‘नेपाली साहित्यमा महत्वपुर्ण योगदान दिने साहित्यकार गोविन्दवहादुर मल्ल गोठालेको मृत्यु ’ अचानक कानमा परेको यो आवाज संगै कता कता मनमा छुट्टै तरङ्ग फैलियो । गोठाले जसलाई मैले म जुजुमान कथा कक्षा ८ मा पढ्दा देखि चिनेको हुँ । सायद सामान्य परिवारको मान्छे भएकाले पनि होला त्यो कथाले साह्रै मन छोएको थियो मेरो त्यतिवेला । साथिहरु गिँज्याउथे मेरो दयनिय अवस्थावाट अनि म प्याट्ट भन्थे ‘जति राम्रो भएपनि म वसन्त नराम्रो भएपनि म वसन्त ’ओ हो मेरो आदर्श गोठालले संसार छाडे । स्कुले जीवनमा नै पढेको उनको अर्को कृति पल्लो घरको झ्याल मिनि लाईव्रेरीबाट निकालेर फेरि पढे ओ हो कत्रो साहस गोठालेको । मान्छेले सिद्धान्त लेखे गोठालेले त्यसैमा टेकेर साहित्य लेखे । आफुले संसार छाडे तर जुजुमानलाई हामीसंगै छाडेका छन् उनले । यौवनको मस्त जवानीमा हरेक श्रीमानहरुले आफ्नो श्रीमतिका लागि पनि सम्मान राख्नुपर्दछ अनि उस्तै समय पनि व्यतित गर्नुपर्दछ । हरेकको मनहुन्छ र त्यो मन तुलवुलपनि गर्दछ आफ्नाले नहेरे पल्लो घरको वन्द झ्याल खुल्ने लालसाले सवैलाई समात्छ । कस्तो मिठो भावना मिठो संग पोखिएको छ पल्लो घरको झ्यालमा । साच्चि कृतिको भुमिका लेख्ने क्रममा साहित्यकार वालकृष्ण समले पनि साह्रै प्रशसा गरेका छन् । एउटा कथा लेख्दै थिए गोठाले पल्लो घरको झ्याल भनेर त्यो उपन्यास पो वनेछ । अझैपनि पल्लो घरको झ्याल उपन्यास की लामो कथा विवेचना हुन्छ नेपाली समालोचना क्षेत्रमा ।सिद्धान्तले जुन कृति होस् वास्तविकतामा नेपाली साहित्यका लागि नयाँ वाटो कोर्ने कृति हो पल्लो घरको झ्याल ।
‘गोविन्द वहादुर मल्ल गोठाले वनको नजिकै गाँउमा वस्छन् अनि उनले धेरै गाईवस्तुपालेका छन् र ती गाईवस्तुवाट आउने दुध दहि खाएर उनी मोटाघाटा छन् ’साहित्यकार एवम् समालोचक नेत्र एटमलाई प्रविणता प्रमाणपत्रतह पहिलो वर्षको ऐच्छिक नेपाली विषयको कापि जाँच्नेवेला सिराहाको कुनै विद्यार्थीले उत्तरपुस्तिकामा लेखेको उत्तरपढेर मनमा वसेको छाप अचानक चिम्सा आँखा अनि फुकि ढल्ला झै दुव्लो ख्याउटे शरिर भएका गोठालेलाई देख्दा एकाएक हराएको प्रसङ्ग आफ्नो निवार्ता संग्रह सिमान्त आकाशमा व्यक्त गरेका छन् । नेपाली साहित्यमा नयाँ आयाम थप्ने गोठालेले मंसिर २७ गते सोमवार उपचारको क्रममा ज्ञानेश्वरस्थित हिमाल नर्सिङ्ग होममा सदाका लागि आँखा चिम्लिएका छन् । नेपाली साहित्यको भण्डारलाई मोटो पार्ने ख्याउटे गोठालेको अन्त्यसंगै नेपाली साहित्यले एउटा अभिभावक गुमाएको छ । वि.स. १९७९ साल असार २६ मा काठमाण्डौ खाल्डोमै संसार देखेका गोठालेले अन्तत त्यहि खाल्डोमै सृजनाको फेर समातेर सारा जीवन सिद्धाए । ‘मेरो पनि पोई छ अनि पोईको घर छ ।’हो गोठालेको पनि लठ्ठि थियो अनि त्यो लठ्ठिले डो¥याईरह्यो । गतसाल भाचियो अचानक लठ्ठि उनि असक्त भए उनी सहाराविहिन भए अनि खोज्दै गए उहि लठ्ठिलाई जसले जीवन जीवन जस्तो वनायो ।पल्लो घरको झ्यालमा आँखा गाडेर यौवनको मयल पखाल्नेहरुलाई कति मिठो अनुभुति हुन्छ पल्लो घरको झ्यालवाट ।
जतिवेला समाज सोचाईको साघुरो गल्लिवाट अटेसमटेस गरेर अगाडि वढ्दैथियो हो त्यहि समयमा उनले यौन फ्रायडका सिद्धान्तहरुलाई सृजनाका माध्यमवाट प्रस्तुत गरे । सजिलो फूलको वाटो जो पनि हिड्छ तर गोठालेले अफ्ठेरोमा काँडाको बाटो आफै कोेरेर हिँडे । पल्लो घरको झ्यालवाट गोठालेले नारीसंवेदनालाई अत्यन्त नजिकवाट चियाएका छन् । सिउदो रङ्गाएर मन अनि यौवन नरङ्गाउनेहरुलाई मिठो झापड दिए गोठालेले । हरेक घर घरमा हुनुपर्दछ पल्लो घरको झ्याल ।
‘त्यसको भाले’ कथावाट साहित्यारम्भ गरेका उनलाई वास्तवमा त्यहि कथाले नै गोठाले वनाएछ । गोविन्दवाट गोठाले वन्नुको प्रसङ्गलाई कोट्याउदै केहि समय अगाडि एउटा अन्तर्वार्तामा बोलेका थिए ‘त्यो कथा शारदा पत्रिकामा छापिने सुरसार थियो प्रेसमा त्यसको कम्पोजपनि भएको थियो लगभग १९९७ तिरको कुरा होला अचानक राणाविराधी क्रियाकलाप गरेको आरोपमा मलाई पक्रेर लगियो र मैले त्यतिवेला प्रजा परिषद्का नाममा राणा विरोधि पर्चाहरु पनि छर्थे र म जेलमा परेपछि त्यतिवेला शारदा पत्रिका हेर्ने भवानि भिक्षुले मलाई र शारदा पत्रिकालाई असर पर्ला भनेर गोठाले उपनाम राखेर त्यो कथा छाप्नु भयो वास्तवमा भिक्षु नै गोठालेको न्वारान गर्ने व्यक्ति हुनुहुन्छ ।’ नेपाली साहित्यमा अहिले कमै जिवित मानिसहरु छन् जसले महाकवि लक्ष्मीप्रसाद देवकोटको सामिप्यता पाएका हुन् गोठालेले पनि बावु ऋद्धिवहादुर मल्लको सहाराले देवकोटाको संगत गर्ने अवसर प्राप्त गरेका थिए । वावुको काखामा वसेर देवकोटाकै आवाजमा मुनामदन सुनेको कुरा आजै जस्तो लाग्छ उहालाई तर उमेरको अन्तरका कारणले उहाले देवकोटासंग भने संग तगर्न पाउनु भएन । गोठालेले थोरै लेखे तर राम्रा लेखे नेपाली जनजीवनको तस्विर शव्दमा उतारे ।चाहे त्यो पल्लो घरको झ्याल होस् या त भुसको आगो, प्रेम र मृत्यु ,च्यातिएको पर्दा या भोको घर,कथैकथा र दोष कसैको छैन र्नै किन नहोस् ।सवैमा नेपालि जनजिवनको तस्विर छ अनि भोगाई छ र विशेषत मनोविश्लेषनात्मक छन् ।
थोरै सपना थिए गोठालेका पनि भाई विजय मल्ल जस्तै प्रज्ञा प्रतिष्ठानको प्राज्ञ वनिन्छ कि भन्ने तर सपना सपनै रह्यो । गोठालेसंग झण्डा थिएन सायद शिरमा त्यहि भएर अधुरै सपना सिद्धियो उनको जीवनपनि । जीवनको अन्तकालमा नत उनी सोचेर लेख्न सक्थे नत अरुका सृजनानै पढ्न । यो भन्दा सर्जकको लागि ठुलो पिडा के हुनसक्तछ तर पनि आशाको दियो बाले उनले जीवन बाँकि रहदा सम्म । कहिल्यैपनि निराश भएनन् अनि उदास पनि तेजिलो सूर्य वनेर वाचे,अटल भएर बाँचे ।
‘किनकी उसको पोई छ र उसको पोईको घर पनि ‘पल्लो घरको झ्यालमा जस्तै गोठालेको पनि घर थियो अनि छोरा पनि तर किन किन उनले जीवनमा सन्तोषको र सुखको सास राम्रोसंग फेर्न पाएनन् । बाँकि एकमात्र ईन्जिनियर छोरा उमेशवहादुर मल्लको व्यवहारका बारेमा सर्जक नेत्र एटमले कतै लेखेका छन् ‘यस्तो महान अनि सरल व्यक्तिको छोरा पनि त्यस्तो होलान् भन्ने कसले कल्पना गर्न सक्तछ ’ तर गोठालले कहि पनि निकालेनन् पीडाका स्वरहरु निरन्तर सृजनको वागमा मुस्काएर बाँचिरहे, अनि सहिरहे पीडाहरु चट्टान बनेर ।
गोठाले जतिबाँचे नेपाली साहित्यका लागि बाँचे अनि जति गरे नेपाली साहित्यका लागि गरे । गोरखा दक्षिणवाहु, त्रिभुवन प्रज्ञा पुरस्कार , वेदनिधि पुरस्कार जस्ता केहि मानपदवि पनि पाए अझ त्यो भन्दा धेरै नेपाली साहित्यका पाठकहरुको माया पाए । ८९ वसन्त देखे गोठालेले तर जुजुमान बनेर, अनि पल्लो घरको झ्याल नियालेर जुनी जुनी बाच्ने छन् नेपाली साहित्यका लागि जे दिए त्यो अमर र अजर छ । त्यो सधैसधै नेपाली मनका बिचमा रहिरहनेछ । बन्द भएको पल्लो घरको झ्याल अब साहित्यमा मात्र खुल्नेछ । गोठाले दाई तपाईको सम्झनामा ‘उसको पोई छ अनि पोईको घर छ ।’