14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

आगाका फिलुङ्गाहरू टेकेर

कविता प्रशान्त खरेल October 28, 2010, 7:00 am

हृदयभरि अनगिन्ति चोटहरू बोकि

समयको निशा भित्र

इतिहासलाइ मुक प्रश्न गर्दै

वर्तमानले अचेट्न नसकेका सपना समेट्न खोज्दै

आमा, मुटुभरि ज्वाला बोकि

आगाका फिलुङ्गाहरू टेकिरहेको छु म

बाँच्नु मात्र जीवनको सार्थकता होइन

तर यथार्थनै बाँच्नु भएपछि

कल्कलाउँदा पालुवाहरू खङरङ्ग सुकेको हेर्दै

राताम्य फूलहरूमा बाक्लै जमेका

सेता हिउँका पत्रहरू सुम्सुमाउँदै

जीवनको परिभाषा खोज्दैछु

आमा, मनभरि अनगिन्ति रहरहरू बोकि

आगाका फिलुङ्गाहरू टेकिरहेको छु म

इतिहासले कहिल्यै जवाफ दिएन

वर्तमान निशब्द टोलाइरहेछ

पट्पट् फुटेको बाँझो धर्तिमा

मरूभूमीको तातो वालुवा खनाउँदै

भविष्य ङिच्च हाँसिरेको छ

चिरा परेको समयलाइ नियाल्दै

मातृभूमीको नक्सा खोज्दैछु म

आमा, शरीरभरी माटो धसि

आगाका फिलुङ्गाहरू टेकिरहेको छु म

खुला आकाशमा वाजहरूको मेला भित्र

सेता परेवाहरूको चिच्याहट कान थाप्दै

पृथ्वीको जुनसुकै दिशाबाट पनि

सुर्योदय हुन सक्छ भनि

विहानिको पर्खाइमा निश्पष्ट रातमा

एकोहोरो प्रतिक्षामा बसेको छु म

आमा, तिम्रा सेता केशहरूमा सुन्दर चन्द्रमा नियाल्दै

आगाका फिलुङ्गाहरू टेकिरहेको छु म

गौरादह ४, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।