हो भन्ने ठहर गरेको छु । दादावादको उग्रता, अस्वीकृति, द्रोह, घृणा र अराजकताको आँधी सबैले देखेको छन् । त्यो झोकको केही अवशेष झिल्काको रूपमा प्रस्तुत लेखनमा पनि छ ।

त्यसैले होला अत्यन्तै प्रखर चिन्तन र तर्कशक्तिले उनको लेखनमा बेलाबेला विचित्रताको स्वतःस्फूर्तता (स्पोन्टानिटी) आउँछ । पूर्वीय र पाश्चात्य अनेक काव्य र शास्त्रहरूको गम्भीर अध्ययन र स्मरण गरेको रहेछ भन्ने प्रमाण बेलाबेलामा आइरहन्छ । जस्तो कि यहाँ दस्तोव्स्की, सेक्सपियर, टल्सटाय, हेनरी डेभिड थोरो, सुकरात, रवीन्द्र नाथ ठाकुर, कन्फ्युसियस, रबर्ट फ्रस्ट, एन्टन चेखब, अरस्तु, फ्रान्ज काफ्का, महात्मा गान्धी, अनातोले फ्रान्स, गालिब, नित्से, भर्तृहरि, भिक्टर ह्युगो, अमिर खुसरो, विल्हण, रहिमन, सन्त कवीरजस्ता व्यक्ति उद्धृत छन् । पूर्वीय काव्यशास्त्रहरू र आफ्नै देशका महाकवि देवकोटा र विशेष गरी कवि शिरोमणि लेखनाथ उद्धृत छन् । लेखनाथ पञ्चतन्त्रका अनुवादक, नीतिश्लोकका निर्माता एक सर्वज्ञ ऋषिभैmँ बारम्बार आउँछन् । उनको आध्यात्मिक उज्यालाले लेखकलाई बारम्बार आलोकित गर्दछन्, पाठकलाई उनी अन्तिम सत्यतिर डो¥याउँछन् । उनले अध्ययन गरेका अनेक कृति र कृतिकार आउँछन् ।

लेखक स्वयं अत्यन्तै संवेदनशील कविप्रतिभा भएको कुरा उनले यहाँ प्रस्तुत गरेका दुईवटा कविताले पुष्टि गर्दछ । उनले धेरै वर्षसम्म लेखेका स्तम्भहरूले उत्पन्न गर्ने गरेको विचार र लेखनबाट जगत् परिचितै छ ।

अन्तर्मनको यात्रामा प्रतिबिम्बित लेखन­दर्शन

उनको लेखनमा दृढता छ, विश्वास छ, अलि व्यङग्य छ, खरोपन छ, प्रहार छ, बेलाबेला अलि कठोर पनि लाग्दछन्, तर जुन उत्साहले स्फूर्तिले भरिएको एउटा सदैव आशावादी व्यक्तिको चित्र छ, त्यो चित्र राष्ट्रिय उचाइको छ र अन्तर्राष्ट्रिय उचाइ स्पर्श गरेको छ — केवल आफ्नै कर्मले, साधनाले, त्यागले, निरन्तर सङ्घर्ष र एकचित्तले निर्मित ।

खण्ड ११ देखि १६ सम्मका रचना एउटै मनोयोगका छन् । अन्तर्राष्ट्रिय स्तरको एउटा ठुलो पुरस्कार थाप्न घिमिरे दम्पति नै अमेरिका पुगेका थिए । त्यहाँ आनन्द र हर्षको सगरमाथा चढेको बेला अचानक उनलाई मृत्युको छायाले छोपिसकेको थाहा हुन्छ । त्यसपछिका रचना उपचारव्रmम, अनेक चिन्तन, अनेक पीडा, ऐकान्तिकता र भयले भरिएका छन् । लेखक एक गम्भीर दार्शनिक तहमा ओर्लिन्छन् । जगती चालभन्दा फरक, आफ्ना पारिवारिक र प्रेमीजनबाट प्रेमपूर्ण बोली र दृष्टिको आशामा अल्झेका, असहाय हुँदै गएका, डिस्टर्बड् मुड लिएर हतप्रभ स्थितिमा जगत्को अन्तिम रहस्यको चिन्तनमा डुबेका । एउटा भयङ्कर त्रासद यथार्थ अघिल्तिर झुन्ड्याएर ढुकढुक गर्दै उभिएका ।

यहाँ देशप्रेम छ, समाजप्रेम, परिवारप्रेम, पूर्वीयताप्रेम । उपचारका व्रmममा अनेक अन्धविश्वास र अविश्वासका पछि पनि लाग्दछन् । अब असहायजस्तो, निरूपायजस्तो उनी भन्छन् ः

मलाई कसैले पनि अछेता मन्त्रेर हिर्काएको थिएन । तापनि ती उपचारका व्रmममा म दन्तेकथाको त्यो राजकुमारजस्तो भएको थिएँ, जसलाई टुनामुना गरेर मन्त्रेको अछेताले हिर्काएर भेडो बनाइएको थियो । अनि त्यो राजकुमार एकोहोरिएर टुना गर्नेको पछिलागेर हिँडेको थियो रे ।

त्यसैले मैले भनेको हुँ — यो कृति पढ्नु नपरेको भए हुन्थ्यो ।

तर मेरा दुई भेटमा जगदीश दाइलाई त्यस्तो देखिनँ । शरीर राम्रै थियो, बिरामीजस्तो लागेन । बोली दृढ र मनोबलयुक्त थियो । जब यो कृति पढेँ, उनको अन्तरात्माको कम्पित आवाज सुनेँ, यी खण्डहरू मृत्युचिन्तनले भरिएका पाएँ । स्वास्थ्य शीर्षकमा पुग्दा मलाई एकपल्ट भयङ्कर दुःख लाग्यो जब उनी बोले ः

मेरो जे थियो स्वास्थ्य थियो । स्वास्थ्य नै मेरो सम्पूर्ण सुख, सम्पूर्ण अस्तित्व, समग्र व्यक्तित्व, कृतित्व, प्रतिभा, काम, जीविका, कमाइ, चिन्तन, भ्रमण, मैत्री, लेखन, सोख र व्यवस्थापन कौशलको आधार थियो । त्यो एकाएक सयबाट शून्यमा झरेको छ । अब मसँग केही पनि छैन ।

धर्म, अर्थ, काम, मोक्षमा उनी पूर्वीय चिन्तनको, जीवन सम्बन्धी दर्शनको सार प्रस्तुत गर्दछन् । प्रत्येक मानिसमा जगत्प्रतिको लिप्सा र मोह छ; यताउता कालले फुकिरहेको स्थिति कालको पाश्र्वछायामा अडेसिएको विवश आत्मा । कर्तव्यपथ च्युत छ मान्छे, तर यथार्थ अर्को छ, ऊ अन्धकारमा छ । उनले यो अनुभव बताएका छन् ।

कृष्णविवरको अघिल्तिर उभिएर

ब्याङ्ककमा स्टेम सेल ट्रान्स्प्लान्ट गरेपछि उनी पुनर्जीवित भए, यस स्थितिलाई उनले ‘कायाकल्प’ भनेका छन् । तर यो कृत्रिम थियो, ईश्वरले वर्जना गरेको रहस्यको बिर्को औषधिविज्ञानले खोलिदिएको कुरा । त्यसभित्र हेर्दा देखिने एक कृष्णविवर साँच्चै हो, यो कायाकल्पको झ्यालबाट हेर्दा उनी अर्कै संसार देखिरहेका छन् ।

सारा इच्छा, आकाङ्क्षा गलेका, तृष्णाहरू ओइलिएका । मृत्युको घडी पर्खेर झ्यालखानामा बसिरहेको सद्दाम हुसेनलाई सम्झेर मैले एक निबन्ध लेखेको थिएँ कालपुरुष सद्दामप्रति । विश्वविद्यालयमा अग्निपूजा (२०६१) मा सङ्कलित सो निबन्धको पछि नाटकीकरण भएथ्यो, यलमाया केन्द्रमा मञ्चन पनि भएथ्यो । त्यो लेख्ता मैले गरेका कल्पनाहरू आज जगदीश दाइको यो कृतिमा पढ्दैछु, त्यो मेरो कल्पना थियो, यो यथार्थ छ त्यसैले मलाई लाग्छ — यो कृति नपढेको भए म यति उद्वेलित, चिन्तित र प्रभावित हुने थिइनँ होला ।

विशिष्ट एकान्तवास खण्डमा फेरि यो मन एकपल्ट भत्किन्छ ।

त्यसैबेला अनन्त एकाकीपनको अन्धकारमा डुबेर मैले जीवनका उज्याला, रमाइला र उत्साहले भरिपूर्ण लामालामा पहाडी यात्राहरू सम्झेँ र उत्तर रामचरित्रमा भवभूतिका रामचन्द्रले जस्तै विगत सम्झेर कल्पेँ — बेला नै नभैकन मेरा — ‘कठै ती दिन गैगए !’

अन्त्यको समय (खण्ड १८) एउटा मास्टरपिस हो । यहाँ मार्लोको फाउस्ट उभिएर मृत्युको सामुन्ने बोलिरहेको देखेँ । यो उत्कृष्ट दार्शनिक निबन्ध हो । यो अनुभूतिको अन्तर्तहबाट पलाएर उत्कृष्ट भाषाशैली र विचारले बाँधिएको छ । यहाँ एउटा रियलाइजेसन छ । अनि छ मृत्युको अवश्यम्भाविता र त्यसका सामु एक निरीह मानवको समर्पण । बिस्तारै शास्त्रहरू उद्धृत गर्दै हेर्दा जगत्मा निस्सारता मात्र देखिन्छ ।

सेक्सपियरको अन्तिम नाटक टेम्पेस्टमा जस्तै त्याग र समर्पण भाव छ त्यसैप्रति, त्यो अनिवार्य नियतिप्रति । यो अर्कै जगदीशको वाणी हो, जसले डाँडापारिको यात्रा देखिसके । पढ्दा मन चिसो भएर आउँछ, आँखा टिलपिलाउँछन् । म अन्त्यका यी दर्शन, चिन्तन, आत्मज्ञान र वैराग्यका झिल्का उनिएका केही अंश उद्धृत गर्दछु, किनभने मैले बोल्ने कुरा यत्तिमै टुङ्गिएको छ ः

यस जुनीमा ती सबै कुरा जुन मैले यसो गरेँ, उसो गरेँ, म यस्तो, म उस्तो, म यति जान्ने उति जान्ने भन्थेँ — त्यो सब मूर्खता रहेछ । हाड नमक्कियुन्जेल, ढाड नभाचिउन्जेल, माइलोमाले थला नपारुन्जेल सबैथोक मै हुँ, मैले नै सबैथोक गरेको हुँ भनिठान्थेँ । अब त्यो भ्रमबाट मुक्त छु । यस्तो रोग नलागीकन त्यो विवेक पलाउने मान्छे अति थोरै हुन्छन् । ती धेरै सौभाग्यशाली हुन्छन् । ती भन्दा पनि सौभाग्यशाली हुन्छन् तिनका वरिपरिका — परिवार, स्वजन र निकटस्थहरू ।

जीवन र जगत्लाई कसैले दैवको लीला भन्छन्, कसैले प्रकृतिको खेला । जसले जे माने पनि कुरा उही हो । अर्थात् त्यो कुनै अर्कै शक्तिको खेल हो । जब मान्छे अर्कै शक्तिको अधीनमा छ भने जो र जे भए पनि — लीला भए पनि, खेला भए पनि तात्विक फरक केही छैन । मेरो दैव भने पनि, प्रकृति भने पनि, लीला भने पनि, खेला भने पनि समय नै हो, अरू केही होइन ।

कसैले दैव छ भन्छन् । कसैले छैन भन्छन् । भुसुनाले भगवान् छ भनेर हुने र छैन भनेर नहुने होइन । सत्य हुन्छ, असत्य हुँदैन । दैव छ भने सत्य हो । सत्य समाधान हुन्छ, समस्या होइन । छैन भने समस्या नै भएन ।

मेरो लागि समय नै सर्वेसर्वा सत्य हो, स्वयंसिद्ध सत्य हो । सत्यलाई कुनै ग्रन्थ, कुनै गुरुले वा कसैले पनि सिद्ध गर्नु पर्दैन । असत्यलाई सिद्ध गर्ने कोसिस गर्नुपर्छ, सत्यलाई होइन । असत्यले सत्यको भान पार्नु पर्छ, सत्यले होइन । सत्य स्थायी र शाश्वत हुन्छ, सोच परिवर्तनशील र सामयिक ।

यहाँ मृत्युगीतको रन्को टाढाटाढासम्म सुनिन्छ । सुकरातका पाइलाका अन्तिम खण्ड तयार गर्ने व्रmममा अस्तित्वचिन्तनमा म पनि धेरै दिन घोत्लिएको थिएँ, तर त्यो ऐच्छिक थियो, मेरा पात्रका लागि थियो । तर पनि केही अवधारणा सबैका लागि मननीय रहेका छन् । धेरै जसो चिन्तक­ लेखकले मृत्युको उस्तै स्वरूप वा प्रकृतिको आराधना गरेका छन् । हिन्दू होस् वा व्रिmस्चियन ।

सेक्सपियरले किङ्ग लियरमा भनेका छन् —

Man must endure

Their going hence even as their coming hither

मानिसले जगत्बाट बहिर्गमनलाई त्यसैगरी सहनु पर्दछ जसरी आगमनलाई ।

सिल्भिया प्ल्याथले भनेकी छिन् ः

Dying is an art like everything

मृत्यु अरूथोक जस्तै एउटा कला हो ।

अझ जोजेफ ब्राउनको उक्तिले हाम्रै सम वा कविशिरोमणिलाई सम्झाउँछन् ः

There is no death. Only a change of worlds.

मृत्यु छैन, जगत्हरूको परिवर्तन मात्रै (छ) ।

एमिली डिकिन्सनका ता प्रायः सबै कविता वियोगका र मृत्युचिन्तनका मात्र छन् । त्यसैगरी व्रिmस्चिना रोजेटीले लेखेकी छन् ः

When I am dead, my dearest

Sing no sad songs for me.

मेरो अवसानपछि, हे प्रियतम

मेरो सम्झनामा कुनै उदासी गीत नगाउँनू

विश्वका सबैजसो कवि लेखकले मृत्युगीत गाएकै छन् । यही उनै महाकविमा प्रतिध्वनित हुन्छ ः आखिर श्रीकृष्ण रहेछ एक ।

अन्त्यमा — अस्तित्वचिन्तनमा डुबेको घरी

अन्तर्मनको यात्रा लेखकको विशेष मनोदशाले उत्पन्न भएको कृति हो । मृत्युको पाश्र्वछायासँग जम्काभेट नभएको भए यो लेखिने थिएन । यसभित्र अनेक विषय, तत्व, घटना, परिस्थिति छन्, तर ती लेखकसित सम्बद्ध छन् । त्यसका अतिरिक्त एउटा गम्भीर सत्य पनि यसबाट उद्घाटित हुन्छ । मानिसले जीवनको अस्तित्वमाथि कति बेला र कसरी गम्भीर चिन्तन गर्दछ त्यो यहाँ देखिन्छ । यो एक अस्तित्वचिन्तन हो ।

जे जसो गरे पनि, जे लेखे पनि यो एक साहित्यिक सिर्जना हो, एक असल सिर्जना । लेखकका मनमा सधैँभरि साहित्यमै जीवन अर्पित गर्ने धोको थियो । बिचका सङ्घर्षकालभरि साहित्य ओझेलमा थियो । आज अचानक त्यो आदिम इच्छा पुनर्जीवित हुँदा, अकल्पनीय ऊर्जा र शक्तिले हृदयलाई छोप्ता उनले यो लेखे । यसको पहिलो र अन्तिम मूल्य ता साहित्यिक नै हो । यो कुरा उनैले स्वीकार गरेका छन् ः

सबभन्दा महत्वपूर्ण कुरा अन्तर्मनको यस बासमा घुमिफिरी त्यहीँ आइपुगेको छु जहाँबाट मैले जीवनको यात्रा थालेको थिएँ । त्यो हो साहित्य सिर्जना । यो नयाँ पुस्तकको सिर्जना गरेको छु । साहित्य सिर्जनाका बासहरू मात्र मेरो यस यात्राका आनन्ददायी क्षण हुन् ।

लेखकको मन अभैmँ सुसङ्गतिपूर्ण, लामो र अनेक अनुभवको शृङ्खला लेख्ने मन थियो होला । महान् अमेरीकी उपन्यासकार हर्मन मेल्भिलले लेखेको अमर महागाथा मबी डिकमा पनि कतिले अपूर्णता देखे र त्यसको अपूर्णतामा खोट लगाए । पहिलो परिच्छेद मात्र विस्तारमा र अरू लेख्ता हतारिएको आरोप लागेपछि मेल्भिल बोल — न्यम पभभउ mभ ाचयm भखभच अयmउभितष्लन बलथतजष्लन। त्जष्क धजयभि दययप ष्क ब मचबात–लबथ, दगत तजभ मचबात या ब मचबात। इ त्ष्mभ, क्तचभलनतज, ऋबकज बलम एबतष्भलअभ।

हे काल, शक्ति, सम्पत्ति र धैर्य, म अरू गर्न सक्तिनँ, ईश्वरले मलाई ठुलाठुला कार्य पूर्ण गर्न नदिऊन्, रोकून् ।

सबैलाई उनले रोकेकै छन् । मेल्भिलको के कुरा, जगदीशको के कुरा । तर जे जति छ, यो पूर्ण छ ।

एउटा सुन्दर कृति सिर्जना गरेको आनन्दले लेखकको मनोबल बढोस्, अरू कृति आऊन् । एउटा सुन्दर सिर्जनामाथि यति चिन्तन गर्न पाएर म आफूलाई भाग्यमानी ठान्दछु ।

सम्पूर्ण पाठकमा मेरो अनुरोध छ, जीवनको अगम्य रहस्य बोकेर हिँड्ने प्रत्येकले यो कृति एकपल्ट पढ्नै पर्छ ।

ट्याङ्लाफाँट, कीर्तिपुर,त्रिभुवन विश्वविद्यालय

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।