14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

राग रियाज !

कविता किरणकुमार राई October 14, 2010, 2:12 am

शून्यताको तुना फुस्किसकेको छ

हल्लाहरुको इँजार कसिँदैछ

टिनिक्क परेको आँगनमा।

काँसे थालको फराकिलो खेतमा

लछेप्रै उम्रेका अनगन्ती अछेता फुकेर

जोखाना हेरिबस्ने जनापाहरुको

चाउरिएको निधार सिनिक्क बढ़ार्न

समयको कुचो बाट्नलाई

चोया काड़्ने सिपालु हातहरूमा

झमझम पोल्ने भाङ्ग्रे सिस्नु

कुन राक्षसले थपक्कै राखिदिन्छ कुन्नि?

ओभानोको नीलो आकाश ताप्नलाई

आमाको गर्भमा सिँहासन ओगट्ने

राजकुमारको झरिलो मुहारले

उज्यालो बिहानको चहकिलो ऐना हेरी

ङिचिक्कै हाँस्दै सुकिलो माटोमा

आफ्नो कलिलो खुट्टा कहिले टेक्ने हुन कुन्नि?

छोराको सातो बोलाउँदा बोलाउँदा हत्तु भएकी

आमाको पटुकीमा पीङ खेलिरहने बाघमुखे थैलीभरि

आँटको पैसा बजिरहन्छ

छमछम छमछम।

सातो फर्केको पाखुरे छोराले

आमाको आँखा छलेर चोरिबस्छ

एक पैसा, दुई पैसा।

समयको अग्लो पहाड़ उक्लेर बिगुल बजाउँदै

आकाशमा मुक्तिको झण्डा गाड़्नलाई

आशीर्वादको हात हल्लाइरहन्छे

निदाएकी भान पारेकी आमाले।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।