19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फेसबुकको वास्तविक फेस

कथा राजेश नतांश November 16, 2010, 11:55 am

कम्प्यूटरमा ‘एकन’को ‘लोन्ली, आई एम मिस्टर लोन्ली...’ गीत बजिरहेको छ ।

म गीतको शब्द–शब्दमा हराउन पुगिरहेको छु । गीतमा भनिएजस्स्तो घटना

परिस्थिति मसँग मेल नभए पनि मलाई त्यो गीत एकदमै अद्भुत लागि रहेको छ । म

आफूलाई एकदमै एक्लो महसुस गरिरहेको छु । सबैजना छन् तर मलाई कोही नभएको

अनुभव भईरहेको छ । आफन्तीहरूको बिचमा म आफूलाई एकदमै एक्लो पाइरहेको छु –

‘आई ह्याभ नो बडी(ई)’। मानिरहेको छैन मेरो मन कसैसँग समीप हुन, मलाई सबै

निस्सार लाग्छ आजकल । मममा भएका सबै चीजहरूलाई म मिथ्या देख्छू । मैले

बुझिरहेको छैन, ममाथि के बित्न आँटिरहेछ ।

मैले जिन्दगीलाई निस्सारपूर्ण तरिकाले ग्रहण गरेको हैन, मैले जिन्दगीमा

दुःखै दुःख प्राप्त गरेको पक्कै हैन, मेरा जीवनका बस्तीहरू कदापि

उजाडिएका छैनन् तर किन यो मन बहकिन्छ यसरी ? मैले आत्ममूल्यांकन गर्न

सकिरहेको छुइनँ । म आफूलाई तातो रेगिस्तानमा यन्त्रवत् दौडिरहेको ऊँट

सम्झिरहेको छु । म आफूलाई समुद्रमा अनायास बतासिएर गन्तव्यहीन भएको छाल

जस्तो ठानिरहेको छु । म आफुलाई मेशिन ठानिरहेछु जो यन्त्रवत् भएर

वस्तुहरू उत्पादन गर्नमा विवश छ । म आफूलाई ऊन कात्ने चर्खामा

प्रतिविम्बित गरिरहेछु, जुन धागो चुडिएर असरल्ल छरिन सक्छ । सायद यो

उमेरको प्रतिफल हो कि या अतृप्त मुटुको वेग, मैले केही महसुस गर्न

सकिरहेको छैन । गाँसिन चाहन्छु कसैको सम्बन्धको धागोमा तर त्यसपछिका

दिनहरूमा उब्जने परिस्थितिहरू मलाई एकदमै भयावह लागिरहेछ ।

आजकल म नजानिँदो पाराले फेसबुकमा टहलिने गदैछु । अनायासै म आफूलाई

फेसबुकका भित्ता(वाल)हरुमा टाँसिरहेको छु । मन बहलाउन खोजीरहेछु, निस्सार

प्राप्तिका लागि तर त्यो एकदमै क्षणिक मात्र लाग्ने गर्दछ । त्यहाँ

टासिँएका कैयन् विरहको मालाहरूले मेरो घाँटी न्याकिरहेका छन्, निस्सार म

त्यो भोग्न बाध्य छु वा जानीजानी त्यो भोगिरहेको छु । मलाई ती पीडा र

क्रन्दनहरू असाध्यै भयावह लाग्ने गर्छन् । अनायासै ती परिचित भावनाहरूसँग

म टोलाउने गर्छु घण्टौंसम्म ।

म पनि अछुतो छुइनँ ती तमाम चीजहरूसँग । दुःख र सुखका भोगाईहरुलाई आफ्नो

मानसपटलबाट प्रतिलिपि गरी साझेदार गरिरहेछु यन्त्रवत् फेसबुक

स्टाट्सहरुका रूपमा तर मलाई त्यो एकदमै फिक्का लाग्छन्, चित्र बनाउँदै

गर्दा आकाशमा पोतिएको फिक्का नीलो रंगझैँ । ती कहीँ गाढा र कहीँ फिक्का

भएर पोतिएका छन् । केही गरी कालो रंग खसे त्यसको स्वरूप नै बिग्रिनेजस्तो

। सबै खल्लो लाग्छ मलाई किन–किन, सायद मैले चित्र बनाउँनै नजानेको हुदोँ

हुँ ।

यतिखेर मैले कसैलाई भेट्टाएको छुँ फेसबुकको माध्यमबाट । उनले नै मलाई

जीवनमा रंग भर्न सिकाइरहेकी छिन् । उनी पनि मजस्तै छिन् निकै संवेदनशील

अनि भावनामा बग्ने । ‘खुशी’ नाम गरेकी उनले जीवनमा कहिल्यै खुशीलाई

आत्मसात गर्न सकिनन् । उनी पनि अपवादमय जीवन जीउन बाध्य छिन् मजस्तै ।

हामीहरू भर्खरै मात्र नजिकिएका हौं यो ‘भच्र्यूअल’ चौतारीमा । हाम्रो

परिचय भएकै दिन हामीले आफ्ना मनहरू पनि साटासाट गरेका थियौं । विष्फोटित

हुन आँटिरहेका भावनाहरूको सफल विनिमय गरेका थियौ । आजकल यसो सोच्ने गर्छु

निकै नाटकीय थियो हाम्रो भेट अनि गफगाफ । उनको खुल्ला हृदय अनि मिजासिलो

स्वभावले नै म उनीप्रति नजिकिएको हुँ ।

रातो कुर्ता सुरुवालमा सजिएर टेबलमा केही लेख्दै गरेको मोहडामा खिचिएको

तस्वीर बाहेकका फोटाहरू छैनन् उनको ‘प्रोफाइल’मा । अनुहार अलिकति झुकेको

अवस्थाको सो फोटो मैले घण्टौंसम्म नियाँलेको थिएँ । जसलाई विश्लेषण गर्न

उपयुक्त शब्दावलीहरू म पाउन सक्दिनँ यो चराचर जगत्मा । मलाई त्यो तस्वीर

एकदमै आत्मीय लागेको थियो अनि उनीसँगको भावनात्मक सम्बन्धले ‘फेबीकल’झैँ

काम गरेको थियो, त्यतिबेलै टाँसेको थिएँ मैले आफ्नो हृदयका भित्ताहरूमा

कहिल्यै ननिस्कने गरी ।

मलाई अझैपनि त्यो दिन सम्झना छ । त्यतिखेर हामीले आफ्ना हृदयहरू साटासाट

गरेका थियौं । ती पलहरू मेरो मानसपटलमा फेसबुक भित्ताझै गरी टाँसिएका

छन्, जुन कालजयी भएको छ मेरो लागि । रातको साढेँ ११ बजेको थियो । उनी र म

भावानात्मक उत्कर्षमा पुगेका थियौँ । हाम्रा ती भावनाहरू समागम भएर एउटा

बेग्लै ऐतिहासिकता कायम गर्न लागिरहेका थिए । हाम्रो त्यो भावनात्मक

विनिमयमा शान्त र क्लान्त वातावरणले साथ दिइरहेको थियो । सिमसिम पानी

परेको त्यो चिसो वातावरणले मेरो शरीरलाई स्पर्श गरेको थियो । मैले जीवनमै

पहिलोचोटी यत्रो हार्दिकता र यत्रो समर्पणको आभास पाएको थिएँ । सारा रात

अरु मस्त निद्रामा रहेका बेला उनले मलाई सम्पूर्ण कथाहरु सुनाएकी थिइन ।

मैले त्यसलाई सहर्ष स्वीकार गरेको थिएँ ।

-o-o-o-

“मैले यो जीवनका मोडहरुलाई कहिल्यै बुझ्न सकिनँ । मलाई यी जीवनका मोडहरू

अत्यन्तै गतव्यहीन लाग्छन् । यी गन्तव्यहीन बाटाहरूमा मान्छे कसरी

हिँड्छन् ? म अहिले ठ्याक्कै बच्ची जस्तो भएकी छु । मेरो मानसपटल खाली छ

यतिखेर, म शून्य छु र मलाई सबै थोक शून्य लाग्छ, मूल्यहीन छन् तिनीहरू ।

जीवनका गन्तव्यहीन बाटाहरू कहाँसम्म छ त्यो मलाई थाहा छैन । मेरा

पद्चापहरू अनवरत लम्किरहेछका छन्, उन्मुक्तिको खोजीमा । म खोलामा झरेको

पातझैँ बगिरहेको छु बगरै–बगर । खोलाको गन्तव्य सुनिश्चित नभएझैँ मेरो पनि

गन्तव्य छैन ।

म प्रत्येक पल सोचिरहेकी हुन्थेँ, मेरो सपनाको मान्छेलाई । कस्तो होला ऊ,

के गर्र्दैछ होला, उसलाई के मन पर्छ, के मन पर्दैन, के ऊ पनि मजस्तै

सोच्दो हो ? यस्तै प्रश्नहरूले मलाई कुत्कुताउने गर्दथ्यो । भविष्यमा

ऊसँग बिताउनु पर्ने रङ्गिन पलहरू सम्झदै म लजाउने गर्थे र रातीपीरी नै

हुने गर्दथे । मलाई एकदमै लाज लाग्थ्यो । प्रत्येक पल म आफूलाई ऐनाको

अगाडि उब्याउने गर्दथेँ, त्यसबाट प्राप्त फरक अनुभूति म लुट्न तल्लीन

हुन्थेँ ।

म एकदमै फरक स्वभाव भएकी मान्छे । मेरो आफ्नै संसार थियो । त्यो संसार

मैले नै सिर्जना गरेकी थिएँ, मलाई त्यी निकै प्यारो लाग्ने गर्थे कारण म

स्वतन्त्र पन्छीझै निलो आकाशमा उडिरहेकी हुन्थेँ । कहिलेकाँही मलाई आफ्नै

स्वभाव पनि भिन्न लाग्थ्यो । मलाई टिभी हेर्न पटक्कै मन पर्दैन थियो म

प्रत्येक पल पुस्तककै संसारमा हराईरहेकी हुन्थेँ । कहिलेकाँही त मम्मीले

म हराएको सूचना नि सार्वजनिक गर्नुहुन्थ्यो, मलाई कति पढेकी, पागल होलिस्

भनेर गाली गर्नुहुन्थ्यो तर मलाई आफ्नै संसार प्यारो लाथ्यो ।

मेरो पढाई कलेजमै सबैभन्दा अब्बल थियो । प्रत्येक परीक्षाहरूमा म नै टप

हुने गर्दथेँ । त्यसो त मलाई आफ्नो पढाई पनि पूरा गर्नुपर्ने थियो । म

त्यसमै लीन भएर लागीरहेकी थिएँ । साथीहरूले कहिलेकाँही भन्ने गर्थे, “ओई,

खुशी तेरो पढाई तँजस्तै ‘सेक्सी’ छ । तलाई केको चिन्ता ! पास भईहाल्छेस्

जसरी नी । ‘कम अन फुल्ली इन्जोय’ गर ‘लाइफ’लाई, जस्तो हामीहरूले गरेका

छौं । जवानीको मज्जा लुट्न सिक है लाटी ।” म तुरुन्तै विरोध गर्दथे,

“सबैको आ–आफ्नै नेचर हुन्छ नी । सरी म आफ्नै संसारमा खुशी छु । म कुनै

पनि ‘रिलेशनसीप’लाई ह्याण्डल गर्न सक्दिन । मलाई तिमीहरूको देखेर नै

ह्याङ भईसक्यो । एसएमएस, कल अनि वीसेजहरू आदान-प्रदान गर्ने फुर्सद छैन्

। मलाई मेरो संसारमा स्वतन्त्र छोड् देओ । म स्वतन्त्रपूर्वक उड्न

चाहन्छु ।”

ममाथि प्रेम प्रस्तावका भारीहरू नथुप्रिएका होइनन्, मलाई ती वास्तै

लाग्दैन थियो । मैले आफ्नो समस्याको आफैँ हल गर्न सकिनँ । पठाई दिएको

थिएँ एउटा पत्रिकालाई मेरा समस्याहरू, त्यो यसप्रकारको थियो –‘आई एम

कलेज–गोइङ्ग गर्ल एण्ड मेनी ब्वाइज ह्याभ आस्क्ट मी आउट सो–फार बट आई

ह्याभ रिफ्यूज्ड देअर प्रपोजल्स थिङ्ककिङ द्याट दिस इज नट द राइट टाइम टु

ह्याभ अ ब्वाईफ्रेण्ड । सम ब्वाइज रियल्ली डिस्टर्ब मी बाई सेण्डिङ्ग

म्यासेज्स एण्ड गिभिङ मी मिस्डकल अल द टाइम । इट ह्याम्पर्स माई स्ट्डीज्

। आई कान्ट कन्सन्ट्रीयड अन माई स्ट्डीज । आई वाँज भेरी ब्राइट स्टुडण्ट

एट स्कूल । प्लीज गीभ मी अ सोल्यूसन ।’

म केटाहरूलाई बच्चा सोच्ने गर्दथे । उनीहरूलाई ‘डल’ चाहिन्छ त्यो ‘डल’

हामीहरूलाई बनाउन चाहन्छन् । म ‘डल’ भएर खेलिन चाहन्न । म आफ्नै अस्तित्व

सिर्जना गर्न चाहन्छु, त्यो अस्तित्व हो खुशीको । म विश्वस्त थिए मेरो

सपनाको मान्छे मलाई लिन अवश्य आउनेछ र मलाई ती सारा खुशी दिनेछ जसको लागि

म व्याकुल छु । म उसकी सहचारिका, जीवन संगीनी, अर्धाङ्गिनी बन्नेछु अनि

उसका हरेक पाइला–पाइलामा साथ दिनेछु । म उसको प्रेमिका होइन उसको अभिन्न

अंग बन्न चाहन्छु । जुन अंगको विलम्बमा ऊ केही गर्न नसकोस् । म ऊसँग नै

समर्पित हुन चाहन्छु ।

तर समय परिस्थिति मैले सोचेजस्तो भएन । मैले सोचेभन्दा भिन्न रुपमा

प्रष्फुटित भयो । मेरो कलेजको पढाई सकिसकेको थियो । मैले अत्यन्तै राम्रो

अंक ल्याएर उर्तीण गरेको थिएँ । मैले जागिर पाउने पक्का थियो । म

विद्यार्थी जीवनबाट जागिरे जविनमा रुपान्तरित हुन चाहँदै थिएँ तर पासा

मतिर पल्टिएन ।

घरमा मलाई बाबाममीले विवाहका लागि कर गर्नुभयो मैले त्यो स्वीकार गरेँ ।

मेरा बाबाको साथीले मलाई आफ्नो बुहारी बनाउन चाहनु भएको रहेछ । उहाँको

छोरा अमेरिकामा इन्जिनियर पढ्दै रहेछ । उहाँहरूले मसँग ‘इन्गेजमेन्ट’ गरी

केही महिनापछि विवाह गर्ने सोच बनाउनु भएको रहेछ । योजना मुताविक हाम्रो

‘इनगेजमेन्ट’ सम्पन्न भयो । उसले मलाई औठी भिराएर अमेरिकातर्फ लाग्यो ।

पढाई सकेर नेपालमै बसी केही गर्न चाहन्थ्यो ऊ ।

विवाह हुन लगभग तीन महिना मात्र बाँकी थियो । म नौलो सम्बन्धमा बाँधिन

जाँदै थिएँ । मलाई विवाह अनि प्रेमका बारेमा विस्तारै महत्व बढ्दै गएको

थियो । म यस विषयहरुमा प्रशिक्षित हुन चाहन्थें । थुप्रै भयो मैले

इन्टरनेट नचलाएको । साथीहरू पढाई सकिए लगत्तै कहाँ–कहाँ गएँ मैले पत्तो

पाउन सकिरहेकी थिइन । केहीकोही ‘मैले विवाह गरेँ’ भन्दै फोन गरिरहेका थिए

मैले आफ्नो अधिकांस समय इन्टरनेटमा व्यतित गर्न थालेँ । जिन्दगीमा

मोडहरुबाट टाढिएका साथीहरुसँग गफ गर्न पाउँदा विगतका तीतामिठा पलहरू

ममाथि द्रविभूत हुँदै थिएँ । उनिहरु एकाएक टाढिएका कारण उनीहरूको मूल्य

बढेको थियो मेरो लागि ।

साह्रै अचम्मको लाग्दथ्यो मलाई ‘विदित’का क्रियाकलापहरू त्यसबेला । ऊ र म

कलेजका प्रतिद्वन्द्वी थियौं । म सबै कुरामा अब्बल थिए । ऊ र मबीच

प्रतिस्पर्धा पर्ने गर्दथ्यो । हामी पढाईका सन्दर्भमा मात्र गफ गरेर

घण्टौघण्टा व्यतित गर्ने गर्दथ्यौ त्यसबेला । आजपनि सम्झिरहेकी छु । तर

हाम्रो प्रतिस्पर्धा निकै स्वच्छ थियो । हामीले एकअर्कालाई सम्मान गर्ने

गर्दथ्यौ । उसले मलाई प्रश्न सोधेर हैरानै पार्ने गर्दथ्यो । मैले ‘केटा

भएर त्यति पनि हल गर्न सक्दिनौं !’ भनेर जिस्किदा ऊ लाजले भुतुक्कै हुने

गर्दथ्यो ।

हामीले कलेज टप गर्यौं, उत्कृष्ट नम्बर ल्यायौं । आजकल ऊ मसँग नजिकिएको छ

। ऊ एउटा बैंकको म्यानेजर भएर काम गर्दै रहेछ, पछि अनलाइनमा भेट भएपछि

मलाई थाहा भएको थियो । हामीहरू च्याटमा घण्टौघण्टा गफिने गर्दथ्यौं ।

विगतको गतिविधिहरू सम्झेर हामीलाई लज्जाको महशुस हुने गर्दथ्यो । हामी

च्याटमा जीवनका विविध चरणहरूका बारेमा गफ गर्ने गर्दथ्यौं । उसले मेरो

भावना बुझेको थियो मैले उसको । हामीलाई अरु केहीको आवश्यकता थिएन । उसलाई

मान्छेको जड्तावादी क्रियाकलाप र रुढ चिन्तन पटक्कै मन पर्दैन थियो ।

उसलाई पारम्परिक सँस्कृतिको परिधिभित्र कुजिँएर बस्न मन पर्दैन थियो, ऊ

स्वतन्त्रपूर्वक स्वच्छ विचार र चिन्तनमा डुब्ने गर्दथ्यो पनि त्यहि

सोच्ने गर्दथेँ । उसका र मेरा भावनाहरू नङ र मासुझैँ समेल थिएँ ।

हामीहरूबिच कुनै पनि दरार थिएन, कुनै पर्खाल थिएन । भावनात्मक रूपमा निकै

गहिँरिएका थियौ । उसले जीवनलाई सकारात्मक रूपमा ग्रहण गर्न चाहन्थ्यो ।

मेरो विवाह आउन करिब एक हप्ता थियो । विदित र म एकदमै नजिकिएका थियौ ।

हामी दुवै एकअर्कालाई असीम प्रेम गर्दथ्यौं नजानिँदो तरिकाले । हाम्रा

भावनाहरू साटासाट भएका कारण हामीहरूलाई सबै कुरा थाहा थियो र त्यो

सन्दर्भमा हामी गफ गर्न चाहेनौं । हामीलाई पूर्ण विश्वास थियो

एकअर्काप्रति ।

एकदिन एउटा अचम्मको घटना घट्न पुग्यो । मेरो विवाह हुन लगभग दुई दिन

मात्र बाँकी थियो । दुई दिनपछि म कसैकी हुँदै थिएँ । मेरो सम्पूर्ण जीवन

कसैका लागि सुम्पिदै थिएँ । मेरो अस्मिता र कौमार्य कसैको हुँदै थियो ।

विदितले अनायास फोन गर्यो र फोनमा रुनुसम्म रोयो । मैले छोरो मान्छे यसरी

रोएको कहिल्यै थाहा थिएन । मलाई असाध्यै नरमाइलो लाग्यो म पनि ऊसँगै रोएँ

। मेरो विवशता छर्लङ्ग थियो । हामी आफैँ सम्हालियौं ।

घरमा विवाहका सम्पूर्ण तयारीहरू भईसकेका थिए । बुबाममीहरू अत्यन्तै खुशी

देखिनु हुन्थ्यो । उहाँहरूको खुशीमा मन रुदै भएपनि खुशी भएको नाटक गरेँ ।

मेरा आँखाहरूले थाम्न सकेनन्, आँशूहरूका वर्षा भए । बाबाले ‘एकदिन त

विवाह गर्नै पर्छ’ भनेर सम्झाउँनु भयो तर मेरो मनले मानिरहेको थिएन ।

विवशता र लाचारीपनाहरूले मलाई क्रमिक निमोठिरहेका थिए त्यो मैले बाबालाई

अनुभूत गराइन ।

म बाबालाई दुःखी बनाउन चाहदिन थिएँ । उहाँले मेरा लागि धेरै दुःख बहन

गर्नुभएको थियो । सानै देखि अभाव अनि सीमितताको परिधीभित्र बाँचिकी मलाई

सीमित समर्पणको परिधी थाहा थियो । म त्यहि परिधीमै रहन चाहेँ । सानैदेखि

अङ्कल अहिले मेरा ससुराले लगाउनुभएको गुन मैले तिर्नुपर्ने थियो । अन्तः

मेरो विवाह सफलतापूर्वक सम्पन्न भयो ।

म अहिले एउटै वृत्तमा घुमिरहेको घडीझैँ घुमिरहेको छु । वृत्त बाहिर जाने

मेरो अवस्था छैन । अहिले म ‘सि.ए’. पनि भईसकेकी छु । केही राम्रा

कम्पनीहरूको लेखा परीक्षण गर्ने गर्दछु तर मैले जिन्दगीको लेखा परिक्षण

कहिल्यै गर्न सकिन । समयका बेमेलहरूले कहिल्यै हिसाब पूरा हुन दिएनन् ।

मैले जोडघटाऊ मात्र गरिरहेँ फगत् कहिल्यै मेरो जिन्दगीको हिसाब मिलेन ।

अपूरो नै रहेँ ।

कहिलेकाँही त लाग्छ म उनकी श्रीमति होइन जस्तो । मैले केही बुझ्न

सकिरहेकी छुइन उनको चरित्र । समस्याको जरा कहाँ छ, त्यो थाहा पाए पो हल

गर्न सकिन्छ । जरा कहीँ माटोमा गाढिएर हराएँपछि कसको के लाग्छ र !

मान्छेको मनभित्र पसेर लेखापरीक्षण गर्ने सूत्र कहिल्यै सिकाएनन् मेरा

गुरुहरूले । के सम्भव होला र मान्छेको मनमित्र पस्न ?

अहिले हामीहरूबिच एक श्रीमान् र श्रीमतीबिच कायम हुने तमाम सम्बन्धहरू

कायम छन् तर एकतर्फीमात्र । ऊ आफूलाई बलिष्ट ठान्छ । म उसकी कोही

होइनजस्तो ऊ प्रत्येक रात मैनबत्ती पग्लिएजस्तै पग्लिने गर्छ तर मलाई

कहिल्यै पगाल्ने चेष्टा गर्दैन । विवाह भएको यत्रो वर्ष बितिसक्दा पनि ऊ

मसँग राम्ररी खुल्न सकेको छैन । मैले नै उसलाई जबरजस्ती खुलाएकी छु एउटा

गुलाबको कोपिला जबरजस्ती पत्र–पत्र गरेर । म पाषण हुँ । के पाषण पग्लिएको

देख्नुभएको छ तपाईले ? तर मलाई पाषण कसले बनायो ? प्रश्न निरुत्तर पाउँछु

‘विदित’ विवाह गरेर आजकल जपानमा बस्छ । ऊ अहिले एकदमै खुशी छ । जीवनको

दोश्रो चरणको यात्रा ऊ रमाइलोपूर्वक गर्दैछ । उसको त्यो यात्रामा उसकी

श्रीमती र छोरीले साथ दिएका छन् । आजकल हामीबिच गफ हुन्छ खाली औपचारिक

मात्र । फोनमा सुनिन्छ उसको छोरीको आवाज, “बाबा आज होलीडेई हैन । घुम्न

जानुपर्छ है !”

-o-o-o-

उनका यी दुखान्त वाक्यांशहरू मैले ‘च्याटबक्स’मा दोहोर्याएर पढिरहेँ ।

मनलाई थाम्न सकिन । आँखाबाट अनायास अश्रुधारा खस्यो, रुदैछु भनेर भन्न

सकिन । ‘स्याड् इमोशन’ भएका चिन्हरू नत्थी गरेर पठाईदिएँ । उनलाई के भनेर

आश्वसन दिऊँ ? म खाली भए । मानसिक सन्तुलन ठिक ठाउँमा नभएजस्तो । आजकल म

सोचिरहेछु मेरो किचकिचाहट व्यर्थको रहेछ, मेरो असन्तुष्टी फगत् रहेछ यहाँ

मान्छेहरू आँशु पिएर बाँचिरहेका रहेछन् । यी सब फगत् मुटुका क्रन्दनहरू

रहेछन्, अनि वास्तविकता ठ्याक्कै अर्को रहेछ ।

आजकल हामीहरू अझ नजिकिएका छौं । हामीहरू विगतमा भुलेर वर्तमानमा

रमाइरहेका छौं । म उनलाई पगाल्न कोशिस गरिरहेछु । उनी पग्लिन तत्पर छिन्

। म उनमा वात्सल्यको अनुभूति गरिरहेछु । आखिर भावना मिलेपछि केही चाहिन्न

रहेछ, अरू सबै गौण रहेछन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।