19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत हरिहर तिमिल्सिना December 17, 2010, 11:48 am

यौटै फूल कैले पाउमा कैले शिरमा

कैले फुल्छ खुसीमा त कैले पीरमा

कैले चढ्छ देउतामा कैले लाशमा

कैले बोटमै सुकिजान्छ आशैआशमा

कैले चिसो तुसारो त कैले पोल्ने घाम

त्यसैमाथि कैलेकाहीँ भँमराको डाम

यौटै मान्छे कैले रिसमा कैले मायामा

कैले सधैँ दिन बल्छन् कैले छायाँमा

कैले बास्नै अभिशाप कैले वैरी रूप

च्यातिच्याति फाले पनि हुनुपर्ने चुप

कैले ज्यानै हत्केलामा कैले डालीमा

कोही फाल्छन् गङ्गाजीमा कोही नालीमा

यौटै व्यक्ति कैले काखा कैले पाखैमा

कैले देख्नै नचाहने कैले आँखैमा ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।