19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विजयोत्सव

कविता दीपेन्द्र के.सी. November 11, 2010, 12:23 pm

फाँटभरि सुलीहरु छरेर

फैलिएको गन्ध,

असीमित कुखुराका;

सुँघेर ह्वाँस्स

अनौठो मादमा,

उर्लिएका हुँइयाहरु

झर्दैछन शहरमा ।

परिवर्तनका झण्डाहरुले छोपिदै

छिर्छन चोक, गल्लीहरुमा

घोकाइएका नाराहरु उराल्दै

उफ्रिन्छन्, बजारिन्छन्, थचारिन्छन

लगाउदै गोलचक्कर

तिनै गल्लीहरुमा ।

लडाउदै शालिकहरु

कोपर्दै अक्षरहरु

घोच्दै इतिहासका आत्माहरु

वजार्दै लाठीहरु

पडकाउदै वारुदहरु

विजयोत्सव मनाउछन्

अरुले छोडिदिएको खाली मैदानमा ।।

काला रँग पोतेर

सम्झौताका पानाहरुमा

एकपटक पनि

एकपटक पनि

नखोजी आफनो हस्ताक्षर

तिनै पानाहरुमा

घनघोर भाषणका शव्दहरुले

भ्रमको विजयोत्सव मनाउदैछन

अरुले छोडिदिएको त्यही खाली मैदानमा । ।

बाग्लुङ, हाल: लुभेन, बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।