यसपाली पनि फर्केन लाहुरे छानो रोइरह्यो,
च्यातिएको राडी कम्बल न्यानो रोइरह्यो ।
हातमुखको संघर्षमा कुर्दाकुर्दै बर्षौ बिते,
साँझ बिहान छाक टार्दा मानो रोइरह्यो ।
कालो भविष्य सम्झेर या भोको पेटको वेदनाले
आँगनीको धुलोमा हरदिन सानो रोइरह्यो ।
जिन्दगी यो भाग्यको बन्धक जे थियो साहुले लग्यो,
साहुको घरमा तमसुक त्यो पुरानो रोइरह्यो ।
अचानो नै भयो जीवन दुःखका चोट खप्दाखप्दै,
नियतीका प्रहार सम्झि अचानो रोइरह्यो ।
लहरेपौवा १,बेत्रावती, रशुवा; हाल: गोङबु, काठमाडौं