15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भानुभक्तीय रामायणको पुनः पठनको आवश्यकता

विचार प्रा. देवचन्द्र सुब्बा January 6, 2011, 8:03 pm

पृथ्वीनारायण शाहपछि नेपाली समाजलाई सामाजिक,सांस्कृतिक,धार्मिक र शैक्षिक रूपले एकसूत्रमा बाँध्ने कार्य भानुभक्त आचार्यले साहित्यको माध्यमद्वारा गरे। अनि उनको यस कार्यमा प्रत्यक्ष-परोक्ष दुवै प्रकारले सहयोग पुर्‍याउने व्यक्ति हुन् मोतीराम भट्ट जसले भानुभक्तको जीवनी विक्रम संम्वत् १९४८ सन् १८९१मा प्रकाशित गरे। पछि उनको लेखहरूलाई संशोधन पनि गरियो। उनले दिएको भानुभक्तको जन्म सम्वत वि.स. १८६८ लाई संशोधन गरी भानुभक्तको वास्तविक जन्म संम्वत् वि.स. १८७१ भएको भानुभक्तकै नातिनी बिष्णुमायाबाट प्रकाशमा आएको हो, भन्ने अध्येयताहरूको विचार छ। त्यसपछि विषयमा थुप्रै लेखिए छापिए अनि प्रकाशित भए अब भने प्रायः मन्द हुँदै गएको छ।

सानो अध्ययनले भानुभक्तमाथि बोल्न लेख्न सकिँदैन कवि भानुभक्त विषयमा धेरै जानकारीहरू हामीमा छन् तर उनीभित्र भएको ज्ञानसागरदेखि अनभिज्ञ्य छौँ। जानकारीकै भरमा हामीले उनलाई पढ्यौँ,जान्यौँ र बुझ्यौँ तर उनको ज्ञानमा गोता लगाउन सकेनौँ। भानुभक्तबारे मोतीरामभट्टदेखि लेखिँदै आएर आजसम्मै फाटफूट लेखिँदैछ तर लेखिने प्रवाह भने उस्तै पुरानै परिपाटीको देखिन्छ। भानुभक्तलाई नवीन दृष्टिकोण अथवा उत्तर-आधुनिक सिद्धान्तअनुसार वृहत्त रूपमा पठन गरिएको छैन। यद्यपि उनको वधुशिक्षालाई नारीवादी दृष्टिकोणले अध्ययन गरिए तापनि भानुभक्तका कृतिहरूको अझै पनि सठिक मूल्यङ्कन हुन सकेको छैन।

पृथ्वी स्वयम् एउटा ठुलो पारिस्थितिक प्रणाली भएको हुनाले यसमा निहित समाज,संस्कृति, साहित्य र जीवन अनन्तप्रक्रियासँग पारिस्थितिक रूपमा घुमिरहेको हुन्छ जसलाई हामी परिवर्तनशील प्रकृतिको दृष्टिले हेर्छौ। अतः नयाँदेखि पुरानो र पुरानोदेखि नयाँ हुँदै आउने कालचक्रमा साहित्यलाई पनि समयका नयाँ सिद्धान्त र नयाँ अवधारणाद्वारा चिन्तन गर्न आवश्यक हुँदछ। त्यसैले पूर्वीय ज्ञानरसले भरिएको भानुभक्तका कृतिहरूको नवीन पठन र अनुशीलनले मात्रै सठिक मूल्यङ्कन हुने छ।

कवि भानुभक्तले नेपाली समाजमा ल्याएको बौद्धिक क्रान्तिमा रामायणको ठुलो भूमिका छ। तत्कालीन समयका दुईचार अक्षर जान्नेले पनि उनको रामायणलाई सजह ढङ्गमा पढ्न सके। अतः पृथ्वीनारायण शाहपछि फेरि जातपात र धर्ममा भाग-भाग हुँदै गरेका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने काम उनको रामायणले गरे। रामायणको भाषाले गर्दा सम्पूर्ण मानिस रामायणको शरणमा परे। भाषा सहज र सरल भएको कारणले गर्दा रामायण सजिलो भयो र यसको गहनता र भावमा डुब्नसके। अतः मानिसहरू सबैले रामायणकै सहज भाषा प्रयोग गर्न लागे। यसरी भाषाका माध्यमले गर्दा सबै छरिन थालेका नेपालीहरू फेरि एक हुन थाल्यो। समालोचक मोतीराम भट्टले भक्तिरस अब उप्रान्त पनि भानुभक्तका बराबर कुनै कवि पनि हुन सकेइनन्.........यिनीभन्दा बढ्ता पक्का कोही पनि छैनन् भनी ठोकी लेखिदिएँ भनेर साँचो भनेका हुन्। भानुभक्तपछि भक्तिरसमा यत्तिको प्रभावशाली सरल भाषामा काव्य सृजना गर्ने कुनै कवि आएका छैनन्।

भानुभक्त आधुनिक थिए उनको विचार र धारणाहरू त्यस समयका लागि आधुनिक थियो। प्राकृतिक पारिस्थिति विषय उनलाई ज्ञान थियो। अतः प्राकृतिक क्रियाहरूलाई उनले सङ्केतात्मक रूपमा रामायणमा प्रयोग गरे। अयोध्याकाण्डको १२१ र १२२ औँ श्लोकमा उनी लेख्छन् –

भ्याग्तो खाँ भनि खोज्छ डाँस् मुखविषे साँप्‌ले धर्‍याको पनी।

त्यस्तै भोग् गरुँला भनेर मनले भन्छन् दुनीयाँ पनी।।

प्रकृतिप्रतिको सचेतता र यसको अपरिहार्यतालाई भानुभक्तले कलात्मक र सङ्केतात्मक रूपमा प्रस्तुत गरेका छन् यो उनको जैवकेन्द्री जीवनदृष्टि हो। रामायणमा युद्ध छ त्यसैले यहाँ अवश्यै पनि प्रकृतिको विनाश छ कारण युद्धले विनाश गर्दछ, तर रामायणको युद्धमा राम-लक्ष्मणसँग सबै पशु-पक्षि वानर भालु (जाम्वन्त) एक तर्फ छन् अनि अंहकारी रावणको विनाश गर्न सहयोग गरेका छन्। रावणले सितालाई हरण गरेर लानु र ऊमाथि मानसिक यातना दिनु प्रकृतिप्रतिको शोषण हो कारण नारी प्रकृतिसँग सम्बन्धित भएको कारणले नारीमाथिको शोषण प्रकृतिको शोषण हो भन्ने इकोफेमेनिज्म वा पर्यावरणीय नारीवादले भन्दछ। अतः रावणको प्रकृतिमाथिको शोषणकै कारणले पशु-पक्षि,वानर आदि रावणको विपक्षमा उभिएको छ र यसलाई प्रकृति प्रकोपका दृष्टिले अध्ययन गर्न सकिन्छ। त्यसैले रावणले सितालाई हरण गर्नु र ऊमाथि मानसिक यातना दिनु जस्ता रामायणको कथालाई पर्यावरणीय सङ्केतपरक पठन वा इकोसिम्योटिक स्टडिज्‌ गर्न सकिन्छ। मानव प्रकृतिदेखि अलग छैन, प्रारम्भदेखि अन्तैसम्म मानवलाई प्रकृतिको आवश्यकता पर्दछ। अतः रामले वानर राज सुग्रिवलाई सहायता माग्नु प्रकतिको शरणमा जानुको सङ्केत हो। तर मानव सर्वश्रेष्ठ प्राणी हुँदाहुँदै पनि कसरी जङ्गलका प्राणीहरूसँग सम्बन्ध गाँस्न सक्छ भने सिताले राम र सुग्रिवको मितेरीमा शङ्का गर्नु नृकेन्द्री विचारधारा हो। सिता भन्छे –

सीताजी पनि भन्दछिन् कसरि यो जानूँ म मानिस् पनी। ५७

बानर् सीत मित्यारि लाउँछ कतै क्या हुन् कुराको जनी।। ५८सुन्दरकाण्ड

गहन पारिस्थितिकी अथवा डिप इकोलजीअनुसार मानव प्रकृतिको अशं हो भन्ने निरक्षण गर्नलाई दुईवटा सिद्धान्त वैज्ञानिकहरू देखाउँछन् व्यवस्था सिद्धान्त र गेअ अनुकल्पना। यसमा गेअ अनुकल्पनाअनुसार प्रकति, पशुपक्षि, मानव आदि अलौकिक महानिकायको अंश मानिन्छ। त्यसैले गहन पारिस्थितिकी अथवा डिप इकोलजीलाई होलिस्टिक इकोलजी पनि भनिन्छ। भानुभक्तीय रामायणमा किष्किन्धाकाण्डको ३१७ देखि ३२० को श्लोकमा यसको उत्कृष्ट उदाहरण पाइन्छ। भानुभक्त लेख्छन्

वर्षाकाल तलक् रह्या प्रभु तहाँ पर्थ्यो बखत्‌मा झरी।

जन्तू पुष्ट थिया सबै ति वनका खाएर घाँस पेट् भरी।।

बस्थ्या श्री रघुनाथका वरिपरी खुप् ध्यान् प्रभूमा धरी।

ध्यान् जन्तूहरूको विचार् गरि तहाँ खूसी रहन्थ्या हरी।।

रामलाई आध्यात्मिक दृष्टिले विष्णुको बाह्र कला अवतार मानिन्छ। अतः भानुभक्तले पनि प्रकृति मानव सबै नै ईश्वर अथवा त्यो अलौकिक महानिकायको वरिपरी रहेर काल चक्रको मूलप्रवाहसँग घुमिरहेको हुन्छ भन्ने सङ्केत गरेको देखिन्छ। पारिस्थितिकी प्रणालीको अर्को उदाहरण युद्धकाण्डको १०६५ र १०६६ श्लोकमा देखिन्छ –

रावण् हान्दछ बाण् जती जति तहाँ सब् सर्प भै खस्या।

हान्या बाण् रघुनाथले पनि र ती बाण् ता गरुड् भै खस्या।।

मूसालाई साँपले, साँपलाई गरुड वा बाजले बाजलाई अरूले आफ्नो आहार बनाउँछ यो प्रकृतिको खाद्य प्रणाली वा फूड चेन हो। एक आपस्तको यस प्राकृतिक निर्भरतालाई भानुभक्तले सङ्केतात्मक रूपमा प्रस्तुत गरेका छन्।

मूलतः भानुभक्तले रामायणको भाव अनुवाद गरेका हुन्। तर यसमा निहित विचार तत्त्वको अभिव्यक्तिमा भने भानुभक्तको निजस्व छ। काव्य रचनामा उनी सचेत छन् धार्मिक आस्था र सामाजिक मर्यादाको सीमालाई ठेस नलागोस् भन्ने उनको अभिप्राय देखिन्छ। सिताको हरणपछि विलाप गर्दै राम रूँदा रामक भक्तहरूमा उनीप्रतिको आस्थामा शङ्का नहोस भनि सचेत भई भट्ट लेख्छन्

-

राम्‌को नाम फकत् लिन्याकन पनी सब् दुःख ताप् टर्दछन्।

आफै श्रीरघुनाथलाई पनि क्या सन्ताप् कतै पर्दछन्।।

सच्चित रूप् परिपूर्ण अद्वितिय एक् आत्मा स्वरूपी पनी।

गर्छन् मानुष भै लिला पनि अनेक् सूखी र दुःखी बनी।।

अन्तमा, भानुभक्तबाट उपकृत भएर नेपाली साहित्यले आज यो उत्तर-आधुनिक रूप पाएको छ। अतः अरू साहित्यका पुराना कवि र उनका सिर्जनालाई आधुनिक पठन भए झैँ भानुभक्तको पनि नवीन दृष्टिकोणले पठन हुन आवश्यक छ। पूर्वीय साहित्यको बट्ट वृक्षमा फलेको भानुभक्त रूपी प्रज्ञालाई सर्वपक्षीय विवेचना गर्दै बहुलतावादी विचारधारा र युग सन्दार्भिक दृष्टिकोणद्वारा पठनीय बनाउन आवश्यक छ।

उत्तर बङ्‌ग विश्वविद्यालय, दार्जिलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।