19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दुख्यो

कविता कोमल श्रेष्ठ मल्ल November 17, 2010, 2:48 pm

म र मेरो कर्तव्य के हो ?

सिकाउने एउटा पाठशाला चाहियो,

बन्द, हडताल, आगजनी र चक्काजाम,

लुटपाट, हत्या, दमन, तोडफोड र हानाहान

निस्तेज गर्ने, एउटा वधशाला चाहियो

किनकि, एउटा कुर्ची दुख्यो,

निरन्तर दुख्यो, निरन्तर दुख्यो ....

आतंक, आततायी, हत्या, तहसनहसको आंधिहुरी

शस्त्र अस्त्र, भाला, कोर्रा जन्जीर र खुकुरी

गाउँ पस्यो, शहर पस्यो,

अनि भाषा, भेषभूषा, धर्म, संस्कृति दुख्यो,

भक्त, भक्ति, शक्ति र प्रकृति दुख्यो

किनकि एउटा कुर्ची दुख्यो

निरन्तर दुख्यो, निरन्तर दुख्यो ....

रगत पानी सरोबरी

मेचीकालीको छातिभरि

अनि चिहान बढ्यो, चिता दन्कियो !

एकता म¥यो, अनेकता जन्मियो !

किनकि एउटा कुर्ची दुख्यो

निरन्तर दुख्यो, निरन्तर दुख्यो ....

जात जातका फूलबारी

हक, अधिकार, स्वाधीनताको मारामारि

न्याय, कानून, समानताका धेरै शिकारी

त्यसैले बुद्धको आँखा फुट्यो

सगरमाथाको शिर झुक्यो

आमाको अस्मिता लुटियो

अराजकताको ज्वालामुखी फुट्यो

किनकि, एउटा कुर्ची दुख्यो

निरन्तर दुख्यो, निरन्तर दुख्यो ....

लन्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।