19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिम्रो सम्झना

कविता माझघरे माहिलो December 15, 2010, 2:45 pm

तिमीले बार्दलीमा लगाएकी मनीप्लाण्ट

आँगनीमा फूलेका ढकमक्क चमेली र गोदावरी फूल

करेसाबारीको बोडी र तिमीलाई औधी मनपर्ने तीतेकरेली

नीलो र वैजनी रङ्गले रङ्गाएको हाम्रो घरको कम्पाउण्ड ।

मूलद्धारमा तिम्रै हस्तलिखित ”सुमन ंसुम्नीमा”

भान्सामा हमेसा बजिरहने सेन्टीमेन्टल ट्रयाक्

झुण्डयाइएका फ्राइपेन, स्पोन, फक, कफीकप, प्लेट तथा मोमो उसिन्ने भाँडो

अनि तिमी र मैले पालैपालो पहिरिने किचेन एप्रोन ।

बैठक कोठामा सजाएकी जरायोको सिङ

सट्डाउन गर्न बिर्सिएको कम्प्यूटर अनि लत्रिएको माउस ।

ड्रेसिङ टेबलको ऐनामा तिमीले पुछेकी गाजल, लिपिस्टिकका दागहरु

कपाल कोर्ने थाँक्रो जुन माइतीबाट दाइजो ल्याएकी थियौ,

केही इलास्टीकहरु

चिम्टी र नरिवलको तेल

अनि तिमीले नियमित दल्ने गरेकी अत्तरको बट्टा

उफ् ! अझ तिमी मग्मगाइरहेछ्यौ ।

तकीयामुनिको अनवाण्टेडका चक्कीहरु अनि केही बेलुनहरु

सुत्नु एक्कैछिन् अघि तिमीले ओछ्याउने सेतो सुतीको टालो

गलैँचामाथि छरिएका सुन्तला र अनारका बोक्राहरु

स्टील आलमारीभित्रको तिम्रो कलेजी रङ्गको स्वीटर

जज्ञमा पहिरिएकी लगनको साडी–ब्लाउज

सिँदूरको बट्टा र पोते अनि मेरो दुबोको माला र सूट टाई

तिमी नै भन ओ प्रियशी

यी यावत् वस्तुहरु जसले मलाई हमेशा तिम्रै मात्र झ–झल्को दिने गर्दछ

अब म के गरुँ ?

एकान्तमा एउटा सानो बगैँचा र करेसाबारी सहितको चिटिक्क एकतले घर

भनेजस्तो जागिर

एउटा छोरो या छोरी

भन्ने गथ्र्यो बारम्बार

यी तिम्रा जायज मागहरु

क्रमशः पूरा गरीदिएकै त थिएँ नि

छोरो बाहेक

ओ सखी

मेरी प्राणप्यारी

भो अब बक्न सक्तिनँ यहाँ भन्दा

यद्यपि

आज तिमीलाई श्रद्धाञ्जलि

मेरो एकर्लौटी समवेदना पेस्नुछ

स्वीकार मेरो लाखौँ हिक्क–हिक्क आवाजहरु

चार दिवालभित्रको छटपटि

छातीमा बजारिएका कैयौँ मुड्कीहरु

स्वीकार मेरो चिथोरिएको शरीर अनि अनुहार

लुछिएका जगल्टाहरु

स्वीकार मेरो छाती चिरेर निकालेका रगतका फाल्साहरु

मलाई जीवित बनाई राख्ने यै फोक्सोभित्रको मुट्ठीदुएक श्वासप्रश्वास

अब स्वीकार मेरो पार्थिव शरीर

जो डङरङ लडेको छ, त्यै स्यानो चिटिक्क घरको आँगनीमा

बस् यत्ति टक्र्याएको छु समवेदना भनेर

तिम्रो असामयिक निधनमा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।