परिवेश दोश्रो विश्वयुद्ध पूर्व नाजी शासनकालको।
“वेलकम कोन्ति र सिलिङ् महोदय!” हार्दिकताका साथ दुबै हात फैलाई इटलीका निम्ति रोमस्थित जर्मन आवासीय राजदूत आफ्ना अतिथिहरुको स्वागतमा तल्लीन भयो। त्यो विशेष कफी पार्टी तात्कालीन इटलीका स्वास्थ्यमन्त्री 'काउन्ट लियोनार्द कोन्ति' र प्रसिद्ध जर्मन प्रोफेसर तथा बैज्ञानिक 'डा. क्लाउस सिलिङ्'को सम्मानमा राजदूतद्वारा आयोजित थियो। त्यहाँ श्रृङ्गारित हल अनि वाहिरको प्रचन्ड धुप विर्साउने वातानुकूलित व्यवस्था मात्रै होइन, कडा सुरक्षाको प्रवन्ध पनि गरिएको थियो।
“यहाँ आउने क्रममा कुनै समस्या त परेन?”–राजदूतले सोधे।
“अहो, त्यसको त कुनै ख्यालै भएन, हामी निकै सुबिधापूर्वक आइपुग्यौं। एस्कर्टिङ्गले राम्रोसंग साथ दियो।” रोम स्वास्थ्यमन्त्रीले भने “बरु यहाँले पो लम्बे प्रतीक्षा गर्नुपर्यो कि?”
“होइन, त्यस्तो केहि भएन” एकैछिन मौन रही राजदूत पुनः बोल्यो, “बरु बसेरै कुरा गरौंन।” उपस्थित तीनैजना सोफामा विराजमान भए।
“अँ त कोन्ति महोदय, म अहिले विगतको 'मलेरिया कमिसन'का दिनहरु याद गरिरहेको छु।” डा. सिलिङ्ले अतित कोट्याउने चेष्टा गरे।
“अँ हो त, हाम्रो तात्कालीन 'लीग अफ नेसन्स्'को पोलिट्ब्युरोद्वारा यहाँले मलेरिया विरुद्धको औषधि पत्ता लगाउनुभएकोले यहाँको उच्च मुल्याङ्कन गर्दै बोर्ड सदस्यमा नियुक्त गरेका थियौं। यहाँले त्यही कारण रकफेलर पुरस्कार पनि त पाउनु भएको थियो, होइन र?” सम्भवत कोन्तिको स्वभावनै थियो, एकैसाथ सवाल अनि जवाफ गर्नुपर्ने।
“हो त!” डा. सिलिङ्को स्वीकारोक्ति।
यस्तैमा एउटी सुन्दर युवती हातमा कफीको ट्रे सहित हलभित्र प्रविष्टि भई समुस्कान सबैलाई कफी ग्रहण गर्न आग्रह र वितरण गरीकन मुस्कुराउँदै बाहिरिइन। सायद हलभित्रको छलफल या कुराकानीमा बाधा बन्नु उनको चाह थिएन। सबै एकक्षण उनको सुन्दरताको प्रशंसामा भुले।
डा. सिलिङ्ले हठात् प्रश्न गरे, “ए साँच्ची, अफ्रीका हान्न गएका इटलीका वीर सेनाको नयाँ खबर के छ हँ?”
“युद्ध हाम्रो पक्षमा छैन। हाम्रा सेनाहरु पछी हट्न वाध्य हुन थालेका छन्।” स्वास्थ्यमन्त्री कोन्तिले विस्तारै भने।
“अहो! बडो दुःखको खबर। तर हात हतियार र युद्धकौशलले निपूर्ण हाम्रा वीर सेना ती निशस्त्रप्रायः अफ्रिकीसंग हार खानुको कारण चाँही के हुनसक्छ? कृपया, मैले बुज्न सकिनँ।” डा. सिलिङ्ले भने।
रोम स्वास्थ्यमन्त्री जवाफ फर्काउन इच्छुक नभएको देखि राजदूत बोल्यो, “अफ्रिका हान्न गएका सेनाहरु ज्वरोको महामारीले आक्रान्त छन, त्यसैले।”
विशेष चिन्तित हुँदै डा. सिलिङ्ले तत्कालै प्रतिक्रिया व्यक्त गरे, “त्यसो त हाम्रो जर्मनीमा पनि फ्युहरर अडोल्फ हिटलरको नाजी हाई कमान्डले पनि जनरल रोमेलको कमान्डमा त्यहाँ नै आक्रमण गर्ने योजना बनाउँदै छ। इट्लीको आक्रमणद्वारा प्रदत्त यस शिक्षा ग्रहण गर्नु हाम्रो लागि अत्यावश्यक छ।”
“निश्चय पनि।” राजदूतले सहमती पेश गरे।
काउन्ट कोन्तिले बिस्तारै गुनासो पोखे, “खैर, जीवनको तुलनामा विज्ञान निकै पछि पर्यो।। ज्वरोको महामारीका विरुद्ध भइरहेको सोध अनुसन्धानको रफ्तार काफी ढीला भयो।”
“खोज अनुसन्धानार्थ गिनीपिग, खरायो र मुसाहरुको निकै अभाव खड्किन थालेको छ।” डा. शिलिङ्ले समस्याको उठान गरे।
हल एकैछिन मौन रह्यो। मौनता भङ्ग गर्दै स्वास्थ्यमन्त्री काउन्ट कोन्तिले नवीनतम् सोच अगाडी सारे, “साँच्ची, यस कार्यका लागि मान्छेकै उपयोग किन नगर्ने? हाम्रा बन्दी शिविरहरुमा यस्ता सामाजिक गिनी पिग, खरायो र मुसाहरु प्रशस्त छन्।”
तुरुन्तै डा. क्लाउस सिलिङ् प्रशन्न मुद्रमा बोले, “वाह! वाह!, कमालको दिमाग छ यहाँको। मैले यस्तो विकल्प किन पहिल्याउन सकिनँ हँ? अत्यन्त उत्तम र सुन्दर विचार। आर्य सभ्यताको उच्चताप्रति असहमती जनाउनेहरुको राम्रो सदुपयोग। एउटै ढुङ्गाले दुइवटा चरा मारेजस्तै, बन्दी शिविरको खर्च पनि घट्ने अनि गिनिपिगहरु आयात गर्नु पनि नपर्ने। बेहद किफयती अनि प्रगतिशील विचार” अनि तीनैजना मज्जाले हाँसोमा रम्न पुगे।
“यहाँलाई थाहा छ डा. सिलिङ् महोदय, यहाँको नवीनतम् उपाय सुनेर बर्लिन हेड क्वार्टरमा विशेष छलफल भएको थियो।” स्ट्रोमट्रूपर्सको चिकित्सा विभाग प्रमुख डा. ग्रावित्जले रिपोर्टिङ्ग गरे।
“ए...” डा. सिलिङ्ले भने, “अनि के भयो त?”
“अँ, हाम्रा फ्युहरर अडोल्फ हिटलरलाई यो विचार खुब मन परेछ। उहाँले सहमती जनाइसक्नु भयो। सञ्चार मन्त्री गोयबल्स पनि सहमत नै हुनुहुन्छ। अनि नेताहरु गोरिङ्, मार्टिन बोर्मान, काइटेल फ्रिक र जोदल पनि...” डा. ग्रावित्जले बेलिविस्तार लगाए।
“अनि...” डा. सिलिङ् थप इच्छुक देखिए।
“हाम्रो नाजीदलको अत्यन्त बहुमतले प्रस्ताव पारित गर्यो । अँ, खुफिया गोस्टापो प्रमुख 'विल्हेम कनारिस' र नेता 'शाख्ट'ले भने हस्ताक्षर गर्न चाहेनन्।” डा. ग्राबित्ज झनै गहिराईमा पुगे।
“शाख्ट त कम्युनिष्ट, यहुदी र सोभियत रुसप्रति लचिलो पो हुन थालेछ हँ! अनि कनारिस महोदय चाँही त्यस्तो किन नि?”
तर डा. सिलिङ्ले जवाफ पाएनन्। बरु निष्कर्ष स्वरुप डा. ग्रावित्जले सोधे, “अनि डा. सिलिङ् महोदय, यहाँले कुन चाँही बन्दी शिविर रोज्नुभएको छ त?”
“सम्भवत मेरो अनुसन्धानको लागि वुशेनवाल्ड, ह्याम्बर्ग, फ्र्याङ्कफर्ट या वार्शा वन्दी शिविरहरुभन्दा 'डाखाउ शिविर' अनुकूल हुनेछ। कारण, त्यो शिविर मेडिकल संस्थान, विश्वबिद्यालय र प्रयोगशालाहरु सहजै उपलब्ध म्युनिख शहरसंगै रहेको छ। कि कसो?” डा. सिलिङ्ले विचार पोखे।
“ ओके डा. सिलिङ्ग महोदय, यहाँले भनेबमोजिम नै हुनेछ।” डा. ग्रावित्जले घोषणा गरे। त्यसपछि उनी डा. सिलिङ्लाई सलामी दिएर फर्किएयुद्धस्तरमा मेडिकल संस्थानको शाखा भवन निर्माण गरियो। डा. सिलिङ् आफ्ना सहयोगीसंगै त्यहाँ पुगे। उनलाई अत्यन्त कडा सुरक्षाका साथ डाखाउ बन्दी शिविरमा लगियो जहाँ उनलाई एकजना उपयुक्त मानवरुपी गिनिपिगको छनौट गर्नु थियो र त्यस गिनिपिग संगै आर्यसभ्यतालाई अझ उच्च तुल्याउने अनुसन्धानको आरम्भ गर्नु थियो।
बन्दीहरुको पंक्ति यतिबिघ्न लामो थियो कि डा. सिलिङ्को आँखाले हेरी भ्याउन सकेन। सबै वन्दीहरु खानपिउन नपाई र तीब्र यातनाका कारण दुब्ला पातला भएका थिए। 'पहिलो गिनिपिग' मोटोघाटो हुनुपर्छ –उनको तर्क थियो र आखिर फेला पारियो, खोजेजस्तै एकजना यहुदी कम्युनिष्ट बन्दी। डा. सिलिङ् निकै खुसी भई उक्त बन्दीलाई साथमा लिइ मेडिकल संस्थान पुगे।
डा. सिलिङ्लाई जीवनभर प्राप्त नभएको खुसी तब प्राप्त भयो, जब उनले मानवरुपी गिनिपिगको हरेक शिरा र धमनीमा ज्वरोको कारक इन्जेक्सन दिए। गिनिपिग निकै छट्पटियो र पीडाले चिच्यायो। तर विचरा गिनिपिग नाजी स्ट्रोम ट्रूपर्स सेनाको कडा घेराबन्दीबिच रहेकाले केहि गर्न सकेन। गिनिपिगको पीडाले डा. सिलिङ्लाई झनै मज्जा आएझैं लाग्यो। उनले स्वर्गीय आनन्द बटुल्ने ध्ययले गिनिपिगको नशानशामा फेनोलको इन्जेक्सन दिए। 'गिनिपिग' पीडाको चरमोत्कर्षका कारण चिच्याउँदै र छट्पटिँदै मृत्युवरण गर्न पुग्यो।
तुरुन्तै डा. सिलिङ्ले आदेश जारी गरे, “बन्दी शिविरका सबै बन्दी एक एक गरी ल्याऊ....”
नवयुवा मासिक पत्रिका, २०६७, श्रावण