लघुकथा, संस्मरण, निबन्ध र फाट्टफुट्ट कला-संस्कृतिका लेखहरूमार्फत श्रीओम श्रेष्ठ 'रोदन'लाई नेपाली साहित्यले एक सशक्त कलमजीवीका रूपमा स्थापित गराइसकेको छ। साहित्यिक पत्रकारतिासँग पनि लामो समयदेखि आबद्ध हुँदै आएका यी स्रष्टाको मौलिक विधा के हो ? यसै भन्न सजिलो छैन। तर, उनको पछिल्लो कृति प्रसंगवशले उनलाई साहित्य र संस्कृति क्षेत्रमा एक समसामयिक वार्ताकारको अर्को परचियात्मक विशेषता भने थपेको छ।
वार्तासंग्रहका नाममा प्रकाशित प्रसंगवशमा ८१ स्रष्टाहरूसँगको वार्तालाई पुस्तकाकार दिइएको छ। यी ८१ मध्ये २१ पात्रहरू दिवंगत भइसकेका छन्। यस अर्थमा यो पुस्तक अझ महत्त्वपूर्ण छ।
आज धेरै दिवंगत महान् शब्दशिल्पीहरूका धारणा र उनीहरूबारेको आत्ममूल्यांकन कुनै समालोचकीय पुस्तकमा मात्र पढ्न पाइन्छ। यस्ता लेखहरूले अधिकतम त स्रष्टा स्वयम्का बारेमा अभिव्यक्ति नदिई तेस्रो पक्षले सुनेको या पढेको आधारमा व्यक्त सापटी विचारहरू प्रस्तुत हुन्छन्। तर, सर्जक स्वयम्ले आफ्नै कृतित्व र व्यक्तित्वका बारेमा राखेका धारणाहरू सारै थोरै पुस्तकहरूमा मात्र पढ्न पाइन्छ। त्यसैले ती २१ जना स्रष्टाहरू जो हामीमाझ छैनन्, तिनीहरूद्वारा व्यक्त भनाइ यस पुस्तकमा रहेकाले पनि प्रसंगवश एउटा महत्त्वपूर्ण दस्तावेज हुन पुगेको छ। लैनसिंह बाङ्देल, सुवि शाह, मोहन कोइराला, केवलपुरे किसान, कृष्णचन्द्रसिंह प्रधान, अलिमियाँ, चित्तरञ्जन नेपाली, छिन्नलताजस्ता हस्तीहरू आज हामीबीच छैनन् तर तिनका स्वकथन हामी प्रसंगवशमा पढ्न सक्छौँ। र, त्यसबाहेक ६० जीवित सर्जकहरूका बारेमा अहिले र भविष्यका पुस्तालाई बुझ्न यस पुस्तकले सहयोग गर्नेछ।
पुस्तकमा गरएिका वार्ताहरू सामान्य छन्। जस्तो ः तत्तत् विधामा लाग्ने प्रेरणा कोबाट पाउनुभयो या सो क्षेत्रमा प्रवेश कुन विधाबाट कसरी भयो भन्ने सामान्य जानकारीमूलक प्रसंगमा वार्ताकार बढी केन्दि्रत रहेका छन्। स्रष्टाको गुदी कुराबारे वार्ता मौन छ। यसले गर्दा पाठकले त्यस स्रष्टाका बारे बुझ्न चाहेको खुल्दुली निरुत्तरति हुन पुगेकोे छ। तर, आमरूपमा जानकारी गराइनुपर्ने पक्ष, जस्तो ः उसको विचार, विधागत अवधारणा, त्यस क्षेत्रमा सर्जकले गरेको योगदानका पक्षमा भने यस संग्रहले यथेष्ट जानकारी दिनेछ। यति धेरै कवि, लेखक, चित्रकार, संगीतकर्मी, संस्कृतिविद्हरू समेटिएको सम्भवतः यो पहिलो कृति हो, त्यसैले यसमा प्रायः कुनै पनि व्यक्तिहरू छुटेका छैनन्।
विसं ०४२ देखि वार्ताकारले यसका लागि कलम चलाएको देखिन्छ र यो ०६६ सम्मको निरन्तरता पनि हो। २४ वर्षको अन्तरालमा वार्ताकारले भेटेका सर्जकहरूलाई उनीहरूको विचारका आधारमा त समेटेकै छन् पनि। तर, त्यसमा ती ती समय र अवस्थाका बारेमा पनि पुस्तकभित्रका वार्तालापले धेरथोर बोध गराउँछ। वार्ताकारले प्रसंगवशको प्रसंग थालनी अलि अघिदेखि नै गरििदएका भए यो पुस्तक अझ महत्त्वपूर्ण हुन्थ्यो। यसो गरएिको भए, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, युद्धप्रसाद मिश्रजस्ता महत्त्वपूर्ण नामहरू पनि यसमा समावेश हुन सक्थे। स्वाभाविक छ, यस्ता मूर्धन्यहरूका बारेमा जान्ने इच्छा अझ प्रबल हुन्छ। तर, यो एक स्वैरकल्पना मात्र हो। किनभने, कुनै पनि सर्जकलाई यही समयदेखि लेखारम्भ गर भनेर सीमा तोक्न सकिँदैन। तथापि, ईश्वरवल्लभ, प्रा घटराज भट्टराई, जनकप्रसाद हुमागाईंजस्ता मूर्धन्य हस्तीलाई भने समेट्न सकिन्थ्यो। समय र संयोग नमिलेर होला, यी दिवंगत पात्रहरू यस कृतिमा अनुपस्िथत भएका छन्। यसबाहेक तारानाथ शर्मा, तुलसी दिवस, जगदीश घिमिरे, घनश्याम राजकणिर्कार, दैवज्ञ न्यौपाने, तोया गुरुङ, रमा शर्मा, गार्गी शर्मालाई वार्ताकारले समेट्न सक्ने सम्भावना थियो। पत्रपत्रिकामा प्रकाशित सामग्रीहरूलाई मुख्य आधार मानिएको देखिन्छ। तसर्थ, उल्लिखित व्यक्तिहरू यस कृतिमा पर्न नसकेका हुन सक्छन्। पूर्वप्रकाशित सामग्रीलाई कतै सम्पादन र संशोधन नगरी जस्ताको त्यस्तै प्रस्तुत गरएिका कारणले वार्ताशैलीमा भने एकरूपता पाउन सकिँदैन। अधिकांशतः प्रश्नोत्तर ढाँचामा छन् भने केही व्यक्तिचित्र -प्रोफाइल) शैलीमा अभिव्यक्त भएका छन्। यसले पाठकलाई अध्ययनमा नौलोपन नै दिन्छ, आलस्य गराउँदैन। तर पुस्तकको आवरणमा 'अन्तर्वार्ता संग्रह' र भित्री पृष्ठमा 'वार्तासंग्रह' उल्लेख हुनु र कतिपय व्यक्तिहरूको नाममै पनि अशुद्धि हुनुले पुस्तक हतारमा निस्केको प्रतीत हुन्छ । समष्टिमा यस पुस्तकले विगत र वर्तमानका प्रमुख साधकहरूका सन्दर्भमा एकै थलोमा अध्ययन गर्ने अवसर जुटाइदिएको छ। यो प्रशंसनीय काम हो।
नेपाल साप्ताहिकबाट