15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डायोस्पोरिक साहित्य अनि भारतीय स्रष्टाहरु

विचार बी. पी. बजगाईं October 31, 2010, 9:37 pm

२९ अक्टोबर २०१० मा भारतको सिक्किम राज्यमा खोलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)-को गान्तोक च्याप्टर भारतमा पहिलो अनेसास एकाई बन्न पुगेको छ| अनेसासले सदस्य स्रष्टाहरुको साहित्य रचनालाई डायोस्पोरिक साहित्य भनेर परिचय दिएको छ| तर डायोस्पोरिक साहित्यको जुन परिभाषा वर्तमानमा रहेको छ त्यसलाई भारतीय अनेसास सदस्यहरुले भने केही परिमार्जन गरेर हेर्नु पर्ने परिस्थिति आइपर्दछ| त्यसै विषयलाई स्पष्ट राख्न यो लेख प्रस्तुत छ| साहित्य सेवामा अन्योलतालाई पटक्कै स्थान दिइनु हुँदैन| यसोसले यस लेखले विचारेको तथ्यलाई डायोस्पोरिक संघारमा चिन्तनको निम्ति राखिएको छ|

डायोस्पोराको अर्थ शब्दकोशमा के छ त?

डायोस्पोरा ग्रीक शब्द διασπορά –बाट आएको हो| विदेशिन परेकाहरुले झुन्डमा रहेर आफ्नो मूल देशको राष्ट्रिय तथा पारम्परिक मूल्यलाई जोगाउने कार्य भन्ने अर्थ यसले समेटेको छ|

के हो त डायोस्पोरिक साहित्य?

नेपालबाट गएर विदेशमा रहेका साहित्यकारहरुले लेखिने साहित्य नेपाली साहित्य डायोस्पोरा हो| कुनै भारतीयले विदेशमा रहेर साहित्य सृजना गरे भारतीय साहित्य डायोस्पोरा हुनेछ|

के अनेसास गान्तोक च्याप्टरको तथा सिक्किमको सन्दर्भमा यो परिभाषा लागु हुन्छ?

पटक्कै हुँदैन| किनभने अनेसास गान्तोक च्याप्टरका सदस्यहरु सबै नै शुद्ध भारतीय नागरिकहरु हुन् अनि उनीहरुले भारतमा नै बसेर साहित्य कोर्दैछन|

त्यसो भए किन उनीहरुले भारतीय संस्था नसमातेर अनेसास गठन गरेका हुन् त?

किन भने भारतमा जमिनसँगै आएका नेपालीहरु शुद्ध भारतीय हुन् भने सिक्किम विलय हुँदा भारतमा गाभिन पुगेका सिक्किमे नेपाली नागरिकहरु अझ पक्का नेपाली भारतीयहरु हुन्| यिनै कुरालाई सत्यापित गरेर भारत सरकारले अधिक संख्यामा रहेका भारतीय नेपाली नागरिकले बोल्ने नेपाली भाषालाई भारतीय संविधानको आठौं अनुसूचीमा मान्यता दिएको छ|

यही नेपाली भाषा नेपाल देशको नागरिकको पनि मूल भाषा हो| यसैले यस भाषामा लेखिएका पुस्तकहरु दुवै देशका नागरिकहरुले आदान-प्रदान गरेर पड़ने गरेको लामो इतिहास साक्षी छ| अब आफ्नो भाषा नेपाली भएकोले यस भाषाको विस्तार अनि संवर्धन हामी सबैको परम कर्तव्य हो|

डायोस्पोरामा लेखिने साहित्य यदि हाम्रो भाषामा छ भने त्यसलाई हामी हाम्रो साझा सम्पत्ति मान्छौं अनि त्यसको संवर्धनमा हामी दिलोज्यान लगाउने छौं| यसरी नै हामीले लेखेको यहाँको साहित्य पनि डायोस्पोरामा रहेका स्रष्टाहरु समक्ष पुगोस र पठन होस् भन्ने हाम्रो इच्छा छ| यसैले अनेसास गठनको पहिलो प्रेस विज्ञप्तिमा हामीले सिक्किमेली नेपाली साहित्यलाई नेपाली साहित्य डायोस्पोराको विश्व संघारमा उभ्याउने लक्ष्य राखेर नेपाली भाषा-साहित्यको सेवा र संरक्षणलाई तात्कालिक दायित्व बनाउन यो संस्था गठन गरेको भनेर स्पष्ट भनेका छौं| डायोस्पोरामा लेखिएका डायोस्पोरिक नेपाली साहित्यलाई सुरक्षा, सम्बर्धन, मुल्यांकन अनि समालोचना गर्ने हाम्रो लक्ष्य छ भने हाम्रो साहित्य पनि डायोस्पोरामा पुरयाउने, स्थापित गराउने हाम्रो लक्ष्य छ| यसै लक्ष्यलाई अघि राखेर हामीले अनेसास गठन गरेका हौं|

अनेसास गान्तोक च्याप्टरले कस्तो लेखनलाई अधिक महत्व दिन्छ त?

पारम्परिक लेखनको ज्ञान राखेर लेखनमा नयाँ प्रयोग गरिएका लेख-रचनाहरू यसको पहिलो चाहना हो| विश्वमा अन्य भाषामा भइरहेका नव प्रयोगहरु यसको घोत्लिने विषय हो अनि सानो परिधिबाट बाहिर निस्किएका रचनाहरु यसको निम्ति महत्वपूर्ण उपलब्धिहरु हो| अबको साहित्य लेखिँदा विश्वको विभिन्न आयामहरू अध्ययन गरिएको हुनुपर्छ भन्ने हेक्का राख्न आजको आवश्यकता हो|

(लेखक अनेसास, गान्तोक च्याप्टरका अध्यक्ष हुन् ।)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।