14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

वरिष्ठ साहित्यकार डा. तारानाथ शर्मासँग कुराकानी

वार्ता श्रीओम श्रेष्ठ "रोदन" November 13, 2010, 7:30 am

नेपाली साहित्यमा धेरै प्रकारले अग्रणी स्थानमा आउनुहुने सिर्जनशील स्रष्टाको नाम डा. तारानाथ शर्मा हो । उहाँ साहित्यका अनेक विधामा कलम चलाउने सफल स्रष्टा पनि हुनुहुन्छ । नेपाली नियात्राको त उहाँ प्रारम्भकर्ता र सर्वश्रेष्ठ लेखक नै हुनुहुन्छ । 'बेलायततिर बरालिँदा' पुस्तकको भूमिकामा विद्वान् साहित्यकार बालकृष्ण पोखरेलले उक्त कृतिलाई 'नियात्रा' भनेर नयाँ विधाको घोषणा गर्नु भएको थियो र सोही नयाँ विधाले वि.सं. २०२६ मा मदन पुरस्कारसमेत पाएको थियो ।

त्यस्तै पुस्तकको आलोचना गर्दा खुलेर लेख्न नडराउने समालोचक पनि डा. शर्मा नै हुनुहुन्छ । उहाँले बालकृष्ण सम र मबीबि शाहका कृतिमाथि गर्नुभएको समालोचनाले निकै चर्चा पाएको थियो । नेपाली भाषाका लागि झर्रोवादी आन्दोलन चलाउनेमध्येका प्रखर व्यक्तित्व पनि उहाँ नै हुनुहुन्छ । पाठ्यपुस्तक लेखक, सम्पादक, अनुवादक, प्राञ्जल भाषा र छापा अक्षर लेख्ने साहित्यकार पनि उहाँ नै हुनुहुन्छ ।

वि.सं. १९९१ असार ९ गते बरबोटे, इलाममा जन्मनु भएका वरिष्ठ साहित्यसाधक डा. तारानाथ शर्माले अमेरिकाको विकन्सन विश्वविद्यालयबाट भाषाविज्ञानमा विद्यावारिधि गर्नुभएको थियो । तीन दर्जनभन्दा बढी कृतिको माध्यमबाट उहाँले नेपाली साहित्यमा पुर्‍याउनु भएको महत्त्वपूर्ण योगदान अतुलनीय छ ।

1) साहित्यिक लेखनलाई कसरी हेर्नु भएको छ ?

म साहित्यलाई शिक्षाकै विकसित रूप मान्दथेँ । साहित्यमा लाग्नुको अर्थ शिक्षाको विकास गर्नु र शिक्षित हुनु हो भन्ठान्छु । साहित्यले आफूभित्र उकुसमुकुस भएर रहेका भावनालाई प्रकट गर्न पाएको छु । संसारलाई म जुन दृष्टिकोणले हेर्छु । त्यही कुरा बाहिर साथीभाइसँग बाँड्न पाइरहेको छु ।

2) जीवन साहित्यमा नै बितिसक्यो, आफ्नो लेखनप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

सन्तुष्टिले काम गर्न दिँदैन । त्यसैले आफ्नो लेखनप्रति असन्तुष्ट छु । जति लेख्दा पनि अझ राम्रो लेख्नुपर्छ भन्ने लागिरहन्छ, चित्तै बुझ्दैन ।

3) जीवनयात्रा र साहित्यिकयात्रामा के फरक रहेछ ?

जीवनयात्रामा घरव्यवहार चलाउन अलिकति स्वार्थी हुनु पर्दोरहेछ । यो यात्रामा केही फाइदा होस् भन्ने चाहना हुन्छ तर साहित्यिकयात्रामा चाहिँ कहिले पनि स्वार्थी भइएन । आफ्नो अभिव्यक्ति कसरी राम्रो बनाउने, शैली कसरी आकर्षक बनाउने भन्ने मात्र अभीष्ट रहृयो ।

4) नियात्राको लेखन प्रक्रिया के हो र तपाईंले कसरी सुरु गर्नुभएको थियो ?

पहिले यात्रा वर्णन बढी लेखिन्थ्यो, त्यसमा वैयक्तिक अनुभूति हुन्थेन । स्थान, व्यक्ति आदिको वस्तुगत परिचय मात्र हुने गर्दथ्यो । पछि त्यसमा निजात्मकता आउन थाल्यो । निजात्मकता भएको यात्रा, निबन्धभन्दा पनि रोचक हुनथाल्यो । निबन्धमा सोचेका कुरामात्र हुने तर नियात्रामा देखेका कुरा पनि हुने भएकाले जीवन्त हुन थालेको हो ।

मैले सबैभन्दा पहिलो नियात्रा वि.सं. २०२३ मा लेखेको रहेँछु । मेरो बेलायत घुम्दाको एउटा यात्रा 'मेनाइ साँघुको मेला' भनेर रत्नश्रीमा छापियो । त्यो रचना पढेपछि मेरा मित्र बालकृष्ण पोखरेलले यात्रामा नियात्रा सुरु गरिस् भनेर चिठी लेख्नुभयो । तर सार्वजनिकरूपमा भने उहाँले 'बेलायततिर बरालिँदा' को भूमिकामा उल्लेख गर्नु भएको थियो । 'नियात्रा'को सृष्टि गर्ने र विधागत मान्यता दिलाउने काम बालकृष्ण पोखरेलले नै गर्नुभएको हो ।

5) अहिले कसरी अगाडि बढिरहेको ठान्नुहुन्छ ?

यात्रावर्णन, यात्रासंस्मरण लेख्नेहरू पनि नभएका होइनन् तर यात्रामा डुबेर निजात्मक बनाउनेहरू पनि बढिरहेका छन् । त्यसैले नियात्रा सधैँ अगाडि बढिरहन्छ भन्नेमा विश्वस्त छु ।

6) सिर्जनात्मक लेखन र समालोचनामध्ये कुनमा बढी सन्तुष्ट हुनुहुन्छ, किन ?

सिर्जनामा जस्तो मीठो आत्मसन्तुष्टि समालोचनामा कहाँ हुन्छ र ? तर लेख्न त बढी आलोचना नै लेखियो होला । आलोचना गर्दा गुणदोषको तार्किक विश्लेषण गरेर, भाषा, शैली सबैमाथि टिप्पणी गर्नुपर्छ । आलोचना गर्दा म आफ्नो सिद्धान्तलाई छोड्दिन, तर्क र न्यायसङ्गत नै लेख्छु । त्यसैले सिर्जनाभन्दा बढी आलोचना लेखियो होला तर सन्तुष्टि त सिर्जनामा नै मिल्छ ।

7) अरूले कसरी मूल्याङ्कन गरेका छन् नि ?

सिर्जना गर्ने मान्छेले सिर्जना नै मन पराएका छन्, आलोचना मन पराएका छैनन् । स्रष्टाहरू जस्तो पुस्तकको पनि प्रशंसा नै गरिदिओस् भन्ने चाहन्छन् । फुक्र्याइदिँदा दङ्ग पर्छन् र राम्रो समालोचक भन्छन् । अधिकांश स्रष्टाहरू सत्यलाई स्वीकार्न नसक्ने र सल्लाहलाई अपमान ठान्ने नै छन् । तर्कसहित गुणदोष छुट्याइदिँदा पनि प्रसन्न भएर स्वीकार्ने हृदय धेरै कममा मात्र पाएको छु ।

यस मामलामा बालकृष्ण सम महान् हुनुहुन्थ्यो । उहाँको 'चिसो चुल्हो'लाई झुसिलो डकार भनेर लेख्दा पनि स्वीकार्नु भयो । यो लेखिसकेपछि उहाँसँग एउटा भोजमा भेट भयो । अब उहाँले तर्कले पछार्नु हुन्छ भन्ने डर लागे पनि नजिक गएर नमस्कार गरेँ । उहाँले त 'तारानाथजी तपाईंले लेख्नुभएको ठीक हो । मैले लेखेको पाठकले बुझ्न सक्छन् सक्दैनन् भन्ने बेवास्ता गरेर भएभरको ज्ञान खन्याएको थिएँ । त्यसैले अबदेखि म यसरी लेख्दिनँ' भन्नु भयो । मैले उहाँजस्तो ठूलो छाती भएको साहित्यकार अरू पाएको छैन ।

8) 'उसैका लागि' माथि लेख्दाचाहिँ के भयो नि ?

त्यो लेखले निकै ठूलो खैलाबैला मच्चायो । त्यसैले अब बिताउने भयो भन्ने लागेको थियो । 'हिन्दू' भन्ने पत्रिकामा छापिएकोले त्यसका सम्पादक शैलेन्दुलाई राजाको बारेमा लेखेको त्यस्तो कुरा किन छापेको भनेर निकै सोधपुछ गरेछ । उनले पनि मबिबि शाहले लेखेको कहाँ राजा हुन्छ ? राजाको त

श्री ५ भइहाल्छ नि भनेर बँचेछन् । त्यसपछि मलाई विद्यार्थी आन्दोलनको अभियोगमा पक्रेर तीन महिना जेल हाल्यो । त्यति बेला मेरा साथी पासाङ गोपर्मा राजाका निकट थिए । उनले नै मलाई छुटाउन बिन्ती चढाएपछि राजाले मलाई प्राध्यापकहरू थुनेको मन पर्दैन, छोडिदिनु भन्ने आदेश दिएछन् । त्यतिखेर धरानमा प्राध्यापन गरिरहनुभएका आनन्ददेव भट्टलाई व्यवस्था विरोधी अभियानमा लागेको आरोपमा पक्राउ गरिएको थियो । राजाको आदेशले उहाँ तुरुन्तै छुट्नु भयो र मलाई नै भेट्न भनेर आउनुभयो । पासाङ गोपर्माले फेरि बिन्ती गरेपछि राजाले मेरो नामै किटेर छोड्ने आदेश दिएका थिए । राजा महेन्द्रले पनि कुनै इख लिएको देखिएन । त्यसपछि राजाले सुधारेर 'फेरि उसैका लागि' लेखे । मैले हिन्दीका प्रभावहरू सुधारे भनेर फेरि प्रशंसा गरेर लेखेँ । त्यसलाई अनेक अर्थ लगाइएको थियो ।

9) राजनीतिक परिवर्तनले साहित्यिक क्षेत्रमा कत्तिको परिवर्तन भएको देख्नुभएको छ ?

राजनीतिक परिवर्तन व्यक्ति फेरिएर हुँदैन । मानसिकतामा नै परिवर्तन हुनुपर्छ । अहिले कुन जनताले परिवर्तनको अनुभूति गर्नसकेका छन् गाँस बास र कपासमा । अहिले झन् पहिलेभन्दा राजनीतिक दुष्टहरू बढेका छन् । महँगी, भ्रष्टाचार र असमानता बढेका छन्, होइन र ?

10) साहित्यिक लेखनमा चाहिँ परिवर्तन आएको छ त ?

छ, साहित्यिक लेखनमा विकास भएको छ । राम्राराम्रा प्रतिभाहरू आइरहेका छन् । हरेक विधामा नै जमजमाएर आइरहेका छन् ।

11) नेपाली साहित्यमा हुने गरेका प्रयोगलाई कसरी हेर्नुहुन्छ ?

भाषासाहित्यलाई अगाडि बढाउन प्रयोग त चाहिन्छ नै तर प्रयोग उपयोगी हुनुपर्छ । हामीकहाँ प्रयोग अमूर्त चित्रकलाजस्ता क्लिस्ट भएका छन् । राम्रो भाषा नहुने, परिष्कृत शैली नहुनेहरू नै यस्ता क्लिस्ट प्रयोगमा लागेका छन् ।

'तेस्रो आयाम' तीनजनाले मात्र चलाएका हुन् र ? के देवकोटा, सम, सिद्धिचरण, रिमाल, व्यथितका रचनामा त्यस्ता आयाम थिएनन् ? राम्रो लेखकको सिर्जनामा तेस्रो आयाम हैन बहुआयाम हुने गर्छ । अर्को उत्तरआधुनिक भनेको के हो ? आधुनिक पनि कहिल्यै उत्तर, दक्षिण हुन्छ ? अशुद्ध केही नबुझिने वाक्य लेख्नासाथ उत्तरआधुनिक हुन्छ ? यस्ता अशुद्ध लेख्नेहरू र लेखेको कुराको निष्कर्ष निकाल्न नसक्नेहरू प्रयोगको नाममा अन्धकार प्रयोग गरिरहेका छन् ।

12) तपाईंहरूको झर्रोवादी आन्दोलन पनि प्रयोग नै होइन ?

नेपाली भाषामा हिन्दीको प्रभाव हटाएर सुधार गर्ने उद्देश्यले झर्रोवादी आन्दोलन भएको थियो । नेपाली भाषालाई नबिटुल्याउन संस्कृतका अप्ठेरा शब्दहरू नराख्ने, हिन्दी हटाउने र अङ्ग्रेजी नमिसाउने उद्देश्य थियो । त्यसको औचित्य र आवश्यकता अहिले पनि कायमै छ ।

13) तपाईंले जे भने पनि त्यस्ता प्रयोगहरू अभियानकै रुपमा अगाडि बढिरहेका छन्, हैन र ?

बढ्न दिनुस् न, यस्ता कहीँ नपुगिने अभियानमा । यो नबुझ्ने मूर्खहरूको अभियान हो । यी सब निरर्थक हुन्, समयमा सबै बढारिन्छन् । त्यसैले राम्रो लेख्नसक्ने र योग्य मान्छेहरू कोही पनि लागेका छैनन् ।

14) बेलाबेला पाताल जाने र फर्किने गरिरहनु भएको छ किन ?

यता प्रतिभाको कुनै कदर नभएको देख्दा विरक्त लाग्छ । काम पनि पाइँदैन, खान पनि पुग्दैन । अनि उतातिर बोलाउँछन् र जान्छु । पैसा पनि दिन्छन्, सुविधा पनि दिन्छन् र कदर पनि गर्छन् । अमेरिकामा हारवार्डलगायत धेरै विश्वविद्यालयले बोलाएका छन् तर आफ्नो देशमा कहिल्यै कसैले बोलाएका छैनन् ।

त्यसैले पनि जान मन लाग्छ तर उता गएपछि हिमाल सम्भिmनासाथ हृदय उथुलपुथुल हुन्छ । आमाको काखमा फर्किन मन लाग्छ । हाम्रो कलाले डाक्छ, संस्कृतिले डाक्छ अनि बस्नै सक्दिनँ फर्किहाल्छु ।

15) तपाईंले सम्पूर्ण जीवन साहित्यमा लगाउनु भयो, योगदानको मूल्याङ्कन कत्तिको भएको ठान्नु हुन्छ ?

यो देशमा राम्रो मान्छेको मूल्याङ्कन कहाँ भएको छ र ? हुनुपर्ने ठाउँबाट भएको छैन, बरू नहुनुपर्ने ठाउँबाट केही भएका छन् । अन्य देशमा लेखकहरूको ठूलो सम्मान छ । अस्ट्रेलियामा लेखकहरू एक ठाउँबाट अर्को ठाउँमा जानु पर्दा टिकट, आवास र भोजनको व्यवस्था गरिएको हुन्छ । उनीहरू त्यो ठाउँमा चाहे जति बस्न सक्छन् तर लेखेको देखाउनु पर्दैन । यो सुविधाभन्दा बढी सम्मान हो । यहाँ चाहिँ मैले देउकीको बारेमा अध्ययन गर्न खोजेँ । त्यसका लागि एक जना कवि, एक जना उपन्यासकार, एक जना संस्कृतिविद् र मलाई पठाउने व्यवस्थाका लागि अनुरोध गर्दा कतैबाट पनि वास्ता भएन । यहाँ साहित्यकारलाई मात्र होइन, कलाकार, सङ्गीतकार कसैलाई पनि सम्मान भएको जस्तो लाग्दैन ।

मधुपर्कबाट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।