16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

राजनैतिक सन्दर्भका लघुकथा : बजगाईंको 'रोडम्याप'

कृति/समीक्षा ध्रुब मधिकर्मी December 7, 2010, 4:15 pm

पछिल्लो समयमा आएर लघुकथा लेख्नेहरुको संख्या मात्र बृद्धि भएको नभई यसको विषय र स्वरुपले समेत एउटा निश्चित र गुणात्मक आकार निर्धारण गर्न थालेको छ । लघुकथा लेख्नेहरुको यो जागरुकताले नै लघुकथालाई लोकप्रिय विधा तुल्याउनुका साथै लेखनको क्षेत्रमा यो एकप्रकारले चुनौतीको विषय समेत भएको छ । लामो कथाको प्रभाव र महत्व आफ्नै ठाउँमा छंदैछ तर लघुकथाले पनि आफ्नो प्रभाव र प्रहारको क्षमतालाई साबित गर्न थालेको छ ।

लघुकथामा यस्तै प्रभाव र प्रहारको क्षमतालाई साबित गर्नआएका श्रष्टा हुन् कृष्ण बजगाईँ । लघुकथा लेख्नेहरु धेरै छन् तर लघुकथा लेखनमै मात्र लागेर फैलने श्रष्टाहरु कम छन् । त्यसमध्ये कृष्ण बजगाईँ पनि एक हुन् । लघुकथालेखनमै केन्द्रित भएर लागिपरेका लघुकथालेखक बजगाईँको पहिलो संग्रह यन्त्रवत् वि.सं. २०६४ मा प्रकाशित भएको थियो र त्यसले लघुकथाको क्षेत्रमा भौतिक विकासले ल्याएको प्रभावले मानवीय जीवनमा परेको विषयलाई लिएर एउटा तरङ्ग पैदा गरेको थियो । यन्त्रवत्ले कृष्ण बजगाईँलाई समर्थ लघुकथाकारको रुपमा उभ्याएको थियो भने हालै प्रकाशित अर्को लघुकथासङ्ग्रह रोडम्यापले उनको उभ्याइलाई बलियो घरातल प्रदान गरेको छ ।

रोडम्यापमा कथाकार बजगाईँले राजनैतिक क्षेत्रका गम्भीर विसंगति र त्यसले जीवनका हरेक आयाममा ल्याएको प्रभावलाई चिरफार गरेका छन् । समसामयिक जीवनले खोजेको गन्तव्य र त्यहाँसम्म पुग्ने माध्यमका प्रत्येक सन्दर्भमा राजनीतिको ग्रहणले छोएको छ । जीवन र समाजको महत्वपूर्ण पाटो राजनीति भईकन पनि यस क्षेत्रमा हुर्किएको विसंगतिले मानवीय जीवनलाई कति कठिन र कुरुप बनाएको छ भन्ने यथार्थको चित्र हो रोडम्याप ।

जनतालाई गलत रुपमा प्रयोग गरिएको, घर्मको आडमा पनि राजनैतिक स्वार्थ नै सिद्ध गर्न खोजिएको, भ्रष्टाचार रचाकडीलाई राजनीतिको अविभाज्य बनाइएको, अधिकार, स्वतन्त्रता र मानवीय आग्रहका लागि लडिने विरोध हडताल जस्ता माध्यम अब केवल सत्ताका लागि मात्र केन्द्रित भएको जनतालाई दिने नाउँमा उल्टो जनताबाटै असुल्ने प्रवृत्ति राजनीतिमा बढेको र राजनीतिमा भाषण उद्घाटन आश्वासन र अर्थहीन चुनावमै महत्व बढेको जस्ता भयावह सन्दर्भहरुले भरिएका छन् रोडम्याप भित्रका लघुकथाहरु ।

रोडम्याप, दर्शन, झगडाका गुँड, भित्रबाहिर, आदेश, स्वर्णपुरुष, पुरुषअंग , छेपारे रंग, त्रास, भ्यागुतो उफ्राइ, बँुख्याचा, भोक हडताल, रिस, सल्लाह, रोबोट आदि लघुकथाहरु राजनीति केन्द्रित छन् । बुँख्याचा, आश्वासन, रोडम्याप, होहोहाहा, भोक हडताल, घोषणासभा आदि लघुकथामा जनता राजनीतिको गोटी र निरीह पात्र भएको यथार्थ प्रस्तुत छ । भित्रबाहिर, मुक्तिदाता, छेपारे रंग, स्वर्णपुरुष आदि कथामा नेताहरुमा व्याप्त भ्रष्टाचार स्वार्थ र धनसम्पतिको लोभ भएको विषय चित्रित छ ।

राजनैतिक विषयक कथामा दुःखको पहाड, सोम शर्माको सपना र रोबोट केही फरक सन्दर्भले गर्दा उल्लेख्य छन् । सोम शर्माको सपनामा प्रस्तुतिको प्रयोग आकर्षक छ । पुरानो सोम शर्मा र अहिलेको सोम शर्माको सपनामा हुने फरक सोचलाई तुलनात्मक रुपमा प्रस्तुत गरिएको छ । यी दुबै कथा माओवादी द्धन्द्ध र त्यसले हुर्काएको हिंसासित सम्बद्ध छन् । रोबोटमा विचारलाई भन्दा बन्दूकलाई प्राथमिकता दिएर गरिएको राजनीतिले कार्यकर्तालाई कतिसम्म क्रूर र निर्मम बनाउँछ भन्ने देखाइएको छ । दुःखको पहाड तुलनात्मक रुपमा अझ प्रभावकारी छ । यी कथामा मानवीय जीवनको अवमूल्यनको विषयलाई बडो प्रभावकारी रुपमा उठाइएको छ ।

त्यसो त राजनीति आफै मात्र भ्रष्ट र विसंगतियुक्त भएको नभइ धर्म जाति समूदाय र व्यक्तिगत स्वार्थका कारणले पनि यस्तो स्थिति आएको सत्यलाई यहाँ दर्शन, झगडाका गुँड, सल्लाह, मानवीयता आदि कथा मार्फत चित्रित गर्ने प्रयास छ ।

भ्रष्टाचार घुसखोरी चाकरी केवल राजनैतिक क्षेत्रमा मात्र फैलिएको छैन ा यसले समाजका अन्य क्षेत्रमा पनि जरो गोडेको छ । गोजी नभएको सुट, रिपोर्टर, समाजसेवा आदि कथामा भ्रष्टाचार र स्वार्थले कसरी जरो गाडेको छ भन्ने सन्दर्भलाई सटिक रुपमा देखाउने यत्न छ ।

यस संग्रहमा राजनीतिसितसम्बद्ध कथाहरुको बहुलता छ साथै जातीय धर्म प्रेम यौन र नारीति सम्बद्ध केही कथाहरु पनि छन् । तेश्रो लिङ्गी, भित्री जाडो र फास्ट प्रेममा प्रेम र यौनको विषयमा लेखिएका रचना हुन् । यौनको आवश्यकतालाई भित्री जाडोमा सरल र प्रतीकात्मक रुपमा प्रस्तुत गरिएको छ । चेलीबेटी बेचबिखन र नारी समस्यामाथि आशा, पुरुषअंग, परिवर्तन, लोग्नेको जात र कला कथा लेखिएका छन् । आशामा नारीहरु आज पनि पुरुषप्रधान समाजमा निरीह भएर बाँचिरहेको पुरानै विषयको तर नयाँ कलेवरमा लेखिएकोछ । तर परिवर्तनमा भने नारीको अवस्था निकै भिन्न भइसकेको स्थितिको चित्रण छ । तर यी भन्दा लोग्नेको जात कथा भने भिन्न छ । महिलाहरुमा पनि पुरुषप्रवृत्ति हुन्छ भन्ने शाश्वत सत्यलाई लोग्नेको जात कथाले सटिक रुपमा चित्रण गरेको छ । कलामा चेलीबेटी बेचविखनको पुरानै सन्दर्भ छ ।

साहित्य तथा लेखनको क्षेत्रमा भएका पूर्वाग्रह ईष्र्या र लेखकीय अहममाथि मित्रता, शत्रु, ईष्र्या र परम्परा कथालेखिएका छन् । यी कथाहरुले प्रवृत्तिलाई त प्रस्तुत गरेका छन् तर कथाको संसरचना र विषयगत आग्रह भने त्यति प्रभावकारी छैन ।

लघुकथाको क्षेत्रमा स्थापित कृष्ण बजगाईँले राजनैतिक क्षेत्रका विसंगतिहरु, द्धन्द्धले ल्याएको परिणाम, जीवनका अप्ठेरा र अभाव, मानवीय भावनाको अवमूल्यन, नारी समस्या, पुरुष मानसिकता, जातीय विखण्डनको प्रारम्भ, यौन कुण्ठा, स्वार्थ गाँसिएको सेवा आदि समसामयिक सन्दर्भहरुलाई कथाको विषय बनाएका छन् । उनका कथाहरु विषय र प्रस्तुतिको दृष्टिले व्यापक त छन् तर लघुकथालाई ठोस र सशक्त बनाउन जुन संरचना र अभिव्यक्तिको प्रवाह चाहिने हो त्यसको केही अभाव छ । आकारका दृष्टिले यी लघु त छन् तर शब्दप्रयोग र विषयको संयोजनमा कमजोरी देखिएको छ । बन्दूक र गोली, बरदान, तीन बाँदर, मुर्दाशान्ति, भ्यागुतो उफ्राइ, परम्परा, तेश्रो लिङ्गी, रिपोर्टस, मुुक्तिदाता, होहोहाहा आदि कथामा यसप्रकारका कमजोरी छन् ।

साभारः पुनर्जागरण साप्ताहिक , काठमाण्डौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।