14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

कालीघाटका कङ्गाल

नियात्रा डा. खगेन शर्मा October 2, 2010, 9:23 am

भनिन्छ भ्रमण गर्दा ज्ञान बढ्छ। तर ज्ञानचाहिं परिपरिका भएकाले कुन खाले ज्ञान बढ्छ भन्न गारो । यस्तै एउटा भ्रमणको चाँजो मिलेकाले हामी सपरिवार नै कलकता गएका थियौं। गुवाहाटीबाट सराइघाट एक्सप्रेसमा २६ अगस्त २०१० का दिन दिउँसो १२-४५ बजे गुवाहाटीबाट यात्रा सुरु गरियो। यो रेलगाडीचाहिं गुवाहाटीबाट गोवालपारा भएर हिँडेको एकैचोटी बङ्गाइगाउँमा पो थामिँदो रहेछ। चुँडिउलाझैं गरेर कुद्दो रहेछ। रेलमा सधैं खुजुरा पैसा बोक्नैपर्छ नत्र केही चिज किनेर खान गारो पर्छ उता हिजडाले धुरुक्क रुवाउँछन्। नभन्दै बङ्गाइगाउँबाट चढेका दुई पार्टी हिजडाले दस दस रुपियाँ गरी दुईपल्ट लगिहाले। नतिर्दा बेइज्जति नै गरौंलाझैं गर्छन्, बरू दस रुपिया तिरो ढुक्क। राति भात खाइएन । रेलकै पेन्ट्री कार (भान्साघर) बाट प्रस्तुत खानेकुरा खाएर रात पार गरियो।

भोलिपल्ट बिहान छ बजे कलकताको हाउडा जङ्सन रेल स्टेसनमा पुगियो। त्यहाँ रेलबाट झरेर इन्जिनतिरै जाँदा प्रस्थान द्वार भेटिन्छ। बाहिर निस्कँदा कमिलासरि ड्राइभारहरू आफन्त भएर घेरे। कसको कुरा सुन्नु कसको नसुन्नु ! फसाद ! आफूले जानेको होटलमा कोठा रहेनछ। उता सियालदाह हाउडाबाट टाढा हुनेहुँदा त्यता जान मन गरिएन तर त्यताँचाहिँ केही सस्ता होटल छन् अरे। कलकतामा ठाउँको नाम ‘रोड’ नभनेर ‘स्ट्रिट’ भन्ने चलन छ। जतात्यतै स्ट्रिटै-स्ट्रिट। त्यतिकैमा एउटा टेक्सीवालासित जानै पर्‍यो,भनियो नजिकैको होटलमा जाने। हुनत पचास रूपियाँको बाटो होला उसले एक सय बीस माग्यो, हिँड भनियो, हाउडाको ब्रिज पार गरेर लग्यो। यस्तो होटलमा पुर्‍यायो, त्यो त कसैको भाडाघर जस्तो देखिन्थ्यो। त्यहाँ नबस्ने हुँदा ड्राइभारले दुई तीनवटा ठाउँको नाम भन्यो, आफूलाई थाहा नभएकाले पार्क स्ट्रिटतिर जाने भनियो, उसले अरू सत्तरी रुपियाँ थपिदिनू भन्यो। हुन्छ भनिदिँदा उसले पार्कस्ट्रिटको छेउमा लगेर एउटा होटलमा पुर्‍यायो, नाम रहेछ इन्टारनेस्नेल । त्यहाँ बुझ्दा नन एसी रुम हेर्नै नहुने रहेछ । भन्न लागे - एसी रुमलाई नै ‘नन एसी’-का रूमका रूपमा दिने अरे। त्यस्तामा बस्ने भुल जीवनमा अगाडि नै एकपल्ट गरिसकिएको छ। झ्याल नहुने कोठामा गर्मीका याममा बस्दा राति आफू त पूरै पाकिन्छ। केटाकेटी-परिवारलाई लिएर कहाँ कति हिँडिरहनु भन्दै एकदिनको रु- १२ सय तिरेर तीन बेडको एसी रुममा बस्ने भइयो। तर खाने व्यवस्था भने छैन। बाहिरबाट ल्याइदिन्छन्, तर एक त स्वाद हराएको हुन्छ अर्कातिर पैसा पनि बढी लिन्छन्। जे होस् थान्को लागियो। आफ्ना झोलासोला राखेर नुहाइधुवाइ सकेर हामी पाँच जना नै एकैघन्टामा कोठाबाट निस्कियौं। डुल्न जाने मान्छे जतिसक्दो होटलको कोठामा कम्ती बसी बाहिर बढी डुल्न जानु उत्तम मानिन्छ। खानका लागि पनि समय थोरै खर्च गर्नु जायज हुन्छ। बाटामा जे भेटिन्छ हल्काफुल्का खाँदै हिँडदा राम्रो, त्यसो गर्दा खर्च त बढी हुन्छ तर समय बचेर रमाइलो पनि हुन्छ।

त्यसदिन जानु थियो कालीघाट भन्ने ठाउँको अन्नमलाई युनिभर्सिटीको स्टडी सेन्टरमा। कलकताका पहेँला ट्याक्सीमा डुल्नु गुवाहाटीको अटोभन्दा सस्तो लाग्यो किनकि ती ट्याक्सी डिजेलमा चल्ने बनाएका रहेछन्। मिटर भए पनि बाहिरकाले मिटरमा ट्याक्सी कुदाउनु सजिलो हुँदैन। असी रुपियामा बन्दवस्त गरी पार्कस्ट्रिटबाट कालीघाट पुगियो। आफ्नो काम पनि निप्ट्याइयो। अब भने पूरै टुरिस्ट भइयो। छेउमै कालीघाट रहेकाले ‘मा काली’को दर्शन गर्ने रह‍र गरी मन्दिर भएतिर फराकिलो बाटो पार हुँदै गइयो। बाटामा एउटा हिन्दीभाषी (बिहारी)ले “मा कालीका दर्शन करना है?” भन्दै सोध्यो र ऊ अघिअघि लाग्यो। चोरबाटो घुमाउँदै ऊ अघिअघि हामी पछिपछि जाँदै गर्दा मैलो धोती र कमेज लगाएको एउटा तीस-पैतीस बर्से बङ्गाली केटो आएर त्यो बिहारलाई ‘हम लेगा’ भनेर त्यो बङ्गाली अघि हामी पछि भयौं। मलाई ‘दालमा कालो’ छ भन्ने लाग्दालाग्दै मन्दिरको मुख्यद्वारको छेउमा एउटा फुल-माला-प्रसादको पसलमा हामीलाई लगियो। बाहिरकाले एक्लै अर्थात् कुनै दलालबाट बँचेर त्यहाँ सजिलै पुग्छन्-जस्तो लागेन। त्यहाँ प्रसादका रूपमा पेडा, नरिवल, माला, फूल, सिन्दुर आदि दिँदै हामीलाई त्यहीं जुत्ता राख्‍न लगाए अनि प्रसादको मोल पाँच सय पो भन्यो। अहँ यत्रो नलाने चाहिँदैन भन्दा गनगन गरेर सामान घटाउँदा एक सय बीस भन्यो। म मन्दिरभित्र जान्न भन्दा श्रीमती र छोरीहरूले मानेनन्, मलाई त १४ किमि उकालो हिँडेर माता वैष्णुदेवी (जम्मु) को दर्शन गरेपछि अरू मन्दिर गइरहनुपर्छजस्तो लाग्दैन। वास्तवमा स्वच्छ मनल कष्ट गरेर एकपल्ट दर्शन गरेपछि फेरिफेरि गरिरहनुपर्छ र- यस्ता प्रश्न खेल्छन् मष्तिष्कमा। उता केही ठुल्ठुला मन्दिरमा रात्रिको दृश्य देख्दा मनमा पुञ्जित आस्थामा चोट लागेको छ। तरपनि उनीहरू हिरिक्याइँलाई सम्मान गर्दै भित्र पसियो। केही लाम रहेछ तर कामाख्याको जस्तो त थिएन, तरपनि हामीलाई हतार छँदै थियो। त्यो एजेन्ट भनाउँदाले बीसबीस रूपियाँ दिनु म पछिल्लो द्वारबाट लान्छु भन्न लाग्यो, मरोस् त भनेर त्यसै गरियो। भित्र दर्शन गर्ने विधि व्यवस्थित लागेन। ढोगढाग गरी सक्दा छेउमा रहेको हलमा लग्यो। त्यहाँ एक ठाउँमा बसाएर सङ्कल्प गर्न भनी बोलाएर लगे। त्यहाँ अर्को पण्डित भनाउँदो उभिएरै नाम-गोत्र सोधी नानान मन्त्र भट्ट्याएर दान होइन सङ्कल्प राशि भनी हजार रूपिया पो माग्न लाग्यो। जबरजस्ती गर्दा रहेछन्। हल्का खाल्को झोंकाझोक भयो। तर साथमा श्रीमती भएकाले उनीहरूको धार्मिक दुर्बलता बढी हुनेहुनाले अढाइ सय तिरी उम्किएर आइयो। त्यसपछि पनि अरू माला डोरा बोकी माग्ने छँदै थिए। त्यसपछि हाम्रै दलबाट मातालाई बोलाएर फेरि धुत्न लाग्दा म गएर रुपिया नतिर्‍याई उकासी ल्याएँ अनि त्यहाँबाट अघिको प्रसादको पसलमा आउँदा त्यो एजेन्टको हिसाब गल्ती भएको थियो अरे अनि अघिको एक सय बीस रुपियाँ त एक सय अस्सी पो भएछ अनि उसले हामीलाई गरेको सेवाको बापत पाँच सय पो माग्न लाग्यो । हाम्रो त नोकरी छैन, नत्र हामी कसरी जिउनु आदि नानान कटु वाक्य! त्यहाँ पनि झगडा नै गरी एजेन्टका लागि र प्रसादको भनी साढे तीन सय तिरी बल्लबल्ल त्यहाबाट हिडिँयो र ठुलो सास फेरियो! मनमा लाग्यो किन पो आइएछ! जम्माजम्मी बाहिर केकेजाति किन्दा हजार रुपियाँको चुना लाग्यो। त्यहाँ कालीको घाट थियो अरे त्यो त देख्‍नै पाइएन। धेरै जनाबाट कालीघाट मन्दिरको कुरा सुनेको थियो तर त्यहाँका कङ्गालका बारेमा जानकारी थिएन। निस्कँदाचाहिं मुल गेटबाट बाहिर आइयो, त्यहाँ त कमिज र धोती लगाएका कङ्गाल रूपी आफन्त उभिरहँदा रहेछन् र कोही नौलो दर्शानार्थी आए भने अरिङ्गलको आहार सम्झिँदा रहेछन्। त्यहाँनेर राम्रो लागेको कुराचाहिं के थियो भने मुल गेटमा प्रहरी चौकी अघि निरामिष खाना खाने होटेल रहेछन् अनि केराको पातमा भात खान पाइने अनि मोल पनि सामान्य रहेछ। मनमा लाग्यो यसबारे एउटा लेख लेख्‍नै पर्‍यो अनि जो कलकताको कालीघाट जान्छन् उनीहरू यसरी नलुटिऊन्। हिम्मत गरी मुल गेटबाट जाँदा जुत्ताचप्पल राखेको पचास रुपियाँ लिन्छन् अरे, अनि आफ्नो इच्छाले प्रसाद किनी एजेन्ट वा दलाललाई पन्छाई जाने पनि धेरै हुँदा रहेछन्। भित्रको लाम पनि खासै लामो हुँदो रहेनछ। अनि भित्र ‘मा काली’को दर्शन गरेपछि सङ्कल्प गृहतिर नगए पनि हुँदो रहेछ। कालिघाट काण्ड सकिएपछि कालीघाट मेट्रो रेल स्टेसन भित्र पछि टिकट काटी निउ मार्केटतिर बजार डुल्न लागियो। यसरी कालीघाटका कङ्गालद्वार धुतिनु पर्‍यो। मनमनै सोचियो अब उसोचाहिं कुनै पनि नजानेको मन्दिर जानुभन्दा पहिला त्यहाँको सु तथा कुव्यवस्थाबारे जानकारी लिएर मात्रै जाने।

गुहाटी, असम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।