जिन्दगीको अवसानको विषयमा, जिन्दगीको यात्रा सकिएको विषयमा लेखिएको सृजनात्मक कृति र त्यसले बोध गर्ने विषयमा छलफल गर्ने व्रmममा दुईवटा समस्या छन् । जिन्दगी यस्तो क्षण हो जुन सेक्सपियरले भनेजस्तो अरू श्रोताहरूको अगाडि छलफल गर्नु सम्भवै छैन । किनभने जो सुन्दैछ त्यो अमर छैन, मरणशील छ । यो क्षण र त्यो क्षण भन्ने कुनै सीमारेखा छैन । त्यसकारण साहित्यमा पहिलो समस्या के देख्छु भने मृत्युको विषयलाई लिएर साहित्यको, कृतिको चर्चा गर्नु खासै अर्थ छैन । त्यसमा पनि जगदीश घिमिरेको यस्तो कृति जुन जीवन्त हुँ भन्नेहरूले पनि लेख्न सकेका छैनन् ।
लेखकका रूपमा जगदीशजीले जीवन र जगत्को विषयमा यति धेरै थाहा नपाएको भए यो कृति यति बौद्धिक र अत्यन्त सार्थक ढङ्गले प्रस्तुत हुन सत्तैmनथ्यो । भोग्नु भाछ, मेडिकेसनमा हुनुहुन्छ । तापनि यो कृतिबारे एक दुईवटा अरू पनि कुराहरू के उठेका छन् । के भने, वहाँले मेरो यात्रा सकिन लाग्यो यस्तो बेलामा भन्नु भयो जुन बेला वहाँको सपनाको नयाँ युगको यात्रा सुरु भाछ देशमा । यो त वहाँको नयाँ यात्राको बेला हो । जुन दिन साथीहरूसँग मिलेर यो एउटा परिकल्पना गर्नुभयो — युद्ध गर्छु । आखिर युद्ध गर्नेहरूले थोरैबाटै युद्ध गरेका हुन्छन् कोही सफल हुन्छन् प्रचण्ड जस्तै, कोहीको चाही वहाँले भनेजस्तै ठर्रा खाएर साथीहरूसँगै बेलुकै युद्ध समाप्त हुन्छ ।
यात्रा तिनै हुन् । मलाई के स्ट्राइक गरेको छ भने जे भएपनि एउटा स्वप्नधारीले यात्रा गरेका हुन् । वहाँको अन्तर्मनको यात्रा एउटा मित्रको हिसाबले पढियो । एउटा यस्तो व्यक्ति जसले समाजमा अत्यन्तै बलियो प्रभाव पा¥यो, त्यो व्यक्तिको यो कृतिमा वहाँ एउटा अन्त्यको कुरा गर्दैहुनुहुन्छ जुन बेला वहाँको सपनाको नयाँ युग सुरु हुँदैछ । अत्यन्त ठुल्ठुला परिवर्तन भए, यो देशमा भैराखेका छन् हाम्रो सामु । मान्छेका इतिहासमा हाम्रा घडी सिद्धिए, अन्तिम दिन आए भन्ने मान्छेहरू शारीरिक रूपमा हैन, एउटा संरचनाको दृष्टिकोणले, वैचारिक दृष्टिकोणले शक्तिमा होल्ड गर्ने, नियन्त्रण गर्ने दृष्टिकोणले कति मान्छेले हाम्रो अन्तिम दिन आए भनेका छन् समाज त्यसरी परिवर्तन हुँदैछ । अत्यन्त सुखद क्षण छ यो देशको इतिहासमा, त्यो बेलामा मलाई एउटा विडम्बना के भइरहन्छ भने जगदीश घिमिरेजस्तो अत्यन्तै प्रभावशाली अत्यन्तै प्रस्ट, अत्यन्तै अग्रगामी चिन्तन भएको मान्छे कृति विमोचन गर्दा वहाँहो टर्मिनल इलनेस जस्तो कुराले गर्दा हामी त्यसैमा मात्रै पो अलमलिएछौँ कि ? यस कृतिमा धेरै ठुल्ठुला बहसका विषयहरू छन् ।
एउटा नित्य छलफल गरेको विषय के छ भने, लेखक कति जिम्मेवार छ उसको कृतिमा । त्यतिखेर जब उत्तेजना र तीव्रता आउँछ जसलाई लेखकले त्यसमा निजत्व मेरो हो भनेर जब वर्णन गर्छ, लिन्छ, त्यसमा ठुलो सङ्कट सुरु हुन्छ । त्यो सङ्कटमा उत्तेजना पनि छ, सौन्दर्य पनि छ र चुनौतीहरू पनि छन्, जगदीश घिमिरेले यसमा मेरो हो म हुँ भनेर जिम्मा लिनै पर्छ ।
अब हामी अहिले वहाँको भनेर नै, वहाँलाई नै पढिराखेका छौँ । वहाँले जिम्मा लिने बित्तिकै दुई तिनवटा कुरा भयो । यो कृति मात्रै हैन हिजो वहाँले लेख्नु भएका उपन्यासहरू, वहाँले लेखेका निबन्धहरू, वहाँले लेखेका कविताहरू, कृतिहरू वहाँ जाँदा पनि सधैँ हामीसँग रहनेछन् । लेखकको आफ्नो निजत्व र आफ्नो अधिकार छँदैछ, वहाँले आफ्नो निजत्व, आफ्नो जिन्दगीको यात्रा दुःख यसलाई जोडे पनि अब वहाँको जिन्दगीसँग मात्रै सम्बन्धित हँुदैन । अब यो सबैको सम्पत्ति हो । वहाँले यो युगान्तकारी संस्मरण लेखिदिनु भो भनेपछि विरोधाभास यहाँनेर सुरु हुन्छ ।
जब साहित्यलाई हामी अत्यन्त निजत्वले लिन थाल्छौँ, तब विरोधाभास हुन थाल्छन् । तर त्यो विरोधभासको अर्को महत्वपूर्ण कुरा के छ भने सौन्दर्य भने जन्मिन्छ । सुरुमा आउनुभो, किताबको विषयमा दुई शब्द बोल्न थाल्नुभो । उहाँको किताब भर्खर पढेर आएको थिएँ, फेरि दोहो¥याएर पढ्दै छु । जगदीशजी आउनुभो, वहाँले अत्यन्त धैर्यपूर्वक र डुबेर यसको परिचय दिनुभयो, त्यो वहाँको अधिकार हो, त्यो भावुकता अत्यन्त सुन्दर थियो । तर यो कृतिले अरू अत्यन्त धेरै कुराहरूलाई प्रस्तुत गरेको छ ।
वहाँलाई हामी अत्यन्त माया गर्छौ, म अत्यन्त माया गर्छु । तपाईंहरू गर्नुहुन्छ । जहाँसम्म बिरामीको कुरा छ, त्यसमा भावुक छौँ । माया छ त्यो आफ्नो ठाउँमा छ । एकछिन त्यस कुरालाई अलग राखौँ । तर त्यसलाई लिएर वहाँले यसमा अभिव्यक्ति बनाउनु भयो, के भन्नु भो सुरुमै, मृत्युलाई टेलिभिजन जत्तिकै नजिकै गएर हेरेँ । अर्को कुरा यात्राको कुरा गर्नु भाछ ।
लेखकहरू दुःख गर्छन्, सङ्घर्ष गर्छन्, बिरामी हुन्छन्, कसैको शारीरिक अवसान पनि हुन्छ, तर साहित्यलाई फाइदा हुन्छ । त्यस्ता कृतिहरू साहित्यका गौरव हुन्छन् । म त वहाँको जिन्दगीको अवसान देख्दिनँ । मेरो समस्या त्यो हो । त्यसैकारणले मूर्खता धेरै भएको हुनाले समालोचना लेख्न छोडिसकेँ, लेख लेख्नै छोडिसकेँ ।
व्रmान्तिकारी परिवर्तनहरू भैराखेका छन् । राजाको बेला बोल्ने कुरा हुँदैनथ्यो । त्यसबेला वहाँले एउटा सपना देख्नु भाथ्यो । बन्दुकलाई लिएर रोमान्टिक सपना देख्नु भाथ्यो । पछि त्यो सपनाको एउटा साहित्यिक र बौद्धिक अत्यन्त सुन्दर प्रस्तति गर्नु भो । एउटा युवकको कथा औपन्यासिक पात्रको कथा हो त्यो, जीवन र उपन्यास । कृतिमा कहाँनेर औपन्यासिकता हुन्छ, कहाँनेर जीवन यथार्थ हुन्छ ती बनिँदै भत्किँदै गरेका छन् यस कृतिमा । वास्तविकता मलाई थाहा थिएन, तर बुझ्दै जाँदाखेरी वहाँको यो लडाइँबारे कति धेरै एम्प्याथि भो, सहअनुभूति भो । उहाँ भन्नुहुन्छ — “म यस्तो पनि हुन सकिनँ, त्यस्तोपनि हुन सकिनँ ।” मेरो पनि त्यस्तै समस्या, कसैसँग मिल्न नसकेपछि एनार्किस्ट भएँ । ट्राटस्किलाई मान्न थालेँ । मान्छे मलाई पछाडिबाट गोलि हानेर खेद्थे ।
आखिर बुझ्दै जाँदा साहित्यकार राजनीतिज्ञजस्तो हुँदैन रहेछ । म भ्रममा रहेछु । त्यो एउटा राज बुझ्दै बुझ्दैन रहेछ राजनीतिले । मञ्जुल यहीँ छन् । उनलाई सबै थाहा छ ।
जगदीशजीको यात्रा देखिन जरुरी छ । उहाँको यात्रा राजनीतिक हैन साहित्यिक रैछ । त्यो एउटा कुरा रहेछ । एउटा यस्तो साहित्यकार जसले आफ्ना बगेका सपनाहरू र असफल सपनाहरूलाई लिएर एउटा उपन्यास लेख्यो — साबिती । पछिका कृतिहरूमा पनि वहाँले त्यसै गर्नु भो । त्यस्तो मान्छे साहित्यकार हुँदोरहेछ । अर्को कुरा वहाँले अत्यन्त सुन्दर र अत्यन्त चतुर किसिमले ठुलो साहित्यकारले उठाउने विषय उठाउनु भाछ समय अनुकूल । त्यो एउटा अनुकूल समयको कुरा त्यसमा छ, त्यो समयमा वहाँले के राख्नु भा‘छ भनेदेखि, व्यक्ति यस्तो हो जो समयसँग जुध्छ, भोग्छ र हार्छ सायद । उहाँ भन्नुहुन्छ म सिसिफससँग पनि ईष्र्या गर्छु, किनभने ऊ त बलियो थियो ढुङ्गो बोक्थ्यो । म बिरामी छु ढुङ्गो बोक्न पनि सक्दिनँ ।
विश्वम्भर प्याकु¥याल वहाँको मित्र हुनुहुन्छ, मेरो मित्र हुनुहुन्छ । वहाँ व्याङ्ककमा अस्पतालबाट उपचार गराएर आराम भएर आउनु भयो, सबै कथा हामीलाई सुनाउनु भो । जगदीशजीलाई त्यही अस्पतालमा भेटको कुरा सुनाउनु भो । विश्वम्भरजीले भन्नु भयो जगदीशजीले जटिल उपचार गरेको कथा । तर यस कृतिमा चाहिँ जगदीशजीले समयको र दर्शनको विषयमा जुन कुरा उठाउनु भयो त्यो अलिकति उल्टो भयो ।
एउटा सानो, अलिकति दर्शनको भ्रम भएको कुरा भनेर सिध्याउन चाहन्छु म । ग्रिसको ट्रयाजिडी, त्रासदीमा अन्तरशक्तिहरूको द्वन्द्वले सधैँ व्यक्तिलाई सताइराखेका हुन्छन् । त्यसमा व्यक्ति निरन्तर त्यो शक्तिसँग लडिरहन्छ, थाहा छ हार्छ, थाहा छ मर्छ, थाहा छ सिद्धिन्छ । भने, पात्रहरू छन् त्यहाँ, ट्राजिक क्यारेक्टरहरू छन् त्यहाँ । तिनले त्यो युद्ध अन्तिम निष्कर्षका लागि लडिरहन्छन्, उसलाई थाहा छ म मर्छु, तर हार्दिनँ, अन्तिम लडाइँसम्म पनि । लड्दाखेरि अन्त्यमा ट्रयाजिडीमा त्यो पात्र मर्छ, त्यो अत्यन्त ज्ञान प्राप्त गरेर मर्छ ।
अन्तर्मनको यात्राको अन्तिम च्याप्टर पढ्नुस् — ज्योतिको मुस्लो छ त्यहाँ । केवल लडेर वहाँले देखाउनुभो, हार्दिनँ भन्ने छ त्यहाँ । ग्रिकको त्रासदीको वातावरण जस्तो वहाँको यात्रा छ, तर भन्न चाहिँ अलि अर्कै भन्नुभा छ । जुन सबैले भनेको कुरा छ —, तर त्यसमा म सहमत भइनँ । समय शक्तिशाली छ, तर समयसँग लडिन्छ नि, लड्नुपर्छ त्यसैकारणले त्रासदी, ट्राजिडीलाई अत्यन्त महत्वपूर्ण उपलब्धि मानिन्छ विश्व साहित्यमा मानिसको मूल्यको निम्ति ।
सन् १९५० मा रेमन्ड विलियम्सले भने — हैन, हार्नु हुँदैन किन हार्ने ? त्यसको व्याख्या गरेका छन् उनले । यी साहित्यमा चलेका कुरा हुनाले यस कृतिको सन्दर्भमा साङ्केतिक प्रसङ्ग निकालेको हो ।
आन्द्रे माल्रो भन्ने एक जना फ्रान्सेली विद्वान् हुन्, डिप्लोम्याट पनि थिए, विभिन्न ठाउँमा घुमिरहन्थे, भारतमा आए । नेपालमा पनि आए कि थाहा छैन विद्यार्थी थियौँ सायद त्यो बेलामा । अनि आन्द्रे माल्रो के भन्छन् भने — यो संसार खुल्ला म्युजिएम हो, यसमा सबैतिर पर्खाल छैनन् भन्ने उनको सिद्धान्त छ । आन्द्रे माल्रोको शैली के भने समय सिक्वेन्स शासित छ रे, समय सिक्वेन्स जस्तै यो कृति लेखिन्छ । एउटा हस्पिटलमा दुर्गाजीले भन्नु भो — यो चाहिँ कथा भित्रको कथा हो । त्यस्तो अवस्थामा त्यो लेखिएको छ, सुरु त्यहीँबाट हुन्छ । त्यसपछि समयका पछाडि युगमा जान्छ, पृथ्वीनारायण साहका युगका अगाडिका पुर्खाहरूमा जान्छ । त्यसपछाडि फेरि बिचमा अहिलेकामा आउँछ फेरि फर्केर जान्छ जसरी वृत्तआकारमा यो मेम्वायर छ । त्यो एन्टी मेम्वायर हो ।
यो कृति बारे धेरै ठुला छलफल गर्न सकिन्छ । यसमा अत्यन्त सृजनशील भाषाको प्रयोग भएको छ । विचारहरू र भाषाहरूले एक ठाउँमा बसेर अत्यन्त चमत्कार प्रदर्शन गर्ने नेपालीको थोरै लेखनहरूमध्ये यो एउटा कृति हो । भावुकतावश रोमान्टिक कविहरूले लेखेकामा पनि सौन्दर्य छ — वडा सौन्दर्य छ जस्तो देवकोटाको । जस्तो शङ्कर लामिछानेको ।
यो चाहिँ समयले वहाँलाई यस्तो दुखद यात्रामा पु¥याएको बेला लेखिएको हो । यसमा सृजनाका अत्यन्त तीव्र क्षणहरू छन्, जुन नेपाली साहित्यमा यसरी प्रयोग भएको भेटिएको छैन । त्यसरी बगेको छ यो कृति । एक शब्दमा यो एउटा मानिसको कथा हो जसमा मान्छेको व्यथा छ, हाम्रो पनि यात्रा छ । अझ मैले त आपूmलाई देख्दै थिएँ त्यस यात्रामा । त्यसैकारण महत्वपूर्ण ऐतिहासिक क्षणमा निस्किएको यस्तो मोडमा विमोचन भएको यस्तो मोडमा आएर लेखकले आफ्नै कृति समातेर दुई थोपा आँसु खसालेको ...।
यो कृति पाउने नेपाली साहित्य भाग्यमानी हो ।