19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मानौं एक्स

कविता राजा पुनियानी December 18, 2010, 1:25 pm

(१)

व्यस्त छन् शब्दहरू एसएमएस र ई-मेलहरूमा। त्यसैले इतिहासका पन्ना डल्लै खाली छन् अचेल। बिरालोको सीङ उम्रिँदैन भन्थ्यो। ऊ क्या त... उम्रिएछ त ल्याबमा। वर्ष दिन भयो पासाङ सरकी छोरी हराएको। कल सेण्टर काम पाएर गएकी थिई। फर्किइन ऊ। त्यो समय जो मृत्युलाई अट्टेरी गरिहिँड्थ्यो: मार्‍यो अघि ६ बजे त्यसले आफैलाई । नाङ्गै। आफ्नो हत्याको लाइभ दृश्य त्यसले अनलाइन भिडियो च्याटिङ गरिरहेकी रेखालाई देखायो।

(२)

अन्तरेले पनि अस्ति बुधबार मोबाइल किनेछ। चलाउनै जान्दैन रै’छ तर। आह्रिस फुल्यो यसपालि ढकमक्क सयपत्रीको सट्टा। अर्कोपालि के फुल्ला कुन्नि? एटलसमा नछापिएको एउटा नयॉं देश नाजायज भ्रूणजस्तै बढ्दैछ उनीहरूको निषिद्ध राष्टिय मुक्ति आन्दोलनको टेस्ट ट्युबभित्र। बजार तातो छ। हुँदैछ। भोलि हड़ताल। भोलि नै प्रशासनसँग वार्त्ता पनि छ। खैनी माड़्दै चिया कमानको पल्लो फेन्सिङभित्र उभिएर सड़कको जुलुस हेर्दैछ नबोल्ने वर्ग सङ्घर्ष। फर्किँदा इस्कुस कति केजी लानु—त्यो सोच्दैछ रमिता हेरिसकेपछि।

(३)

समात्दा-समात्दै चिप्लिएर भाग्यो विचार। कस्तो छाड़ा हौ! उ पर ... लड़िरहेको रहेछ विज्ञापनको सड़कमा। रगतसरि छ यथार्थ। पोस्ट-मोर्टम गरेको रिपोर्ट आयो अघिल्लो लासको। ‘भोक’-को सट्टा ‘परिचय सङ्कट’ लेखेको थियो अरे रिपोर्टमा। पत्रकारहरू पकाउँदैछन् खबरको खिचड़ी। ग्लोबलाइजेसन-ग्लोबल वार्मिङसँगै बढ्दैछ जीवनको पारा। केटाकेटीमै केटाकेटीहरू के छिटो छिप्पिएका? लेस्बियन आँसु र गे हॉंसोले बिहे गर्ने भएका छन् ठिकादारहरूको न्युड कलोनीमा। पानी पर्‍यो मज्जले। भीड़ छ रक्सी दोकान। वेश्या शब्दहरूलाई ढॉंट्न लगाएर ढुक्क छन् अहिले शासक र भावी शासकहरू।

(४)

बलियो छ व्यवस्था। पैसा र पावरले। खूब-खूब डराउँछ मान्छे बोलेछ भने तर। मनोरञ्जन-मिडिया छँदैछ। र पनि बुच्चिएन भने मुख—छँदैछ लाठी, बन्दुक। र पनि बुच्चिएन भने मुख—छँदैछ पैसा। हिसाब मिल्यो? जा एक राउन्ड डुलेर आइज। अन्त पढ्नु बस्। अर्को अभ्यासको हिसाब अलिक कड़ा छ। थालिदिइराख्छु — आफै गर्नू। ‘बी’ जनता, नेता ‘सी’ तेस्रो शीर्षविन्दु ‘ए’ — को कोण मान खोज्नु छ। सिग्रेट खाइस् कि क्या हो? बुङ-बुङ गनाउँदैछ त? ... मानौं ‘एक्स’। ...

...इन्काउन्टरमा ठहरै भएको फिलोसफी-लाई हिजड़ाहरूले बोकेर लगेका छन् भर्खर। चौरस्तातिर। देख्नुभएन होला तपाईंहरूले त।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।