19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गोटीहरु

कविता राजा पुनियानी November 19, 2010, 11:41 am

(क)

कति बज्यो हँ? सात? बाफ रे...

के छिटो बितेको हौ समय पनि?

रातो ताकेर स्ट्राइकरलाई कुद्न लगाउँछ मङ्गलेको औंला। कुद्न अह्राउँछ सीधा। त्यो एक पटक बाङ्गिएर कुदेछ भने गेम एक गोटी ढीलो तुरिन्छ। तनाउ बढ़्छ। समय चुहिँदैछ। हातबाट। औंलीहरूबाट। लड़ाइँबाट।

छेउमा बसेर बीएम खैनी माड़्दैछ हेर्दै बोर्डतिर। मोम बत्ती भर्खर बाल्नुपर्‍यो। घण्टौं जान्छ बिजुली यहाँ ठीक्क बेलुकी भएपछि। खैनीजस्तै चेपेपछि ओठमा चुस्दा-चुस्दै तुरिने जीवनका के-के जातीहरू। तुरिने जगतका को-को जातीहरू। चुस्दा-चुस्दै।

त्यही स्ट्राइकरझैं कुन्नि के ताकेर हरिश लामा हिँड़्दैछ उ...। कुद्नु-कुद्नु खोजेर। हातमा कुन्नि के-को पोका त्यो? यताउति केही हेर्दैन उ। हरिश लामा हिँड़ेको छ-छ। बरबराउँदै कुन्नि के-के...

(ख)

कता गाको?... कलकत्ता कि दिल्ली हो यसपालि?... ए फर्किहाल्ने?... कताकोले पत्याउलान् यसपालि चाहिँ?...

ला... हरिश लामा अर्को गोटीमा ठोकिन्छ कि?...

हरिश लामा जाँदा-जाँदै अर्कै गल्लीभित्र अल्पिएछ भने?...

हरिश लामा ओझेल परेछ भने?

यो पुरानो सड़क अझ एक मान्छे पुरानो हुनेछ र यसको इतिहासमा एक पत्रा कथा चाहिँ थपिन्छ।

कसैले पढ़्नेछ र कसैले च्यात्नेछ त्यो एक पत्रालाई।

(ग)

आम्मामा कस्तो फुलेछ आँप त यसपालि...

झररर फुल्छन् फुल्ने नफुल्ने फूलहरू र फूलजस्तै फूलहरूसँगै। हिजो गेम अनडिसाइडेड ब्रेक भएछ हगि... अलिकति उता सरिदिनोस् न... बसुँ म पनि। कुनै निर्णय बिना आएको छु। हो त ...अनिश्चितै मन पर्छ गेम। चाखलाग्छ तपाईंहरूको मोहमाया र डरहरूको। सेखी र ईबीहरूको। योजनाहरूको।

कोही सरिदिन्छ र बस्छ कोही।

सरेन भने ठेलेर सारिदिनेछ एउटाले अर्कोलाई।

यस्तै चलिरहन्छ चौकीको रित्तोपन भर्ने खेल। चौकीमा बस्नेले खेल खेल्न, खेल हेर्न र खेल सञ्चालन गर्न सक्नुपर्छ। बस भइगयो। उसको शैक्षिक योग्यता, नैतिक योग्यता जे-जस्तो होस्। खेल खेल्ने र चलाउने सीप भए पुगिहाल्छ।

(घ)

सरको पनि फुलेछ केश त सेत्तै। हुनु त सेत्तै फुल्नुलाई नै हुन्छन् केशहरू। कमुला कोपिलाहरू र आगोमय आन्दोलनहरू पनि। फुलेपछि त्यो फुलाइले हेराइहरू पाउँछ। सम्मानहरू र तिरस्कारहरू पाउँछ।

मुख्य कुरा, फुल्नुको एउटा आफ्नै समय हुन्छ। समयको एउटा आफ्नै फुल्नु भएझैं। त्यसैले समयमै उम्रिराख्नुपर्छ र समयमै बाँचिराख्नुपर्छ। पछि गएर समयमै फुल्नलाई।

हाँस्नु चाहिँ नछाड़्नुहोस् है सर। नत्र हेप्छ समयले। कमजोरीले।

(ङ)

भित्तामा अड़ेसिएको बोर्ड फेरि उत्तानो पर्‍यो। भीष्मझैं तीरहरूको ओछ्यानमा अड़्किएको। लमाइ+चौड़ाइ+गहिराइ+समय... चारवटा आयामहरूको खुट्टामाथि चित परेको बोर्ड गोटीहरूको हिँड़ाइ, कुदाइ र उफ्राइको मैदान छ।

फेरि सुदर्शनहरू हिजोको लास्ट गेम कन्टिनिउ गर्छन्। बीएम आइपुगिसकेको छैन। पानी पर्दैछ। पानीले रोकिएझैं छ। छाता अस्तिकै वर्ष हराएको हो उसको। यो पालि नयाँ छाता किनेको छैन अझ। योपालिको वर्षा त यतिकै छाता नकिनी बिताउन आँटेको छ। टुप्लुक्क आइपुग्नेछ निथ्रुक्क भिजेरै भए पनि बीएम। किनभने बीएम एडिक्ट छ घटनाहरूको। क्यारमको क्रेजी भएझैं। अटुट हुन्छ उसको गोजीमा खैनीको डिब्बा। उसको यहाँ अटुट हुनुझैं उसको खैनीको डिब्बा।

इतिहास पनि घरि-घरि दोहोरिन्छ हरेक घुम्तीको घुमाइसँगै बीएमको यहाँ घरि-घरिको हुनुझैं। कथाहरू बाङ्गिए पनि कथावस्तुहरू आफ्नो ठाउँ फेर्दैनन्। संवादको मृत्यु भइरहे पनि मान्छे बोल्नु छाड़्दैन नचाहिँदो शब्दहरू, निकम्मा वाक्यहरू र नंपुसक गालीहरू। अचानक कोठाबाहिर बीएमले मुख छाड़ेको सुनिन्छ। आइपुगेछ उ तर आज उ अघि नै मातेको हुनुपर्छ र नै यसरी उ काँचो गाली बक्दैछ। नमातेको हुँदो हो त उ भलाद्मीझैं सभ्य-सुसंस्कृत-शिष्ट भाषामा नै गाली दिन्थ्यो।

सूचना: त्यो शिष्ट भाषालाई हामी परिपक्व भाषाको रूपमा चिन्छौं।

(च)

नभिजेको मान्छे मात्र डराउँछ पानीदेखि। एकपल्ट भिजेका मान्छे घरघरबाट भिज्नै त निस्कन्छन् फेरिफेरि भिज्नुको मेलामा। उत्सवमा। स्थिति र घटनाहरूको वर्षामा नभिज्नुलाई मान्छेले छाता ओड़्न थाल्यो भने उ जिउँदै मर्दो रहेछ। अप्ठ्यारो र गाह्रोहरूमा हुन्छ मान्छे। लड़ाइँमै हुन्छ। गोटीहरू गोटीहरू मात्र रहन्छन् गेमअघि र गेमपछि बट्टाभित्र कैद। गेमै हो गोटीको गोटीपन।

(छ)

भित्तामा हुस्सेले ओसिएका पोस्टरहरू छन्। ती पोस्टरबाट हेर्दैछन्- भन्दैछन्- चिच्याउँदैछन् बिटल्सहरू। गाउँदैछन् राल्फाहरू। ओसिएर हुस्सेले भित्ताको चुना पनि सेतोबाट पहेंलोपहेंलो भएको छ।

पोस्टरहरूको र क्योलेण्डरहरूको भीड़मा आउन मान्दैन कुनै नयाँ विचार बोकेको यात्री। त्यसो र त्यही कोठाको कोठापन कोठाभरि गन्हाइबस्छ दिनभरि। रातभरि। मनभरि। चेतनाभरि।

(ज)

चोकमा बरालिएका काँचो मन्तव्यहरू-

-कमान उड़्ने नै छाँट छ। लक-आउटको गतिलो ताला ग्रहणझैं लाग्नेछ छेल्दै आजलाई।

-अब फ्लोरिकल्चर गर्नुपर्छ। फूलको डिमाण्ड राम्रो छ।

-अब इकोटूरिज्म थाल्नुपर्छ।...

चोकमा झुण्डिएका नाङ्गो प्रश्नहरू-

-त्यहाँ त्यो झण्डा कसले गाड़्यो?

-त्यहाँ त्यो बराबरको चिनो कोर्ने को हो हँ?

-मेरो छातीलाई कसले कुल्च्यो?

-मेरो जिब्रो कसले थुत्यो?...

(झ)

फूल फूलै उभिनुपर्ने। फूल कुन्नि केजस्तै उभिरहेको छ। बिना कुनै नाम।

आगो आगो नै हुनुपर्ने। आगो कुन्नि केजस्तो जलिबसेको छ। बिना कुनै इज्जत।

न फूल फूलजस्तो छ। न आगो आगोजस्तो।

बिक्री भइसकेको अधिकारको लड़ाइँलाई उसले चियाउँछ संसदको अग्लो देवालभित्र। देख्दैन केही।

मूल सड़कमा हिनहिनाइरहेका छाड़ा घोड़ाका टापहरू सुनेर उ रक्सी खान पस्छ सबैभन्दा अँध्यारो गल्लीको सानो र सस्तो होटेलमा।

आउने पुस्ताबाट पैंचो मागेको ऋक्थको सम्पत्ति उड़ाएर इतिहासको हत्या गरेर फर्केको छ एउटा परास्त पुस्ता।

(ञ)

फूलमुन्तिर टुसुक्क बसेको छ एउटा कालो ढुङ्गा। त्यस ढुङ्गाको नाम जेसुकै होस्। त्यसको ढाड़मा कुँदिएको छ एउटा गति। आदिम मानवले पनि ओड़ारका भित्तामा गतिका स्थिर धर्काहरू कोरेका छन्। कुदिरहेका पशुहरू। कुदिरहेको शिकारी उ। कुदिरहेको शिकार उ।

कुदिरहेको गोटी बोर्डमा पस्यो अहिले भर्खरै। पस्नु अनिवार्य जो थियो। बीएम बसेकै पकेटमा। सञ्जीवको रैछ स्ट्राइक। जण्डा हुँदैछ है सञ्जीव पनि। पुरानै तर साह्रो शट थियो। सुदर्शन हारेछ यहाँ। मङ्गलेलाई मारेछ। यो शट नचलेको भए अरूले उसलाई खाने थिए। उ एक्लै बाँच्यो अरूलाई खाएर।

चिया पनि फिका छ। फिका छन् हेराइहरू। र इन्स्टलमेण्टका टुक्रे बचाइहरू।

हान्नेहरू बसेका छन्-छन्। गोटीहरू चाहिँ कुदेका-कुदेकै। कुदेका-कुदेकै। कुदेका-कुदेकै।

हान्नेहरू बसेका छन्-छन्। गोटीहरू चाहिँ कुदेका-कुदेकै। कुदेका-कुदेकै। कुदेका-कुदेकै।

हान्नेहरू बसेका छन्-छन्। गोटीहरू चाहिँ कुदेका-कुदेकै। कुदेका-कुदेकै। कुदेका-कुदेकै।

पुनश्चः

यतिखेर नचिनिने- नदेखिने चेपचापहरूबाट भूपि शेरचन भन्दैछन्- पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला।

मान्छेहरू कान चिर्ने आइटम सङ्गमा नाच्दैछन् समझौताको उत्सव मनाउँदै। हातहातमा हारको नाममा जाम छ।

पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला। पाइताला। हामी फगत पाइताला।

भूपि शेरचन भनेका-भनेकै। भूपि शेरचन भनेका-भनेकै। भूपि शेरचन भनेका-भनेकै। भूपि शेरचन भनेका-भनेकै। भूपि शेरचन भनेका-भनेकै। भूपि शेरचन भनेका-भनेकै। भूपि शेरचन भनेका-भनेकै। भूपि शेरचन भनेका-भनेकै। भूपि शेरचन भनेका-भनेकै। भूपि शेरचन भनेका-भनेकै। भूपि शेरचन भनेका-भनेकै। भूपि शेरचन भनेका-भनेकै। भूपि शेरचन भनेका-भनेकै। भूपि शेरचन भनेका-भनेकै।

हान्नेहरू बसेका छन्-छन्। हानिमाग्ने गोटीहरू। गोटीहरू चाहिँ कुदेका-कुदेकै। कुदेका-कुदेकै। कुदेका-कुदेकै। हान्नेहरू बसेका छन्-छन्। हानिमाग्ने गोटीहरू। गोटीहरू चाहिँ कुदेका-कुदेकै। कुदेका-कुदेकै। कुदेका-कुदेकै। हान्नेहरू बसेका छन्-छन्। हानिमाग्ने गोटीहरू। गोटीहरू चाहिँ कुदेका-कुदेकै। कुदेका-कुदेकै। कुदेका-कुदेकै। हान्नेहरू बसेका छन्-छन्। हानिमाग्ने गोटीहरू। गोटीहरू चाहिँ कुदेका-कुदेकै। कुदेका-कुदेकै। कुदेका-कुदेकै। हान्नेहरू बसेका छन्-छन्। हानिमाग्ने गोटीहरू। गोटीहरू चाहिँ कुदेका-कुदेकै। कुदेका-कुदेकै। कुदेका-कुदेकै। हान्नेहरू बसेका छन्-छन्। हानिमाग्ने गोटीहरू। गोटीहरू चाहिँ कुदेका-कुदेकै। कुदेका-कुदेकै। कुदेका-कुदेकै। हान्नेहरू बसेका छन्-छन्। हानिमाग्ने गोटीहरू। गोटीहरू चाहिँ कुदेका-कुदेकै। कुदेका-कुदेकै। कुदेका-कुदेकै। हान्नेहरू बसेका छन्-छन्। हानिमाग्ने गोटीहरू। गोटीहरू चाहिँ कुदेका-कुदेकै। कुदेका-कुदेकै। कुदेका-कुदेकै।

(प्रयोगवादी कविको गद्य कविता- सं.)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।