17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सुधीर छेत्रीका कविता र विचलनको प्रसङ्ग

कृति/समीक्षा जय क्याक्टस January 4, 2011, 10:45 pm

नब्बेको दशकदेखि नै सक्रिय सिर्जनशीलता लिएर साहित्यमा लागिपरेका सुधीर छेत्री भारतीय नेपाली कविता-विधामा अपरिचित नाम होइन। धेरै पढ़्ने अनि थोरै लेख्ने गरेपनि उनी कविताप्रेमी, सचेत कवितापाठक औ सबल कविताकार हुन् भन्ने तथ्य उनका प्रकाशित समीक्षात्मक लेख तथा काव्यरचनाहरूले प्रष्ट पार्छ। विचलन-लेखनको स्पष्ट अवधारणा राखेर नवीनताको अभीष्ट उचाल्दै सन्तुलित मिथ, बिम्ब र प्रतीकहरूको समायोजन गर्दै र सुगठित कविता सिर्जना गर्न शिल्पसंरचनामा समेत सचेत कविको रूपमा हामी उनलाई चिन्छौं। विचार र चिन्तनहरूलाई समेत चित्रात्मक अभिव्यक्तिमा सम्प्रेषित गर्ने अभिप्राय राख्ने सुधीर छेत्रीका कविताहरूमा कवितापाठकले एउटा एउटा कवितामा भिन्दा-भिन्दै प्रयोग र दृष्टिविन्दु (भिउप्वाइन्ट) उक्लिरहेको महसुस गर्छन्। अनुभूतिको त्यो चरमविन्दु उक्लिन साधारण कवितापाठकले निक्कै बौद्धिक कसरत गर्नुपर्छ जहॉंबाट हामी उनका काव्यसौन्दर्यीय आस्वादनस्रोतको मूल फुटेको भेट्नेछौं। अनुभूतिको तिक्खरता र अभिव्यक्तिको जटिलता दुरूह होइन तर मिश्रित (कम्प्लेक्स) भेट्छौं। तर पाठकाभिमुखी कवितालेखनकै पक्षधर नै छन् उनी, जीवनमुखी पनि उत्तिकै।

विचलन, अङ्क-१-मा प्रकाशित उनका तीन कविताहरूले लेख्न चाहेका केही सत्यहरू यसप्रकार छन्-

ईश्वरको

शस्त्र थुतेर

अब ईश्वरै ईश्वर छ गाउँभरि।

समुद्र-मन्थनबाट

अमृत पिएर मृत्युमुक्त बन्नगएका

गाउँलेहरू

हातमा विश्वासघातका

रित्ता भॉंडाहरू लिएर फर्कँदैछन् रे। (आतङ्क)

भोकको एकलव्यले

आफै छान्छ

द्रोणाचार्यहरू। (भाई र भोक)

कठ्याङ्रिने जाड़ोमा अगेनामाथि मकै भुट्दै

मनमनै गुन्गुनाइरहेकी मेरी बुढ़ी बज्यैको अपरिचित धुन

यो कञ्चनजङ्घाको उमेरलाई

उनका चाउरीहरूको उपहार

एउटा कार्बनडेटिङ्को कोशेली। (विपर्यय)

ईश्वरको नीरिहतामा मानवीयताको सर्वोपरि छ तर विश्वासघातले घाइते भएका मान्छेहरू, आफै आफ्नो पथनिर्धारण गर्न सक्षम छन्। बुढ़ी बज्यैको अपरिचित धुन (कलागत, व्यवहारगत) आजलाई एउटा कार्बनडेटिङ् उपहारमात्र छ। यी नवीन सत्यहरू समकालीन स्वरका प्रतिरूपहरू हुन्। यहॉं नित्सेको ईश्वरको मृत्यु, देकार्तको म सोँचिरहेछु त्यसैले म छु -का अनुगुञ्जन पनि सुनिएला तर विचलनपरक यथार्थ के छ भने यी कवितांशहरूले नवीन बिम्बसिर्जनमा पराभौतिक उपस्थितिको विरोधाभासपूर्ण (प्याराडक्सिकल) अर्थानुभूति दिन सक्षम बनेको छ। विश्वासघातका रित्ता भॉंड़ाहरू लिएर फर्किएका गाउँलेहरू, भोका एकलव्यहरू वर्त्तमानका चित्रहरू छन्।

सुधीरले आफ्ना कविताहरूलाई धेरै हदसम्म नन्अर्ग्यानिक बनाउने प्रयास गर्छन्। हाम्रो कृत्रिम जैविकताअनुरूप कवितालाई सक्दो तटस्थ राख्ने प्रयास गर्छन्। कवितादेखि विच्छेदित रहेर एक सचेत पाठक (आदर्श पाठक) झैं कवितालाई भाषिक खेलमात्र ठान्ने उनको चेतनाले बारम्बार हामी पाठकलाई कवितापठनको आभास दिन, झस्काउन वा पाठक पाठभित्रैमात्र छन्-को अनुभूति दिलाउन प्रयासरत रहन्छन्। मानवनिर्मित यो भाषाको अजैविक उत्तरआधुनिक चिन्तनको मूलाधार पाएका छौं। डेरिडा, पल डीम्यान, गायत्री चक्रवर्ती स्पिभाक, फ्रेड्रिक जेमसनहरूका उत्तरसंरचनावादी धारणाले भाषाको सङ्केत, सङ्केतक र सङ्केतितहरूमाझको द्वन्द्व, भिन्नता आदिले विधाहीन कृति (टेक्स्ट)-को सिर्जना हुने जुन नयॉं चेतनाको सूत्रपात गरे त्यहीबाट यो उत्तरआधुनिक चिन्तनले हॉंगिदै आज नयॉं ज्ञान र सूचनाले नवआयाम पाइरहेछ। विधाभञ्जन एउटा अर्को प्रविधि विमर्शमा ल्याउँछ। केन्द्रहीनता, अर्थबहुलता, अनुपस्थितिको उपस्थिति, पुनर्लेखन इत्यादि दर्शनहरू एकपछि अर्को उघ्रिँदै आउँछन्।

जहॉं छोडेर म अघि हिँडेको थिएँ

घर फर्किँदा शब्दहरू त्यही रहेछन्। (विपर्यय)

विचलन, अङ्क-२-मा सुधीरका तीनवटा कविताहरूले वर्त्तमानलाई लेख्दै उत्कृष्ट काव्यचेतना दिएका छन्। समसामयिक नवीन बिम्बचेतनाले परिवर्तित परिवेश र परावर्णित समयबोध त यी कविताहरूमा टड़्कारो छँदैछ तर यसमा उनको विचलनपरक प्रयोग के देखिन्छ भने कवितामा उनले समाचारसार - अमेरिकाको एक युनिभर्सिटीमा दक्षिण-कोरियाली विक्षिप्त छात्रद्वारा फायर गरिँदा तीस मृतकहरूमध्ये भारतीय मूलका शिक्षक र छात्राको मृत्यु- राखे। अनि सोही कवितामा चेतनप्रवाह प्रतिनिधिगत निबन्धात्मक अंश प्रस्तुत गर्दै विश्वव्यापी आतङ्कवादको विभत्सना प्रस्तुत गरेका छन्। विधाभञ्जनको राम्रो नमूना छ यहॉं।

यो सहस्राब्दीले

मुखमा

बन्दुकको सिग्रेट झोसेर

मृत्युको धुँवा फुकिरहेछ। (त्रासदी त्रासदी त्रासदी)

कम्युनिष्ट मेनिफेस्टो काखीमा च्यापेका सुदामाहरू, च्यातिएका अरण्यकाण्डले बेरेर पिज्जा निलिरहेका स्वाभिमानी पुरूहरू यस युगका आदर्शहरू बनेकाले कलिङ्गसितै सहिद हुनुपरेका अशोक (शान्तिदूत) एउटा तिक्त व्यङ्ग (आइरोनी) छ कवितामा। कवितामा व्याप्त विधागत विपर्यास (प्याराडक्स अफ जनर) अनि अनुभूति समान्तरले विसङ्गत चित्रयोजनामा कविताले अभिव्यक्तिको चरम पक्रेको छ। काठे गुड़ियाको अनुहार भावशून्य रहिरहन्छ। पोस्टरका परेवाहरू चल्मलाउँदैन -जस्ता अभिव्यक्तिले मानवतामाथि संवेदनहीनताले अतिक्रमण गरेको पराकाष्ठा दर्शाउँछ। विचलन-लेखनको स्पष्ट छाप छोड़्छ यस कविताले।

अर्को कविता सालाहरू दादावादसित तादात्म्यता राख्नपुगेको देखिन्छ। नवइतिहास-लेखनको चेतना लिएर यथास्थितिवादीहरूलाई गालीकै भाषामा हॉंक दिँदै संशय र अनिर्णितता दर्शाउने कविता यसै अर्थमा विचलनपरक छ। प्रस्टै भन्छ कविताले -

यो दोबाटोको मूर्ति तोड़िदेऊ

सॉंच्चै इतिहासपुरुष थियो के

यो मान्छे!

सालाहरू

रुद्रघण्टी बजाएर

पुरानो लैबरी गाइरहेछन्।

काव्यिक अराजकता, विशृङ्खलता र शोकगीत (लामेन्ट)-को नयॉं रूप छ -स्केप्टिक पनि।

बस्ती, विचलन र बजार विपर्यस्त भावानुभूतिमा चित्रित एउटा उत्तरआधुनिक मान्छेको खण्डित विचारशृङ्खला छ। टुक्रा-टुक्रा भावानुभूतिलाई एउटा विखण्डित शृङ्खलामा बॉंधेर समयबोध र स्वबोधको चिन्तन-निरन्तरता प्रस्तुत गर्ने क्रममा कविताले व्यङ्ग पस्केको छ।

रुखहरू चिप्को-लाई

गुहार गुहार भन्छन्

मलाई मनपरेको टीकको पलङमा

इन्द्रेनीको सपना ई: देख्छु म।

विचलन, अङ्क-५-को कविता वृद्ध-आश्रमको वृत्तचित्र- मा भाव र शिल्पको नयॉं पक्ष देखापर्छ। (क) र (ख) -का पदहरूले अनन्य वृद्धको विगत (प्ल्यासब्याक) देखाउँछ भने वृद्ध १ र ३ अनि वृद्धा २ र ४-लाई खिँच्ने अनन्य क्यामेरामेन-कविको मनस्थिति पनि देखाउँछ। मोन्टाज शिल्प टिपेर कवितालाई भाषिक खेलहरूभित्रै व्यक्तिपछिल्तिर लुकेका आख्यानहरू (लेकुना) बहुअर्थीय शून्यतामा (स्पेस) कविले प्रस्तुत गरेका छन्।

वृद्ध-१ प्रदुषणग्रस्त पर्यावरण

वृद्धा-२विलोपन संस्कार संस्कृति

वृद्ध-३ पाप, व्याभिचारले घाइते धर्मास्था

वृद्धा-४ सभ्यता र भौतिकताले ग्रस्त मानवता छ

आफन्तहरूदेखि अलग्गै, कृत्रिम घरमा, कृत्रिम माया, दया र आश्रयमा बस्नुको पीड़ामय अभिव्यञ्जना एलेजी अर्थात् शोकगीतको रूपमा नभएर यहॉं पनि एक विरोधाभास र तनन (प्याराडक्स एण्ड टेन्शन)-को रूपमा कटुव्यङ्ग बनेर व्यक्त छ, जो हामी पाठकलाई सिनेमा हेराउँदै रूवाउने-हसाउने टेक्निकको उपयोग छ। कुरूप सुन्दरता (एन्टिहिरोइज्म) पस्कन कविता सक्षम छ भने कवितामा त्यसपछि आउने उत्सुकताहरू (प्याराडिग्म्याटिक)-को अनन्त उपाख्यानहरू जोड़्नसक्ने ठाउँहरू प्रशस्त रहेकोले यसले अन्तहीन अर्थात् निरन्तरताको अपरिमित सीमासम्म जानसक्ने विचार-शृङ्खलालाई टेवा दिएको छ। उत्तरआधुनिक चेतनागत अर्को प्रक्षेप प्रस्टिन्छ कवितामा यसरी विचलनपरक।

कति फोटोजेनिक् बोज्यू !

उनका अनुहारमा चाउरिएका रेखाहरू

कति सफ्फा !

दॉंतहरू ठिक्क जग्गाबाट उप्केर

हॉंस्दा कत्ति राम्री देखिएकी।

परेवालाई गहुँ छरिरहेकी बेला

एउटा ख्याच्याक्क पारिहाल न !

विचलन, अङ्क-४-मा सुधीरका तीन कवितामध्ये प्रथम कविता बगर व्यापार साइबर संस्कृति, उपभोक्तावादी मानववृत्ति र अर्थतन्त्रकेन्द्रित वर्गीय चेतनालाई समेटेको पाउँछौं। कविताभित्रै रहेर अनुभूत गर्दा कविता स्वयं एक उत्पादन छ अनि पर्यटक छौं हामी पाठक। जसरी पर्यटनउद्योगमा प्राकृतिक सौन्दर्यलाई समेत अर्थ-सित सोझो समन्वय राखेर व्यापारीकरण गरिएको छ, ठीक उसरी नै काव्यसौन्दर्यका व्यवसायीले अर्थानुभूति दिन्छ। पर्यटक जो आउँछ, जान्छ अनि हेरिराख्छ म्युजियम, क्यूरियो-पसल अनि सङ्ग्रहालयहरू। अर्थात् हाम्रा परम्परागत चेतनाहरू धेरै त्यसरी नै सङ्ग्रहालयमा पुगिसकेको बोध कविताले दिन्छ।

हे पर्यटक !

हरियो पहाड़, चरा र जङ्गल, सुन्दर छवि छ

टेन्टमा सुत्नु, शौचालय राम्रो, दाम यसको पॉंच-सय छ

प्रयुक्त झ्याउरे छन्द, रोमान्टिसिज्मका अतिरागहरू यसरी कविताभित्रै सङ्ग्रहालयमा पुगिसकेको समयले गाइड बनेर बताएको छ। यसले स्पष्ट गर्छ, परिवर्तनको निम्ति हिँड़िसकेको छ हाम्रा चेतनाहरू- गाम्भीर्यको हावा पखाली चाञ्चल्यको रिद्म बजाउँछ भन्दै।

यही सन्दर्भमा पुरानो कवि कवितालाई पनि हेर्नसकिन्छ। पुरूष कवि, गोरो कवि, धनी कवि, यूरोपेली कवि जसका कविता गोठालाहरूले गाई चराउँदा गाउनसक्ने सुललित, सुमधुर, अकाट्य, ज्ञानपूर्ण छन्।

यो जिउँदा अतिविशिष्ट

सम्माननीय कविलाई तिमी छुन पाउँदैनौ।

मात्र कविता सुन्नु। कति मीठो। ताली मार्नु। त्यत्ति।

यहॉं कविताले वर्त्तमान कवितालेखनको सन्दर्भलाई कवितात्मक रूप दिएको छ। कविताले आधुनिक कवि र कवितालाई उत्तरआधुनिकतादेखि विभाजन गर्ने अवयवहरूको सङ्केत स्पष्ट राखेको छ। पुरूष कवि, गोरो कवि, धनी कवि, युरोपेली कविको विपरीतका नयॉं कविहरू साथै नयॉं कविका कविताहरू विशृङ्खल, कर्कश, तर्कपूर्ण, संशयपरक हुन्छन् जो आभायुक्त होइन तर सामान्य र प्रवाहशील छ अवतार फेर्दै। काव्यिक चेतनाको यो रूप समालोचकीय छ, बहुलवादी छ अनि अन्तरविधात्मक विमर्शरूप छ।

विचलन, अङ्क-४-को कविता रोर्साक जॉंच (अर्थात् मानसिकता, अवस्था, स्थिति, कालसापेक्षित-को परीक्षण) एक उत्कृष्ट विचलन- कविता मान्नुपर्छ। मानवनिर्मित भाषा अनि शब्दहरूको असहायपन, असम्पूर्णता, सापेक्षताहरूबारे मानववृत्तिसित दॉंज्दै कविताले वस्तुता अवधारणालाई पक्रेर अघि बढ़ेको छ। अर्थहरू आरोपित धारणामात्र हुन् जो सँधै संशयपूर्ण र भ्रान्तिपूर्ण छत् भन्ने विनिर्माणी अवधारणा (वा लीलालेखन)-अनुरूप कालो रङ्गको मसी -लाई मानसिक स्तरीकरणको परीक्षणमा हुलिएको छ। साहित्यमा, कलामा वा कवितामा हामी जुन आदर्श, नैतिकता तथा सम्पूर्णताका कुराहरू छॉंड़्छौं, त्यो यथार्थभन्दा अधिक परिकल्पना (हाइपोथेसिस्) -मात्र हो। जुन निर्विकल्प सौन्दर्य (एब्सोल्यूट ब्यूटी), निर्विकार सत्य (एब्सोल्यूट ट्रुथ)-जस्ता उच्च आचार र ज्ञानहरू जो पारम्परिक शिक्षासित जोड़िएर आउँछ, त्यो वास्तविकता होइन भन्दै कविताले टुक्रा सत्य, भ्रान्ति, तात्क्षणिक चेतनाप्रवाह, सापेक्षित ज्ञान आदि समकालीन चिन्तनको पक्षमा वकालत गर्छ।

यो केवल कालो मसी पोखिएको

कालो दागमात्र हो।

कागजमा बनाउन सकिनँ

चुरा फुटेको हावा,

पोते चुँड़िएको बतास

अनि

घुङ्घुरू फुस्किएको झरी।

आफूले कोरेको चित्रमा असम्पूर्णताको बोध, अर्थअनिश्तितताको चेतना अनि अनिर्धारणको मनस्थिति कविताको सौन्दर्यबोध छ। विसङ्गतिबोधको चेतना अधिक देखिनु अनि त्यहीँबाट सङ्गतिमूलक व्यवस्थाको कामना राखिनु सुधीरका कविताहरूले निर्वाह गरेको द्वन्द्वसौन्दर्य छ। निस्सारतामा सार, अनर्थहरूमा अर्थहरूको अन्वेषण, शून्यतादेखि सत्वतिरको प्रत्यागमन छ -गीताको निष्काम कर्म झैं।

थप धेरै कुरा भनिनु छ, भनिनेछ। आजलाई यति नै।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।