19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मनोमालिन्यको बधशाला

कविता रामप्रसाद प्रसाईं November 26, 2010, 11:13 am

गजधम्म धुमिइएका असीमित आकाशहरू

सीमान्त उज्यालाहरूलाई छाँद हाल्दै

भावोद्वेगका

गर्त र गर्भहरूमा

गौरवान्तितरूपले

अङ्ग सर्वाङ्ग नांगिइएर

प्रदर्शन गरिरहेछन्—

ताण्डवहरू

सौन्दर्यका समविन्दुहरूमा

जहाँ, जसरी, जुनरूपले

क्षितिज मेटिइएको होस्

सम्मोहित आक्षाँश र देशान्तरका

समानान्तर

समानुपातिक

समावेशी

सहअस्तित्वगामी कसी र कसौँटीहरूमा

सँघर्षको नाम जीवन हुँदा

समयको भित्तामा

टाँगिइएका घण्टाघरहरू

बिगबेनहरू, ईफिल टावरहरू

धरहराहरू, ग्रेटवाल

अनि

भौतिक जगतमा विलयन भएका

तर

मानसिकतामा कहिल्यै

एकीकृत हुन नसकेका

जिजीविषाका बर्लिन वालहरू

हेर्दा हेर्दै

देख्दा देख्दै

माथि असीमित आकाशका क्षितिजमुनि

मथिङ्गलको बधशालामा कटाक्ष गरिरहेका

निगाला, मालिङ्गा, अर्घेली र लोक्ताका झाङ्गहरू

लेउ र बेर्ना कोरल्न अभ्यस्त भइरहँदा

पाइथोगारस् गनिरहेका होलान्—

ढुङ्गाहरूलाई भेडा

भेडाहरूलाई ढुङ्गा

अनि

एकबाट एक घटाउँदा

एकै बाकि रहने

फेरि

एकमा एक अटाउँदा

एकै हुने

अचम्मको देवकोटाको गणित देखेर

पूर्वीय दर्शनको खन्ती गुथेर

हिँडे होलान्

गिठ्ठा, तरूल, भ्याकुर

खोज्न

ब्रह्माण्डको नाभिकीय फलक्रममा

चाकाचुली खेलिरहेको

उत्तोलकको लिस्नोमा

घनघस्याको उकालो जोखेर

अनि भन्दा हुन्—

एक अर्को इपिफ्यानी

अकाट्य ब्रह्मसत्य रहस्यको

ब्रक्ममूर्हुत समयमा

घृणा, रिस, राग, ईर्ष्या र घमण्डले

खर्लप्प निल्छ—

अस्तित्वलाई

जनजीविकालाई

बाँच्नुको मर्म र नबाँच्नुको अधर्मलाई।

कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग

हाल: अबुधाबी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।