19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

घर ५ -९

कविता केवलचन्द्र लामा November 26, 2010, 11:25 am

घर-५

औ जाऊँ

एउटा फूलबारी खोज्दै।

एक्लै छोड़िदिऊँ यो घरलाई।

हामीजस्तै होस्‌ न यो।

बोल्ने साथी नपाएर।

सुन त,

चिनी अलि बेसी हालेर हलूवा बनाऊ।

त्यो फ्लास्कमा चिया हाल।

हाम्रो दोकानमा बिस्कुट उधारो दिन्छ की?

जाऊँ ।

छोड़िदिऊँ आज दिनभरि एक्लै।

दशैंमा छोरीले ल्याइदिएकी साड़ी लगाऊ

म त्यो नयॉं पेन्ट लाउनुपर्‍यो।

एकछिन्‌ घर नबढ़ार त,

मेरो कुरा सुन त।

भनेजस्तो कोट पो छैन।

जुत्ता सिलायौ के?

हेर कस्तो मज्जले घाम लागेको छ।

मान्छे बॉंच्नु मात्र होइन आमा चैं

हॉंस्नु पनि पर्छ।

मान्छेलाई पूजापाठ मात्र होइन

रमाइलो पनि चाहिन्छ।

नाति-नातिनीको अवोध अनुहार भूल्न नसके पनि

मत्थु ज्वाइँको अनाचार

र छोरीको हाहाकार भुलिदेऊ।

एकछिन श्रम भुलौं। अपमान भुलौं।

दाह्रा ङिच्चाइ भुलौं।

फर्कँदा साथीभाइकोतिर निस्कौं।

मट्टितेल खोजौं। ग्यासको सिलिण्डर सोधौं।

माथि बड़ीआमालाई इस्कूसको मुन्टा माग है फर्कँदा।

लु लु छिटो गर।

फर्कंनुलाई घर त छँदै छ।

हामीले छोरा-छोरी

नाति नातिनी आउने दिन पर्खेजस्तो

पर्खोस न घरले हामीलाई।

मेरो सुगरको दवाइ

तिम्रो प्रेसरको

पनि त किन्नु छ।

घर-६

घरमा एकजना हिमाल बस्छ।

हिमाल अग्लो हुन्छ र शिर झुकाउँछ

ठूलाबड़ाको सामुन्ने।

घरमा फर्साइलो हिमाल बस्छ।

घरको हिमाल

मलामी जान्छ

जन्ती जान्छ

र घर फर्कँदा

वृद्दा गुरूआमाको सौदाको झोला बोकिदिन्छ।

घरमा मिचिक्क हॉंस्ने

झिल्के हिमाल बस्छ।

हिमाल सेतो हुन्छ।

हिमाल राति पनि सेतो हुन्छ।

घर-७

कोपिलाजस्तै खुशी घरमा बस्छ।

चिन्ताफिक्रीको डड़ॉंक बारूला घरमा बस्छ।

ह्वेलजत्रो खुशीको ऐनामा

घरको अनुहार हत्तपत्त अनुवाद हुँदैन

चोरजस्तो सुटुक्क पस्छ घरमा

चिनाजाना अफशोस।

श्रंगार गरिरहेको बेला

कुनै घाउ फर्केर

पछिल्लतिरबाट बोलाई पो हाल्छ की भन्ने पासोमा

जाकिरहन्छ घर।

घरले सहनुसक्छ-खास कुरा त्यति हो

र घर बॉंच्नुसक्छ स-साना खुशीहरूमा

-बा को पेन्सनको कुरा छिन्यो

आमा सञ्चै छिन्‌

केटा-केटी बिग्रेका छैनन्‌,पढ़्‌दैछन्‌....

कोपिलाजस्तै खुशीको रंगमा

क्या खुल्छ घर।

घर-८

एकपछि अर्को आउँदैछन्‌

घरमा अँध्याराहरू।

बत्तिएर कुद्ने बसमा आँउदैछ

चिसो हावा।

अँध्यारोको ख्वामितले पठाएको छ घामलाई

विदाबारीको सूचनापत्र।

छताछुल्ल छ विरामी घामको

रगतका फाल्साहरु

घरमाथिको आकाशमा।

एउटा आफ्नै घर बनाउनु नसकेकोमा

दिनभरि आकाश ताक्ने घामबूढ़ा खिन्न छ।

अवकाशग्रहण गरेर घर छोड़िजॉंदैछ बूढ़ा घाम।

सेवानिवृत भएर घर फर्केको छ

क्लान्त घरबूढ़ा।

दिनभरि छिचोलेको

टन्टलापूर सपनाको किताब

अन्तिमखेपलाई दोहोर्‍याउँदैछ बूढ़ा घाम।

उज्यालोको अन्तिम बिँड़ी सल्काएर

धुम्‌धुम्ती बसेको छ बूढ़ा चामे।

गौंथलीले तातो चिया दिएकी छैन।

सायद घरमा छैन गौंथली।

तयार भइरहेका होलान्‌

रात्री-पाठशालामा आउनु

अपरिचित तारागण।

हेलित घाम डुब्नु खोज्दैछ।

तर न कुनै सागर छ क्षतिजमा

न आँगनमा कुनै कुवा।

घर-घरमा

भखर्रै बलेका छन्‌

हष्टपुष्ट बत्तिहरू।

गौंथलीले सहारा दिएर

चामे बूढ़ालाई घरभित्र लगेकी छे

र ग्यास-चुह्लामा

पानी बसालेकी छे।

घर -९

बाहिर लखेटेको छ

घरले मलाई घरबाट।

ओछ्‌यानको मनतातो वक्षको लोभमा छु

वाहिर जाड़ोमा।

घरको मनोपस चुक्कुल खोल्ने

महोत्सवहरू छन्‌ मसित।

थकानले सेलिएको छ घरको देह।

फतक्क गलेको छ घरको गुलाबी कुर्कुच्चा।

मेरो छालाबाट उख्लिएको छ घर।

प्रेमपत्रका पङ्‌क्तिहरूबाट

पन्छाएको छ घरले मलाई।

भयानक भाल्टेज बड़ेको उज्यालोलाई

गोप्य कुनाकाप्चाको छिड़्‌किनी खोल्नु नदिनु

मेरो घरबाट।

दार्जीलिङ

(कविको यो 'घर' शृंखला अन्तर्गतको अन्य कविताहरु क्रमश: राखिने छ । सं.)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।