16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

फेमिली थेरापी : ‘चम्पा’ उपन्यासका सन्दर्भमा

कृति/समीक्षा बिन्दु शर्मा November 26, 2010, 7:49 pm

१. विषयप्रवेश

चम्पा महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६–२०१६) को एक मात्र औपन्यासिक कृति हो । देवकोटाको मृत्युपश्चात २०२४ सालमा प्रकाशन भए पनि यसको रचना भने २००४ सालमै भएको जानकारी यसको प्रकाशकीयबाट पाइन्छ । लेखकबाट सामाजिक उपन्यास नाम दिइएको यस कृतिमा कविताका क्षेत्रमा स्वच्छन्दतावादी मानवतावादलाई आत्मसात गरेका देवकोटाले तत्कालीन समाजको यथार्थ चित्रण गर्न खोजेका छन् । त्यसैले चम्पा देवकोटाका अन्य कृतिभन्दा भिन्न प्रवृत्तिका साथ देखा परेको उपन्यास हो । राणाकालीन सामाजिक परिवेशका विकृति र त्यसमा नारीले भोग्नुपरेको विवशतालाई देखाउन सक्षम यो कृति तत्कालीन पारिवारिक द्वन्द्वात्मक स्थिति र तनावको चित्रणमा पनि त्यतिकै सबल देखा पर्छ ।

‘फेमिली थेरापी’ पारिवारिक तनाव समाधानका लागि प्रयोग गरिने एउटा महत्त्वपूर्ण विधि हो । यसलाई एक किसिमको मानसिक उपचारपद्धति (साइकोथेरापी) मानिन्छ । यसले परिवारका सदस्यहरूका बीच एकअर्कासँग सौहार्द तरिकाले अन्तक्र्रिया गर्न सहयोग पु¥याउँछ र विशेष गरी पति–पत्नीको आपसी कलह समाधान गर्दछ । साथै यसले पारिवारिक सम्बन्धलाई मानसिक स्वास्थ्यको पनि महत्त्वपूर्ण अङ्ग ठान्दछ । यसमा विवाह र पारिवारिक तनावबाट मुक्त हुने माध्यमका रूपमा सुसञ्चार वा ‘कम्युनिकेसन थेरापी’ उपयुक्त मानिन्छ किनभने सुसञ्चारबाट नै सदस्यहरूबीच समझदारी कायम हुन सक्तछ । फेमिली थेरापीको अभावमा परिवार नराम्ररी विघटन हुन्छ र सदस्यहरू परिवारबाट पलायन हुने वा पागल हुने स्थिति पनि सिर्जना हुन सक्तछ । प्रस्तुत लेख चम्पा उपन्यासको पारिवारिक विघटनका कारक र लेखकीय रणनीतिको अध्ययनमा केन्द्रित छ ।

२. परम्परागत लैङ्गिक भूमिकाहरू

राणाकालीन समय र परिवेशमा रचना गरिएको चम्पा उपन्यासका पात्रहरूलाई त्यतिबेलाको समाजमा प्रचलित परम्परागत भूमिकाहरू प्रदान गरिएको छ । यसमा नारी र पुरुष पात्रहरूको कामको निर्धारण परम्परागत मूल्यमान्यतायुक्त समाजबाट भएको छ । पुरुषले के काम गर्नुपर्छ र के काम गर्नुहुँदैन; नारीले कस्ताकस्ता काम गर्नुपर्छ भन्ने कुराको निक्र्यौल पनि यहाँ परम्पराकै आधारमा भएको देखिन्छ । चम्पाको माइतीमा उसका हजुरबुबा सुब्बा श्रीकान्त र हजुरआमा तथा काका र काकीहरूको काम र जिम्मेवारीमा स्पष्ट भिन्नता रहेको छ । यस उपन्यासको आरम्भमै सुब्बा श्रीकान्त भागवतको किताब सिसाकलमले चिनो लगाउँदै पढिरहेका देखिन्छन् । सुब्बेनी बज्यैचाहिँ कृष्णाष्टमीको पूजाका लागि बुहारीहरू बुलु र चुनुलाई पूmलको माला गाँस्न लगाइरहेकी छन् । उनको कोठा काँचका पुतली, प्लेट र चियाका प्यालाहरूले सजिसजाउ छ र यी सबै जेठो छोराले कलकत्ताबाट ल्याइदिएको भनी उनी बताउँछिन् । उनको यस भनाइबाट जेठो छोरो कलकत्तामा पढ्दै गरेको बुझिन्छ । यसबाट नारीहरू घरधन्दा र पूजापाठमा बढी तल्लीन भएको तथा पुरुषहरू घरमा र घरबाहिर जहाँ भए पनि पढाइमा व्यस्त भएको सङ्केत मिल्दछ । त्यस्तै, चम्पा र चम्पाका जेठानीहरूको पढाइका बारेमा उपन्यासमा कतै केही सङ्केत गरिएको छैन बरु उनीहरूले घरमै पात गाँस्ने, सासूको पिँडुलामा घिउ घस्ने, नचाहिँदा खुराफाती गफ गर्ने गरेको देखिन्छ । उता रामकान्त र उसका दाजुहरूचाहिँ पुरुष भएकाले स्कुल र कलेजमा पढिरहेको सन्दर्भ उपन्यासमा उल्लेख गरिएको छ । यसले तत्कालीन समाजमा प्रचलित नारी र पुरुषका कार्य तथा भूमिकामा रहेको अन्तरलाई प्रस्ट्याउँछ । यसरी हेर्दा चम्पा उपन्यासका पात्रहरू परम्परागत लैङ्गिक भूमिकामा बाँधिएका देखिन्छन् । यसबाट प्रस्तुत कृति राणाशासनकालीन काठमाडौँको पारिवारिक वस्तुस्थिति आकलन गर्न सक्षम रहेको देखिन्छ ।

३. लोग्ने–स्वास्नीको सम्बन्धमा असमान संरचना

सामाजिक सन्दर्भमा लोग्ने र स्वास्नीको सोचाइ तथा इच्छा–आकाङ्क्षामा देखिने भिन्नता नै लोग्ने स्वास्नीको सम्बन्धमा रहेको असमान संरचना हो । हरेक दम्पतीका सबै सोचाइ र चाहना समान हुनुपर्छ भन्ने नै त छैन तर केही हदसम्म रुचि मिल्नुचाहिँ सफल दाम्पत्य जीवनका लागि आवश्यक सर्त मानिन्छ । यही असमान संरचनाका कारण पनि चम्पा उपन्यासमा रामकान्त र चम्पाको पारिवारिक जीवन कारुणिक बनेको हो । रामकान्तले आपूm सानो कदको वा च्यान्टे भएकाले चिनियाँ कदकी श्रीमतीको चाहना राखेको छ । त्यसैले ऊ बिहे गर्नुभन्दा अगाडि नै चम्पालाई देखेपछि यस्तो प्रतिक्रिया दिन्छ ः

चिनियाँ कदकी भन्न त अलि सुहाउँदैन बा ! यिनी जरुर बढालु छन् । अग्ली गोरीमाको भेनेशियन सुन्दरी... । म चाहन्छु आपूmजस्ती च्यान्टी । पहेँली यति छेपाराले चुसेजस्ती होइन... तर खाने मुख ता खूब हिसीलाग्दो हो । केश पनि आर्य दृष्टिले ता उत्तम । मेरो च्यान्टा आदर्श भए त खासा हुने हो तर मलाई डर लाग्छ यिनी हलक्क बढ्नेछिन्... रत्यौलीमा खियौटे पोइ भनेर खिसीमा जानुपर्नेछ ।” (पृ.१७—१८)

यसरी रामकान्तको आफ्नो सोचाइ र चाहनाभन्दा विपरीत संरचना भएकी केटी चम्पासँग बिहे भएको छ भने चम्पाले पनि आपूmले सोचेजस्तो पति पाउन सकेकी छैन । बिहेको भोलिपल्ट कपडा फुकालेर भान्सातिर गएका रामकान्तलाई पहिलोपल्ट देख्दा उसले व्यक्त गरेका तलका अभिव्यक्तिबाट पनि चम्पालाई लोग्ने मन नपरेको स्पष्ट हुन्छ ः

परेवा छाती रे त्यस्तो बाङ्गेको हाड उठेको... हाम्रो बुबाले भन्नुहुन्थ्यो । आँगभरि छिः के विधि डन्डीफोर होला... सब पाक्या छ, कस्तो फोहोरी मान्छे होला छिः... गालामा के त्यति लामो खुकुरीले काट्याजस्तो अथवा भालुले चिथो¥याजस्तो !... च्यान्टा घोडा भनेर जस्तो गिज्याएको हो ! ... नामै च्यान्टी भइसक्यो आर्का !... भँगेराजस्तो... काखी गन्हाएर वाक्क आइरहेछ अझ !’ (पृ.१९)

त्यसै गरी चम्पा उपन्यासको कथयिताका तलका भनाइले पनि उपर्युक्त कुरालाई नै पुष्टि गर्दछन् ः

चम्पा चाहन्थिन् केही आर्कै, पर्न गयो केही आर्कै । स्वीकारले कसैको व्यक्तित्व बढ्छ कसैको बाङ्गिन्छ । चम्पाको सपना चकनाचूर भयो । कहाँ सिनेमा स्टार हुने भावना, कहाँ यो भङेरेदेव ! (पृ.१९)

माथिका अभिव्यक्तिबाट चम्पा र रामकान्तको सम्बन्धमा धेरै असमानता देखिएको छ । उनीहरू दुबैमा सँगै रहँदाबस्दा प्रेम भएको देखिए पनि यो लोग्ने र स्वास्नी भन्ने पदका आधारमा भएको औपचारिक प्रेम हो, स्वाभाविक आकर्षण भने होइन । त्यसैले उनीहरूमा आफ्नो चाहनाअनुरूपको लोग्ने र स्वास्नीको अभाव अचेतनमा रहिरहेको छ, जसले गर्दा रामकान्त श्रीमतीलाई भित्रभित्र माया गर्दागर्दै पनि उसलाई घरमा एक्लै छोडेर हिँडेको छ भने चम्पा पनि पतिले छोडेपछि चिन्तित र निराश हुनुको साटो कठोर र आक्रोशित बन्न थालेकी छ । चम्पामा आफ्नो जीवन बिटुलिएको वा जानीजानी पतिले समाप्त पारिदिएकोमा क्रोध गुम्सिएर बनेको छ । सिनेमाको स्टार बन्न चाहने चम्पाले पति पनि सुन्दर नायक कल्पना गर्नु अस्वाभाविक पनि होइन । त्यस्तो पतिको अभावकै क्षतिपूर्तिका लागि उसले कृष्णको मूर्तिलाई सिँगार्ने, पूजा गर्ने, आफ्नै कोठामा राख्ने र काखी च्याप्नेजस्ता असन्तुष्टि प्रदर्शनका क्रियाकलाप देखाएकी छ । यसबाट देवकोटाले २००४ सालमै फ्रायडको मनोविश्लेषण सिद्धान्तलाई उपन्यासमा सचेत प्रयोग गरिसकेको देखिन्छ । यसमा प्रायोगिक पक्षका साथै मनोविश्लेषणात्मक सन्दर्भका सैद्धान्तिक आधार पनि दिइएकाले देवकोटालाई पहिलो मनोवैज्ञानिक नेपाली उपन्यासकार मान्न सकिने ठाउँ छ । यस कुराको सङ्केत चूडामणि बन्धु (२०५८ः१७७) ले पनि गरिसकेका छन् ।

वास्तवमा चम्पा उपन्यासमा पाइने यही असमान संरचनाकै कारण चम्पा र रामकान्तको दाम्पत्य जीवन दुर्घटित भएको हो । यसबाट प्रस्तुत उपन्यास लोग्ने र स्वास्नीको सम्बन्धमा देखिएको असमान संरचनाका कारण हुन सक्ने पारिवारिक दुर्घटनालाई देखाउन सफल भएको पुष्टि हुन्छ ।

४. समझदारीपूर्ण संवादको अभाव

कुनै पनि द्वन्द्वका अवस्थामा दुबै पक्ष सहमत हुने र दुबै पक्षलाई चित्तबुझ्दो हुने गरी सुसम्बन्ध कायम गर्ने संवादलाई समझदारीपूर्ण मानिन्छ । राजनीतिक, सामाजिक, पारिवारिक आदि क्षेत्रका व्यक्ति र समूहबीचका असमझदारीहरू यही संवादका माध्यमबाट हटाउन सकिन्छ । यसका लागि कुनै एउटा पक्ष लचिलो रूपमा प्रस्तुत हुनै पर्दछ । चम्पा उपन्यासमा चाहिँ कतै पनि समझदारीपूर्ण संवाद भएको देखिँदैन । उपन्यासको आरम्भमै चम्पाको बिहेको प्रसङ्गमा उसका हजुरबुबा र हजुरआमाबीच समझदारी भएको छैन । हजुरबुबाले “बिचरी कोपिलै छ । आँग फुकेकै छैन । पिटिक्क जान्न पराईघरमा ?’ (पृ.८) भनेर चम्पाको बिहे एक–दुई वर्ष नगरिदिने तर्क गरेका छन् तर हजुरआमाचाहिँ धर्म कमाउने नाममा उसको बिहे नगरी नछोड्ने बताउँछिन् ः ‘बाह्र वर्ष थोरै हो त ! च्वाट्ट पर सरे, बिताएन ?... अनि कन्यादानको पुण्यलाई कत्रो बयान छ ! स्वर्गको यति सजिलो बाटो छोड्न हुन्थ्यो अहिले ?’ (पृ.८)

यसरी चम्पाको परिवारमा बुज्रुक ठहरिएका दुईजनाको सहमतिबिना नै चम्पाको बिहे हुन्छ । पतिको घरमा पनि चम्पा, सासू र जेठानीहरूका बीचमा समझदारीपूर्ण संवाद भएको छैन । चम्पाका लोग्नेस्वास्नीकै सम्बन्धमा पनि राम्रो समझदारी देखिँदैन । बिहेको लगत्तै बिरामी परेपछि रामकान्तले चम्पालाई सही कुरा राम्ररी सम्झाउनुको साटो उसबाट टाढा भाग्न मात्र खोजेको छ भने चम्पाले पनि पतिको त्यस भगाइका सम्बन्धमा खासै चासो देखाएकी छैन । टीबीको उपचार गराई टोखा अस्पतालबाट घर फर्केपछि रामकान्त र चम्पा यौनसम्बन्धको परहेजमा रहनुपर्ने तथ्यका बारेमा घरका अन्य सदस्य र चम्पा–दम्पतीका बीच सहमतिपूर्ण संवाद हुनुपथ्र्यो तर यहाँ उल्टै अल्लारे बैँसका लोग्ने–स्वास्नीलाई सजाय दिएजसरी बेग्लाबेग्लै कोठामा राखिएको छ । एउटै घरमा रहेकी जवानीले भरिपूर्ण पत्नी चम्पालाई देख्दा रामकान्त उसँग नजिकिन र उसलाई छुन चाहन्छ र चम्पा पनि पतिको समीपमा रहन चाहन्छे तर परिवार र डाक्टरले देखाएको मृत्युको त्रासका कारण रामकान्त चम्पासँग टाढिनुपर्दा निराश बन्दै जान्छ । यसले उसमा पत्नीको संसर्गको कल्पनाले भय सिर्जना गर्छ । त्यसैकारण नै ऊ भौतिक सुखको साटो आध्यात्मिकतालाई वरण गरी अल्लारिएर घरबाट निस्कन्छ । लोग्ने दीर्घरोगी भएको र आफूलाई बिनाजानकारी छोडेका कारण पनि चम्पा भित्रभित्र मुरमुरिएकी छ र उसलाई सासू, जेठानीहरूले खिसीट्युरी र हेपाइ झन् बढी सहनुपरेको छ । त्यसैले पनि चम्पा उनीहरूप्रति अझै बढी आक्रोशित बन्दै गएकी हो । उपन्यासको अन्त्यतिर रामकान्तले घर छोडेर गएपछि उनीहरूमध्ये कोही पनि लचिलो र नम्र रूपमा प्रस्तुत भएका देखिँदैनन् बरु दुबै सासूबुहारीमा एकअर्कासँग नझुक्ने अहम् प्रवृत्ति बलियो हुन गई जटिल पारिवारिक कलहसमेत निम्तिएको छ । यसैको परिणामस्वरूप सासूसँग पिँडुलामा घिउ घस्नेजस्तो सानो कुरामा विवाद चर्किएपछि चम्पा उत्तेजित भई घर छोडेर माइतीतिर लागेकी छ । यसरी चम्पा उपन्यासमा लोग्ने–स्वास्नी, सासु–बुहारी एवम् घरपरिवार र छोराबुहारीबीच समझदारीपूर्ण संवादको अभावकै कारण चम्पा र रामकान्तको जिन्दगी बर्बादीतिर घकेलिएको हो ।

५. नारी खलपात्रता

चम्पा नारी पात्रहरूलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको उपन्यास हो । नारीकै केन्द्रीयतामा रचना गरिएको हुनाले यसमा खलपात्रका रूपमा पनि नारीलाई नै उभ्याइएको छ । यसमा विशेष गरी चम्पाकी सासू र जेठानीहरूमा खल प्रवृत्ति बढी देखिन्छ । उनीहरूले चम्पाका हरेक क्रियाकलापमा अनावश्यक निगरानी राख्ने, टीकाटिप्पणी र व्यङ्ग्य गर्ने गरेका छन्, जसले गर्दा चम्पाको आक्रोश चुलिँदै गएर पोखिने स्थिति उपन्यासमा सिर्जना भएको छ । रामकान्त र चम्पाको प्रेमसम्बन्ध बलियो हुँदै गरेका बेला उनीहरूलाई परहेजका नाममा बेग्लाउने काममा चाहिँ सासूको भूमिका सक्रिय देखिन्छ । छोराको लामो आयुका लागि उनी बुहारीलाई जस्तोसुकै मूल्य चुकाउन लगाउन पनि तयार हुन्छिन् । उनकै व्यवहारका कारण भर्खर अङ्कुराउँदै गरेको चम्पा र रामकान्तको प्रेम झाङ्गिन नपाउँदै समाप्त भई उनीहरूको जीवन र भविष्यसमेत अनिश्चित बनेको हो । यसरी पति–पत्नीको प्रेम र पारिवारिक सम्बन्ध नै समाप्त पार्ने, उनीहरूलाई घरबाट निक्लन बाध्य बनाउने जस्ता कार्यमा नारी पात्रहरू नै संलग्न भएकाले पनि यस उपन्यासमा नारी खलपात्रता सशक्त रूपमा देखा परेको छ ।

सामाजिक आदर्शका दृष्टिले हेर्दा प्रस्तुत उपन्यासकी प्रमुख पात्र चम्पामा पनि सत्भन्दा खल प्रवृत्ति नै हाबी देखिन्छ । उपन्यासको सुरुमै रामकान्तले पर्खालको प्वालबाट आपूmलाई चिहाएर हेरेको देखेपछि उसले प्वालमा ढोड कोचिदिएर रामकान्तको आँखा झन्डै फोडिदिएकी थिई । बिहे भएपछि पनि उसले सासू र जेठानी कसैसँग पनि सुमधुर सम्बन्ध राख्न सकेकी छैन उल्टै सासू र जेठानीलाई खिसी गर्ने खालका विकृत नाम राख्ने, मान्यजनका लागि पनि कर्कश, ठाडो र व्यङ्ग्यपूर्ण भाषा प्रयोग गर्ने, सानो कुरामा पनि फुइँ र रिस देखाउने, सानो निहुँमा बाझ्नेजस्ता गलत प्रवृत्ति देखाएकी छ । आफू सहरिया र सभ्य हुनुको घमन्ड तथा अरूलाई हेप्ने प्रवृत्ति पनि उसमा देखिन्छ । सासू र जेठानीले आफ्नो शृङ्गार तथा व्यवहारका बारेमा टीकाटिप्पणी गरेपछि उसले दिएको तलको ओठेजबाफबाट पनि यसको पुष्टि हुन्छ ः ‘कँठेनीहरूले सभ्य शृङ्गार देख्या भे पो त कहिल्यै’ (पृ.२६)

यसरी चम्पा उपन्यासमा सबै नारी पात्रहरूलाई विद्रोही, असहिष्णु, उग्र र परिवारभाँडा प्रवृत्ति भएका रूपमा प्रस्तुत गरिएको छ । त्यसो भए पनि चम्पाको मानसिकतामा पारिवारिक सम्बन्धकै कारण चिढचिढाहापन उत्पन्न भएको देखिनाले उसलाई त्यति दोष दिइहाल्न भने मिल्दैन । विशेष गरी राणाकालको उत्तरार्धतिरको सङ्क्रमणकालीन समयका नेपाली नारीहरूमा पनि विकसित भइरहेको विद्रोही प्रवृत्ति र सचेततालाई प्रस्तुत गर्न यस उपन्यासकी नायिका चम्पा अत्यन्त सक्षम भएकी छ । यसबाट काठमाडौँबाट वाक्क भएर बनारसतिर प्रबासिन खोजिरहेका देवकोटाले प्रकट गर्न चाहेको शासकीय प्रवृत्तिबाट मुक्तिको चाहना पनि केही हदसम्म पूरा भएको छ र यसले नारीचेतनाको बीजारोपण पनि गरेको छ ।

६. पुरुष पलायन

नारीकै केन्द्रीयतामा रचिएको चम्पा उपन्यासकी नारीपात्र चम्पा प्रतिकूल परिस्थितिसँग जुधेर सङ्घर्ष गर्न सक्ने प्रवृत्तिकी छ । सानै उमेरमा बिहे भए पनि ऊ पतिको घरमा समेत आफ्नो रबाफ कायम राखेर बसेकी छ । रामकान्तले छोडेपछि पनि ऊ निरीह र निसहायजस्ती देखिएकी छैन बरु ऊ आपूmलाई अझै दह्रो चरित्रका रूपमा प्रस्तुत गर्दछे । सासूसँगको भनाभनपछि पनि ऊ घरको शासन सहनुभन्दा ‘कतै भान्से लाग्ने’ जस्तो एउटा निश्चित लक्ष्य निर्धारण गरेर माइतीतिर लागेकी छ । यसबाट स्वतन्त्रतापूर्वक जिउन खोज्ने जीवनमुखी प्रवृत्ति चम्पामा रहेको देखिन्छ । यसको ठीक विपरीत पुरुष पात्र रामकान्तचाहिँ जीवनका बाधाहरूसित जुघ्न नसकी घरबाट पलायन भई अनिश्चिततातिर भागेको छ । रामकान्त बिहेको लगत्तै क्षयरोगबाट ग्रसित भएपछि नै नैरास्यबोध गरी चम्पालाई आफ्नो जिन्दगीबाट स्वतन्त्र गराएको घोषणा गरेर ईश्वरभक्तिमा लीन हुन पुगेको देखिन्छ । रोग निको भएपछि चाहिँ ऊ फेरि माला छोडेर हँसीमजाकमा लागेको छ तर डाक्टरहरूले श्रीमतीसँग परहेजमा बस्न सल्लाह दिएकाले ऊ चम्पालाई देखेर भित्रभित्रै चिन्तित बन्न थाल्छ । अन्त्यमा ‘म जिउन चाहन्छु, मर्न चाहन्नँ’ (पृ.३९) भन्ने निर्णय गरी चम्पालाई चिठी छोडेर ऊ जिन्दगीको अनिश्चित गन्तव्यतिर हानिन्छ । यस सन्दर्भबाट पनि रामकान्तमा सङ्घर्ष गर्नुभन्दा परिस्थितिसँग हारेर भाग्ने पलायनवादी प्रवृत्ति हाबी भएको देखिन्छ । ‘म जिउन चाहन्छु’ भने पनि उसले अन्त्यमा मृत्युउन्मुख प्रवृत्ति नै अवलम्बन गरेको छ । यहाँ रामकान्तले आपूm टीबी लागेर अशक्त भएपछि मात्र चम्पा आपूmबाट आजाद भएको घोषणा गरेको हो, टोखा अस्पतालबाट फर्केपछि चाहिँ आपूm अशक्त भएरै पनि चम्पालाई आफ्नै आँखावरिपरि देख्न चाहेको छ । यहाँ उसले चम्पालाई यौनसाझेदारबाहेक अरू दृष्टिकोणले हेरेको पनि देखिँदैन । त्यसैले रामकान्त चम्पाप्रतिको पारिवारिक जिम्मेवारी बोध नगरी घर छोडेर हिँडेको हो । यसबाट पनि ऊ गैरजिम्मेवार र सङ्घर्षहीन चरित्र भएको पुष्टि हुन्छ । काठमाडौँको काँठका पुरुषहरूमा घरभित्रका सबै काम र आयआर्जनसमेत पत्नीहरूबाटै गराउने अनि आफूहरूचाहिँ मस्ती गर्दै हिँड्ने प्रवृत्तिको खुलासा यसमा भएको छ । त्यसैले प्रस्तुत उपन्यास पारिवारिक दायित्वबाट पुरुष पलायन भएको कृतिका रूपमा देखा परेको छ ।

७. ध्वंसात्मक सन्देश

तत्कालीन पारिवारिक वातावरणको चित्रणमा सफल देखिए पनि चम्पा उपन्यासमा चर्चा गरिएको परिवार भने अन्त्यमा नराम्ररी विघटित भएको छ । यसका प्रमुख पात्र चम्पा र रामकान्त दुबैको भविष्य आपसी असमझदारी र परिवारको गैरजिम्मेवारीपूर्ण व्यवहारका कारण तहसनहस बनेको छ । परिवारका कुनै पनि सदस्यमा संयम, धैर्य, मर्यादा र आत्मीयपनजस्ता पारिवारिक गुणहरू देखिँदैनन् । एकअर्काप्रति अत्यन्त अभिमानी र हेपाहा चरित्रका कारण चम्पा र जेठानीहरूका बीचमा कहिल्यै पनि राम्रो सम्बन्ध बन्न सकेको छैन । अत्याचारको सीमा नाघेर व्यवहार गर्ने सासू, उकास्ने जेठानीहरू र मान्यजनलाई पनि मुख छोड्ने चम्पाको बेहोराले सासू–बुहारीबीच बाझाबाझसमेत भएको छ । रामकान्तले श्रीमती चम्पालाई राम्ररी सम्हाल्ने र उचित सल्लाह दिएर न्याय गर्न सकेको छैन । यसरी सबै सदस्यहरूले आफ्नो पारिवारिक भूमिका राम्ररी निर्वाह गर्न नसकेकाले नै रामकान्तको परिवार दीर्घ दुर्घटनामा परेको छ । एकातिर चम्पा र रामकान्तका इच्छा, आकाङ्क्षाका साथै सम्पूर्ण जिन्दगी नै ध्वस्त भएको छ भने अर्कातिर उनीहरूको पारिवारिक मर्यादा र एकता पनि खलबलिएको छ । उपन्यासको अन्त्यमा रामकान्तले घर छोडेपछि चम्पाले पनि सासूसँग बाझेर घरबाट हिँडेकाले यस उपन्यासले नारीविद्रोह र व्यापक अर्थमा लेखकीय स्वतन्त्रताचेतलाई पनि सङ्केत गरेको छ । पुरानो रूढिवादी मान्यतायुक्त पारिवारिक संरचनालाई भत्काएर नयाँ समानतामूलक र स्वतन्त्रतामा आधारित परिवार निर्माण गर्नुपर्ने अव्यक्त सन्देश पनि यसले दिन खोजेको छ । त्यसैले चम्पा उपन्यास नयाँ चेतनायुक्त नारी स्वतन्त्रताका लागि पारिवारिक विद्रोह हुनुपर्छ भन्ने परम्परागत अर्थमा ध्वंसात्मक सन्देश प्रवाह गर्ने सशक्त कृति हो ।

८. निष्कर्ष

२००४ सालतिर रचनाकाल मानिएको चम्पा उपन्यास राणाकालीन काठमाडौँको पारिवारिक वातावरणमा आधारित छ । त्यतिबेलाको परिवारमा पाइने नारीहरूको भूमिका र बुहारीमाथि हुने गरेका अन्यायको पनि यसमा यथार्थ चित्र प्रस्तुत गरिएको छ । परिवार र लोग्ने–स्वास्नीको सम्बन्धमा हुने दुर्घटनाका कारणहरूको पनि विश्लेषण गरिएको प्रस्तुत कृतिमा पात्रको अचेतन मनले चेतन मनमा पारेको प्रभावको पनि सही मनोविश्लेषण भएको छ । २००४ सालमै फ्रायडीय मनोविश्लेषणको सिद्धान्त प्रयोग गरेर यतिको गहकिलो औपन्यासिक कृति रचना गरेकाले देवकोटालाई पहिलो मनोवैज्ञानिक उपन्यासकार मान्न सकिने ठाउँ पनि यसले दिएको छ । विशेष गरी काठमाडौँका बाहुन परिवारभित्रका विकृतिलाई सूक्ष्म रूपले केलाइएको प्रस्तुत कृतिलाई तत्कालीन काठमाडौँको पारिवारिक दस्ताबेजका रूपमा पनि लिन सकिन्छ । प्रतापचन्द्र प्रधानले चाहिँ यसलाई सामाजिक चेतना, मानवतावादी चेतना र सुधारवादी चेतनाका दृष्टिले उपयुक्त ठह¥याएका छन् (२०६६:२५४) ।

समग्रमा भन्नुपर्दा तत्कालीन समयका नारीहरूमा आएको चेतना र विद्रोहलाई सङ्केत गरेर उक्त चेतनाको संवद्र्धन नहुँदा परिवार तहसनहस हुन सक्नेतर्फ चेतावनी दिइएकाले चम्पा उपन्यास फेमिली थेरापीका दृष्टिले पनि विश्लेषणीय रहेको छ । परिवारमा सुसञ्चारको अभावका कारण चम्पा उपन्यासकी चम्पा तनाव सहन नसकी चुनौती सामना गर्दै घर छाडेर हिँडेकी छ भने रामकान्त पनि परिवारबाट बेग्लिएको देखिन्छ । त्यसैले परिवार विघटनका कारकहरूको सूक्ष्म विश्लेषण गर्न सक्षम देवकोटाको चम्पा आधुनिक नेपाली उपन्यासको पूर्वाद्र्धचरण (१९९१–२०१५) को महत्त्वपूर्ण प्राप्ति हो ।

सन्दर्भसामग्री:-

देवकोटा, लक्ष्मीप्रसाद (२०६४). चम्पा. छैटौँ संस्करण. काठमाडौँ ः साझा प्रकाशन ।

बन्धु, चूडामणि (२०५८). देवकोटा. तेस्रो संस्करण. काठमाडौँ ः साझा प्रकाशन ।

बराल, कृष्णहरि र एटम, नेत्र (२०६६). उपन्यास–सिद्धान्त र नेपाली उपन्यास. तेस्रो संस्करण. काठमाडौँ ः साझा प्रकाशन

प्रधान, प्रतापचन्द्र (२०६६). ‘देवकोटाको चम्पा उपन्यास ः कृतिपरक अध्ययन’. भृकुटी. पूर्णाङ्क ५. पृ.२४३–२५४ ।

शर्मा, बिन्दु. २०६५. आधारभूत नेपाली समालोचना. काठमाडौँ ः तन्नेरी प्रकाशन ।

Becvar, D.S. and Becvar, R.J. (2008) Family Therapy: A Systemic Integration. 7th ed. Boston: Allyn and Bacon.

Littlejohn, S.W. and Foss, K.A (2008) Theories of Human Communication. 9th ed. California : Belmont.

Nichols, M.P. and Schwartz, R.C. (2006) Family Therapy: Concepts and Methods. 7th ed. Boston: Allyn and Bacon.

http://www.cogsci.ecs.soton.ac.uk/cgi/psyc/newpsy?12.024 [accessed on 2009.12.23]

http://www.mayoclinic.com.health/family-therapy/my00814 [accessed on 2009.12.23]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।