17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

लिपिको उत्पत्ति र विकास

विचार पूर्ण ताम्राकार December 22, 2010, 8:17 pm

मानव जीवनसित नङ र मासुजस्तो अभिन्न सम्बन्ध भएको एउटा पक्ष लिपि हो । लिपिको माध्यमबाट नै मानव-मानवबीचमा आफ्नो भाव, अनुभूति संप्रेषण हुन्छ । यसबाट मानव सभ्यताको विकास हुन्छ । वास्तवमा लिपिको उत्पत्ति र विकासबाट नै मानव सभ्यताको इतिहास आजको युगसम्म पुग्न सकेको हो । लिपिको उत्पत्ति र विकासबाट नै विश्वमा आँधीबेरी ल्याउने विभिन्न विषयको ग्रन्थ, शास्त्र साहित्यिक कला कृतिको सिर्जना भयो । जसको अध्ययन, चिन्तन, मननको परिणामस्वरूप विभिन्न सिद्धान्त र वादको विकास हुँदै गयो । जसले गर्दा एकातिर मानवलाई सरल र सुगमरूपले जीवनयापन गर्न सघाउ पुर्‍यायो भने अर्कोतिर मानव जाति सभ्य र सुसंस्कृत हुँदै गयो । त्यसरी मानव समाज र सभ्यताको विकासमा लिपिको अहं भूमिका छ । यसमा लिपिको उत्पत्ति, विकास र नेपालमा देवनागरी लिपि प्रचलन हुनुअघि प्रचलनमा आइरहेको लिपिको बारेमा कोट्याउने प्रयास यहाँ भएको छ ।

लिपिको उत्पत्ति विश्वमा भाषाको उत्पत्तिसँगै लिपिको उत्पत्ति र विकास भएको होइन । सबैभन्दा पहिले भाषाको उत्पत्ति र विकास भयो, त्यसपछि लिपिको विकास भएको देखिन्छ तर भाषामा जस्तो लिपिको उत्पत्ति र विकासमा अनिश्चितता र अन्योलताले स्थान पाएको छैन । विश्वमा लिपिको उत्पत्ति र विकास क्रमबद्धरूपले भएको देखिन्छ । धार्मिक अन्धविश्वासग्रस्त मानिसहरूले लिपिको उत्पत्ति ईश्वरबाट भएकोमा विश्वास गर्छन् । यस मतका मानिसहरूले विश्वको एउटा प्राचीन लिपि ब्राहृमी लिपि पनि ब्रहृमा -ईश्वर)ले सिर्जना गरेको धारणामा आस्था राख्दै आएका छन् । यस्तै प्रकारको विश्वास र मान्यता ईसाई र मुस्लिम सम्प्रदायको धार्मिकग्रन्थ क्रमशः बाइबल र कुरानको लिपिको बारेमा पनि छ तर यसमा अलिकति पनि वास्तविकता र व्यवहारिकता छैन । विश्वको कुनै पनि लिपिको सिर्जनामा असङ्ख्य मानवले आफ्नो मस्तिष्कलाई कष्टप्रद कसरत र अभ्यासमा होमिदिएका छन् । असङ्ख्य मानवले चिन्तन मनन गरेर रगत पसिना बगाएका छन् । मानवले आफ्नो अमूल्य समय र शक्ति लगाएर गरेको निरन्तर परिश्रम र मिहिनेतबाट नै लिपिको उत्पत्ति भएको हो ।

लिपिको विकास- विश्वमा लिपिको उत्पत्तिको बारे तथ्यगत यथार्थता अन्वेषण र अनुसन्धानबाट बाहिर ल्याउन बाँकी नै छ । यद्यपि मानव समाजमा लिपिको प्रचलन कसरी प्रारम्भ भयो भन्ने विषयमा हामीसित बलियो आधारै नभएको चाहिँ होइन । विश्वमा लिपिको उत्पत्ति सर्वप्रथम मानव सूत्रबाट प्रारम्भ भएको देखिन्छ । प्राचीन समाजमा सबैभन्दा पहिले केही कुरा पछिसम्म स्मरण गरी राख्न मानिसहरूले धागो वा डोरीको विभिन्न प्रकारको गाँठोको प्रयोग गर्‍यो । यो प्रचलन नेपाली समाजमा पनि छ । यसरी भाव व्यक्त गर्नका लागि प्रयोग गरिएको गाँठो सूत्रलाई 'सूत्र लिपि' भनिन्छ । लिपिको उत्पत्ति र प्रारम्भ यही सूत्र लिपिबाट भएको मानिन्छ । समयको गतिशिलतासँगै मानव चिन्तन मननमा पनि विकास हुँदै गयो । जसले गर्दा सूत्र लिपिपछि 'रेखा लिपि' प्रचलनमा आएको देखिन्छ । रेखा वा धर्सा तानेको माध्यमबाट आफ्नो कुरा अभिव्यक्त गर्नेलाई नै 'रेखा लिपि' भनिन्छ । हिजोआज हामीले प्रयोग गर्ने गरेको 'अङ्क लिपि' रेखा लिपिको विकासबाट भएकोमा बलिया आधार छन् । जस्तो एउटा

--) लाई -१), दुई वटा धर्सो

-Ö) लाई -२) तीनवटा धर्सो

- ) लाई -३) भन्ने गर्छौ । यस्तै फारसी र रोमन अङ्क लिपिको उत्पत्ति पनि त्यसैको आधारमा भएको मानिन्छ । तत्पश्चात मानव समाजमा चित्र लिपि प्रचलनमा आएको देखिन्छ । मानिसले आफ्नो कुरा चित्र लेखेर भाव व्यक्त गर्ने पद्धतिलाई 'चित्र लिपि' भनिन्छ । पहाड भन्नलाई पहाडको चित्र लेखेर, बाघ भन्नलाई बाघको चित्र लेखेर, चरा भन्नालाई चराको आकारको चित्र लेखेर व्यक्त गर्छ । पानीको तिर्खा लागेको छ भने पानी पिइरहेको चित्र लेखेर देखाउँछ । हिजोआज ट्राफिकले प्रयोग गर्ने गरेका चित्रमा समेत चित्रलिपिको प्रभाव परेको स्पष्ट देखिन्छ । योभन्दा अघि प्रचलनमा आइरहेको सूत्रलिपि र रेखा लिपिभन्दा चित्रलिपि धेरै व्यापक भएको देखिन्छ । यो कुरा मानव समाजको इतिहास अध्ययन गर्दै जाँदा अझ स्पष्ट हुन्छ ।

विश्वको कुनै भाषाको लिपिको बारेमा अध्ययन गर्दै जाँदा यी लिपिहरूको परोक्ष वा अप्रत्यक्ष प्रभाव परेको देखिन्छ । कालान्तरमा विभिन्न भाषाका विभिन्न लिपि परिवर्तन र परिष्कृत हुँदै गई लिपिको स्वरूप, आकार र प्रकारमा परिवर्तन भएको देखिन्छ । त्यसैले आज विश्वको विभिन्न भाषाको लिपिको प्रारम्भिक मूलआधार स्रोत नै 'सूत्रलिपि' 'रेखालिपि' र 'चित्रलिपि' हो । यी प्राचीन लिपिहरूको विकासबाट नै विश्वमा विभिन्न भाषाको लिपिको विकास र विस्तार हुँदै आएको देखिन्छ ।

नेपालमा प्रचलित विभिन्न लिपि- विश्वमा विभिन्न भाषाका विभिन्न लिपि छन् । त्यसमध्ये प्राचीन लिपिमा २००० वर्ष अघिको चिनियाँ लिपि, इजिप्टको लिपि, युरोपको युनानी लिपि, अरेबियनहरूको अरब लिपि, भारतको मोहनजोड्दा र हडप्पाको अति अनौठो लिपि, मेसोपोटोमिया र इरानमा तत्काल प्रचलित सुमेरु लिपि, भारतमा ब्राहृमी र खारोष्टी लिपि आदि विभिन्न लिपि छन् । नेपालमा आज देवनागरी लिपि प्रचलनमा ल्याइरहेको भए पनि वि.सं. १८२५ भन्दा अघि प्रचलित विभिन्न लिपिको बारेमा ज्ञात हुनु आवश्यक छ ।

खारोष्टी लिपि- यो लिपि नेपालको कुनै पनि ऐतिहासिक सामग्रीमा प्रयोग भएको प्रमाण आजसम्म फेला पार्नसकेको छैन । यो खारोष्टी लिपि भारतमा उत्पत्ति भएको बाहृमी लिपिको समकालीन लिपि हो । यो लिपि इरानका राजा कैरियसको शासनकालमा भारतमा प्रवेश भएको विश्वास गरिन्छ । ई.पू. ३०० वर्ष अघिसम्म भारतमा यो लिपिको प्रयोग भएको देखिन्छ । कालान्तरमा यो लिपि क्रमशः लोप हुँदै गयो र ब्राहृमी लिपि बढी लोकपि्रय हुँदै गयो ।

ब्राहृमी लिपि- ब्राहृमी लिपि पनि विश्वको प्राचीनतम् लिपिमध्ये एउटा हो । यो लिपिको उत्पत्ति भारतमा भएको भन्ने विषयमा दुईमत छैन । यद्यपि ब्राहृमी लिपिको उत्पत्ति यसैबेला भएको भन्नलाई आज पनि कुनै निश्चित आधार छैन । ब्राहृमण समुदायबाट यो लिपिको उत्पत्ति भएको भन्ने जनविश्वास छ । त्यसैले यो लिपिको नाउँ पनि ब्राहृमणबाट ब्राहृमी भएको भनाइ छ । भारतमा ब्राहृमणले धार्मिक ग्रन्थ 'वेद' को संरक्षणका लागि नै यस लिपिको सिर्जना गरेको भन्ने आमविश्वास छ । भारतमा ई.पू. ४०० वर्षअघि यस लिपिबाट लिखित कुनै ऐतिहासिक सामग्री भेटिएको छैन । जैनसूत्रमा उल्लेख भएका १८ लिपिमा सबैभन्दा अगि्रमपङ्क्तिको लिपि ब्राहृमी लिपि हो । बौद्धग्रन्थ 'ललित विस्तर' मा ६४ वटा लिपिको वर्णनमध्ये क्रमागतरूपले सबैभन्दा पहिलो लिपि ब्राहृमी लिपि हो । ब्राहृमी लिपिको उत्पत्ति राजा अशोक -ई.पू. २७३-२३२) भन्दा दुई शताब्दी अघि भएको विश्वास छ । राजा अशोकको शिलालेखमा यो लिपि धेरै प्रयोग भएको छ । यस लिपिको प्रचारप्रसारको मूल आधार यही शिलालेखहरूलाई लिइन्छ । यद्यपि भारतको गुप्त शासनकालमा आएर यो लिपिको आकृति र स्वरूपमा केही परिवर्तन भयो । त्यसरी परिवर्तित लिपिलाई गुप्त लिपि भन्न थालियो । फेरि समयको अन्तरालमा गुप्त लिपिको आकृतिमा पनि परिवर्तन हुन थाल्यो, त्यस्तो परिवर्तित लिपिलाई कुटिल लिपि वा कुटिलाक्षर भन्ने गरियो । यो कुटिल लिपि ईसाको छैठौँ शताब्दीतिर देखापरेको थियो ।

नेपालमा प्रचलित देवनागरी लिपिको जननी ब्राहृमी लिपि हो । नेपालमा ई.पू. २०० वर्षअघिको लुम्बिनीको अशोक स्तम्भ र कपिलवस्तुको निग्लिहवामा रहेको पुष्पीकरणको अशोकस्तम्भ अभिलेखमा उल्लेखित लिपि ब्राहृमी लिपि हो । नेपालको लागि यो सबैभन्दा प्राचीन, ऐतिहासिक सामग्री र लिपि भएको छ । यसरी नेपालको यो स्तम्भ र लिपिको ऐतिहासिक महत्त्व छ ।

किराँत लिपि- नेपालमा गोपाल वंशी, महिषपाल वंशीपछि किराँत वंशको शासन प्रारम्भ हुन्छ । ईसाको नवौँ शताब्दीपछि किरातवंशी राजा गालीजङ्गाको नाति शिरिजङ्गाले पूर्वी नेपालका धेरै स्वतन्त्र राजाहरूलाई पराजित गरी आफ्नो आधिपत्य कायम गरेर नयाँ लिपिको आविष्कार गरेर किराँतक्षेत्रमा विद्या प्रचार गरेको जनश्रुति छ । किराँत वंशबाट उत्पत्ति भएको लिपि हुनाले यस लिपिलाई किराँत लिपि र चन्द्र पुलिङ्ग लिपि पनि भन्ने गरिन्छ । यो लिपि धरानको बूढासुब्बा मन्दिरको आसपास क्षेत्रमा प्रचलित भएको देखिन्छ । हिजोआज राई जातिले यो लिपिको प्रयोग गर्दै प्रचारप्रसार गरिरहेका छन् । किराँत शासन नेपालको प्रारम्भिक शासनकाल भए पनि गुप्त लिपि र कुटिला लिपिपछि मात्र किराँत लिपि प्रचलनमा आएको देखिन्छ । यसो हुनाको मूलकारण किराँतकालीन इतिहास आजसम्म प्रामाणिक नभएकोले पनि हो ।

लिच्छबिकालीन लिपि- नेपालको इतिहासमा किराँतकालपछि ईसाको दोस्रो शताब्दीको प्रारम्भकालमा लिच्छवि वंशको प्रारम्भ हुन्छ । लिच्छविकालमा प्रचलित लिपिमा मुख्यतः भारतको गुप्त लिपि वा कुटिला लिपि हो । वास्तवमा यी दुईवटै लिपि ब्राहृमी लिपिको विकसित र परिष्कृत रूप हो । सबैभन्दा पहिले पूवलिच्छविकालमा प्रचलित लिपिलाई गुप्त लिपि र उत्तरलिच्छविकालमा प्रचलित लिपिलाई कुटिला लिपि भन्ने गर्दै आएको छ । पछि पञ्चायतकालमा आएर गुप्त लिपिलाई पूवलिच्छवि लिपि र कुटिला लिपिलाई उत्तरलिच्छविकालीन लिपि भनेर पुरातìव विभागबाट निर्णय भएपछि ती दुईवटै लिपिको नामाकरण त्यसरी नै गर्ने गरिएको थियो । पूवलिच्छवि लिपि वि.सं. को चौथोंको उत्तरार्द्धसम्म प्रचलित भएको छ । उदाहरणको रूपमा लिच्छवी राजा मानदेव प्रथम -वि.सं. ४९९-५००) को चाँगुको वि.संं. ४९९

-लि.सं. ३८६) को शिलास्तम्भ अभिलेख, काभ्रे पलाञ्चोकमा रहेको वि.सं. ५३८ -लि.सं. ४२५) को अभिलेखलाई लिन सकिन्छ ।

कुटिला लिपि- कुटिला लिपिलाई उत्तरलिच्छवी लिपि पनि भन्ने गरिन्छ । यो लिपि भारतबाट प्रारम्भ भएको हो । यस लिपिलाई भारतमा 'विकटाक्षर' पनि भन्ने गरिन्छ । पुरातìवविद्हरूले भने यस लिपिलाई 'सिद्धमातृका लिपि' भन्ने गर्छन् । यो लिपि नेपालमा अंशुवर्मा -ई.सं. ६०५-६२१) को शासनकालपछि मात्र प्रचलनमा आएको देखिन्छ । तै पनि अंशुवर्माको शिलालेखको अक्षरमा कुटिला लिपिको प्रभाव परिसकेको देखिन्छ । त्यस्तो कुटिलाक्षरमा विशेषगरी ह्रस्व, दीर्घ ईकार र ओकार स्वर प्रयोग भएको देखिन्छ ।

त्यसरी नेपालमा वि.सं.को सातौँ शताब्दीको उत्तरार्द्धदेखि बाह्रौँ शताब्दीसम्म गरी करिब ५०० वर्षसम्म यो लिपि प्रचलित भएको देखिन्छ । उदाहरणको रूपमा लिच्छवि राजा नरेन्द्रदेव -ई.सं.६३४-६७१) र जयदेव द्वितीय -ई.सं. ७०४-७४०) को पशुपति चौगिदाभित्रको शिलालेखलाई लिन सकिन्छ । यसबाहेक नेपालका विभिन्न स्थानको अभिलेखमा गुप्त र कुटिला दुबै लिपि प्रयोग भएको छ । तैपनि गुप्त लिपिभन्दा कुटिला लिपि व्यापकरूपमा प्रचलित भएको देखिन्छ । कुटिला लिपिको आधारमा नेपाल लिपि, देवनागरी लिपि र तिब्बती लिपिको विकास भएको हो । यी लिपिहरूको विकास र प्रचलनले गर्दा कालान्तरमा कुटिला लिपि लोप हुँदै गएको देखिन्छ ।

नेपाल लिपि- नेपालको इतिहासमा वि.सं. ९३७ देखि १८२५ सम्मको अवधिलाई मध्यकाल भन्ने गरिन्छ । यस अधिमा २३ वटा लिपिको उदय भएर प्रचलनमा आएको देखिन्छ । त्यसमध्ये मध्यकालको प्रारम्भदेखि आजसम्म निरन्तररूपले प्रचलनमा आइराखेको एउटा लिपि नेपाल लिपि हो । नेपाल लिपि भन्नासाथ नौ प्रकारको लिपि छ । ती लिपिमा क्रमशः भुजिंमोल, गोलमोल, लिन्तुमोल, क्वंय्मोल, कुमोल, हिमोल, पाचुमोल प्रचलित र रञ्जना लिपि हो ।

मल्लकालमा यी लिपिको धेरै विकास भएको देखिन्छ । त्यसताका यी लिपिलाई राष्ट्रिय लिपिको रूपमा नै प्रचलनमा ल्याएको देखिन्छ किनभने सबैभन्दा बढी यसै लिपिबाट लिखित नेपालको ऐतिहासिक सामग्री भएको तथ्यले यसलाई पुष्टि गर्छ । अझ भन्ने हो भने राष्ट्रिय अभिलेखालय, केशर पुस्तकालय, राष्ट्रिय पुस्तकालय र आशा सफु कुथिमा सङ्गृहीत र सुरक्षित रहेको ऐतिहासिक सामग्रीबाट पनि पुष्टि हुन्छ । जसले गर्दा नेपालका बारेमा पूर्णरूपले अध्ययन र अनुसन्धान गर्नका लागि नेपाल लिपिको ज्ञान हुनु अनिवार्य भएको छ । यसको साथै नेपाल देशको नामबाट नामाकरण भएको एउटैमात्र लिपि नै नेपाल लिपि हो । त्यस दृष्टिकोणले पनि नेपाल लिपिको विशेष महत्त्व छ ।

नेपाल लिपिमा पनि प्रचलित, भुजिम्वः र रञ्जना लिपि नै बढी प्रचलनमा आएको देखिन्छ । आजसम्म प्राप्त भएका सामग्रीअनुसार नेपाल लिपिको प्रार्दुभाव ने.सं. २८ र २९ को ताडपत्रबाट प्रारम्भ भएको देखिन्छ । त्यसबेलादेखि आजसम्म यो लिपि निरन्तररूपले प्रचलनमा आइरहेको छ ।

नेपाल लिपि नेपालको मौलिक लिपि हो । देशको सम्पदा हो । यस लिपिको संरक्षण र सम्बर्द्धनको निम्ति हामी सबै सचेत र सजग हुन आवश्यक छ ।

मधुपर्कबाट

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।