19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

समयका लालुपातेमा इतिहासका गभाराहरू

कविता रामप्रसाद प्रसाईं November 13, 2010, 1:13 pm

विगतबाट आगतसम्मका

इतिहासका स्मारकमा

न/अटेका पटाङ्गिनीका धमनीहरूबाट

सादृष्य, अदृष्य अनि नेपथ्यमा

लमक् लमक् लम्किरहेका

युगका पद-छापहरू

समयको पाउदानीमा

रोपिरहन्छन्—

बीजहरू

निरन्तरताका साँझहरू

त्रिशुलीसँगै शुली चढेपछि

बग्दा बग्दा—

ओरालीहरू

हेर्दा हेर्दै—

सुन्दर फाँटहरू

चढ्छन्, समय समाधिको टापूमा

अनि जन्मन्छ

एक अकाट्य यथार्थ

मध्यान्तरको समाप्तिसँगै

मज्जा नि बेग्लै—

उकालो बग्नुको

गौरवै बेग्लै—

ओरालो चढ्नुको

सय प्रयास बाबजूद

ईनारको डिल उक्लन नसक्ता

सम्झन्छ मान्छे

ईनार सिँगो एक ब्रह्माण्ड

अनि

बालुवामा ‘सहारा’ र ‘सवाना’हरूको चास लाउन

सिइयाहरूको ‘सोच’, ‘खोज’ र ‘थाहा’ देख्न

अनि भेट्न आशक्त र बिवश हुटिट्याउँहरू

जन्मन खोज्दा खोज्दै—

जन्मन नसकेर

जन्मनु भन्दा पहिल्यै

सदा सदाका लागि

अमरत्वका फाँटबारीमा

गैँती,कोदाला र झम्पलहरू बजारिरहेका

हुलका हुल मान्छेहरू अभ्यस्त हुनुले

छन् ब्यस्त केही मान्छेहरू

समयको कङ्कालमा नरसिँङ फुक्न

बाँच्दा बाँच्दा ‘बाँच्नु’ भन्दा ‘बहुलाउन’ निको हुनुले

‘बाँची बाँची’ बहुलाउनु भन्दा ‘बहुलाइ बहुलाइ’ जिउँदो हुनु मर्दना हुनुले

सोच्दा सोच्दा ढुँगो हुनु भन्दा, ढुँगिदा ढुँगिदा बेर्ना फस्टाउनुले

नाच्छन् मान्छेहरू, विसङ्गत भूलभूलैयाहरूको चक्रीय पथमा

रङ्गैरङ्गहरूको समायोजनमा अर्थहरू गुजुल्टिनुले

ढुन्मुनिन्छन्, ‘महाबर्णनहरू’ अनि सल्बलाउँछन् वीरगाथाहरू’

र त हाहाकार गर्छन् सभ्यताका ‘क्रेनियम’हरूमाथि

झण्डोत्तलनमा लटक् लटक् लट्केका—टुप्पीहरू

भाग्दा भाग्दै सँगतिहरूसँग, विसँगति हात लाग्नुले

मीठा मीठा सपना त हुन नि, यथार्थहरू तीता हुनुले

पर्खँदा पर्खँदा चौतारी र देउराली पाखाहरूमा, मनहरू रित्ता हुनुले

सधिन्छन्, सुध्रिन्छन् अनि तिल्मिलाउँछन्

चेतनाका वञ्चनाहरू फर्सीका जराहरूमा फुल्नुले

सभ्यता र सौम्यताका बस्तीहरूबाट उठेर

इतिहाँसका गर्भतिरको चिन्तनयुक्त यात्रा गर्दा

......................

मान्छेका मनहरू

.........................

स्वतन्त्र चिन्तनहरू

........................

स्वाधीनताका दाम्लाहरू

अनि

.............................

स्वच्छन्दताका नाम्लाहरू

बिस्तारै बिस्तारै

चक्करै चक्कर घुम्दै फिर्दै

भासिन्छन् बर्बरताका दलदलहरूमा

जहाँ ‘हार्लेम’का दमित आवाजहरू

तोड्दाछन् समयबिहीनताका तगाराहरू

‘बुर्नो’ र ‘फिसिनो’का दुखान्त पीडाका घैलाहरू भरिभरि

बाँचिरहन्छन् विद्धत् दीर्घायूका जमराहरू

अनन्त यौवनका जीवनहरू

आफल-ताफल जवानीका यौवनहरू

समय गर्तका मुहानबाट मौलाएका

चेतनाका गर्भे टुहुरा पिपिराहरू

बगिरहन्छन्

...........

निरन्तर

...............

अधीर विचारहरू झैँ

मानसरोवर र फालोटले ओढाएका

तम्बूमुनिबाट धुवाँउदा नधुवाँउदै

चुल्हाहरू चिसा हुँदा

चित्राले छाएका निर्दोष मनहरू

चिल्साले चिलेका आशिर्वादले

अभिषेक गरिइएका/गराइएका अभिशप्त सग्ला अक्षताहरू

‘सलीम विच्हन्ट’का घुम्ती अदालतमा

चुलिइरहेका नारी क्रन्दनहरू

.........................

यी त विद्रोहका राँकाहरू

स्वाभिमानका शिरमा बाँधिइएका शव दहनका रङ्गैरङ्गका तोरणहरू

अनि युगबोध, युगीनता र ‘बर्ग-वर्ण-विन्यास’का खुल्ला सँवादमाथि सल्काइँदै गरेका सापेक्षिक विकासका उम्दा हात र उठ्दा मुड्कीहरू अनि बुलन्दी फुल्दै गरेका पैँयू र लालुपातेहरू

कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग; हाल: अबुधाबी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।