16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

व्याकुल अनि जीवनका रङहरू

कृति/समीक्षा डा. ईशान गौतम January 3, 2011, 8:04 pm

व्याकुल पाठक । एउटा विधा, एउटै माध्यममा असन्तुष्ट । पाठकसमक्ष नयाँ नयाँ कृतिहरू ल्याइरहन नामजस्तै व्याकुल । प्रख्यात नेपाली कथा खण्ड १ र २ पछिको शृङ्खलामा अर्को कृति ‘चर्चित व्यक्तित्व’ । डा. रामवरण यादव, पुष्पकमल दाहाल प्रचण्ड, सुवासचन्द्र नेम्वाङ, गिरिजाप्रसाद कोइराला, झलनाथ खनाल, उपेन्द्र यादव, विनोद चौधरी, डा. उपेन्द्र महतो, जगदीश घिमिरे, किरण मानन्धर, रामकुमारी झाँक्री, विश्वकान्त मैनालीलगायतका व्यक्तित्वहरूको एउटा शृङ्खला ‘चर्चित व्यक्तित्व’ । व्याकुलको प्रख्यात नेपाली कथा खण्ड ३ पनि प्रकाशित भइसकेको छ । यी सबै कृतिका प्रकाशक रत्नपुस्तक भण्डारलाई पाठकका रूपमा धन्यवाद दिनै पर्छ ।

‘चर्चित व्यक्तित्व’ (सम्भवतः खण्ड १) नेपाली समाजमा आ–आफ्ना क्षेत्रमार्फत् योगदान पु¥याएका विभिन्न व्यक्तित्वहरूको प्रोफाइल हो । व्याकुलले पुस्तकमा स्थायी र अस्थायी दुवैरूपमा चर्चितहरूलाई समेटेका छन् अर्थात् हावाको झोक्कालाई पनि महत्व दिएका छन् । लेखक व्याकुल वा व्याकुल लेखकले पुस्तकमा समाविष्ट व्यक्तित्वहरूसँग पारस्परिक जोडिएका तारलाई कस्दै, ट्युनिङ मिलाउँदै अन्तरावलोकनद्वारा लयात्मक भाषामा एउटा चित्र बनाएका छन्—ध्वनिसहितको चित्र, जसका भिन्नभिन्न पृष्ठभूमिका व्यक्तित्वहरूको संवेदना पनि सरल रेखीय होइन, बहुध्वन्यात्मक भएर बाहिर आएको छ । व्याकुल प्रोफाइलको परम्परित ढाँचा वा प्रस्तुतिमा सन्तुष्ट छैनन्, त्यसभित्र पनि रचनात्मकताको बाटो उनले खोजेका छन्, जसले उनलाई पृथकताको भूमिमा टेकाएको छ । पुस्तक पढ्दै जाँदा लाग्छ, व्याकुलले परम्परा र आधुनिकताबीच सेतु निर्माण गरेका छन् र पुस्तकमा समाविष्ट व्यक्तित्वहरूसँगको सम्वादका क्रममा कहिले भित्र पुग्छन् भने कहिले बाहिर । भित्र–बाहिरको यस गतिमा उनको दृष्टिसम्पन्न लेखकले त्यस्तो भूभाग निर्मित गरेको छ, जुन भिन्नभिन्न स–साना होइन विशाल रहेको प्रतीत हुन्छ । त्यस्तो भूभाग, जसको चारैतिर समुद्र छ– नीलो र शान्त ।

‘चर्चित व्यक्तित्व’ पुस्तकका व्याकुल लेखकले समाविष्ट व्यक्तित्वहरूको मूल्याङ्कनलाई समग्रता दिने उद्देश्यले विम्बहरू प्रस्तुत गर्दै गम्भीर विचार पनि गरेका छन् । उनको रचनात्मक छटपटी पुस्तकभरि फैलिएको अनुभूत हुन्छ । व्याकुलले आफूले छानेका व्यक्तित्वहरूको परिप्रेक्ष्यसँगको अन्तर्सम्बन्धलाई सन्तुलित गरेका छन्, लेखकका रूपमा । उनी पुस्तकमा विवेचना होइन, विम्बका माध्यमले विचार व्यवस्था निर्मित गर्दछन् । पुस्तकभरि लयात्मकता छ, ध्वनिसहितको । सघन सम्वाद र दृश्यात्मकताको एकसाथ भएको प्रवाहले अनि भावुक र गम्भीर प्रसङ्गमा पनि विस्तीर्ण हुँदै गएको आयतनले पाठकलाई उद्दीप्त गर्छ, उन्मुक्त गर्छ । भार बोकाउँदैन ।

‘जीवनप्रति कुनै असन्तोष र वितृष्णा भाव छैन । उनीसँग बिदा भएर उनकै घरछेउको ओरालो झर्दै गर्दा देखेँ– उनको दुःखमा सल्लाघारी पनि सुसाइरहेको छ ।’

(जगदीश घिमिरे ः अन्तर्मनका चिन्तक, पृष्ठ १४२)

‘गोधूलि बेला किरन्स एटलियरबाट बाहिरिँदै गर्दा उनको बगैँचामा चराका चिरबिर सुनिन थालेको थियो । चराको आवाजलाई पाश्र्वसङ्गीत मानेर चित्र रचना गर्ने किरणको बानी बुझेर सायद चराहरू किरणलाई त्यो कर्तव्य सम्झाउन उपस्थित भएका थिए ।’

(किरण मानन्धरः कलाको धरहरा, पृष्ठ १५४)

‘ढोकाबाट बाहिरिँदै गर्दा देखेँ सपनाको टेबलको पृथ्वी घुमिरहेकै थियो, उनको व्यस्तताजस्तै आफ्नै गतिमा’ (सपना मल्ल प्रधानः अधिकार अभियन्ता, पृष्ठ १७६) ।

व्याकुलले पाठकलाई विवेचनामा नबॉ‘धेर खुल्ला छाडिदिएका छन्—उन्मुक्त । उनको विम्बले पाठकको चिन्तनलाई पनि प्रेरित गर्दछ ।

‘चर्चित व्यक्तित्व’मा सुबोध भाषा, विचार, भावना र वरिपरिको दृश्यको कविता सुलभ विम्बको प्रस्तुतिले व्याकुल पाठकको यस पुस्तकलाई सपाट प्रोफाइल हुनबाट जोगाएको मात्र छैन, उनको लेखनीमा निहित काव्यात्मक प्रवाहले पाठकलाई आफूसँगै बगाएर लिएर जान्छ र विभिन्न रङहरू देखाउँछ, भिन्नभिन्न जीवनका भिन्नभिन्न रङहरू । उनले पुस्तकमा समाविष्ट व्यक्तित्वहरूको परीक्षण र मूल्याङ्कन पनि गरेका छन्, जसमा इतिहासले आफ्नो नियतिलाई वर्तमानको आलोकमा परिभाषित गर्दै जान्छ र वर्तमानलाई इतिहासबाट असम्पृक्त नगरेर हेर्ने परिदृश्य पनि प्रकट हुन्छ । व्याकुल उनीहरूसँगको सम्वादलाई विस्तारमा लिएर जान्छन् र एउटा अस्थिपञ्जर निर्माण गर्दछन् र उनीहरूको अन्तर्मनलाई बुझ्ने क्रममा ती अस्थिपञ्जरमा निजी जीवन, पारिवारिकता, भावना र समकालीन परिवेशका विविध सामाजिक, राजनीतिक सन्दर्भका मांशपेशी अनि गद्यकलाको चर्मले एउटा सुन्दर मानवको रचना गर्दछन् । सम्वाद जति सरल छ उति नै अर्थपूर्ण पनि । साक्षात्कार लिने व्याकुल र साक्षात्कार दिनेको मनोदशा पनि कतैकतै हार्मोनीमा देखिन्छ । ‘उनको मधुर हाँसो टेबलभरिको सीमित परिधिमा अटाउन खोजे पनि मादक मुस्कान बाहिरसम्म फैलियो । यो परिवेशमा मेरो सुषुप्त कवि पनि जागृत हुन खोज्यो । मन थियो केही बेर भावनामा बहकिने तर त्यसले मेरो उद्देश्य पूरा हँुदैनथ्यो । मेरो ठट्टा उनीबाट मुस्कान वर्षा गराउन पर्याप्त थियो । पानी पर्न नसकेको पुतलीसडक त्यही मुस्कानको वर्षामा रुझ्न थाल्यो ।’ (नयाँ युगकी गायिका, पृष्ठ २०२) यहाँ कवि हृदयका रोमान्टिक व्याकुल पाठकभित्रको अवस्था हालसालैको मुग्लिनस्थित त्रिशूली नदीमाथिको पुलजस्तै भएको छ, जसको सपोर्टर प्लेट भाँच्चिए पनि त्यसलाई व्याकुलको उद्देश्यको क्रस बिमले ‘एक पटकमा एउटा गाडी मात्र’ चलाउन योग्य भएर थामिदिएको छ ।

सम्वाद गर्नेहरूबीचको हार्मोनी र मानव मनभित्रको सत्यता र सहजताले पाठकलाई एउटा अव्यक्त आत्मीयतामा बाँध्दछ । त्यसै आत्मीयताको अदृश्य तर विस्तृत प्रवाहमा बग्दै जाँदा न पट्यार लाग्छ, न त थाकिन्छ नै बरु पटकपटक नयाँ स्पर्श अनुभूतिहरूले सुम्सुम्याउँदै जान्छन् । पुस्तकमा समाविष्ट व्यक्तित्वहरूसँग प्रश्न गर्ने र उनीहरूको उत्तर दिने शैली र विषयवस्तुमा पनि अन्तर भएकाले प्रत्येक अध्याय सुरुचिपूर्ण बनेको छ, व्यक्तिको स्वभावअनुसार भिन्न । यो पुस्तक आजको समयमा अलिकति सामाजिक जिम्मेवारी बोक्नेहरूका निम्ति पनि आवश्यक छ । व्याकुलले आफ्नो समाजप्रतिको दायित्वमा दृढतापूर्वक रहँदै वर्तमान चुनौतीहरूसँग जुझ्न आफ्नो र प्रस्तुत व्यक्तित्वहरूको भूमिकालाई प्रस्ट्याएका छन् । यस पुस्तकमा सबै किसिमका पाठकहरूको सोचलाई उद्वेलित गर्ने शक्ति छ । बधाई लेखक व्याकुल पाठक र प्रकाशक रत्न पुस्तक भण्डारलाई ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।