19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कॉंसहरू फुल्न थालेपछि

कविता वीरभद्र कार्कीढोली December 18, 2010, 1:22 pm

कॉंसहरू फुल्न थालेपछि

एकखेप फेरि म

सब थोक बिर्सिएर रमाएको हुँदोरहेछु।

र कॉंसहरू फुलेका बगरलाई

घण्टौसम्म देख्न चाहेको हुँदोरहेछु।

धेरै बॉंधहरू

धेरै, धेरैखेप उठेका, उठाइएका पनि थाहा छ।

मजबुत धेरै बॉंधहरू

धेरैखेप भत्किएको पनि थाहा छ।

तर कुनै खोला, नदी!

सोचिएर बॉंधका छातीमा

बग्नै नसकेको चाहिँ

मलाई कहिले थाहा भएन।

त्यसैले प्रेरित छु। खोलाहरूसित

सम्बन्धित छु। गति वेगहरूसित

प्रभावित छु। निरन्तर त्यसैले

बगरभरि फुल्न थालेपछि कॉंसहरू

खोला र बगरको अवस्था

असार साउनजस्तो हुँदैन

कॉंस फुलेको याम

दिन थोरै र रात धेर भएको हुन्छ।

यो यामलाई कसैले तर

अशुभ मानेका हुँदैनन्।

उनको अभियानलाई

त्यसै मैले तोड़िदिएको थिइनँ।

भ्रम कठोर लाग्नसक्छ। उनलाई

कुनै खोला, ऐलेसम्म तर

कसैद्वारा तयार गरिएको बाटो बगेको छैन।

अनि बग्ने छैन। भविष्यमा पनि

आफै तयार पार्छन्। बाटाहरू

र आफै बग्छन्। खोलाहरू

त्यसैले कॉंस फुल्न थालेपछि

एकखेप औधि रमाएको हुँदोरहेछु।

र ती पानीजस्तै बगेर

मनका कापकापबाट

आफ्ना दु:खपीरहरू सबै-सबै

फेरि बिर्सिपठाएको हुँदोरहेछु।

त्यसो र रमाएर

लाग्छ म पनि कहिले

यी ढुङ्गाहरूजस्तै

विध्न चिल्लो-चिल्लो हुनसक्नु नि!

अनि यी बालुवाहरूझैँ

ढुङ्गादेखि बालुवा हुन सक्नु नि!

म पनि यी कॉंसहरूसितै

भित्र कतै नदेखिने कसैले गरी

फुल्न पाउनु नि!

त्यसो र मेरो जीवनका प्रत्येक घड़ीमा आउने

भलबाढ़ीदेखि उति हतास भइनँ।

तर सक्त विचल्नी पार्दै गए

ती घड़ीहरू कतिले

त्यसो र यही जीवनमा पटक-पटक आइरहने

भयानक-भयानक अद्भूत विपन्नता

दृश्यस्थिति र सङ्घर्षदेखि

शायदै कहिले आतेस भइनँ।

तर सक्त आतेस पार्न आए स्थितिहरू

त्यसो र कॉंसहरू फुलेको हेरेर

विगत भुल्दारहेछु! अनि म

अनि हरेक सॉंझ अदृश्यरूपमा चल्ने हावाका झो ँकाले

यी कॉंसका बोटहरूलाई

सम्पूर्ण एकपल्ट निहुराए तापनि

यी कॉंसहरूले

अदृश्य ती हावाका झो ँकाहरूसित

कहिले दिल दुखाएका हुँदैनन्

कहिले भूल बुझेका हुँदैनन्

अब त विपन्नता, सङ्घर्ष र बग्नुका कुराहरू

बुझ्छु! राम्रो बुझ्छु।

त्यसो र कॉंसहरू फुल्न थालेपछि बगरभरि

दु:ख सुख सबै-सबै बिर्सिएर

एकखेप फेरि कुन्नि कस्तो रमाएको हुन्छु।

औधि रमाएको हुन्छु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।