19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तेञ्जिङ-अतेञ्जिङ

कविता राजा पुनियानी October 6, 2010, 12:39 pm

ओ तेञ्जिङ, हाम्रा मनका कुण्ठित चुचुराहरूमा

तिम्रो मुस्कान तेञ्जिङ भएर चढोस्।

तिम्रो अग्ले मुस्कानछेऊ

कति पुड्को हाम्रा फुचुङ्ग्रे अभिमानहरू।

ड्रग एडिक्ट वर्तमान श्मशानतिर डुल्दै गर्दा

तिम्रो मुस्कान चाहिँ मोटिभेट गर्न थाक्दैन।

कठिनाइलाई आरोही मुस्कानको चुनौति छ

तिम्रो मुस्कान स्वयं तेञ्जिङ

मुस्कान हराएका प्रदेशहरूका लागि।

हजारौं अवरोहणहरू जब

तिम्रो आरोहणको पदचिह्न पछ्याउँदै हिँडेका छन्

ढुङ्गाहरू पनि नारा लगाउने भए।

यो अतेञ्जिङ समय

इतिहासको अवरोहण छ-

एउटा तेञ्जिङ मुस्कान चाहिन्छ

कोही पनि नचढेको यो सगरमाथा बेलालाई।

डोरी समात्ने कला, काँटा गाड्ने इलिम

कठोर चट्टानहरूमा पाइताला राख्ने सीप

सिक्दै छन् नानीहरू।

सम्पूर्ण मुक्तिको सगरमाथा उक्लिने

उनीहरूको सपना छ-

फूलभन्दा कमुलो मुटुमा राखेका छन्

चट्टानभन्दा गह्रौं आँट।

केवल अघि हुनुको यान्त्रिक लडाइँमा उनीहरूलाई

पछि हिँड्नुको लाइफ-टाइम स्वाद चाख्नु छ।

शोषणको साम्राज्य ढल्दैन भन्ने

विशाल असम्भवको स्तूपअघि उभिएर

अतेञ्जिङ बेला

आत्महत्याबारे सोच्दै होला

र भन्दै होला-

साह्रो छ, मान्छेमै मान्छे पाउनु पनि साह्रो छ।

तर थोरै हावामा श्वास फेर्दै

मनग्गे हावाको लागि लडिरहेका उनीहरूलाई

बाँच्नुको नयाँ उचाइ भइदिइरहेको हुन्छ

त्यो तेञ्जिङ मुस्कान।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।