19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

पात्र–कुपात्र

कविता दिव्य गिरी October 3, 2010, 1:09 pm
दिव्य गिरी
दिव्य गिरी

मञ्चमा चहल–पहल

कतै अँध्यारो अँध्यारो

कतै उज्यालो उज्यालो

अर्थात मधुरो प्रकाशको छायाभित्र

सलबलाईरहेका मानिसहरूको आकृति

नेपथ्यमा मानिसहरू चिच्च्याइरहेको मसिनो ध्वनि

पूरै अन्धकार ओढेर

मञ्चतिर ध्यानपूर्वक हेरिरहेका दर्शक

केही शसङ्कीत

तर धेरै आतङ्कीत ।

मञ्चमा निमेषभर प्रकाश फैलिँदा

पात्रहरूको हात–हातमा

बम, बन्दुक, तरवार, र लाठी देखेपछि

दर्शकहरू भित्रभित्र डराउँदै

एक–आपसमा कानेखुसी गर्छन्–

यहाँ युद्ध हुँदैछ हो !?

यहाँ लडाईं हुँदैछ हो !!??

यहाँ नाटक देखाउने कि काटमार !!!???

प्रश्नको जवाफ कस्ले दिने ?

सबै अनभिज्ञ दर्शकहरू

मञ्चको एकछेउदेखि अर्को छेउसम्म

पात्रहरू दौडन्छन्, उफ्रन्छन्, कराउँछन््

अनि शुरु हुन्छ हल्लैहल्ला र खल्बली

न कसैले बुझेको हुन्छ तिनीहरूको क्रियाकलाप

न कसैले सुनेको हुन्छ तिनीहरूको वार्तालाप

न कसैले चिनेको हुन्छ मुखुण्डोभित्रको अनुहार

यौटा पात्र हातमा

देशको झण्डा फर्फराउँदै आउँछ

अर्को पात्र

त्यो झण्डामा आगो लगाउन दौडन्छ

यौटा पात्र दुबै हातले

देशको नक्सा फैलाउँदै आउँछ

अर्को पात्र

त्यो नक्शा टुक्राटुक्रा पार्न झम्टिन्छ

कोही देशको झण्डा जलाउन उद्यत

कोही देशकै नक्शा च्यात्न तल्लिन

यो कस्तो नाटक ?

यो कस्तो खेल ?

दर्शक दीर्घाबाट यौटा आवाज आउँछ

पूरै नाटकघर थर्किने आवाज

बन्द गर यो नाटक !

बन्द गर यो नौटङ्की !!

तिमीहरू यो नाटकको पात्र होइन

तिमीहरु सबै कुपात्र हौ !

यो देशको

यो मातृभूमिको ।

टीकाथली–५, ललितपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।