19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लक्की

कथा सुबिसुधा आचार्य December 6, 2010, 1:15 pm

“लक्की ! खाना तयार भयो ? हेर न आज अफिसमा नास्ता पनि खान भ्याइएन, कामको यति बोझ छ कि आजभोलि बाथरूम जानसम्म घडी हेर्दै कुद्नु पर्छ ।”

म कोठामा पसेर कपडा फुकाल्दै सोध्छु उनलाई । उनी सदाको झैँँ सोफामा बसेर पत्रिका पढदै छिन् । कोठा अस्तव्यस्त अवस्थामा, बिहान फुकालेर फालेको सर्ट पाइन्ट ओच्छ्यानमा जस्ताको तस्तै दर्शक बनेर हेर्दैछ उल्टो मलार्ई नै ।

मैले सोधेको प्रश्न भनौँ जीज्ञासा उनले सुनिन् या सुनिन्न्, त्यसो त सुनेर पनि बुझ पचाएको हुन सक्छ । रीस उठेपछि ढुङ्गाको मूर्ती बन्ने बानी छ उनको, राधा टेलिसिरियल कसौटी हेर्दै छे ।

“तैले चौबीसै घण्टा टिभीमा झुन्डिनुपर्छ, घरको काम सबै लथालिङ्ग, कपडा धोएको पनि छैन, आइरन गर्नु त परै जाओस् । बेडरूम मिलाउनु पनि त्यस्तै हो जा छिटो खाना तयार पार यहाँ आफूलार्ई भोकले ‘तीन लोक चौध भुवन’ देखाइसक्यो ।”

लक्कीको रीस पनि राधालाई नै खन्याएर जान्छु बाथरूमतिर । ऊ सुकसुकाउँदै भान्छातिर पस्छे । हातमुख धुँदा धँुर्दै दिक्क लाग्छ आफैंलार्ई । बिचरीलाई किन त्यसरी गाली गरेँ होला मैले । बूढा पाका भन्थे ‘........कुन्नि के गरिसक्यो अनि दैलो देख्यो’ भनेझैँ भन्न त लक्कीलाई पथ्र्यो । के ऊ पत्नी भएर मायाले भनिंन, या त अर्काको छोरीलाई भनी बिझाउन मन लागेन । कि त उसँग दबिएँ डरले, खै निचोडमा म आफैं पुग्न सकिन ।

भान्छामा पस्छु, राधा घुँक्क घुँक्क रूदै खाना पस्कदै छे –“लाटी त्यति भन्दा पनि रून्छे, भोलि ज्वाँइको घर गएपछि बूढाले लात्ताले हान्दा पनि सहनुपर्छ, चुप लाग बाबै मायाले भनेको पनि बुझ्दिन यो त । खै तेरी भाउजू ? बोला उसलार्ई पनि खाना खान ।”

आँसुले लफ्लफ्ती भिजेका राता आँखा मतिर पर्लक्क पल्टाउँदै रून्चे स्वरमा भन्छे उसले–“आज भाउजूलार्ई सन्चो छैन रे, खाना पनि खान्न भन्दै हुनुहुन्थ्यो, दिनभर कतै जानुभएन ।”

यति भनेर कुर्थाको फेरले आँसु पुछी फेरि ।

“के भएको छ रे त्यसलार्ई ?” भातको गाँस हाल्दै सोध्छु म ।

“कुन्नि त सोध्नु नि आफैंले हामीसँग त्यस्तो कुरा गर्ने भए पो ।” तरकारी थपिदिंदै झर्किन्छे राधा ।

भोक लागेअनुसार हो भने सिङ्गै मान्छे निलुला जस्तो लागेको थियो तर खाना खाने बेलामा कच्याक्क कुचुक्क हुन्छ उता लक्कीलाई सन्चो छैन भनेको सुनेर खल्लो लाग्छ र त खाना खाएको स्वाद नै छैन ।

रूमालले मुख पुछ्दै जान्छु, सुत्ने कोठातिर । लक्की ओच्छ्यानमा कम्मलले गुटमुटिएर सुतिसकेकी छे ।

“लक्की ! के भो तिमीलाई, जाऊ खान खान । दुई गाँस भए नि तातो खानुपर्छ ।”

म उसको निधार छाम्छु, ज्वरो साधारण छ ।

ऊ चुक्क पनि बोलिन ।

“हैन के भै‘छ तिमीलाई आज ? सुटिङ्गमा पनि गइनौ रे दिनभरि कोठामा ढोका लगाएर बसेकी छौ रे आखिर भयो के ! मलार्ई नभनेर कसलार्ई भन्छ्यौ भन त ?”

मायाले सुमसुमाएँ निधार र गालातिर, ऊ फरक्क अर्को तर्फ कोल्टे फर्की ।

“लक्की ! घुर्की लगाउनु पनि त सीमा हुन्छ । दिनभर अफिसको कामको बोझले थिचिएर आयो घरमा फ्रेस भैएला भनेर तर तिम्रो चाला यस्तो म त सारै अभागी रैछु ।” म पनि घुर्की लगाएर सोफामा गै पल्टन्छु ।

ऊ सुक्क सुक्क गरेर रून थाल्छे, एउटा पति भएको नाताले उसको रूवाइ चुपचाप मौन भएर हेरिरहन पनि सकिंन । मनै त्यसै भरिएर आयो ।

जुरूक्क उठेर बेडमा गै सोध्छु, “लक्की म कलियुगको अन्तरयामी ईश्वर त हैन कि मुहार हेरेरै व्यथा पत्ता लगाउन सक्ने । तिमी केही बताउँदै बताउँदिनौ । म कसरी बुझौँ भित्री मनको पीडा ?” छाम्छु ज्वरो छैन, टाउको पेट दुखेको भए छटपटाउँथ्यौ त्यो पनि छैन बोल्दै नबोलेर किन सताउँछौ भन त ?”

ऊ मेरो काखमा शिर राखेर डाँको छोडेर रून थाल्छे, शङ्का उपशङ्काले झन बेस्सरी गाल्छ मलार्ई, यसरी रूने मान्छे त हैन, साँच्चै के भएछ ? मन उसै चीसो बन्छ सिताङ्ग हुन्छ शरीर ।

हातले टाउको उठाउँदै सोध्छु, “प्लिज लक्की के भो भन न, म तिमं्रो पति मात्र हैन जीवनसाथी यानेकि साथी पनि हुँ । मनको कुरा मसँग नबाँडेर किन भित्रभित्रै गुम्स्याउँछौ ? तिमीलाई थाहा छ घाउ भित्रभित्रै पाक्यो भने उकुच पल्टिन सक्छ जुन कहिल्यै बिसेक हुँदैन । हो मनमा कुरा खेलाइरहदा डिप्रेसन हुन पनि सक्छ तिमी आफै शिक्षित नारी मैले सम्झाइरहन त नपर्ने हो ।”

उसले सुस्तरी मुख खोल्न खोज्छे फेरि उसै भक्कानिन्छ उसको मन, “म .............म.......तिम्रो.........म....... ।”

बोली गहिरो कुवाभित्र पसेर बोले झैँ उसै भासिन्छ कताकता ।

“भन भन के मेरो ?”

“हो अभि म तिम्रो बच्चाको आमा बन्दैछु ।”

यति भनेर ऊ फेरि बेसरी रून्छे, मलार्ई भने बच्चा भन्ने शब्दले नै निकै चञ्चल उत्साही, रोमान्टिक, उत्त्तेजित बनाउँछ ।

पाँच वर्षदेखि लक्कीको मुखबाट यही शब्द सुन्न हतार आतुर हुँदै तड्पिएको म, आफू भन्दा पछि विवाह गर्नेको काखभरिको छोरा देख्दा उनीहरूले बोलेको व्यङ्ग्य सुन्दा म पानी पानी भएर गल्थेँ ।

“हैन के हो अभि ? विवाह भएको दुई वर्ष भइसक्यो अझै परिवार बढाउने सुरसार छैन, हैन तिमीहरू पति पत्नीको भेटै हुन्न कि के हो ? भाउजू खालि सुटिङ्गमै ब्यस्त तँलाई त समय नै दिन्न जस्तो छ नि ?” दौतरीहरू बातै पिच्छे यसरी छेड हान्थे ।

“हैन यार दुर्ईचार वर्ष त रोमान्स गर्न परिहाल्यो काँ चाडै लालाबाला जन्माएर ढाडमा छोरालाई चढाई हट घोडा हट बन्दै हिड्नु ।” उनीहरूको अगाडि साखिला बनी टोपल्थेँ म ।

त्यसो त दशैंमा घर जाँदा आमाले पनि गुनासो पोख्दै हुनुहुन्थ्यो,

“खै अभि आफू त डाँडा माथिको जून भैयो, नातिको मुख हेरौँला त भनेको नहेरी मर्नुपर्ने होला जस्तो छ बाबै । मेरो यही घिडघिडो रहला है होस राख, बुहारी कति फिलिम सुटिङ्ग, मोडलिङ्ग, भिजियोलाइज भन्दै कुद्छे अब त ती सब छाडेर छोरा जन्माई घर व्यवहार सम्हाले पनि त हुन्थ्यो ।”

मेरो पनि चाहना यही थियो तर जति पटक लक्कीसँग कुरा उठाएँ, विवाद मात्र भयो । आज सात सूर्य उदाएझैँ महसुस भयो मलार्ई । खुसीले पुलकित भएर थाहै नपाई लक्कीलाई बोकेर नचाउँछु ।

“अभि के गरेको तिमीले छाड मलार्ई यहाँ आफूलार्ई कत्रो चिन्ता ऊ भने ।”

लक्कीको झर्काइले टक्क रोकिए पाइला ।

“ननसेन्स् ! ह्वाट् डु यु ?” ऊ दुवै हात फुत्काएर ठूला ठूला आँखा मतिर पर्लक्क फर्र्काउँदै सोफामा गएर थचक्क बस्छे । अनौठो लाग्छ उसको बानी व्यहोरा ।

“कमन लक्की टुडे आइ याम सो ह्याप्पी ।, थ्याङ्स् फर यु ।” मैले उसको नजिकैको सोफामा बस्दै हात समाएँ ।

रीसले दुवै हात झड्कार्दै भन्छे–“अभि ! म खुसी छैन ।”

“ह्वाट ?”

“हो तिमीले सुनेनौ आइ याम अन ह्याप्पी ।”

“तर किन लक्की अब त रहर लाग्ने बेला भएन र ?”

“ओ सेट कसरी सम्झाऊँ म यो मान्छेलाई, सुन अभि म अझै दुईचार वर्ष फिलिम लाइनमै काम गरेर क्यारियर बनाउन चाहन्छु । भर्खर त बजारमा मेरो डिमान्ड हँुदैछ, अहिले नै आमा बनेर घरमा थुप्रनु छैन मलार्ई ।”

लक्कीको भनाइले ठूलोे भिरबाट एकै पटक तल पुगेझैँ भएँ म । कति रसिला सपना सजाएथेँ, कति मीठो चाहना पालेको थिएँ छोराको हात समातेर हिँडाउने तर यो आइमाई मेरो सपनालाई तुहाउन चाहन्छे, मेरो रहरको गला रेट्न चाहन्छे र ल्याउन चाहन्छे मेरो जीवनमा आँधीबेरी ।

“लक्की ! के भो त बच्चा हुर्केपछि फेरि यो क्षेत्रमा लाग्न पाइहाल्छ्यौ, ऊ हेर त करिष्मा मानन्धर । के उनलार्ई बच्चाको माऊ जस्तो देखिन्छ र ? कल्पना गर त हाम्रो घरमा ताता तुतु गर्दै टुकुटुकु हिड्ने बालक हुँदा स्वर्ग यहीँ ओर्लने छ । जुन घरमा बच्चाको आगमन हुँदैन त्यो घर, घर नभएर मसानघाट हुन्छ बुझ्यौ ?”

“ओ माइ गड् ! कसरी सम्झाऊँ म तिमीलाई ? अभि ! बच्चा जन्माएपछि अहिलेको जस्तो शारीरिक बनावट हुँदैन क्या, तिमीलाई थाहा छ अधिकांश हिरोनी बच्चा जन्माएपछि घरमा नै बस्छन् फिलिम लाइनबाट सन्यास लिएर तर म त्यसो हुन्न दिन्न । बच्चा जन्माएपछि म बूढी देखिन्छु त्यसपछि नायिकाको भूमिकामा हैन कि चरित्र अभिनेत्रीको भूमिका मात्र पाउँछु । ‘नो’, मबाट यो हुन सक्दैन, आइ वान्ट टु डु एबोर्सन, ओ के ।”

‘एबोर्सन’ भन्ने शब्दले यसरी थिच्छ कि मैले च्यापिएर टाउको उठाउनसम्म सकिन । बल्लतल्ल टाउको उठाउन खोज्छु फेरि अर्को सुनामी उर्लेर आउँछ, जसको छालले टाढा धेरै टाढा हुत्तिन पुग्छु । आँखा वरिपरि अँध्यारो छाइदिन्छ । मनमा भक्कानो फुट्छ अनि साहसले आफूलार्ई समालेर बोल्छु ऊसँग ।

“त्यसो नभन लक्की, त्यसो नभन । म तिमीसँग हात जोडेर बिन्ती गर्छु मलार्ई यो बच्चा चाहिन्छ । यो हाम्रो मायाको निसानी, प्रेमको भू्रण, वंशको धरोधर, आमाको सपना, तिम्रो मेरो बुढेसकालको सहारा हो । यसलार्ई संसार नियाल्ने अधिकारबाट बञ्चित गर्दै हत्या गर्ने जस्तो गलत सोचाइ नराख मनमा । आखिर आमाको पनि नाति खेलाउने चाहना छ । म पनि त अति नै बच्चाको रहर गर्छु, तिमी त्यति निष्ठुरी बन्न सक्दिनौ । प्लिज लक्की ! यो बच्चालाई जन्मदेऊ । यसमा तिम्रो के बिग्रन्छ र ?”

“खबरदार अभि, खबरदार ! तिमी यस्तो कुरा एउटा गवार आइमाईसँग गर्न सक्छौ । एउटा गाउँले पाखेलार्ई गर्न सक्छौ तर म एक्काईसौं शताब्दीकी महिला हुँ जो आफ्नो खुट्टामा आफै उभिन सक्छे । के सोचेका छौ हँ तिमीले ? के म त्रेता युगकी सीता हुँ जो धोबीको कुरा सुनेर वन पठाइदिदैमा जाने । के म द्रौपदी हुँ सात सात युवकले सम्भोग गर्दा पनि चुपचाप सहने ? तिमी त्यति तल पनि नगिर अभि श्रीमतीलाई हात जोडेर खुट्टामा छाँद हाल्न । नारी जति कोमल हुन्छे उति चट्टान पनि, मलार्ई तिम्रो पुकारले छुँदैन बुझ्यौ !”

लक्कीको आवाजले मलार्ई एक्कासि करेन्ट लागेझैँ हुन्छ । रीसको ज्वाला ह्वात्तै आकाश छेडुँंलाझैँ अग्लिन्छ । कुन्नि किन आफूलार्ई आफैले नियन्त्रणमा राख्न धौधौ पर्छ । एक्कासि मेरो दाहिने हात लक्कीका गालामा गएर नराम्रोसँग बज्रियो लगातार ।

“बस् अभि बस् ! तिमी यतिसम्म तल गिर्न पनि सक्दा रहेछौ । यो कुरा आज मैले थाहा पाएँ । के छ तिम्रो हैसियत हँ ? के छ सुब्बाको जागिर ? बिहान बेलुका हात मुख जोर्न धौ धौ । यदि मसँग विवाह नभएको भए सडकको भुसिया कुकुर झैँ हुन्थ्यौ तिमी, मैले फिलिम लाइनमा लागेर नकमाइदिएको भए कहाँ हुन्थ्यो यो बङ्गला ? कहाँ हुन्थ्यो मोटर ? सपनामा मात्र हुन्थ्यो बुझ्यौ ? त्यसैले राम्रोसँग कान खोलेर सुन, तिम्रो धम्कीले डराउने मान्छे हैन, म यो बच्चा भोलि नै एबोर्सन गराउँछु, यसमा न तिमीले रोक्न सक्छौ न तिम्री आमाले । अरूको लागि म आफ्नै क्यारियर वर्वाद किन बनाऊँ ?”

ऊ सोफाबाट फनक्क फर्केर बेडमा गई मुख छोपेर रूँदै सुत्छे । मलाई भने उसका ती वचनहरूले अङ्गअङ्ग कोपर्न थाल्छन्, चिथोर्न थाल्छन् । आँखाबाट आँसु हैन रगत बगेजस्तो, छातीभित्रको मुटु उछिट्टेर बाहिर आई टुक्रा र लाम्टा बने जस्तो सहन मुस्किल पर्ने कस्तो गाह्रो हुन्छ ।

“कस्तो जिन्दगी रोजेँछु मैले धिक्कार होस् । गाउँमा आमाले खोजेको केटीसँग विवाह गरेको भए मेरो घर सुन्दर संसार स्वर्गझैँ हुने थियो । टुकुटुकु हिड्ने छोरा भै सक्थ्यो, कोठामा सफा सुग्घर गरी भात खाजा समयमै खान पाइन्थ्यो । मेरो साथ पाए खुसी हुने थिई होला । उता आमालाई पनि सँगै राख्न पाइँदो हो, बेलामा बुद्धि नपुुगेपछि कसको के लाग्छ र ?”

म नै उस्तो । जवानीमा स्याल पनि घोर्ले हुन्छ भन्थे त्यति बेला आँखा देखिन । आमाले हेरेको कुल घरानकी छोरी पाखे, गवार, काम न काजकी भई । त्यस्ती सुशील सोझी गाउँले केटीलाई लत्याएर मोडलिङ्ग गल्स्को पछि लागँे, रूप नै सर्वस्व भयो त्यति खेर मेरो लागि । मलार्ई के थाहा सुन्दर रूपभित्र कुरूप गुण लुकेको हुन्छ ।

विवाह भएर मेरो जीवनमा प्रवेश गरेदेखि सधैं हुकुमी शासन चलाइरही एकोहोरो, मेरो चाहना इच्छा सधै सेलाए दुवो ओइलाएझैँ, चाहनाको कहिले कदर भएन । सुख दुःखको कुरा गर्ने फुर्सदसम्म भएन उसलार्ई, राधालाई घरबाट नल्याउन्जेल त भोकै हिंड्नु पथ्र्यो मैले । पर्दाअगाडि नाच्नेहरूको पर्दापछाडि अर्र्को रूप हुन्छ भन्ने मलार्ई के थाहा ? जब माछा जालमा परे जस्तो म उसको जीवनमा झेलिएँ तब उम्कन गाह्रो भयो ।

समझदारीमा कहिले कुनै काम हुन सकेन, म जे भन्थँे ऊ सहजै अस्वीकार गरिदिन्थी तर उसको हरेक माग पूरा गर्नुपर्छ मैले एउटा श्रीमान् भएको नाताले । असी नाघेकी बूढी आमालाई एक्लै गाउँमा छोड्नुपरेको छ यहाँ ल्याऊँ भनेको उसको प्रतिष्ठामा आँच आउँछ रे, साथी भाइको अगाडि इन्सल्ट हुन्छ रे, वेट घट्छ रे उफ केके हो केके ? 

बहिनीलाई नोकर्नी सरह दलाएकी छ । आफूले लगाएको भित्री कपडासम्म नन्दलाई धुन दिन लाज र सर्म लाग्दैन उसलार्ई । राधामाथि जति अन्याय गरे पनि म जोइटिङ्गे्र भइ पचाएरै बसेँ ।

तर आफ्नो सन्तानलाई जन्मनु अगावै हत्या गर्छु भन्दा एउटा बाबुले कसरी सहन सक्छ ? म कसरी सहन सक्छु त्यो वचनको बोझ ।

ऊ सिरक ओढेर फ्वाँ फ्वाँ निदाई, म भने काटेको बाख्रो छटपटिएझैँ रातभर छटपट छटपट गरिरहेछु । भित्तामा टाँसेको उसको तस्विर बुंख्याँचाझैँ लाग्छ मलार्ई । दराजमा उसले पाएको अवार्ड, ताम्रपत्र, सम्मानपत्र सबैले लोली मिलाएर मलार्ई नै गिज्याएजस्तो भान पर्छ । एक मन त सबै झिकेर सडकमा हुत्याइदिऊँ, धुजा धुजा बनाएर जलाई दिऊँ कि जस्तो पनि लाग्छ तर कुन्नि किन त्यसो पनि गरिहाल्न सकिन ।

मनभित्र आगो मडारिन थाल्छ थाहा नपाई नाकका पोराबाट धुवाँ निस्कन्छ फुस फुस । गर्मी हुन्छ बाहिर हपहप, गिलासको पानी सट्ट पिउँछु तर मनको ज्वाला झन मटितेल थपेझैँ बढी दन्किन्छ । एकमन लाग्छ लक्कीलाई घाँटी थिचेर मारिदिऊँ तर त्यही नै समस्याको समाधान पनि थिएन । चुरोट सल्काएर स्वाट्ट तान्छु धुवासँगै रङ्गमगिन्छ सोचाइ कुढुलो परेर ।

वल्लो कोठा, पल्लो कोठा, बरन्डा, छिँडी र कौसी गर्दा गर्दै आधा रात चिप्लिन्छ, निद पटक्कै आउँदैन के गरूँ कसो गरूँ मन विचलित भै दिन्छ । टेवलबाट एउटा पेपर र कलम लिएर लक्कीलाई चिठ्ठी लेख्न मन उसै उत्सुक र जागरूक हुन्छ हातहरू र भरिएको मन शब्द मार्फत पोख्न थाल्छु यसरी ।

“मेरी ज्यान लक्की,

मन मुटुको प्यार सबै, मात्र तिमीलाई ।

लक्की ! तिमी मलार्ई बुझेर पनि किन बुझ पचाउँछ्यौ, मैले तिमीसँग कहिल्यै केही मागिन । जीवनका मोडहरूमा बाहिरी दुनियाँबाट अलिकति घर व्यवहार हेर त कति लथालिङ्ग र भताभुङ्ग छ । तिमी महिनौ सुटिङ्गमा भ्याली बाहिर जान्छ्यौ यहाँ मैले खाएँ खाइन, सन्चो छ कि बिसन्चो छ तिमीलाई केही वास्तै छैन । साथी भाइ सधैँ तिम्रो बारेमा औंला उठाउँछन् । मैले कसरी सहेको छु होला त्यो तिमी कल्पनासम्म गर्न सक्दिनौ ।

तिम्रो लागि खुकुरीको धारमा टेकेर आगो कुल्चने दिन गए लक्की । जति सहनु थियो–जति दबिनु थियो, पेलिनु थियो सहेँ, दबिएँ र पेलिएँ । म पनि एउटा मर्द हुँ पानी मरूवा लाछि जोइटिङ्ग्रे भएर अब बस्दिन । भोलिदेखि तिमी सुटिङ्गमा जाने छैनौ, यो मेरो धम्की हैन, अर्डर हो । त्यो बच्चा जसरी पनि चाहिन्छ, हो मलार्ई बच्चा चाहिन्छ । तिमी आमा बन्नै पछर्, त्यो पनि यसै वर्ष । बस अरू म केही जान्दिन ।

उही तिम्रो अभि ।”

कागजमा केही शब्द कोरेपछि मन हल्का शान्त भए जस्तो भयो, कता कता मनमा केही शीतलता पनि प्राप्त भयो । आशा त थिएन यो चिठीले उसको मन बदलिन्छ, परिवर्तन गराउँछ तर भरोसा गर्नु नै पर्दो रै‘छ । हुन त नारी जाति स्वभावैले हटी मानिने हुन्छन् त्यसो भन्दैमा लोग्नेलार्ई पैतालाको धुलो बनाउन पनि त भएन नि । हो ऊ पैसा बढी कमाउँछे त्यो म मान्दछु त्यसो भन्दैमा अरूको हरेक इच्छा रहर चाहनालाई दवाउनु कतिको उचित हो, यो आइमाई अलि बढी नै हठी छे तर म अब दविने छैन यसमा दुई किनारा बन्न परेपनि परोस् ।

टेवलमा चिया राखेको आवाजले म निन्द्राबाट बिउझिन्छु, अँध्यारो मुहार लगाएर ठिङ्ग उभिन्छे राधा । अनुहारका रेखाहरू पढ्छु सरसर्ती के स्पष्ट हुन्छ भने हिजोको हाम्रो संवाद सुन्नबाट ऊ अनविज्ञ छैन, म केही बोल्न चाहिन ऊ फरक्क फर्किन्छे भान्छा कोठातिर ।

यसो नियाल्छु आफैँलार्ई, हिजो सोच्दा सोच्दै सोफैमा निदाएँछु । एकपटक आँखा हुत्याउँछु ओच्छ्यानतिर, लक्की त्यहाँ छैन, ओच्छ्यानमा कम्मल लथालिङ्ग अवस्थामा पर्खिरैछ कसैले सम्हाली देला कि भनेर ।

चिया पिउन खोज्छु मन एक तमास छ पोखरीको पानीजस्तो, बिना हलचल । हिजोको घटना दिमागमा प्रवेश गर्छ एकपटक मस्तिष्कको ढोका खोलेर । कुन्नि किन चारैतिर अँध्यारो लाग्छ । थचक्क बस्छु सोफामा तर आफैँलार्ई होश छैन आफू उभिएको या बसेको ।

कस्तो जीवन हर्रोभन्दा टर्रो, कस्ती जीवनसाथी तितेपाती भन्दा तीतो । लामो सुस्केरा निस्किन्छ अनायासै मुखबाट । अरू कसैले जवरजस्ती बोकाएको भारी थियो भने फ्यात्त फालेर भारी बोकाउनेलार्ई लगाउँथे एक थप्पड तर लक्की मेरो रोजाइ, मेरो चाहना, अनि मेरो सर्वस्व खै कसलार्ई दिऊँ र दोष, भाग्यलाई कर्मलार्ई बुद्धिलाई या जवानीलाई ?

भित्ताको घडीले ट्याङ ट्याङ गरेर आठ बजायो । जाँगर छैन महिनौ ओच्छ्यानमा थलापरे झैँ गलेको छु भित्र भित्रै । जोस छैन उमङ्ग छैन उत्साह छैन तर जागिर जसरी पनि पकाउन जानै छ ।

राधा कुन्नि के लिन आई कोठामा, यता खोज्छे उता खोज्छे । खोजेको सामान नभेटिएझैँ फर्कन्छे रित्तै हात ।

“राधा !” ढोकैमा पुग्दा म बोलाउँछु उसलार्ई । फरक्क फर्किन्छे म भएतिर र उभिन्छे ठिङ्ग खामो जस्तो संघार ठेलामा ।

“खै त तेरी भाउजू ?”

“उहाँ त बिहानै सुटिङ्ग छ भनेर जानु भो ।” शिर झुकाउँदै जवाफ दिन्छे र पस्छे भान्छा कोठामा ।

बिहानै ! बिहान बिहान त कहिल्यै सुटिङ्ग हुन्न थियो । फेरि जहिले पनि मलार्ई गएँ है भनेर मात्र जान्थी । आज साँच्चै रिसाइछ ऊ मसँग । दोष के थियो र मेरो ? मेरो बच्चा, मेरो सन्तान, मेरो रगतको डल्लो मलार्ई चाहिन्छ भनेँ त्यो एउटा बाबुको अधिकार पनि त हो नि । के यही मेरो दोष थियो ? कुन बाबुले चाहँदैन आफ्नो सन्तान ? विवाह रासलीला मनाउन मात्र नभएर वंश अगाडि बढाउने माध्यम पनि हो । किन बुझिन लक्कीले यी सब कुराहरू आमा भएर पनि कस्तो पत्थरको दिल । ढुङ्गा जस्तो कतै नरसाउने ।

अफिस जानु र आउनु एउटा बहाना भएको छ मेरो लागि समय बिताउने माध्यम आजभोलि । एकदिन दुर्ईदिन आज आउली भोलि आउली भन्यो, आशै आशमा लक्कीले घर छोडेको पन्ध्रदिन बितिसकेछ । तर कुनै साँझ र बिहान झुल्किन ।

हैन कहाँ गइहोली त्यो आइमाई ? माइतमा फोन गर्दा गएकी छैन भन्ने जवाफ पाइन्छ । उता उसको मोबाइल सधै अफ, फिलिमका डाइरेक्टरलार्ई सोध्दा सुटिङ्गमै आएकी छैन भन्छन् गई होला कहाँ त ? उसका आफन्तहरू जतिमा सबैतिर सोधेँ तर पत्तो लागेन ।

त्यसरी बेपत्ता हुन त नपर्ने हो ? के थाहा र आइमाईको जात रूद्र घण्टी नभएको जातको विश्वास हुँदैन भन्थे हो कि कसो ?

ए ! गाँठे म त लोग्ने हुँ नि त्यसको कमसेकम एक वचन त सोध्न सक्थी म यहाँ जाँदैछु है भनेर । पाखण्डी आइमाईलाई अब कहाँ खोजौँ यो ठूलोे सहरमा ? कसैलार्ई सानो कुरा चुहाएँ भने पनि पत्रकारहरूलार्ई दाल भात भैहाल्छ । नायक नायिकाको चुक्ली मात्र खोज्दै हिडेझैँ लाग्छ ती चलचित्र पत्रकार भनाउँदा पनि सानो तिल जत्रो कुरालार्ई पहाड जत्रो बनाउँछन् । त्यसैको डरले पनि पोल खोल्न सक्दिन हत्तपत्त ।

एक वर्ष अगाडि हो क्यारे एउटा नायकसँग एउटै गिलासमा लक्कीले चिया खाइछ कत्रो सनसनी मच्चिएको त्यो विषयले । उक्त नायकसँग चक्कर चलेको छ भन्ने । अभि देखावटी श्रीमान् मात्र हो भन्थे, त्यो बेलामा पनि साथी भाइको मुख थुन्न हम्मे हम्मे परेथ्यो मलार्ई । अहिले फेरि बिपत्ता ऊ ।

राधा भन्थी ‘दिनमा पचासकल फोन आउँछ के चाहिँ मात्र भनेर ढाटौँ ? आजभोलि त रिसिभर उठाएर राखिदिन्छु ।’ त्यसो त मेरो मोबाइल पनि पहिलेभन्दा बढी नै गुनगुनाउँछ । मनमा नानाथरीका टेन्सन चिनेको नम्बर आए उठाउँछु नत्र राखिदिन्छु ।

एकमन त लाग्छ यो सान्सारिक बन्धन सबै त्यागेर चिनेजानेका मान्छेदेखि धेरै टाढा गएर बसौँ । जहाँ एकान्त र शान्त बाहेक केही नहोस् तर एउटी जवान बहिनीको जवानीको पाप लाग्छ मलार्ई । एउटा केटा खोजेर दिनु पर्ने के नमिलेर हो त्यसै भा‘छ । ब्याचलर गरेकी बहिनी कम पढाइ भएको केटालाई दिनु पनि भएन । सहरका केटा दाइजो माग्छन् आफ्नो कमाइ उही हो कमिलाले गोवर ओसारेझैँ बाटैमा हराउँछ । उता गाउँमा बूढी आमा कहिले छोरा लिन आउला र जाउँला भनेर बसेकी छिन् । कतिथरी टेन्सन खपेर पनि बाँच्नु परेको होला मलार्ई ।

बूढा पाका भन्थे– मर्दलार्ई पर्छ, के सारा संसारको बोझ मर्दलाई नै पर्नुपर्छ भन्ने छ र ? उसको शिर मात्र सुमेरू पर्वत हो कि क्या हो ? सबै कुरा थेग्न सक्ने । उसको मन पत्थरको हो कहिले नदुख्ने, आँखा मरूभूमि हो जुन कहिल्यै नरसाउने । हैन आज मलार्ई आफ्नो चोटले विरहले आफैलार्ई कोपरी रै‘छ, धमिराले काठ कोपरेझैँ कोपरी रै‘छ, चितुवाले सिनु चिथोरेझैँ । सम्हाल्न नसक्ने गरी मन ढल्न खोज्छ गल्याम्र्म गुर्लुम्म । टेको भनेको लक्की ऊ पनि नहुँदा कहाँ अड्डयाउनु र साहै्र गाह्रो भो जिउन ।

मन मस्तिष्क कहिले ठेगानमा रहेन, हिजो पनि हाकिमको गाली खाएँ नराम्रोसँग । म पनि त्यस्तै पारिवारिक टेन्सनले डिस्टप भएर अफिसको काम एउटा गर्नुपर्नेमा अर्को गरिदिँदो रै‘छु अनि किन नझपारोस् साँढेले । ठूलोे कुर्सीमा बसेपछि शानै ठूलोे, धाकै ठूलोे, रवाफै ठूलोे अनि ठूलोे आवाज पनि ।

“किन चाउरिस मरिच, आफ्नै रागले ।” भनेझैँ आफू आफ्नै पीडाको ज्वालामा दनदन सल्किरहेको छु । उता साथी भाइ भनाउँदा काटेको आलो घाउमा नून खुर्सानी दल्छन् । काम नपाएका बाइफाले मोराहरू, हैन अरूको चासो जासुसी किन गर्नु ब्यर्थैमा । खालि आइमाईले जस्तो अरूको कुरा काट्यो उनीहरूलार्ई सरकारी काम कहिले जाला घाम भनेझैँ छ र पनि ठीकै छ जो सोझो उसैको मुखमा घोचो जस्तो मैलार्ई सताउने हाकिमदेखि पियनसम्म । कहिले त जागिर पनि राजिनामा दिनु झैँ पो लाग्छ फेरि अगाडि आउँछन् आमा र बैनी । नून खाएको कुखुरा झोक्राएझैँ झोक्राउँदै मन नलाई नलाई फर्किन्छु घरमा अफिसबाट, गेटभित्र पस्ने बित्तिकै स्कुटर खोज्छन् नजर कतै लक्की आई कि   अहँ आज पनि घरको कम्पाउन्ड रित्तै ।

कोठाभित्र पस्छु ह्वास्सै लक्कीको अभाव नमीठो हस्को बनेर पस्छ मनको तरङ्गमा, हातको धुलो झरेपछि सुनको फूल भने जस्तो साथमा रहँदासम्म त्यसको महत्व नबुझिदो रै‘छ जव टाढा हुन्छ अनि याद र सम्झना पलपल मुटु कोपर्न आउने यो मायाको जातै नहुने ।

राधाले खाजा ल्याएर टेबलमा राख्छे । लक्की सम्पर्कबाट हराएदेखि खानु मात्र औपचारिकता निभाउनु जस्तो लागेको छ आफैंलार्ई ।

“राधा ! लक्कीको फोन आयो ?”

“छैन” छोटो जवाफ फर्काउँछे ऊ ।

मन झन बोझिलो बन्छ, टेवलको रिमोटले टि.भी अन गर्छु उसैले खेलेको फिलिमको गीत बज्छ यस्तो लाग्छ टि.भी. नै उठाएर सडकमा हुत्याऊँ । टुक्रा टुक्रा हुने गरी फुटाइदिऊँ तर यी सब भन्ने कुरा न हो । गर्ने ब्यवहार सोचे भन्दा हुन्छ पृथक, एकदम पृथक ।

थोरै खाजा खाए जस्तो गरेर टेबलमुनि प्लेट राखिदिन्छु, कस्तो दिनमा विवाह गरेँछु मैले लक्कीसँग । दाम्पत्य जीवनमा सुख र खुसीको किरण कहिल्यै आएन, कहिले सुटिङ्ग, कहिले पाटी, कहिले पार्लर ओ हो पाँच वर्षको यत्रो अवधिमा महिनाको एक दुई रात रह्यौँ होला सँगै, नत्र ऊ आफ्नै संसारमा म आफ्नै ।

दोष छ म आफैमा, दोषी म नै हुँ । एउटी नायिकाको रूप हेरेर पछि लाग्ने । म जस्तो मूर्खले दुःख नपाएर कसले पाउँछ ? उसको फिलिम, हलहरूमा लाग्नै हुन्न थियो अफिसमा बेतलबी बिदा लिएर र कलेज हापेर हेर्न पुग्थेँ त्यो पनि एकपटक मात्र हो र तीनचार पटकसम्म ।

नाडीमा उसैको नाम खोपेर पनि हिडँे, रगतले चिठी पनि लेखेँ अन्तमा ऊ मेरो जीवनमा आउन त आई एउटा भूकम्प, चट्याङ्ग, आँधी र सुनामी बनेर आई । जसले मेरो सपना रहर चाहना सब उडायो । सारा मनको चोट पैतालाले कुल्चेर मिडियामा म उसको श्रीमान् भएर अन्र्तवार्ता दिन जान्थेँ ।

सञ्चालकले –“अभिजी ! तपाईं त सारै भाग्यमानी हुनुहुँदो रहेछ, लक्की जस्तो जीवनसाथी पाउनुभयो ।” भन्थे ।

म भने बाहिरी हाँसो फिस्स हास्थेँ क्यामराको अगाडि दाँत देखाएर ।

डोरबेल बजेको आवाजले सोचाइको दुनियाँबाट यथार्थमा ह्वात्तै झारिदिन्छ, सोफाबाट जुरूक्क उठ्छु एक्साइटेट हुँदै आलस्यता भागेर सिमानापारि पुगेको भान भयो । हातमा तासेको आलु नै बाकेर राधा पनि हुत्तिन्छे ढोका खोल्न । हुन सक्छ हामी दुवैको अनुमान एउटै भयो, लक्की ।

“जा तँ किचनमै, म जान्छु ढोका खोल्न ।”

राधालाई ढोकाबाटै फर्काएर गेट खोल्न पुग्छु हतार हतार । एउटा अपरिचित केटा हातमा केही कागज बोकेर ठिङ्ग उभिएको छ ।

“अभि शर्मा हजुर हो ?” उसको सवालमा म मात्र टाउको हल्लाइदिन्छु ।

रजिस्टर तेर्साउँदै भन्छ ऊ –“यहाँ सही गरिदिनुस् तपाईको नाममा डकुमेन्ट आएको छ ।” रजिस्टरमा सही गरेर हातमा एउटा खाम च्यापी कोठामा जान्छु म ।

आजसम्म कुरियर, चिठी पठाउने त कोही थिएन त्यो पनि मेरो नाममा । बाहिरी खाममा पठाउनेको नाम छैन मनमा कौतूहलको बाढी उर्लिन्छ आफैलार्ई बगाउलाझैँ गरी । सम्हालेर खाम खोल्छु जसभित्र हुन्छ दुर्ईटा पेपर ।

सरसर्ती नियाल्छु ती पेपरमा कोरिएका शब्द एकपछि अर्को गर्दै– ओ माइ गढ ! के सोचेँ मैले के भयो अहिले, घरको चारै भित्ता एकैपटक खसेर थिचेजस्तो भयो । आँखामा बादल लागेर पेपरका अक्षर बिस्तारै घोरमाइलो बन्दै गयो । आँखा आँसुले लफलफ्ति भिजेको छ, मैले लक्कीबाट यस्तो अपेक्षा सपनामा पनि गरेको थिइन । ढोकामा राधा बलिन्द्र धारा आँसु बगाउँदै एकहोरो मैलार्ई हेर्दे छे । म ती पेपर खुव नियाल्छु जुन एउटा पेपर लक्कीको एबोर्सन गराउँदाको अस्पतालको प्रेस्किप्सन छ भने अर्को पेपर छ सम्बन्ध बिच्छेदको । फोनको घण्टी बजिरह्यो एकनास किरिङ्ग किरिङ्ग साथमा लोली मिलाउन बज्छ डोरबेल पनि ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।