17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत मुरारी अर्याल November 10, 2010, 8:03 pm

भै गो अब छाडिदेऊ मायाका ती थोत्रा कुरा,

बुझीसकें चाहिँदैन कलेजीलाई रेट्ने छुरा ।

मनै त हो नरम हुन्छ जता पनि फर्किदिन्छ,

हुँदो हो त ढुंगो बरु फेरिन्नथ्यो तिम्रा कुरा ।

भै गो अब छाडिदेऊ बफादारीताका कुरा,

बुझीसकें चाहिँदैन कलेजीलाई रेट्ने छुरा ।

आधामाथी आधा जोड्दा हुनुपर्ने एक थियो,

आधा मुटु धड्किदिँदा धड्किएन किन पूरा ?

भै गो अब छाडिदेऊ पिरतीका चिप्ला कुरा,

बुझीसकें चाहिँदैन कलेजीलाई रेट्ने छुरा ।

भोली साँचै भेट्न आउने बाचालाई पत्याएर,

एक्लै बसी झोक्र्याएर पिउनेछैन अब सूरा ।

भै गो अब छाडिदेऊ मीठा सपनीका कुरा,

बुझीसकें चाहिँदैन कलेजीलाई रेट्ने छुरा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।