19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल दिव्य गिरी October 4, 2010, 12:36 pm
दिव्य गिरी
दिव्य गिरी

तुवाँलोले ढाकेको आकाश देखें

दिनभर तिमीलाई उदास देखें ।

यौटैसँगको माया अमर हुन्छ

तिमीसँग कैले पुष्कर, कैले प्रकाश देखें ।

धर्म, संस्कृति र परम्परा कता गयो ?

हिजो आज विकृतिको विकास देखें ।

सूर्य उदाएकै हो हाम्रो छानामाथि

घरभित्र सधैं अँध्यारोको वास देखें ।

नेताको पछिपछि लागेका छौ मित्र

कविभन्दा राजनीतिको दास देखें ।

कस्को स्वार्थमा बन्दुक बोकेर हिँड््यौ

घरघरमा ढलेको आफन्तकै लास देखें ।

ऊ अझै अस्मिता लुट्न खोज्दै छ

बलात्कारीलाई तिम्रै आसपास देखें ।

चुनेर पठाएका थियौ जसलाई

उसैले उठाएको तिम्रो वास देखें ।

भैगो छोड, हावाको चित्र बनाउन

‘दिव्य’ खै, कस्ले भन्यो बतास देखें ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।