19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बिचलन

कविता प्रशान्त खरेल November 19, 2010, 11:24 am

कोरिएर पानाभरि

अक्षर–शब्द

शब्द–पङ्क्ति–कविता

विशाल अर्थ संयोजन

ट्वाक्क ट्वाक्क मिलेर

कहिले मायालुको सम्झना

छरिन्छ मुटुभरी

एक मृगतृष्णा

मरूभूमीको यात्रीको

दृष्टीभ्रम

त्यसमै बेलगाम घोडाका

टापहरू

नर्तकीको पाउजुका छिन्छिनाहट

घङ्घरूको झन्झनाहट

उफ्

यो कस्तो दरिद्रता

सोचाइको

एक युवती

नजिक नजिक हुँदैछे

खोइ उसका पाउमा पउजु छैन ?

यात्री

खालीखुट्टा (पाउ) पनि यात्रा गर्न सक्छ

घोडाका खुट्टाहरू

खाली हुँदैनन् क्यारे

मनका घोडाहरू

खालीखुट्टै दौडन्छन्

किन भिन्नता छ यस्तो

भिन्नता समयमा हुँदैन क्यारे

समय पनि

विकराल हुँदोरहेछ

विकलाङ्ग समय

आफ्नो मृत्यूको घोषणा

आफै गर्छ

आफ्नै इजलासमा

आफैविरूद्ध मुद्धा हाल्छ

अनि आफ्नो मृत्यूदण्डको सजाय

आफै तोक्छ

कस्तो अस्वभाविक

स्वभाविक त मृत्यू पनि हुन्न

टपक्क टिपेर

कर्मभूमिबाट

उदारता देखाउँछ

अब उप्रान्त

कर्म गर्नु पर्दैन तैले

कर्मशिल हुनु

मानवको प्राकृतिक गुण हो

मानव पनि एक कविता हो

अपुर्ण, अधुरो

भावभङ्गिमा नमिलेको

सिकारू कुमालेले

सिक्दै फ्याक्दै गरेको

परिक्षण भाँडा जस्तो

कुमालेले चक्र घुमाउँछ

वा

चक्रले कुमाले घुमाउँछ

विसङ्गती भयो

हेराइमा

हेराइ दृष्टी होला

सङ्गती त ब्रम्हाण्डमा पनि छैन

सबै आ–आफ्नै तालमा

चलिरहन्छन् निरन्तर

ब्रम्ण्डिय पिण्डहरू

स्वचालित, स्वनिर्देशित

मानिस पनि

मांशपिण्डको गोला मात्र हुँदो हो

अस्थिपञ्जर नभए

किन चाहिन्छ अस्थिपञ्जर ?

पुर्णता, स्थीरता, स्थायित्व

सुन्दरता, आधारभूमी

वा अरू केहीको लागि ?

कस्तो मुर्खता

एक आङ्ग घाम थापेर

हामी घोषणा गर्छौं

सुर्यका इतिवृतिको

लेखाजोखा गर्छौं

उसको जन्म मृत्यूको

सत्य यहि होला

प्राकृतिक नियमसंगत

उत्पति –> अन्त

प्राकृतिक छटाहरू कोरिन्छन्

शब्दहरूको जन्जालमा

किन हुँदैन एकै

अन्तस्करणको आवाज

आत्मा बेचेर महाकुम्भमा

फर्किन्छ हटारू

लसक् लसक्

पाइलाका डोबहरू बनाउँदै, मेट्दै

गनिरहेको मनमनमै

पाइलै पिच्छेका

आगतका प्रतिफलहरू

ढुङ्गो ठडिन्छ बाटामा

विगतको

फिस्रिक्क

उसले हिसाव विर्सिएको छ

लडखडाउँदै उठ्दा

यथार्थको पहाड

स्वभिमान बनेर ठडिन्छ

पहाड चिसो हुन्छ कि तातो

कालो हुन्छ कि रातो

आफ्नो हुन्छ कि विरानो

हुँदैन अनुभुति

कालो ठिहिराउने विरानो रातमा

कसरि सक्छ

अनुभुति गर्न

चस्मा लगाएका आँखाले

मनको कुनै सुरक्षात्मक चस्मा हुँदैन

अति संवेदनशिल

सजिलै च्यातिन्छ

ध्यार् ध्यार

सानो तनावमै

काँच जस्तो पो होला

मन त

टुक्रिने सजिलै

ताप, चाप, प्रहार

जे सुकैले पनि

काँच जस्तै पारदर्शि मन

कतै ध्वाँसो लाग्यो भने ?

कसरी गोचर हुन्छ जगत ?

धमिलो विस्मृति मात्र रहला

जीवित रहनुको अर्थमा

अर्थ धेरै बुझिन्छ शब्दमा

अर्थ विनाको शब्द

कस्तो हुँदो होला ?

वायु विनाको जगत जस्तो

कति स्वतन्त्र छ वायु

वहिरहन्छ निरन्तर

होला

कहाँ वहन्छ यो ?

किन वहन्छ यो ?

उच्च चाप –> न्यूनचाप

कति विभेद छ

स्वतन्त्रताको उपभोगमा पनि

किन हुँदैन समानता ?

हावा, जल, जगत, जीवन

असमानता

अ+समानता

अ*समानता

सकारात्मक – बिबिधता

नकरात्मक – बिभेद

उपभोग बस्तुको

भावना – चेतना – विचार

अ–उपयोगि

किन सँगाल्छ, अँगाल्छ मान्छे

संवेगहरूलाइ

शब्द

यिनै संवेगहरू निर्माण गर्छ

त्यहाँ

जीवन, जगत, देश लुकेको हुन्छ

बाँचेको हुन्छ देश नसा नसामा

नसा तरलिकृत भएर

बहन्छ देशकै खोलानालामा

पसिना निस्कन्छ भिजाउन

देशकै माटोलाइ

हिमालयदेखि

विस्तारै विस्तारै

फेदि, फाँट हुँदै

महासिन्धु पुग्छ

हाम्रो सभ्यता

जहाँ

हाम्रो जीवन बाँचेको छ

सभ्यता सृष्टीको सुरूवात हो कि

सृष्टी सभ्यताको सुरूवात ?

एक अघोषित द्वन्द

बुझाइमा, विचारमा

दुबै सुरूवात होइनन

मात्र क्रमिकता

बाँच्ने उपक्रमहरूमा

सुरू कहाँ हुन्छ ?

हिँउ पग्लन्छ हिमालको

पानी बग्दछ खोलामा

रसाएर धर्त्ती

जीवन फैलिन्छ

लेउ, झ्याउ, झार बनेर

हिउँ–पानी–वाफ–बादल–पानी–हिउँ

खै सुरूवात कहाँ छ ?

जीवन–मृत्यू–जीवन

उत्पति खै ?

विचारको श्रृङ्खला टुट्दै जान्छ

क्षण प्रतिक्षण

प्रतिस्थापित हुन्छ

नयाँ–पुरानो–नयाँ

क्रमिकता एक सोचाइको

सोच्नु मुर्खता हो

रूखको हाँगामा

वास वसिरहेको पंक्षी

ढाडै, ठहरै मर्यो

विचारको निम्छरोपना

खै उसका गोडा चलेका छैनन्

चलायमान हुनु

गतिशिल हुनु

जैविकता हो यथार्थको

सारा ब्रम्हाण्ड गतिशिल छ

दिनभर भागीरहन्छ मान्छे

जित्छु संसार भन्दै

ठिङ्ग उभिन्छ पर्वत

खै गतिशिलता ?

चक्कर लगाउँछ पृथ्वी

पर्वत हो गतिशिल

नसुस्ताउने, नथाक्ने

उभिरहने ठिङ्ग

एक निश्चितता

दृष्टान्त

उफ्

किन दुख्छ छाती ?

छातीभित्र मुटु हुन्छ

मुटु किन दुख्दैन

कहाँ हुन्छ माया ?

किन जन्मन्छ घृणा ?

यौवनको अभिलाषा

छरिन्छ दिमाग भरि

मस्तिष्क शुन्य, सन्न

खाली, खाली

त्यहाँ रगत पुग्दैन क्यारे

यो उपज हो अनुभुतिको

जीवन भरीन्छ नसा नसामा

कसिएर रक्तनलिहरू

कोसिका, कोस

बराबर बराबर बराबर

रोकिन्छ गति स्नायूको

सकिन्छ गीत जीवनको

झ्या................प्.................प

निभ्छ बत्ति

अँध्यारो, अँध्यारो अनि अँध्यारो

खै ज्योती कहाँ छ जिवनको ?

खोज खोज

छाम्छाम् छुम्छुम् छाम्छाम् छुम्छुम्

चेतना हो ज्योती

चुम्दैछ विस्तारै

जीवनको सुन्दरता

गौरादह – ४, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।