19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बेकर स्ट्रीट्का दुइ आँखा

कथा जया राई January 2, 2011, 10:35 am

अक्सबृजबाट आउने मेट्रोपोलिटन अण्डर ग्राउड रेल हेरो अन् द हील स्टेसनमा पुग्दा थोरै बाँकी सिटहरु पनि भट्टाभट भरि सक्छन् । अफिस् आवरको रेलमा खुट्टा टेक्ने ठाँऊ र समात्ने हेण्डल पाए काफी सँम्झनु पर्छ । बस्न पाउने थोरै मात्र चान्स् हुन्छ ।

त्यो भिडमा घुस्रिदै हिस्सी पनि यात्रा गर्दै छे ।

मानिसहरुको भीडमा, च्यापिन्दै रेलको बिच्चको डिब्बाको, पछाडिको दुई सिटको बिचको भागको सानो बाँकी खाली ठाँऊमा अडेसा लागेर आपूmलाई सुरक्षित साथ भिडमा उभ्याएकी छ ।

रेल आफ्नो गतिमा दौडिरहेछ ।

हातमा डेली पेपर पढ्नेहरु उभिएर पनि पढिरहे छन् । सिटमा बस्नेहरुले त सुनौला अवसर गुमाउने त कुरै भएन । कुनै कुनै यात्रुहरुको हातमा पढ्दै गरेका किताबको ठेलीका पानाहरु सिपालु आँखाले फर्र फर्र पढ्दै पल्टि रहेछन् ।

तर कसैले कानको एमपी थ्रीको झँकारमा रमेर, हाई भोलूममा खोलेर संगै बस्नेलाई इरिटेड गराई पनि रहेछन् । यात्रा न हो कसैले कसैको कम्प्लेन छैन । छन् त आफ्नै धूनमा पत्रिकाको पाना वा किताबका पानाहरु संगै पल्टाउदै छन्, जीवनका आफ्नै पानाहरु हर क्षण ।

ट्रेन, ट्रयाक नजिकका बस्तीहरुलाई ध्वनी प्रदुषण गराउँदै निरन्तर हज्जारौं यात्रुहरुलाई बोकेर । वरपरका रुख विरुवाहरु संग लुकामारी खेल्दै, लोकल स्टेसनहरुमा रेल पर्खिने यात्रुहरुलाई ईष्र्या लगाउदै, आफ्नो गतिको तिब्रता बढाई रहेछ, मेट्रोपोलिटन फाष्ट ट्रेनले ।

हिस्सीका आँखा स्टेसनबाट टिपेर ल्याएकोे मेट्रो डेली पेपर भन्दा पनि पर पर झ्यालबाट देखिने दृष्यहरु, छिन् छिन्मा फेरिरहन्छन् । घना बस्तीहरु । विशाल गोदामघरहरु । ठूूल्ठूला हरिया पार्क नै काफी छन्, समय सदुपयोग गर्न ।

विण्टरको पीडाले नाँगिएका बोट विरुवाहरु, जाडोले कठाँग्रिएर जिँग्रीङ, कुरुप उभिएका छन् । कसले पो भन्छ यी सुन्दर चेरीका बोटहरु हुन् भनेर । यी कुरुप जाडोका रुखलाई । जाडो मानिरहेको स्याउको तन्नेरी बोट पनि कुरुप र नांगो छ । समरका दिनमा जता ततै यसको कुनै भाग खाली हुन्न पात र फलले लटरम्मै झुलेर पार्क, वगैंचा चारै तिर ।

वेम्ली सेन्ट्रलमा पुगेर फाष्ट् टे«न रोकिन्छ ।

वेम्ली स्टेडियमको विशाल सुन्दर आर्च् हेरीरहुँ लाग्ने छ । यो दैनिक यात्राको एउटा दृश्य । एउटा सुन्दर कला र धरोहर हो लण्डनको । आँखा सदैब आउँदा र जाँदा ठोक्किएकै हुन्छ, हिस्सीका ।

हरेक स्टेसनमा, रेलबाट निस्कने भन्दा पनि भित्र पस्ने यात्रुको भारी बोकेर रेल त्यसरी नै अगाडि कू....छक्...छक्...छक..गर्दै बढ्दै जान्छ । भीडमा भीड थपिन्दै छ । पाइला सार्ने ठाऊँ कतै बाँकी छैन । झ्यालबाट देखिने एक टुक्रा खाली ठाऊँ पनि कसै संग साझा गरेर हेर्ने दृष्य भएको छ हिस्सीलाई ।

पर पर बरालिएका आँखाले, भीडका मानिसहरुको च्यापबाट कसैका आँखाले उसैलाई लगातार हेरी रहेछ भन्ने सोच्ने विषय नै होईन, हिस्सीको ।

रेल बेकर स्ट्रीट पुग्न अगाडि नै त्यो स्टेसनमा ओर्लने यात्रुहरु आफ्ना झोला, पत्रिका, किताब, ल्यावटप्हरु बन्द गरेर ओर्लन तयार भएका छन् । हिस्सी पनि तयार हँुदै छे । लगातार बाहिररिएका उसका आँखा भित्रिएका छन् अब ।

रेल विस्तारै रोकियो । उत्रने यात्रुहरु ढोकाको नजिक एक झुण्ड भैसके । पछाडि उभिएकाहरु पनि लाईनमा उभिएका छन् ।

हिस्सी पनि विस्तारै भीडमा पाईला सार्दै जाँदा, सिटमा बसेर लगातार उसैलाई हेरि रहेको कसैको जोडी आँखासंग उसको दुई आँखा पनि अचानक गएर ठोक्किए । अप्रत्यासित क्षण, ती चार आँखाहरु अप्रत्यासित हाँसे एकै साथ । मायाले स्नेहले ।

हिस्सीको मुखबाट अचानक निस्कियो “हाई कमल !”

कमलको मुखबाट पनि “हिस्सी हाऊ आर् यू ?” भन्ने वाक्य सगैं निस्किए ।

कमलको न्यानो मित्रताको हात अगाडि बढे । हिस्सीले पनि उसको हात अनायस नै अगाडि बढाई, लाग्यो यी हातहरु सदैव यसरि नै दरिलो भएर मिलिरहुन् ।

“फोन गरौंला नि है !” भन्ने वाक्य, भन्ने समय पनि छैन । रेल रोकी सकेको छ । यहि घडी नउत्रे भित्रिने यात्रुको बाडी भित्र पस्छ । निस्कन अर्को लडाई लड्नु पर्छ । अहिल्यै नउत्रनेहरुको लागि ढोका बन्द हुन्छ, कि त अर्को स्टेसन पर्खनु पर्छ ओर्लनु ।

समयले त रत्तिभर पर्खिने त हैन कसैलाई ।

हिस्सीलाई सोध्न मन थियो –“कस्तो छौ कमल ?”

“तिमीलाई मन पराउने दुलही पायौ ?”

“अब मैले मेरो विचार बदलें, तिमीलाई मेरो टोई बोई स्वीकार छ के भन्छौ ?

तिम्रो फोननम्बर त फेरेछौ नि दिदैनौं ? मेरो त उहि हो, तिमीले फोन गर्न सक्छौ, तिम्रो फोनको प्रतिक्षामा छु ।”

रेलको ढोका लाग्नु केहि सेकेण्ड अगाडि हिस्सीले कमलको हातमा मिलेको हातलाई उसले विस्तारै तानेर ऊ विदा भै । उस्का खुट्टा बाहिरीएको निमेषमै रेलको ढोका लाग्यो, ड्याम्म ।

भm्यालमा भएको कमललाई विदाईको हात हल्लाउनु थियो । तर बेकर स्ट्रीटको भीडले पेलेर कमल नजिकको रेलको झ्यालमा पुग्न अगाडि नै रेलले गति लियो कू.....छक्....छक्...छक् ।

रेल हिडी सक्यो, हिस्सीलाई आफैंलाई भाउन्न भएको महसुस भयो । कतै एकान्तमा क्षण भर भए पनि शान्तीले श्वास फेरऊ भो । तर पनि मानिसहरुको भीडको बाडी चल्ने स्टेसनमा ऊ अर्को रेल समात्न अर्को प्लेट फर्ममा अरु मानिसहरुको बाढी संगै विस्तारै हेलिन्दै जानु छ ।

बेकरलू लाईनको रेल पक्डन लाममा फेरी ऊ, उभिएकी छ । रेल विस्तारै आएर रोकियो ।संयोगले ढोका नजिकैको सिटमा बस्न पाई । मन भित्र कतै कमल ! कमल ! दोहोरो आवाज आई रहेछ । ऊ विगत सोच्दै गई ।

लण्डन प्रवेश गरेको सुरुका दिनहरु सुन्नेले राम्रो माने पनि भोग्नेलाई फलामको चिउरा चपाउन जस्तै कठिन छ । कलेजको फी, कोठा भाडा, आफ्नो दैनिक पकेट खर्च, ट्राभल फेयर र जीवनको नयाँ गोरेटामा हिड्नको लागि जागिर खोज्नै पर्ने छ ।

तर जागिर पाउन भने सजिलो छैन है यहाँ । अनेक पेपर वर्क गर्नु पर्ने छ । नेस्नल ईन्सुरेनस नम्बर नभै नहुने कामको लागि । रिफ्रेनस् चाहिने । यो विरानो देशमा उस्लाई कस्ले चिनेको छ र कस्ले रिफ्रेन्स बसिदिने ?

जहाँ काम खोज्न गयो, बैक अकाउण्ट खोलेको हुनु पर्ने । तर बैंकले चाहिं काम नभै खाता खोल्न नदिने । यो के हो, दोहारो एक अर्कामा काटा काट गर्ने नियमहरु । फेर् बदल भैरहने , नव आगन्तुकहरुलाई यी दोहोरा नियमले बेरेर लण्डनमा चल्मट गर्नै नदिने । बैंक अकाउण्ट खोल्न पनि सजिलै छैन । कुनै न कुनै यूटीलिटी विल आफनो नाममा हुनै पर्ने । हिजो मात्र आएको विद्यार्थीको नाममा कुन घर वेटीले सजिलै, कसरि नामसारी गरिदिन्छ यूटीलिटीको विलको ?

परस्पर विरोधी नियम कानूनको सजायले हैरान भएकी हिस्सीले कुन पो बंैकमा आफ्नो स्टुडेण्ड भीषा लागेको पासपोर्ट लगिन हो ल त देखाउन ।

“ ल हेर्नु होस् म यस देशमा लिगल्ली पढ्न आएकी छु, यति धेरै शंकाहरु किन हामी विद्यार्थीहरु माथि” भनेर ।

जुनै बैंकमा गयो, बैंकका कर्मचारीको रुखो ब्यबहार तिनै छन् । कपी गरेर बोले जस्ता एक अर्काले ।

ईम्पलोईमेण्ट लेटर छ ?

कुनै यूटीलिटीको विल छ ?

कलेजको लेटर खोई ?

ड्राइभिङ लाइसन छ ?

यी धेरै धेरै पीडाहरुले पिल्सिए पनि नगरी नहुने काम भएकाले हिस्सी फेरी पनि नजिकैको बैकमा गै । अब जे होला ठानेर रिसेप्सन फ्लोरको एकजना कर्मचारीलाई सबै समस्या भनि ।

“ हेर्नुस् म त लण्डनमा नयाँ छु । तर यहाँ किन यति धेरै कष्ट हो नयाँ बैंक खाता खोल्न ? बैक खाता नखोले जागिर नै नपाइने रहेछ । के म भोक भोकै मरुँ यो विरानो ठाऊँमा ? न त मेरो आफन्त भन्ने नै कोही छ यहाँ । घर भाडा र स्कूल फी के ले तिरौं म ?”

हिस्सीको त्यो समस्या सुनिरहने कर्मचारी नै कमल थियो ।

“ मिस् थापा ! वारी नगर्नुस् म तपाईको काम सब मिलाउने छु ।

मेरो नाम कमल राधिया, म पब्लिक रिलेसन मेनेजर ।” भन्दै हात मिलायो ।

अप्ठेरो परिस्थितीमा सहयोगी साथी बनेको कमल दिन दिनै मित्रताको घेरालाई तोड्दै हिस्सी सामु धेरै पटक आउन चाह्यो ।

हिस्सी भित्रको स्वाभिमानले किन किन अस्वीकार गरिह्यो । धेरै अगाडि कमलले भनेको हिस्सीलाई अहिले जस्तो लाग्छ ।

“हिस्सी म तिम्रो टोईबोई हुन चाहान्छु, के तिमी अनुमति दिन्छेऊ ? हेर मेरो रुप बाहिर जस्तो छ, भित्र त्यो भन्दा सुन्दर र कोमल छ । छामिहेर त मेरो हृदयमा ! मायाको विशाल भण्डार नै छ । तिमीलाई चाहिने भन्दा पनि बढी माया छ म भित्र । हुन त म बाहिर हेर्दा पुड्को छु, हेण्सम छैन, तर म कुनै संसारको लोग्ने मानिस भन्दा कम छैन बुझेऊ ।

हिस्सी ! मेरो विन्ती छ तिमीले एक पटक यस बारेमा सोच न ।”

हिस्सीले एक पटक मात्र होइन, धेरै पटक सोची तर भित्र मनमा किन किन कमल प्रति नेगेटीभ धारणा मात्रै आई रहयो । उसले सोचेको जस्तो मनको राजकुमार थिएन कमल राधिया ।

पढाईको क्रमसंगै लण्डन बसाई लम्बिदै गए एक, दुई, तीन गर्दै पाँच वर्ष तिर । ती समयहरुमा निक्कै जना राजकुमारहरु आएर राज गरे हिस्सीको दिलमा । तर किन किन खड्किह्यो, कमल राधियाको माया हिस्सीलाई । अहिले उनलाई चिच्याएर कराउन मन लागेको छ,

“कमल ! मैले तिम्रो जस्तो मायाको मुटु बोकेको राजकुमार कोही भेटीन, के अझै पनि मेरो लागि ठाँऊ खाली छ तिम्रो मन भित्र ?

ल भैगो, मैले माने, बाहिरी जीउडाल भन्दा पनि स्वच्छ हृदयको मानिस जीवनमा खाँचो रहेछ बल्ल बुझें, माफी दिने हो!”

लण्डन

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।