19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तेस्रो नजर

कविता बिबश बिप्र November 19, 2010, 11:21 am

समुल नतर्कीहरु

मयूरका प्वाँख सापटी माग्दै

खोल्सा खोल्सामा नाचगान गरिरहेछन

राँके भुतहरु

राँको बाल्दै

तालमा ताल मिलाउदैछन

सतीसाल र बयरहरु

मधुर मनोकांक्षा बोकी

रंगनाच चिहाँउदाछन

पिशाचहरुको गाँउमा खुशीको जगजगी देखिन्छ l

खहराहरु

बान्की मिलाउदै उँभोतिर उक्लीरहेछन

ढिस्काहरु

भेलको बाटो पहिल्याउन

निरन्तर माटो खन्दैछन्

भुत र प्रेतहरु

नयाँ बटुवाको आगमन ब्यग्र भइ कुर्दाछन

किचकन्नीहरुको भान्छामा हर्षको झोल उम्लदो देखिन्छ l

चालवाज जोकरहरु

पत्ता सम्हाल्दै

मकैका दाना गनिरहेछन

बकम्फुसे टपरटुँइयाहरु

चोरीका दुई-चार मकैको च्याँखे थाप्दैछन

सुर र सुराहरु

काँचका पारदर्शी गिलाससँगै छचल्किदाछन

कुकुरको घाँटीमा झुन्डेको घन्टी

एकोहोरो शंख फुक्दो देखिन्छ l

बिराटनगर, हाल: आबुधाबी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।