14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मित्रता

कथा निरा शर्मा December 28, 2010, 7:27 am

फेसबुक आजकल नशा भएको छ । कुनै पत्रिकमा एउटा कार्टून पनि देखेथे यहि फेस बुकको भित्तोमा - मर्नु अघिको अन्तिम इच्छा के छ भन्दा फेसबुक स्टाटस अपडेट गर्ने रे । आखिर संसारलाईनै गाजेको यो फेसबुकको जालोबाट म मात्रै कसरि अछुतो बस्न सक्थे र ? त्यो पनि भर्खर अमेरिका छिरेर काम खोज्दै भौतारिदा पनि दिन काट्न कठीन भएको बेला ।

एउटा फेसबुक मित्रले मेरा साथीको फोटोमा लेखेको कमेन्ट पढे मीठो लाग्यो । उनको शैली, बिचार, एक्सप्रेशन, फोटो हेरे राम्री पनि लाग्यो । खै के कुराले छोयो, एकैछिन पनि नसोची मैले उनलाई मित्रताको प्रस्ताब गरि एक अनुरोध तत्कालै पठाइदिए ।

आज बित्यो, भोली र पर्सि पनि बित्यो, अंह मेरो अनुरोध स्वीकारेको खबर आएन । अब मेरा दिनहरु त्यही तानामा छाट्पटिन थाले - किन स्वीकार नगरेको होला मलाई ? नचिनेर हो कि, के मा त्यति नराम्रो छु र? आखिर फोटो पनि दामी छ त्यो पनि फोटो कन्सर्नमा खिचेको । महँगो र ए‍‍-वन फोटोहरु राखेको छु । प्रोफाइलमा पनि त सस्तो त कहाँ हु र .....? उफ् उसले मलाई किन ....... क्या बोर । एबं प्रकारले बेचैनि र छटपटी बढदै गयो ।

मेरो निन्द्रा, भोक, कामको खोज यी सबलाई डिस्टर्ब गर्ने गरि यती सानो कुराले हलचल मच्चायो, म भित्र । त्यो अदृश्य शक्तीले खै कस्तो काम गर्यो, म नजानिदो किसिमले उ प्रति एक तर्फि आकर्षित हुदै गए ।

"डियर अपरिचित मित्र, तपाईको स्टाटस भित्तोमा लेखिएको कुरा सार्है मन पर्यो" एक निन्द्रा बिथोलिएको रातमा उठेर फेसबुक खोल्दा त यस्तो मेसेज देखे । खुसी रीस अप्ठेरो के के हो के के सबैले एकैचोटी मलाई थिच्न, निचोर्न थाले । म अवाक् भए ।

केहि नसोची त्यसको प्रत्यूत्तर लेखे "मन पराएको भए मेरो मित्रता अनुरोध स्वीकार गरिदिनुनि त, कि म मन परिन ? फल मीठो, रुख नमीठो भन्न पाईन्न है ।" लौ जा त, जे त परोस मैले पनि मेसेज पठाइदिए । जवाफ आएन तर मेरो अनुरोध स्वीकारेको खबर पाए। अब म आफुलाई संसारको सबै भन्दा खुशी भए झैँ लाग्दै थियो । तर किन ? चिन्नु न जान्नु, अनि को को न कोसंग फेरि यति बिघ्न खुशी किन ?

अब म उससंगको मित्रतामा पागल र लट्टु भएर उसको च्याट रुम को अनलाइन सिग्नल ढुकन थाले, कतै भेटाइ पो हाल्छु कि........... । मोरी कतै आइ पो हाल्छे कि!

उसले 'हाइ' गर्दै "नमस्कार" गरि अनि कुरा उसैले सुरु गरि ।

म एकछिन त अक्क न बक्क परे ।

"नमस्कार "

अब के बोल्ने ? यती धेरै ब्यग्र भएको म किन चुप ? उसले एकोहोरो लेखिरही, एकोहोरो के के, के के तर मैले लेख्ने कुरा पाइन । औपचारिक बार्तालाप पछि "सरि, म पछी कुरा गर्छु है, अहिले म अलिक बिजि छु" यति भनेर मैले फेसबुक लगआउट गरेर उसकै सपना देख्न थाले । चिन्नु न जान्नु के हो यो ? बहुलाइस ? मेरो मनले मलाई गिज्याएर सोध्यो । कोठा भरिका सबै तस्बिरका अनुहारहरुले कुरि कुरि गरे झै लाग्यो । के ठीक के बेठीक मैले छुट्याउन सकिन ।

दिन रात र महिनाहरू उस्तै गतिमा बगिरहे। हाम्रो फेसबुक मित्रता दिन दुगुना रात चौगुना गरेर झाङगिन थाल्यो तर केवल च्याट र फोन मा नै सिमित थियो । दुवै अमेरिकाको जमिनमा थियौ र पनि हाम्रो भेट भएको थिएन । एकदिन मैले भने "मलाई कस्तो तिमीसंग भेट्न मन लाग्यो । अब त म आफै ड्राईभ पनि गर्न सक्छु, आउ तिम्रोमा ? कि तिमी आउने हो?

"किन भेट्ने ? हामी को हौ र ?" उसले नमीठो गरि रुखो जवाफ दिई ।

म झस्के ।

साच्चि को हौ र भेट्ने ? एक छिन सोचे र बोले "ए त्यस्तो पो, होइन आखिर साथि त भयौ नि, कि होइनौ ?"

"तर नभेटे पनि त साथी त भएकै छौ नि, फेरी भेट्न नै किन पर्यो ?"

उसको रुखो र टर्रो जवाफ अनि नभेट्ने दृड इच्छाको अगाडी म एकछिन मौन रहे ।

एकैछिन टेलिफोनमा सन्नाटा छायो, मानौ हामी कुनै अपराध गरिरहेछुौ । बिस्तारै बोले "नाढाटी भन त किन भेट्न चाहन्नौ म संग ?"

"म चाहन्न हाम्रो मित्रताको दुरी यो भन्दा अझ नजिक होस् या अरु टाढा होस्, के थाहा भेटे पछी हाम्रो मित्रता तोडिन्छ या जोडिन्छ, जहाँ छौ जे छौ त्यसको मीठासलाई बिथोल्न चाहन्न म ।"

उसको जवाफले मलाई एक्कै चोटी आकाश बाट धर्तीमा पछार्यो । म स्तब्ध भए । म पागल भएको थिए उसलाई पाउन जुन कुरा मित्रताको दौरानमा कहिले पनि भन्न सकेको थिईन । मैले टेकेको धर्ति भासिए झैँ लाग्यो । बास्तबमा उसले मेरो कमजोरी बुझेर बिरालो ले मुसो खेलाए झै मलाइ घुमाइ दिएकि रहिछ । उसको प्रपन्चमा म बिन्दास रहेछु ।

त्यो ब्यग्रता, त्यो बेचैनी सबै एकै पटक सिसा फुटे झैँ चकनाचुर भयो । मेरो उस प्रतिको आत्मियता कुहिरो उडे झै बिस्तारै हराउदै गयो र यथार्थ छर्लङ्ग भयो । मेरो मनले सोचेको एउटा सुन्दर प्राप्तीको सन्तोष क्षण भरमा भताभुङ्ग भयो । अरु धेरै चिन्ताग्रस्त हुनुबाट बचेकोमा मैले मनमनै उनलाई धन्यबाद दिए ।

लाग्यो यो उनको रमाइलो गर्ने बाहाना र अमेरिकाको यन्त्रबत जीबनको एक्लोपन मेटाउने एक तरिका रहेछ मात्र साथि सम्बन्ध चहाने रहिछिन उनि ।

तर म एकोहोरो आकर्षणको गहिराहिमा डुब्दै गए र एक्कासि आज आएर किनारामा पाखा लागे झै भए म । म पनि पुन आफ्नै उहि यथार्थता मा फर्कदै उनलाई फेसबुक अकाउन्ट बाट नै हटाइदिए । फेरि कहिले नजोडिने गरि कतै नभेटिने गरि .............

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।