17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

व्याधा निर्मित समय र हामी

कविता प्रकार अन्तर October 27, 2010, 7:10 pm

मारेर श्रवण कुमार

खर्पनमा आस्थाका धरोहर

बोकी हिंड्ने व्याधाहरु

बनाउँदैछन् समय ।

सिमाना आँफै

लुटिनुको सरहद खोज्दो छ

अँध्यारो गल्लिमा निरीह प्रशासन

आँफै डराएर हिंड्छ

वा,हिंडेहस्तो गर्छ ।

हामी

समय यस्तो छ

समय उस्तो छ

भन्छौं ।

यी आखेटक कर्तुतहरुको दोष

समयको टाउकोमा थोपरेर

किन उम्कन खोज्दैछौं हामी ?

किन खुम्चन खोज्दैछौं हामी ?

उनीहरुलाई फैलन दिएर

झुसिलकीराहरु हिंड्ने बाटो

खाली खुट्टा हिंडिरहेछौं ।

पापको छातीमा आगो

भर्भराउँछ एकदिन

अधर्मी कीराहरु निक्लन खोज्छन्

अत्तालिएर

धुँवाको ढोकामा तिमी छौ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।