14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

कमला ‘आँसु’को कथाशिल्प

कृति/समीक्षा लीला लुइटेल October 28, 2010, 7:20 am
लीला लुइटेल
लीला लुइटेल

१. परिचय

सन् १९५५ मा दार्जिलिङको मिरिकमा जन्मेकी कमला राईको कर्मथलो सिक्किम रहेको थियो । यिनको साहित्यिक नाम कमला ‘आँसु’ हो । सिक्किमको सरकारी सेवामा सोर वर्ष बिताएकी कमला सिक्किमबाट प्रकाशित हुने हिमगिरि (साप्ताहिक) र सुनचरी (दैनिक) मा नियमित स्तम्भकारको रूपमा पनि प्रसिद्ध थिइन् । नेपाली साहित्य परिषद्, गान्तोककी आजीवन सदस्य रहेकी यिनले युवा साहित्य प्रतिष्ठान गान्तोक एवं उदिसा सामाजिक सङ्गठनकी सल्लाहकार भएर सेवा गरेको पनि जानकारी पाइन्छ । भानु रत्न साहित्य पुरस्कारबाट पुरस्कृत यिनी हिमाली प्रकाशन (देन्ताम, सिक्किम), नेपाली साहित्य परिषद् (सिक्किम), मिरिक नारी सेवा समिति, गरिमा क्लब (मिरिक), नारी कल्याण समिति (रिनाक), सिक्किम महिला पत्रकार सङ्घजस्ता विभिन्न संस्थाबाट अभिनन्दित एवं सम्मानित पनि भएकी छन् । यिनको निधन सन् २००६ मार्च ७ मा भएको हो ।

कमला ‘आँसु’को लेखनको प्रारम्भ सन् १९७० को लंकासिनी पत्रिकामा प्रकाशित मेरो नासोबाट भएको हो । आप्mनो कथा यात्राको पुगनपुग चार दशकमा यिनका लगभग दस दर्जनजति कथाहरू प्रकाशित भएका छन् र ती कथाहरू सेतो गुलाफ (सन् १९९५), ममताको छालभित्र (सन् १९९९), आप्mनो माटोको सुगन्ध (सन् २०००) तथा मीमांसा (२००६) गरी चारवटा सङ्ग्रहमा समाविष्ट छन् । यसका अतिरिक्त यिनका प्रशस्त लेखरचनाहरू विभिन्न पत्रपत्रिकामा छरिएर रहेका छन् । अन्य कथा सङ्ग्रहलाई छोडेर आप्mनो माटोको सुगन्ध कथा सङ्ग्रहमा सङ्गृहीत कथाका आधारमा कमला ‘आँसु’को कथात्मक वैशिष्ट्य केलाउनु यस लेखको अभीष्ट रहेको छ ।

२. आप्mनो माटोको सुगन्धको विश्लेषण

२० अगस्ट २००० मा नेपाली भाषा मान्यता दिवसको अवसर पारेर हिमगिरि प्रकाशनद्वारा प्रकाशित आप्mनो माटोको सुगन्ध कथा सङ्ग्रह कमला ‘आँसु’को तेस्रो कथा सङ्ग्रह हो । यसमा अट्ठाईसवटा कथाहरू समाविष्ट छन् । यहा“ विभिन्न दृष्टिकोणबाट यस सङ्ग्रहको विश्लेषण गरिन्छ ।

२.१ संरचना र शीर्षक

कमला ‘आँसु’का कथाहरू छोटा आयाममा संरचित छन् । छ पृष्ठमा संरचित उप्m ! दियोको उज्यालो र मायाको तरंगमा मञ्जरी यस सङ्ग्रहका सबभन्दा लामा कथाका रूपमा रहेका छन् भने एक पृष्ठमा संरचित सरिताको अन्तिम यात्रा यस सङ्ग्रहको सबैभन्दा छोटो कथा हो । यसरी छोटा एवं छरिता कथाको सिर्जना गर्नु कथाकार कमला ‘आँसु’का कथा सिर्जनामा पाइने आयामगत वैशिष्ट्य हो । सङ्गठन व्यवस्थाका दृष्टिले परम्परित कथानक ढा“चामै आबद्ध यिनका कथाहरू आदि, मध्य र अन्त्यका व्रmममा व्रmमिक रूपमा विन्यस्त देखिन्छन् ।

कमला ‘आँसु’को प्रस्तुत कथा सङ्ग्रहको नामकरण आप्mनो माटोको सुगन्ध यसैै सङ्ग्रहमा समाविष्ट दोस्रो कथाबाट गरिएको छ । यिनका यस सङ्ग्रहका कथामा प्रयुक्त शीर्षकहरू सामञ्जस्यमूलक रहेका छन् । यिनका कतिपय कथामा शीर्षक चयनका लागि मूल सहभागीलाई आधार बनाइएको छ भने कतिपय कथामा विषयवस्तुका आधारमा शीर्षक प्रदान गरिएको छ । यिनका कथामा चयनित शीर्षकहरू अधिकांशतः अभिधामूलक देखिन्छन् भने चक्नाचुर भएको ऐना, स्वच्छन्द पुतलीजस्ता केही कथाका शीर्षक प्रतीकात्मक रहेका छन् । यिनले प्रदान गरेका शीर्षक र कथाको भाव, कथ्य तथा उद्देश्यका बीच पूरै तालमेल रहेको देखिन्छ । यसरी अभिधात्मक र प्रतीकात्मक दुवै खाले शीर्षक चयन गरी कथाको कथ्य र शीर्षकका बीच तादात्म्य प्रदान गर्नु कथाकार कमला ‘आँसु’को कथागत शीर्षक चयनमा पाइने मूलभूत विशेषता हो ।

२.२ वस्तु

वस्तुलाई विषयवस्तु वा कथ्य पनि भनिन्छ । कृतिमा प्रस्तुत गरिएको सारभूत अंश वा सारतत्व नै वस्तु हो । यो कृतिलाई अस्तित्व प्रदान गर्ने प्रमुख तत्व हो । वस्तुविना कुनै पनि कृतिको संरचनाको निर्माण हु“दैन । आख्यानात्मक कृतिमा कथानकका रूपमा वस्तुको उपस्थिति रहन्छ ।

कमला ‘आँसु’को आप्mनो माटोको सुगन्धमा समाविष्ट कथाहरूमा प्रयुक्त विषयवस्तुको सङ्क्षिप्त विवरण कथाको क्रमका आधारमा तलको तालिकामा प्रस्तुत गरिन्छ ।

कथा-----------------------------------------------वस्तु/कथ्य

१. कर्म–योग------------------------------------‘स्व’को बोध, कर्मवाद, परिश्रम एवं स्वावलम्बनको महत्व ।

२. आप्mनो माटोको सुगन्ध----------------बेरोजगारीका कारण विदेसिनु पर्ने बाध्यता, विदेशी जीवनका नकारात्मक पाटाहरू, आप्mनो देशप्रति अगाध श्रद्धा ।

३. उप्m ! दियोको उज्यालो ------------------पुरुषको स्वेच्छाचारी प्रवृत्तिबाट पीडित नारीको अवस्था, नारीको भावुक एवं संवेदनशील प्रवृत्ति ।

४. प्यारो गाउ“ सल्लाघारी -------------------आप्mनो जन्मभूमिप्रति अगाध भक्ति र आस्था ।

५. स्वच्छन्द पुतली------------------------------स्वच्छन्द तथा अनुशासनहीन नारीको दुर्गति ।

६. आठ–आनी हार--------------------------------पुराना चिज सङ्ग्रह गर्ने शोख, भावुक तथा संवेदनाको प्रस्तुति ।

७. मायाको तरंगमा मञ्जरी-------------------पलायनबाट जीवनप्रति उन्मुख, स्नेह एवं मातृत्वको महिमागान ।

८. वैज्ञानिक युगका बाबु–आमालाई गर्भकी छोरीको खुलापत्र------छोरालाई महत्व दिने सामाजिक परिपाटीप्रति व्यङ्ग्य, लैङ्गिक विभेदको अन्त्यका साथ समतामूलक समाजको अपेक्षा ।

९. रजनीगन्धा----------------------------------वृद्ध एवं रोगीको दिनचर्या, मृत्युको नियति ।

१०. पतझड जिन्दगी--------------------------मातृत्वबाट वञ्चित नारीको पीडा ।

११. सरिताको अन्तिम यात्रा ------------------मरेपछि मात्र सम्मान गर्ने परिपाटीप्रति व्यङ्ग्य ।

१२. आत्म–सन्तुष्टि-------------------------जातीय सङ्कीर्णताबाट माथि उठेर मानवतावादी दृष्टिकोणको प्रस्तुति ।

१३. गुड्डी चु“डिएछ !----------मानवता हराउ“दै गएको युगीन स्थितिप्रति व्यङ्ग्य प्रहार ।

१४. चक्नाचुर भएको ऐना---------------------आप्mनै पत्नीलाई वेश्यावृत्तितर्फ धकेल्ने पुरुषको स्वार्थी वृत्ति, नारीको विद्रोही रूपको प्रस्तुति ।

१५. अर्चना----------------------------------------डाक्टरको गल्तीबाट भएको एड्सका कारण उत्पन्न शारीरिक तथा मानसिक पीडा, एड्सप्रतिको गलत एवं सङ्कीर्ण सोचाइलाई त्याग्नुपर्ने ।

१६. कथा ------------------------------------------मानिसलाई मायाको आवश्यकता, मायाको अभावमा उत्पन्न निराशाको प्रस्तुति ।

१७. कोर्ट मेरिज-------------------------------पुरुषको अहंबाट पीडित नारीको पीडा, मानिस बाहृय रूपमा नभएर आन्तरिक रूपमा सुन्दर हुनुपर्ने भावाभिव्यक्ति

१८. समर्पणभित्रका तीता–मीठा प्रणहरू-------अन्धा, अपाङ्ग तथा अशक्तहरूको सेवा गर्नुपर्ने धारणाको भावुकतापूर्ण प्रस्तुति ।

१९. जौलेकी आमा ------------------------------मातृत्वको महिमा गान ।

२०. समर्पण---------------------------------------मानिसको परिचय दुखका बेला मात्र हुन्छ भन्ने भावाभिव्यञ्जना ।

२१. बेलायती गाई --------------------------------मानिसले गुणको पारख गर्न सक्नुपर्ने विचार प्रस्तुत ।

२२. बज्यैको अर्ति----------------------------------समयस“गै परिवर्तित हुन जान्नुपर्ने, स्वावलम्बी भएर मात्र विवाह गर्नु पर्ने भावको अभिव्यक्ति ।

२३ सानो शहर---------------------------------------स्वार्थको जालो हटाएर साहित्य एवं कलाको संरक्षण गर्नु विचार व्यक्त ।

२४. जुनेलीको भाग्य-------------------------------भौतिक तथा देखावटीभन्दा आत्मिक सुख ठूलो हुने धारणाको प्रस्तुति ।

२५. डाक्टर ललित----------------------------------मानवीय सेवा नै जीवनको लक्ष्य हुनुपर्ने विचार व्यक्त ।

२६. आशक्तिदेखि पर---------------------------------भौतिक सुखसुविधाले सन्तुष्टि नमिल्ने भाव अभिव्यक्त ।

२७. कुकुर पाल्ने अपुताली मेमसाहेब-----------मातृत्वबाट वञ्चित हुनपुगेकी नारीको दिनचर्या ।

२८. रनधोजको भूमिका-----------------------------नारी सशक्तीकरणको भावुकतापूर्ण प्रस्तुति ।

माथिको तालिकामा प्रस्तुत गरिएको तथ्याङ्कगत विवरणलाई हेर्दा कथाकार कमला ‘आँसु’का कथामा बेग्लाबेग्लै सन्दर्भमा पृथक् विषय र पृथक् दृष्टिकोणको प्रस्तुति भएको पाइन्छ । यिनी मूल रूपमा नारी जीवनका विविध पक्षलाई समेटी नारी संवेदनालाई केन्द्रबिन्दु बनाएर कथा सिर्जना गर्ने कथाकार हुन् । विविध प्रकारका नारी शोषण, नारी विद्रोह, अस्तित्वचेतजस्ता विविध सन्दर्भलाई समेटेर कथा सिर्जना गर्न कुशल यिनका कथामा पुरुषको सङ्कीर्ण मानसिकता, हैकमवादी तथा स्वेच्छाचारी प्रवृत्ति, लैङ्गिक असमानता, मातृत्वको रक्षा, नारी सशक्तीकरणजस्ता विभिन्न पक्षहरूलाई पनि समेटिएको छ ।

कमला ‘आँसु’का कथामा अभिव्यक्त मूल स्वर नारी संवेदनाको प्रस्तुति हो । सामाजिक अन्धविश्वास, रुढिग्रस्त धार्मिक तथा पारम्परिक मान्यता आदिबाट नारीहरू पीडित भएको सन्दर्भमा नारी स्वतन्त्रता र अस्तित्वका साथै मातृत्वको रक्षाका पक्षमा यिनका कथाहरूमा भावुकतापूर्ण ढङ्मा आवाज उठाइएको छ ।

नारीको सुकोमल पक्षलाई देखाइएका कमला ‘आँसु’का कथामा नारीको सहनशीलता एवं भावुक प्रवृत्तिलाई प्रस्तुत गरिएको छ । पुरुषबाट पीडित शोषित नारीका व्यथाहरू अभिव्यञ्जित यिनका कथामा नारी विद्रोेहलाई सैद्धान्तिक रूपमा नभएर आशावादी एवं सम्झौतावादी ढङ्गले प्रस्तुत गरिएको पाइन्छ । यिनका कथामा नारी विरोधी गतिविधि एवं पूर्वाग्रही धारणाहरूको विरोध प्रत्यक्ष रूपमा नभएर सङ्केतात्मक रूपमा गरिएको छ । यिनका कतिपय कथामा पुरुषले जानीजानी गरेका आपराधिक क्रियाकलापले कथालाई दुर्घटित बनाएका छन् । त्यस्ता क्रियाकलापहरू क्षमायोग्य नभएको स्थितिमा पनि यिनका कथामा पुरुषोचित प्रवृत्ति प्रत्यक्ष रूपमा आलोचित छैन । यसका साथै नारीका स्वच्छन्दवृत्तिले नारी जीवन नै निस्सार, बेकार, सकसपूर्ण, घिनलाग्दो र नारकीय हुने यथार्थवादी दृष्टिकोण पनि यिनले अगि सारेकी छन् ।

नारी संवेदनाबाहेक अन्य समस्यामा केन्द्रित भएर कथा सिर्जनामा रुचि राख्ने कमला ‘आँसु’का कथामा देशप्रेमको भावना अभिव्यञ्जित छन् । यसका अतिरिक्त यिनका कथामा मानवीय सेवा, समर्पण, अस्तित्वको बोध, आत्मिक सुखको महिमा, मायाको आवश्यकता, स्वावलम्बनको महत्वजस्ता विविध वस्तुले स्थान पाएका छन् ।

यसरी कथाकार कमला ‘आँसु’ले वर्तमान युगीन सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक, नैतिक आदि विविध सन्दर्भस“ग गा“सिएका अनेक विषयवस्तुलाई अभिधात्मक ढङ्गमा प्रस्तुत गरी कथात्मक बान्कीमा आबद्ध गरेकी छन् ।

कमला ‘आँसु’का कथामा आन्तरिक तथा बाहृय कुनै पनि प्रकारको द्वन्द्व पाइ“दैन । कथाकारको ध्येय नारी संवेदनशीलता तथा जीवनका सकारात्मक पाटाको खोजी गर्नु भएकाले द्वन्द्व विधानमा अल्झिने पक्षमा कथाकार नरहेको स्थिति प्रस्ट देखिन्छ । यसैले यिनका कथामा द्वन्द्वविधान देखानपरेको हो ।

समग्रमा भन्दा कमला ‘आँसु’का कथामा प्रयुक्त वस्तुलाई हेर्दा मूल रूपमा नारी जीवनका दुखद, त्रासद एवं अप्ठ्यारा परिस्थितिहरूका माझबाट जीवनप्रति सकारात्मक र आशावादी दृष्टिकोण राखेर अगि बढ्नु पर्ने भाव अभिव्यक्त गर्नु यिनको कथामा पाइने वस्तुगत विशेषता हो ।

२.३ सहभागी

साहित्यिक कृतिमा संलग्न वा प्रयुक्त व्यक्ति, पात्र वा चरित्रलाई सहभागी भनिन्छ । कृतिलाई गतिशील तुल्याउन सहभागीको महत्वपूर्ण भूमिका हुन्छ ।

कमला ‘आँसु’का कथामा शिक्षित–अशिक्षित दुवै प्रकारका सहभागीको प्रयोग पाइए पनि अधिकांश सहभागीहरू शिक्षित, बौद्धिक हुनाका साथै अत्यन्त भावुक एवं संवेदनशील देखिन्छन् । यिनका पात्रहरू सबल र सशक्त नभएर निरीह, पिलन्धरे र सम्झौतावादमा आस्था राख्ने खालका छन् । यिनले आप्mना कथामा उपस्थित गराएका अधिकांश नारी सहभागीहरू भावुक एवं क्षमाशील स्वभाव भएका अर्थात् अनुकूल प्रवृत्तिका देखिन्छन् भने अधिकांश पुरुष सहभागीहरूचाहि“ दम्भी, क्रुर तथा स्वार्थी अर्थात् प्रतिकूल प्रवृत्तिका छन् । यति हु“दाहु“दै पनि यिनको डाक्टर ललित, रनधोजको भूमिकाजस्ता कथामा अनुकूल प्रवृतिका पुरुष सहभागीहरूको उपस्थिति पाइन्छ भने स्वच्छन्द पुतली कथामा प्रतिकूल प्रवृत्तिकी नारी सहभागीलाई समावेश गरिएको छ ।

पुरुष र नारी सहभागीको सन्तुलित रूपमा उपस्थिति पाइने कमला ‘आँसु’का कथामा भावुक, संवेदनशील, मानवतावादी, राष्ट्रवादी, परम्पराप्रति आस्था राख्ने सहभागीको प्रस्तुति पाइन्छ । यसरी विविध सोच र दृष्टिकोण भएका सहभागीका माध्यमबाट कथ्यलाई अगि बढाई कथा संरचनाको निर्माण गर्नु कमला ‘आँसु’का कथामा पाइने चरित्रगत वैशिष्ट्य हो ।

२.४ परिवेश

कुनै पनि कृतिमा प्रस्तुत गरिएको स्थान, समय र वातावरणको संयुक्त रूपलाई नै परिवेश भनिन्छ । परिवेशले विषयवस्तु र सहभागीलाई गतिशील र जीवन्त बनाउनाका साथै तिनलाई विश्वसनीय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यसलाई देश, काल, वातावरण, पृष्ठभूमि, कार्यपीठिका आदि पनि भन्ने पाइन्छ ।

कमला ‘आँसु’का कथामा स्थान र समयको स्पष्ट अङ्कन, उल्लेख र वर्णन भएको पाइ“दैन । यति भएर पनि यिनका कथामा मूल रूपमा नेपालबाहिरको नेपाली जनजीवनको मध्यम वर्गीय तथा निम्न वर्गीय पारिवारिक परिवेश चित्रित भएको छ । यिनका कथामा उल्लेखित समय कुनै विशिष्ट वा ऐतिहासिक नभई सामान्य समयका रूपमा लिन सकिने स्थिति रहेकाले यिनका कथालाई समयका दृष्टिले सार्वकालिक कित्तामा राख्न सकिन्छ ।

परम्परागत जनजीवनमा क्रमशः देखापर्दै गएको परिवर्तन यिनका कथामा चित्रित छन् । यिनका कथामा वस्तुको आवश्यकताअनुसार गाउ“घर तथा विदेशी भूमिलाई पनि परिवेशका रूपमा भिœयाएको देखिन्छ । विदेशी परिवेशको वर्णन गर्दा विदेशी जीवनशैली तथा संस्कारको चित्रण पनि कथाकारले गरेकी छन् ।

कमला ‘आँसु’का कथामा सामाजिक परिवेशबाहेक पुरुषको दुराचारबाट उत्पन्न दुखद एवं त्रासद वातावरणलाई पनि समेटिएको छ । यिनका अधिकांश कथाको प्रारम्भमा निराशा, निरीहता, विवशता, बाध्यता, उकुसमुकुस, छटपटी आदि दुखद वा नकारात्मक पक्षको चित्रण पाइए पनि कथाको अन्त्यमा सुखद वा सकारात्मक वातावरणको प्रबलता रहेको छ । यसरी परिवेशलाई सामान्य रूपमा प्रस्तुत गरी सुखदोन्मुख वातावरणका कथा सिर्जना गर्नु कथाकार कमला ‘आँसु’को परिवेशगत प्रवृत्ति रहेको देखिन्छ ।

२.५ उद्देश्य

साहित्य सिर्जनाको प्रयोजनमूलकतालाई उद्देश्य भनिन्छ । विना उद्देश्य कुनै पनि साहित्यिक कृतिको रचना गरि“दैन । साहित्यकारको हरेक कृतिको रचनामा प्रत्यक्ष्ँ वा परोक्ष रूपमा कुनै न कुनै उद्देश्य अन्तर्निहित हुन्छ ।

विभिन्न उमेर, वर्ग र पस्थितिका नारीहरूले भोग्नुपरेका संवेदनालाई स्वच्छन्दतावादी ढङ्गमा अभिव्यक्त गर्नु कथाकार कमला ‘आँसु’को कथात्मक उद्देश्य रहेको देखिन्छ । यसका अतिरिक्त देशप्रेम, आध्यात्मिक चेत, मानवसेवा, समाज सुधार, महिला सशक्तीकरण, युवा पुस्तामा क्रमशः देखापर्दै गएको परिवर्तन आदि विविध पक्षलाई भावनामा रङ्गाएर जीवनप्रति सकारात्मक सोच राख्दै आशावादी दृष्टिकोणलाई प्रस्तुत गर्नु पनि यिनको कथा लेखनको अभीष्ट हो ।

विशेषगरी जीवनप्रति सकारात्मक र आशावादी दृष्टिकोणका साथ नारी संवेदनाका साथै विविध विषयलाई भावुकतापूर्ण ढङ्गले प्रस्तुत गर्नु कथाकार कमला ‘आँसु’को कथा लेखनको मूल अभीष्ट रहेको पाइन्छ ।

२.६ दृष्टिबिन्दु

कृतिलाई पाठक समक्ष प्रस्तुत गर्ने तरिका दृष्टिबिन्दु हो । कमला ‘आँसु’का अधिकांश कथामा तृतीयपुरुष दृष्टिबिन्दुको प्रयोग गरिएको छ भने जुनेलीको भाग्य कथा प्रथमपुरुष दृष्टिबिन्दुमा लेखिएको छ । नारीका पीडा अभिव्यञ्जित यिनका कथा अत्यन्त कारुणिक र मार्मिक बनेर देखापरेका छन् ।

यसरी मूल रूपमा तृतीयपुरुष दृष्टिबिन्दु र आंशिक रूपमा प्रथमपुरुष दृष्टिबिन्दुमा भावुकता, संवेदनशीलता र त्रासदीको प्रस्तुति यिनको कथागत वैशिष्ट्य रहेको देखिन्छ ।

२.७ भाषाशैलीय विन्यास

भाषा अभिव्यक्तिको माध्यम हो र शैली अभिव्यक्तिको तरिका हो । अभिव्यक्तिलाई संवेदनशील, मर्मस्पर्शी, जीवन्त, यथार्थ र सशक्त बनाउन भाषाले ठूलो भूमिका खेलेको हुन्छ ।

कमला ‘आँसु’का कथामा सरल र सहज भाषाको प्रयोग पाइन्छ । यिनले आप्mना कथामा मूल रूपमा नेपालबाहिरका नेपाली भाषीले बोल्ने कथ्य भाषाको प्रयोग गरेकी छन् । कथाको आवश्यकता तथा पात्रको स्थितिलाई ध्यानमा राखेर यिनले हिन्दी तथा अङ्ग्रेजी शब्द, पदावली तथा वाक्यहरूको प्रयोग पनि गरेकी छन् । भाषिकविन्यासमा पाइने यसप्रकारको विविधतायुक्त प्रयोगले यिनका कथालाई स्वाभाविक बनाएका छन् । कतिपय ठाउ“मा व्याकरणगत अशुद्धि पनि भेटिए पनि त्यसले कथालाई नकारात्मक असर पारेको देखि“दैन ।

वर्णनात्मक, विवरणात्मक, पत्रात्मक तथा संवादात्मक शैलीको प्रयोगमा रmचि राख्ने कमला ‘आँसु’का कथामा सामाजिक, प्राकृतिक क्षेत्रबाट टिपिएका बिम्ब तथा प्रतीकहरmको पनि प्रयोग गरिएको छ । यसले भाव तथा भाषालाई आकर्षक र कलात्मक बनाएको पाइन्छ । समग्रमा भन्दा सरल, तथा कथ्य भाषाको प्रयोग कमला ‘आँसु’को कथामा पाइने भाषाशैलीय विशेषता हो ।

३. निष्कर्ष

आप्mनो कथा यात्राको पुगनपुग चार दशकमा चारवटा कथा सङ्ग्रहको सिर्जना गरी भारतेली नेपाली कथाका क्षेत्रमा निजी पहिचान कायम गर्न सक्षम कथाकार कमला ‘आँसु’ अत्यन्त छोटो आयामका कथासर्जक हुन् । यिनका कथाले नारी जीवनका त्रासद र अँध्यारा पक्षको चित्रण गर्दै नारी संवेदनशीलतालाई प्रस्तुत गरेका छन् । मूल रूपमा नारी समस्या चित्रित यिनका कथामा अन्तर्राष्ट्रिय सन्दर्भहरू पनि समेटिएका छन् । दुखद र त्रासद वातावरणका माझबाट नारी संवेदनालाई प्रस्तुत गर्ने उद्देश्यद्वारा अभिप्रेरित यिनका अधिकांश कथा तृतीयपुरुष दृष्टिबिन्दुमा संरचित छन् । पात्रको स्तर र परिस्थितिअनुरूपको सरल, सहज भाषिक प्रयोगमा रुचि राख्ने कथाकार कमला ‘आँसु’का कथाहरू वर्णनात्मक तथा विवरणात्मक शैलीमा रचित छन् । विविध क्ष्ँेत्रबाट बिम्बको चयन गरी कथालाई कलात्मक बनाउने प्रयास कथाकारको देखिन्छ ।

समग्रमा भन्दा स्वच्छन्दतावादी, मानवतावादी तथा राष्ट्रवादी कथाकारका रूपमा देखापरेकी कमला ‘आँसु’को योगदान भारतेली नेपाली कथाको इतिहासमा उल्लेखनीय रहेको छ ।

कीर्तिपुर, काठमाडौं ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।