19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

किसानको ढॉंड़मा देशको नक्सा

कविता निर्मल तामङ December 20, 2010, 11:44 am

खालि आफ्नैमात्र विकास दर बढ़ाइरहन्छ

मेरो प्यारो देश

र सुनाउँछ मलाई

उसको विकासदरको प्रतिशत।

म भने चाहिँदो प्रतिशत पनि पाउन नसकेर

सधैँ विनाश भइरहेछु।

**

वित्तवर्षको

कुनै पनि तिमाही रिपोर्टमा

उसको विकास बढ्नुको गॉंठीकुरा

कहिल्यै भन्दैन मेरो देश।

गॉंठी कुरामा

ठूल्ठूला कम्पनीको नामभित्र

मेरो पसीनाको भारीनिवेशको कुरा स्वीकार गर्नु

लाज लाग्दो हो सायद उसलाई।

जय जवान,जय किसान

सपना हो कि विपना ठान्छ

अहिले मेरो देश

र व्यर्थै टाउको झट्‌कारेर

सम्झनु खाजेझैं गर्छ।

मेरो धानबारीमा

आफ्नो कारखाना उमार्न तयार

नामी उद्योगपति भने

थाहा भएरै पनि

देशको कानमा

सपना हो सपना- भनिरहेछ।

देशको सबैभन्दा ठूलो भ्रष्टचारको जॉंचमा

जेपीसी गठनको माग

सरकारद्वारा अस्वीकार-भनेपछि

अहिले म

छिट्टै सूर्यसुनामी आउने

विशेष समाचार हेर्दैछु

र सूर्यसुनामी चलेर

जम्मै सञ्चारमाध्यम ठप्प भएकै दिन

यो सरकारको हत्या गर्नुपर्ला भनेर

सोंच्दैछु।

खालि आफ्नैमात्र विकास दर बढ़ाइरहन्छ

मेरो प्यारो देश

र सुनाउँछ मलाई

उसको विकासदरको प्रतिशत।

म भने चाहिँदो प्रतिशत पनि पाउन नसकेर

सधैँ विनाश भइरहेछु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।