बनारस पुगेपछि
जिन्दगी जस्तै फनफनी घुमेका
गल्लीभित्र भेटें
विरासत बोकी घुमिरहेको
मेरो विगतलाई
अनि देखें क्षणक्षणमा
पराई भइरहेको मेरो वर्तमान
बनारस पुगेपछि ।
मैले भेटेको छु मेरो वर्तमान
साकुरा बनी पूर्वमा फुलिरहेको
मेरै वनका पैयुँका बुटाभरि
पसिनाले सिञ्चिइरहेको
मरुभूमिका बगैँचाहरूमा
अनि इत्रिइरहेको
युरोपको बुढो बैँससँगै
र लत्रिइरहेको
पातालको तिलस्मी वर्तमानमा
त्यस्तै देखेँ बनारस पुगेपछि ।
तर सबै भन्दा धेरै देखेँ
पेन्सन थापी बसेकी
एक्ली बुढी आमा जस्तै
मेरा गाउँ र बस्तीका प्रतिबिम्बहरू
कुरिरहेका बलेसीमा
देखेँ थकित अनुहार
निवृत्त जिन्दगीको
बनारस पुगेपछि ।
मैले खोजी रहँे मेरो भविष्य
युरोपको आडम्बरी बुढ्यौलीमा
साकुरा फुल्ने पैयुँका बुटाभरि
बालुवाका फूलबारीहरूमा
र पातालको उन्मत्त जवानीमा
अनि विरासत बोकेका गल्लीभरि
तर कतै झझल्कोसम्म पनि पाइन
बनारस पुगेपछि ।
फर्कने बेलामा
उसले सुटुक्क देखायो
उसको मनको आँखीझ्यालवाट
गर्भाधान नै नभएको मेरो भविष्य
बनारस पुगेपछि ।
मैले भेटँे मेरो मनको आँखीझ्याल
जो देखाउँछ साइत नै नजुरेको मेरो भविष्य
बनारस पुगेपछि ।