19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

निर्वाणको रात

कविता राजा पुनियानी January 2, 2011, 9:27 am

घरि पछिल्तिरबाट उड़ी आएका अबला चराहरू हेर्‍यौ

घरि तिमीजस्तै चुपो लागेर उभिएको उपेक्षित रूखलाई हेर्‍यौ

घरि एकएक गर्दै बत्ती बल्न लागेको टुहुरो गाउँलाई हेर्‍यौ

र लामो एउटा सुस्केरा हालेपछि तिमीले भन्यौ-

मेरो दुःख आकाशको छातीमा झुण्डिएको जूनको गह्रौं ढुङ्गा हो

जब संसारको शरीरभरि छताछुल्ल पोखियो त्यो जून

र संसारको छिद्रछिद्रबाट दुःखको रस भिज्यो

त्यसैबेला हाम्रो हजारौं दुःखको एउटा गर्भाधान भयो

र टाढ़ा शून्यतिर आँखा राख्दै दिक्क मानेर तिमीले भन्यौ-

यो संसार पसीना झार्नेहरूको होइन रहेछ

जब घटनाजस्तै अनुहार भएको रातको

कौतुहलयुक्त आँखा फरफरिन थाले

यो गर्भवती संसारले जन्म दियो मौनताको मुखबाट

आवाजको एउटा शिशुलाई

अनि त त्यो शिशुसँगै जताततै जन्मन थाले

आस्थाका शिशुहरू

आह्वानका शिशुहरू

आरोहणका शिशुहरू

हेर्दाहेर्दै शिशुहरू बामे सर्न थाले

रून, हाँस्न, रिसाउन, बोल्न र सोध्न थाले

शिशुहरु बिस्तार तरुणतरुणी भए

भोग्ने भए, बुझ्ने भए, छाती फुकाएर हिँड़्ने भए

दुःखको छाती समाएर घचघचाउने भए

हिजोका भूलहरू सच्याउने भए

भोलिको सपनाका गीत गुनगुनाउने भए

आजको कठघरामा ढँटुवा इतिहासलाई उभ्याउने भए

उनीहरू छाती फुकाएर हिँड़्दा

तिम्रो छाती आकाश भयो

तिम्रो छातीमा चराले चिरबिर गर्न थाल्यो

तिम्रो छाती बल्ल छातीजस्तै भयो

उनीहरू शिर ठाड़ो पारेर हिँड़्दा

तिम्रो छाती कञ्चनजङ्गा भयो

तिम्रो शिरमा ढकमक्क सयपत्री फुल्न थाल्यो

तिम्रो शिर बल्ल शिरजस्तै देखियो

र ढुक्कको लामो सास तानेर तिमीले भन्यौ-

मेरो सङ्घर्ष आकाशको छातीमा फुलेको जूनको सेतो फूल हो

अन्त्यमा तिमीले भन्यौ-

यो संसार हार मान्नेहरूको होइन रहेछ

यो संसार पछि जानेहरूको होइन रहेछ

साँच्चै, यो संसार त हाम्रै पो रहेछ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।