18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

घर-२०

कविता केवलचन्द्र लामा October 24, 2010, 9:27 pm

वुद्दु विद्यार्थीको खाताजस्तो

मैलो पन्नाजस्तो आकाश

घरको टाउकोमास्तिर छ।

खियासरिको क्लिपले चेपेको छ एउटा घाम

आकाशको पन्नामा।

पोहोर साल रड़ाको मचाएर गएकी

मुख्लानी वर्खा

फर्कने समय भएको छ।

त्यो बाह्रबाठी झरीले फुटाएका

छानु, खिर्की, आँगन,बारी

लगभग कॉंप्दैछन्‌।

त्यही घोप्टे आकाशमुन्तिर छ घर

टिचर नभएको कक्षाझैं मनपरी।

मत्थु व्यवस्थाको लात खाएर

फुँइकेर माइत हानिएकी छे

घरको गौंथली।

सुनको मृगकै पछि लागेको छ घरको चामे।

लेटनाइट टेलिभिजनको घुस्सीले

झरिदिसकेको छ

चामे र गौंथलीको

प्रेमलापको दॉंत।

हिँउदे विदाको गाउँले प्राथमिक पाठशालाझैं

चकमन्न छ घरको कुनाकाप्चा

बाबुको झोंक देखेर।

घरको शोकशभामा मौन छ

घर।

(कविको यो 'घर' सृंखलाका अन्तर्गतको कविताहरु मध्यको एक हो । अरु कविताहरु क्रमश: राखिने छ । सं.)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।