19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

राष्टघाती

कविता भोजराज न्यौपाने December 13, 2010, 12:11 pm

म आजदेखि

राष्टघाती बने ।

अमेरिका जाने

स्वप्नस्मृतिले गाँजिएर

पराईभूमिको सुन्दर सपनामा डुव्दै

डीभी भर्न लाम लागिरहेको बेला

मैले आफ्नै देशलाई धिक्कारें ।

साँच्चै म किन आफ्नो जन्मभूमि छाडेर

विदेशिन खोजें ?

सानो घरवारी

बृद्ध बाबु आमा

मायालु जीवनसाथी

र फूलजस्तै छोराछोरी छाडेर

किन जान लागें म त्यो परदेश ....?

उद्यमी बन्छु भन्दा, ऋण पत्याउँदैन बैंक

किसान बन्न हतोत्साही बनाउँछ सरकार

शीप सिकाउन छाडेर, विदेश जान सल्लाह दिन्छन् प्राद्यापक

विदेशमा पसिना बगाउ भन्छ नेता

तस्करी गर्न छुट दिन्छ कर प्रशासन

घुस लिएर अपराधी छुटाउँछ प्रहरी

कर तिर्नेलाई कालोबजारी देख्छ कर्मचारी

पढाउन छाडेर पार्टीको काममा हिंड्छ शिक्षक

पैसाकालागि अपराधीसंगै मिल्छ वकिल

पैसाकै लागि सद्दे हातपनि ब्यान्डेज गर्छ डाक्टर

विद्यालय बनाउने बजेटले मन्दीर बनाउँछन् गाउँले

बाटो मिचेर घर बनाउँछ छिमेकी

नदीमा ढल हाल्ने सल्लाह दिन्छ इन्जिनियर

पेसेवर अपराधी गुहारेर चुनाव जित्छ नेता

अब म कसरी टुलुटुलु हेरेर बसौं यो दुर्दशा ?

आफ्नै आँखा अगाडि

आफैंले छानेको मान्छे

खराब भैदिदा म उसलाई औंलो ठड्याउनपनि नसक्ने भएछु ।

त्यस्तै खराबहरुले छानेकाहरुसंग

कसरी उभ्याउन सक्छु र म आफूलाई ?

यस्तो देशमा मैले

आफूलाई कसरी सुरक्षित बनाउन सक्छु ?

मनमनै आफैंलाई

भगाउन मन लाग्छ मलाई मेरै आफ्नो आँखाबाट ।

सबै सबै कुदृष्टिहरुबाट बच्न

किनकी मजस्तै राष्टघाती बन्नु नपरोस मेरा सन्ततिले ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।